नवराज न्यौपाने ‘मौन’
१
बाँधेर प्रेम–डोरी माया अनन्त हुन्छ
संसार देख्न साक्षी सिङ्गो वसन्त हुन्छ
सम्बन्ध राख्न जाने टुट्दैन आज वाचा
सौंन्दर्य बुझ्न सक्दा प्रीति दिगन्त हुन्छ
आशा जगाई नौलो पोखेर प्रेमधारा
संसार प्यार बुझ्ने भाषा ज्वलन्त हुन्छ
जो बोल्छ शत्रुताले साँची अहम् मनैमा
बोकी इमान हिँड्दा उल्टै भिडन्त हुन्छ
ज्ञानी गुणी सबैमा हुन्छन् कमी हजारौँ
हाँसेर ज्यून जाने चोला जीवन्त हुन्छ
(बहर : मुजारे मुसम्मन अखरब)
२
अनन्त प्यार झल्किने कथा रहेछ जिन्दगी
अमूर्त भाव टल्किने कला रहेछ जिन्दगी
समस्त दुःख बिर्संदा मुहार खुल्छ हर्षले
सहस्र आँसु छल्किने ध्वजा रहेछ जिन्दगी
म बोक्न सक्छु देश यो उठाइ हात कर्मठ
भनेर बैँस ढल्किने सुधा रहेछ जिन्दगी
टुटेर जान्छ स्वप्न त्यो गरिब झुक्न हुन्न है
दुखेर घाउ बल्किने निशा रहेछ जिन्दगी
सहेर चोट मर्मले सजाइ भाव कर्मले
अभावमाझ सल्किने चिता रहेछ जिन्दगी
(बहर : हजज मुसम्मन मकबुज)
३
जोखेर मिष्ठ भाषा बोलेर हुन्न माया
पर्खेर मात्र छाती खोलेर हुन्न माया
जो बन्छ भुक्तभोगी बुझ्नेछ जिन्दगानी
अल्झेर स्वार्थ नौलो घोलेर हुन्न माया
को हाँस्छ दुःख पर्दा मान्छे प्रहार खेप्छ
मस्केर पाखुरी यो टोलेर हुन्न माया
लेख्दैछ यो विधाता सम्झेर रून्छ मान्छे
आगो बनेर धर्ती पोलेर हुन्न माया
मिल्दैन शान्ति साँच्चै पापी बने मनुष्य
पोखेर आज पैसा मोलेर हुन्न माया
(बहर : मुजारे मुसम्मन अखरब)
४
भुलायौ गरी गन्थन इसारै इसाराले
देखाएर आफ्नोपन इसारै इसाराले
सजाएँ तिमीलाई नभुल्ने कहानीमा
भयो प्रस्ट दिल कञ्चन इसारै इसाराले
तिमी आउँदा बाटो सफा गर्छु मायाले
छुटेका कुरा भन्छन् इसारै इसाराले
रमाएर बस्दा आज गाढा भयो माया
नटेकी गयौ आँगन इसारै इसाराले
उदासी म रोएको नियालेर हेरेछौ
सक्यौ रोक्न सब क्रन्दन इसारै इसाराले
(बहर : तवील मुसम्मन सालिम)
चुँदी , तनहुँ
हाल: मातातीर्थ , काठमाडौं
0 Comments:
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !