September 15, 2025

समीक्षात्मक टिप्पणी -कविता संग्रह "फर्गेट एस्टर्डे"


आचार्य प्रभा (दमक झापा ) 
 कवि मीना श्रेष्ठ बहिनी जो मेरालागी अल्पपरिचित नै हुनुहुन्थ्यो तबसम्म ,जबसम्म मैले कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान धरानको साहित्य फाँट कलरव धरानको जम्काभेट कार्यक्रमसम्म पुग्ने अवसर पाएकै थिईनँ । तर जब श्रावण महिनाको दोश्रो न १ को सांसद कवयित्री शनिबारको जम्काभेट कार्यक्रममा जाने साईत जुर्यो तब मैले /प्रदेशमीना श्रेष्ठमार्फत वहाँको दोश्रो कविता संग्रह प्राप्त गर्ने अवसर पाएँ । हामीले कहिल्यै साक्षात्कार हुने मौका पाएकै थिएनौं र मैले वहाँको सृजना न कहिल्यै सुन्ने,पढ्ने मौका पाएकी थिएँ ,न वहाँलाई कुनै कार्यक्रममा भेटेकी नै थिएँ । यसो हुनुको कारण पक्कै पनि म प्रवासिनुको बाध्यता थियो। हुन त अहिलेको समयमा सामाजिक संजाल फेस्बुकबाट पनि धेरैजस्तो कवि,लेखक,श्रष्टाहरुको सान्निध्य पाईन्छ तर अफ्सोच!हामी पनि निक्कै बर्षअघिदेखि साथी त थिएछौं तर कस्तो संजोग पर्यो कुन्नि!म वहाँसँग निजीक हुनै सकिनछु । वहाँले नै पुरानै फेस्बुक साथी हौं नि!हामी भन्दा मात्र म झस्किएँ । तर जब वहाँले कलरवको जम्काभेट,वाचन र चुस्की कार्यक्रममा आफ्नै दोश्रो कविता संग्रहको "फर्गेट एस्टर्डे" शीर्ष कविता वाचन गर्नु भयो । म वहाँको उक्त कविताबाट अत्ति प्रभावित भएँ र आफैलाई धिक्कारें ।
यस्तो अब्बल सर्जकसँग म किन सामाजिक संजालमा जोडिन अल्मलिएछु?भनेर। खैर! जे होस् ढिलै भए पनि साक्षात्कार हुने अवसर जुर्यो । यसकोलागी कलरव धरानप्रती म अनुगृहीत छु । त्यहि समयमा वहाँले मलाई आफ्नो कविता संग्रह फर्गेट एस्टर्डे उपहार स्वरुप दिनु भयो। घरमा ल्याएपछी मैले उक्त संग्रह अध्ययन गरें। मेरा नजरहरु शीर्ष कविता "फर्गेट एस्टर्डेमै पर्यो" । जुन कविताकै शिर्षकबाट पुस्तकको शिर्षक पनि राखिएको छ। कविता "फर्गेट एस्टर्डे"मा यौन भावको पनि कहीं कतै छनक पाईन्छ। एक युगल जोडीको एकान्तको भेट्मा अप्रत्याशित रुपमा नै पनि यौनको उन्मादले एकार्कामा नचाहेको घट्ना पनि घट्न सक्छ, जुन प्रकृतिको बरदान नै मान्न सकिन्छ । जब मनसँग मन जोडिन्छ,मनले मन जित्छ अनि त्यहाँ अपनत्व जन्मिन्छ र नचाहेको गल्ति पनि हुन सक्छ भन्ने किसिमको भाव कवयित्रीले बताउँनु भएको छ । आफू दोषीको भागीदार बनेर हिजोको बितेको घटनाप्रति क्षमा माँग्दै बिगतको कुरा बिर्सी देऊ। भनेर क्षमा याचना गर्नु भएको छ। कवितामा नेपथ्यमा पुरुषलाई उभ्याएर आफैं नै पुरुषको प्रतीक बनेर क्षमा प्रार्थीको अनुनय विनय गर्नु भएको छ। यो बिम्बात्मक प्रयोग हो । आजकालको नयाँ पुस्ताहरुका कविताका भावहरु वजनदार र आफ्नो थातथलो,जाति अनुसारको मुद्धुम,रीतिरिवाजलाई प्रमुख बिषय बनाएर बडो शान्दर्भिक तवरले लेखिएका हुन्छन्। जस्का कविताहरुले पनि आफ्नो जातीयता,ठाउँ र भाषाको प्रतिनिधित्व गरेको आभास स्पष्ट पाईन्छ। तथापि यी सबको वावजुद पनि कविताहरुमा कतै साहित्यिक शब्दहरु,बिम्ब,प्रतीकहरुको कमी भएको हो कि ?भन्ने भान हुन्छ । (यो मेरो निजी बिचार हो)तर कवयित्री मीना श्रेष्ठका कविताहरुमा प्रशस्त साहित्यिक शब्दहरु र बिम्ब,प्रतीकको प्रयोग भएको मैले महशुस गरें । "फर्गेट एस्टर्डे" कविताको मुख्य आसय के छ भने बितेको दिनमा जे भो भो । ती सबैलाई बिर्सिएर हामीले नयाँ दिनको शुरुवात र नयाँ सोंचको थालनी गरौं ।साथै यो कवितामा यौन भाव उर्लिए पनि यसको प्रतीकको रुपमा एक प्रेमी पुरुष या महिलाले आफूले गरेको गल्ति महशुस गरेर क्षमाप्रार्थी बन्दै भोली आउँने दिनमा नअल्मलौं भन्ने किसिमको पनि अर्थ लाग्न सकछ । यो प्रेमिल जोडीको मात्र कम्जोरीको आग्रह होईन । मान्छे भएपछी जुनसुकै कुरामा पनि कमिकम्जोरी हुन सक्छ तर त्यही पुरानै गल्तीमा आत्माग्लानी गरेर समय बर्बाद गर्नु हुन्न भन्ने आसय हुन् सक्छ यो कविताभावामा । त्यसैले कवायित्रीले आफू पात्र बनेर हिजोको दिन बिर्सी दिउँ भन्ने आव्हान गर्नु भएको छ फर्गेट एस्टर्डे कवितामा । एक नारी कलमले पनि यत्तिको यौनभावको कविता लेख्न शाहस गर्नु हिम्मतिलो कुरा हो जुन सह्रानीय छ । यस्तै मेरा नजरमा अन्य कविताहरु पनि परेका छन् । जस्तै -अर्को एक भावुक कविता छ मेरो मनमा भित्रिएको । "भत्किएको सम्बन्ध " यो कविता बडो मार्मिक ढंगले सृजित भएको छ । कविको मथिङ्गलमा मार्मिक दृश्यहरु रुमल्लिएर शब्दमा रुपान्तरित भएको छ। जस्तै-कुनै एक प्रेमिल मनको सम्बन्धमा स्वार्थको मैलो धब्बाले स्वच्छ प्रेमलाई कलुषित बनाएर चोखो सम्बन्धलाई छिन्नभिन्न बनाउँन सफल छ । जुन भत्किएको सम्बन्धमा विह्वल बनेर एक प्रेमी /प्रेमिकाले आफ्नो स्वार्थी जोडीसँग उस्तै अनुनय बिनय गर्दै अब उसो अरु नयाँ सम्बन्ध नखोज्नु । मेरो प्रेमको समपर्ण नै उपहार भो तिमीलाई भनेर आग्रह बिसाउँनु भएको छ । आफ्नो समपर्पित प्रेमलाई बार बार सम्झिएर एक प्रेमिका तड्पिएकी छिन् । स्वार्थले भरिएको प्रेमलाई पनि बिर्सन नसकेर उनी आफ्नो मनलाई शान्त्वना दिन्छिन् । आफ्नो स्वच्छ प्रेम र सम्बन्धलाई कलंकित अनि निरीह देखेर कसरी स्वार्थी प्रेमीहरु टाढिन्छन् ?र सम्बन्धलाई भताभुङ्ग बनाउँद छन् भन्ने उदाहरण यो "भत्किएको सम्बन्ध" कविताले उजागर गरेको छ । विभिन्न शिर्षक र स्वादमा कविले आफ्ना कविताहरुलाई आकर्षक शब्दजालमा बेर्नु भएको छ भन्ने थुप्रै यस्ता प्रतिनीधिमुलक कविताहरु छन् । म सबैको यहाँ उदाहरण दिन असमर्थ हुन्छु सायद । म फेरि अर्को कविताको भाव यहाँ प्रस्तुत गर्न चाहन्छु। जुन कविता वाचनपश्चात जो कोही पाठकको मनमा मातृप्रेमको भाव सल्बलाउँछ र यो बिसौं शताब्दिमा पनि महिलाहरुले पितृसत्ताको अहंकारमा बाँच्न परेको बोध गराउँछ। कविताको शिर्षक -"पहिचान आमाको " यो कवितामा सबै नारीहरुले सन्तान जन्माउँन कयौं कष्ट र पीडा खप्नु पर्छ । नौ,नौ महिनासम्म आफ्नो गर्भमा बोकेर त्यो घडिको पीडा,खाना नरुच्नुको सकस,अभावले ग्रस्त परिस्थितिमा भने जस्तो खुराक खान नपाएर कति गर्भिणी आमाहरुले असह्य पीडा र कम्जोरीको मार खप्नु परेको अवस्था । अझ सन्तान जन्मिने बेलामा आफ्नै ज्यानको पनि कुनै भर नहुनुको त्राष। कतिपय आमाहरुको त बच्चा जन्माउँने क्रममा मृत्युसम्म हुने सम्भावना। आखिर यतिबिघ्न सकस सहेर सन्तान जन्मिएपछी पनि सन्तानको निम्ती आफ्नो नाम नजोडिनुको पीडालाई कवयित्रीले यो कवितामा आफ्नी आमालाई नै आमाको पर्यायमा राखेर आमाको पहिचान गुमेको गुनासो पोख्नु भएको छ । अस्पतालमा गएर कुनै पनि आमाले सन्तान जन्माउँछिन् तबसम्म आमाको नाम लेखिन्छ । जबसम्म उनी अस्पतालको शैय्यामै हुन्छिन् ।किनकी त्यो समयसम्म मात्र आमाको परिचय हुन्छ जबसम्म सन्तान कस्ले अथवा कुन महिलाले जन्माएकी हुन् ?भन्ने कुरा खुलाउँनलाई । तर जब सन्तान हुर्कंदै जान्छ उसलाई जन्मदर्ताको आवश्यक पर्छ । त्यसपश्चात उस्लाई देशको नागरिक भनेर पहिचान दिलाउँन अर्को परिचयको आवश्यकता पर्छ त्यो समयमा आमाको पहिचान गुम्दै जान्छ। प्रशवपीडामा सहेका असह्य ब्यथा र त्यो समयको पीडाको चित्कारसम्म अनि सन्तानले धरा छोएपछिको च्याँ,च्याँको गुन्जनभित्र आमाको ममत्व,अपनत्व र आमाको पहिचान रहन्छ। यो आमाको पहिचान कविताले कवयित्रीले आमाको मर्मलाई अति नै सुक्ष्म र मार्मिक तवरले प्रस्तुत गर्नु भएको छ । यो कविताले जो कोहीलाई आमाप्रतीको समर्पणमा मर्माहत बनाउँछ । त्यस्तै जम्माजम्मी एकसय बहत्तर वटा कविताहरुले आ-आफ्नै प्रकारका विशेषताहरु र भाव बोकेका छन् । जुन यो छोटो समीक्षात्मक टिप्पणीमा लेखेर सकिन्न । यहाँ मलाई मन परेको तर अलिक बुझ्न कठिन जस्तै लाग्ने क्ल्ष्टि कविता -"जिन्दगीको प्रयोगशाला"जस्लाई मैले यसरी बुझ्ने प्रयास गरें। जुन बुझाईले यो कविताको भावमा न्याय गर्छ ? या गर्यो? गरेन?म रणभुल्लमा पर्दै पनि आफूले बुझे अनुसार यो कविताबारे केही बोल्ने दुस्साहस गर्दैछु । हर मान्छे आशावादी हुन्छन् र जीवनको मिठो भोगाई या सफलताको दिवास्वप्नमा जो कोही बाँची रहेका हुन्छन् । तर जीवन बँचाईमा कहिले कहीं कायापलट भएर सोंचे बिपरित हुन पुग्छ। मान्छेले जे सुनौलो आशा गर्छ ।त्यो निराशामा परिभाषित भई दिन्छ । तब मान्छेको आकाशिएको चाहाना एक्कासी आफूले टेक्ने धर्तीमा खस्छ । तब ऊ अभीशप्त जीवनको कुण्ठा बोकेर बाँच्न बाध्य बन्छ र उसले आफ्नो जीवनलाई नै एउटा प्रयोगशालामा प्रयोग हुने बस्तु सम्झिन्छ। कहिले सुखको किरण छरेर प्रयोग हुन्छ जिन्दगी। कहिले दुखको भुमरीमा हुत्त्याएर प्रयोग हुन्छ । यसरी जिन्दगीको प्रयोगशालामा मान्छेले आफ्नो जीवनलाई प्रयोग गरी रहेका हुन्छन् । जो आशा र निराशाको रोटे पिङ्गमा चक्कर लगाई रहन्छ । हुन त म खास समीक्षक र समालोचक त हुँईंन तथापि केही अध्ययनको भरमा यो कविता संग्रहबारे आफूले पढेर मनन गरेको बिचार पोख्ने अभीष्ट राखें । हरेक कुरामा कम्जोर पक्ष र सबल पक्ष दुवै हुन्छन्। यो संग्रहमा केही कविताहरु भने लामा छन् जुन भाव अगाडि नै आई सकेर पनि शब्दहरु धेरै थपिएका हुन् कि ?भन्ने भान पनि हुन्छ । यस्ता लामा कविताहरु पढ्दा आख्यान विधा पढे जस्तै महशुस पनि हुन्छ । उसो त गद्य कविताहरु आख्यान विधासँग मिल्दोजुल्दो हुन पनि जान्छ तर त्यसको बनावट,संरचना मिलाउँन सक्नु कवि /कवयित्रीको आफ्नो कला वा खुबी हो । अर्को मलाई खट्केको कुरा कविता संग्रह "फर्गेट एस्टर्डे" मा एस्टर्डेलाई "यस्टर्डे" लेख्दा वाई( ) को साउण्ड आउँथ्यो कि किनकि यस्टर्डे लेख्दा वाई अल्फाबेट लेखिन्छ । हुन त कतिपयले यहाँ एल लाई यल ,एम लाई यम र एस लाई यस उच्चारण गरेको सुनिन्छ। त्यो कतिसम्म शुद्ध र सही हो ?म यसको बिज्ञ हुँईंन । मैले त मात्र लागेको कुरा अर्थात् मेरो जिज्ञासा राखेकी हुँ । म अनभिज्ञ पनि हुन सक्छु। यदी गल्ति भए क्षमा प्रार्थी पनि छु । हर कविताहरु मेरा नजरमा कम्सल भावका छैनन् । प्रत्येक कविताका भाव शसक्त र जुर्मुराउँने किसिमका छन् । सबै कुरा मिलाउँन खोज्दा कहीं,केही छुट्पुट त हुन्छन् नै । सबै सबै कुरामा दक्ष र सबल हुन्नन् तर मेरो नजरमा मैले उसरी कहिल्यै कवितामा नाम नसुनेको कवयित्री मिना श्रेष्ठ बहिनीको कविता वाचन र संग्रहका लेखनकला सुनेर,पढेर म अवाक भएँ र सोंचें कस्ता,कस्ताहरू कविको पगरी गुथेर संसार चाहार्दैछन् । यति अब्बल कविताका सर्जक मिना श्रेष्ठ मेरा नजरमा आजसम्म नेपथ्यमा किन रहनु भो ?भनेर म सोंच्दैछु यो समय । वहाँको कविता पक्षको अर्को कम्जोर पक्ष के देखें भने पुस्तकको बिषय सुची नम्बर जुन लगातार राखिनु पर्नेमा कुनै कुनै अगाडि,पछाडि परेका रहेछन् । जस्ले गर्दा पढ्दै जाँदा म रणभुल्लमा पनि परें । दुईवटा कविताको भाव अर्को कवितासँग मिसिन पुगेकाले मलाई असहज पनि भयो तर राम्ररी नियाँलेर हेर्दा बाईण्डिङ्गको कम्जोरी रहेछ । अन्त्यमा कवयित्रीको कविताबारे मन्तव्य लेखी दिनु हुने कविहरु पनि अग्रज र अब्बल कवि /गीतकारहरु पाउँन सफल हुनु भएछ । हाम्रा बर्तमान प्रधानमन्त्रीज्यूको आशीर्वचन प्राप्त गर्ने सुअवसर पनि यो कविता संग्रहले पाएकोमा कवयित्री र संग्रहद्वयलाई बधाई तथा शुभकामना ।कवयित्रीको यो दोश्रो संग्रह रहेछ । अब तेस्रो संग्रह पनि छिट्टै पढ्न पाउँ यही शुभेच्छासहित अञ्जुलीभरीको शुभकामना फेरि पनि


1 Comments:

Anonymous said...

Good analysis!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !