व्यक्ति मात्र हैन यहाँ समाज र देश रोयो  
युग बित्यो तर सदा दूर्भाग्यको राज भयो  
समृद्दिको फल टिपी, बाँकि संसार पर पुग्दा  
हालत हाम्रो निरिहता दु:ख पीडा भोग्दा भोग्दा।  
  
  
सतहमा बग्दै जाँदा, चिप्लेँटीको धरापमा  
अल्झिएर झर्दै जाँदा, निरन्तरको सरापमा  
कैद बन्यो देश कस्तो, हारेको यो जीवन जस्तो  
थितिबिति खोसिएको, कठै हाम्रो भाग्य कस्तो !  
  
  
विनाशको एकलासे ध्येय बन्यो हाम्रो बाटो  
बिग्रह र चित्कार नै व्यक्तित्वको अर्को पाटो  
आक्रोशको आगो बाली दन्काउँदै आफ्नो मन  
घृणा अनि हूंकारको झोला बन्यो हाम्रो तन ।  
  
  
सलहको बथान बनी, सभ्यताको खेतबारी  
जरैदेखि ठुट्याएर, खाइरा’छौँ कठैबरि  
सन्त्रासको कोलाहल, दश दिशा तलमाथि  
लखेट्दैछन् आँफ्नैहरू , संगै खेल्ने संगीसाथी ।  
  
  
कर्म बन्यो हिंसा हाम्रो, आह्रिस आफ्नो पहिचान  
मुक्ति खोज्यौँ , तर रोज्यौँ निरन्तरको घमासान  
मान्छे हुन्न दुष्ट कोही , प्रवृत्तिलाई चिन्ने गरौँ  
विचार अनि भावनामा समष्टिको जलप भरौँ।  
  
  
स्वार्थ अनि बेइमानीको रोग व्याधी हटाएर  
झूट, लूट, फूट, दम्भ बर्खे भेलमा बगाएर  
सौम्यपन र स्निग्धता रोप्नुपर्छ वागभरि  
ढिलो हुन्छ , समयले पर्खिँदैन केही गरी।  
  
  
आँफै शत्रू जन्माएर आफ्नै बीचमा लड्नुहुन्न  
मान्छे भर्याङ् बनाएर , स्वार्थनिम्ति चढ्नुहुन्न  
सदावहार हुण्डरीको कति लड्ने मल्लयुद्ध ?  
आऊ खोजौँ शान्ति अनि समृद्धिको एउटा बुद्ध।  
August 17, 2009
Subscribe to:
Post Comments (Atom)
 




 
         
         
         
2 Comments:
देशको हालत सायद यो कवितामा देखाईएको भन्दा पनि खराव होला । तर शान्तिप्रतिको हाम्रो अन्तर्मनको झुकाव पनि त्यत्तिकै सबल छ ।
म पनि भन्न चाहन्छु:
आऊ खोजौँ शान्ति अनि समृद्धिको एउटा बुद्ध।
म पनि तपाइहरुसंगै भन्छु
आऊ खोजौँ शान्ति अनि समृद्धिको एउटा बुद्ध।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !