August 18, 2009

तातो आलुको करामत

ब्लग लेख्ने भनेर अरु साथीहरु संगै म पनि जोश्सिएं। कती साथीहरु एक दुइ ब्लगमै हराउनु भयो, कती अझै जाग्दै हुनुहुन्छ। म भने बिस्तारै ओल्साएछु। लेख्न मन नलाग्ने होइन, लेख्ने बिषय नभएर पनि होइन। बिषय भेट्यो अब यस्लाइ यस्तरी लेख्छु उस्तरी लेख्छु भन्दा भन्दै त्यो दिन जान्छ भोली पल्ट एकादेशको काहानी भइहाल्छ। कहिले कांही लाग्छ नलेखेको धेरै भयो अब आउने ब्लग यस्तो दामी लेख्छु कि अहिले सम्म आफूले लेखेको मध्य सबैभन्दा उत्क्रिष्ठ होस। अनि खेस्रा लेख्छु, काममा गएर प्रिन्ट गर्छु। त्यसलाइ घरमा गएर प्रूफ गर्छु भन्दै भुलिने डरले घर्रामा पनि नराखी लन्चबक्समा राख्छू। अस्ती हेरेको लन्च बक्समै ३-४ वटै ब्लग जम्मा भइसकेछन। तातो खाना र फ्रिजको चिसो खांदै बसेका ति लेख कामै नलाग्ने बासी भैसकेछन। पहिला पहिला दौंतरीमा आउने कबिता कथा राख्दा र तिनलाइ यता उता मिलाउदा फुर्सतै हुदैनथ्यो। तर त्यस्तरी आउने सामाग्री धेरै डुब्लीकेट हुने र पाठकहरुले तिनीहरुको चर्को बिरोध गरेको हुंदा तिनै लेखकहरुनै आएर अब देखी दौंतरीमा लेख नपठाउने कसम खाए देखी अन्य लेख कपि पेस्ट गर्नुपरेको छैन। अब भने लेख्ने अल्ली फुर्सतहोला भनेको छेपाराकै उखान जस्तो भाछ। झन दौंतरीमा ब्लगर भेला भए देखी त ब्लगर ग्रुपको काममा यता उता गर्दा गर्दै ब्लग लेख्ने भनेको गफै मात्र भएको छ।

छेपाराका कहानी धेरै छन। कहानी भन्न थाले तातो आलुको कहानी खतम हुन बेरछैन। ब्लग नलेख्ने बहानामा कहिले कमेन्टमै भुल्ने गर्छु कहिले यता उती ब्लग चाहार्ने गर्छू। यस्तै बहानामा सपना संसारमा पूगें। सपना संसारसंगको भेटघाट पनि एउटा छुट्टै कहानी छ। दौंतरीको इमेलमा सपना संसारको इमेल आइराख्थ्यो। दौंतरीको इमेलमा प्राय नेपाली साइटहरुको इमेल आइरहन्छन। सपना संसारमा बेला बखत गए पनि इमेल त्यती चासोले भने पढ्दिनथे। पोहोर साल मिनीसोटामा नेपालीहरुको पिकनीक थियो। नेपालीको रमझम हेर्न म पनि पुगेको थिएं त्याहां। पिकनिकको रमझमसंगै भलेबल पनि चलिरहेको थियो। भलेबल हेर्दै गर्दा परिचयकै क्रममा आफ्नै गाउं पल्लो पट्टीका अंकलसंग चिनापर्ची भयो। उहांको छोरा भलेबल खेल्दै हुनुहुंदोरहेछ। भलीबल पछी उहांसंग पनि परिचय भयो। हामी टाढाको नाता पर्दा रहेछौं। अमेरिकामा पनि नातेदार भेट्टीदा दंग भएर फोन आदान प्रदान गर्यों। त्यस पछी भेटघाट भइरह्यो। धेरै पछि पो थाहा भयो बेला बेलामा सपना संसारबाट इमेल पठाउने तिनै भलिबल खेलाडी बिश्व पौडेल पो रहेछन। एकछिन दुबै खुब हांस्यौं। बिश्वजीसंग आजकाल पनि नियमित भेट भइरहन्छ।

अगिल्लो हप्ता बिश्वजीले फोन गर्नुभयो। भोली नेपाली भलिबल प्रतियोगिता छ आउनु पर्यो। सधै दौंतरीमा राजनिती, कथामा मात्रै भुलेर भएन यसो आफ्नो वरीपरी हुने कुरा पनि लेख्नुपर्यो। उहांलाइ आउछु त भनिहालें तर अब भलिबलको के पो लेख्ने? त्यही पनि क्यामेरा बोकेर भलिबल मैदानतिर लागें। मैदानमा ६ वटा टिम बललाइ नेट कटाउंदै आफ्ना प्रतिपक्षीसंग जुध्दै रहेछन। त्याहां सानो तिनो नेपाली मेला नै लागेको थियो। खेल हेर्न त रमाइलो भयो तर त्यो खेलको लेख्ने पो के? लेख्ने कुरा गर्दै गरौंला यसो भिडियो खिचौं भनेर सानो क्लिप लिएं। त्यस बखत लिग गेम भइरहेको थियो। सपना संसारका बिश्व जी तातो आलुको टोली नेता हुनुहुन्थ्यो भने उहांहरुसंग जुध्ने बारुलो समुह थियो। १-१ को बराबरी पछि अघी बढेको खेल अन्त्यमा तातो आलु सेलायो। बारुलोले तातो आलुलाइ पराजय गर्दै सेमी फाइनलमा प्रबेश गर्यो। अघिल्लो समुहसंग खेल जितेकोले तातो आलु पनि अर्को समुहको बिजेता भोलेनाथसंग सेमी फाइनलमा खेल्ने मौका पायो। प्रतियोगिताकै शसक्त मानिएको भोलेनाथसंग सेमीफाइनलमा जुध्नु पर्ने भएकोले तातो आलुका सबै खेलाडी चिसा भएका थिए। चर्को घाम र आफूले सपोर्ट गरेको समुह ओरालो लागेपछि म खेल मैदानबाट हिंडे। हारेको खेलको के लेख्नु,भिडियो पनि क्यमाराकै डिस्कमा थन्कियो।

एक हप्ता कामको सिलसिलामा बहिर जानूपरेकोले खेल कता पूग्यो पत्तो नै भएन। एक हप्ता पछि बिश्वजीलाइ फोन गरेर खेल के भयो भनेको त खेल जितियो पो भन्नुभयो। सेमीफाइनलमा प्रतियोगिताको शसक्त समूह भोलेनाथलाइ भित्ता लगाए पछि फाइनलमा नया नेपाल समूहलाइ सजिलै पराजित गर्दै आफ्नो करामत देखाएर २००९ को नेपाली मिनिसोटा कप तातो आलुले हात पारेछ। उहांलाइ बधाइ दिन सपना संसार छिरेको त ओहो पिकनिकका टन्नै फोटो राख्नुभएको रहेछ। खेलको भिडियो भने कतै देखिन। मैले पनि सोचे अब भने ब्लग लेख्ने पक्कै बहाना मिल्यो। १-२ लाइन लेखेर भए पनि यो भिडियो त राख्छु राख्छु भनेर टाइप गर्न थालेको टन्नै पो भएछ। बिश्व जी लगायत उहांको समुहलाइ बधाइ दिंदै लिग चरणमा खेलिएको तातो आलु र बारुलो बिचको सानो क्लिप पस्किएको छु। क्लिपमा अन्य समुहहरु खेलेको पनि देख्न सकिन्छ।




14 Comments:

हावा De Wind said...

विश्व जी को कुरो पनि ठिकै हो खेल मात्र हैन कहिले काही तपाईं हरु आफु बसेको ठाउँ वा नयाँ मान्छे वा भ्रमण गर्नेलाई जानकारी मुलक हुने सामग्रि लेखे पनि राम्रै हुन्छ

सपनासंसार said...

नेपालीयन जी,
तपाईको प्रस्तुती राम्रो लाग्यो ! आगामी दिनमा हुने नेपाली सामुदाहिक कार्यक्रममा पनि यहाको उपस्थिती को आशा गर्दछु ।
सपनासंसार

Prajwol said...

यता उती यो कार्यक्रमको फोटुहरु हेर्दा त धेरै परिचितहरु पनि मैदानमा लागि परेका रहेछन :)

नेपालियन said...

प्रज्जबल जी भलेबल खेल्नेहरु पनि चिन्नुभयो?

बरु चिनजानको कथा भन्नुहोला है त।

नेपालियन said...

पौडेल १८ भन्ने चाही सपना संसारका बिश्व जी हुन है।

Prajwol said...

नेपालीयन जि,
केही नातेदारहरु र केही साथीहरु, आजकाल अमेरिकामा त त्यती त जहाँ पनि हुन्छन ..LOL

सपनासंसार said...

यसरी खुलेआम अर्का को परिचय खुलाउनु कत्तिको सान्दर्विक हो त नेपालीयन ज्यु :) . अनि यी कमलादिका मालिक को रैचन कुन्नि !

~सपनासंसार

पोस्तक श्रेष्ठ said...

नेपालीएनजी, तँपाई त्यंहा आएको हो र भन्या, मैले यसो फोटोको आधारमा पनि चिन्न पर्ने हो।

नेपालियन said...

पोस्टक जी म लिग खेल भएको बेलामा आएको थिएं। फाइनल हुंदा आउन मिलेन। भेट भएको त मज्जाले कुरा गर्नुहुन्थ्यो। म खेलाडी परिन मात्र हेराडी परें, तपाइ कतै मैदानमा हुनुहुन्थ्यो कि?

सपना संसारका मित्रलाइ मर्का परे जस्तो छ। मैले त फ्यान भएर पो नामै दिएको अप्ठ्यारो परेको भए म दौंतरी एडमिनसंग निबेदन हाल्छु माथीको कमेन्ट मेटाउन;)
अझ मैले खेलमा सहभागी सबैको नाम राख्ने सोच थियो। त्यसलाइ अब त्यतीकै राखें।

पोस्तक श्रेष्ठ said...

म चांहि खेलाडीहरुको खानपानको ब्यबश्थापनतिर ब्यस्त थिँए। हटडग पोल्ने काममा सहयोग गरिरहेको थिँए।

नेपालियन said...

म पनि त्यहां पूगेको थिए। हटडग त हैन चिसो पानि भने खाएको थिए।
समय फरक परेछ की चिनजानको कमी भयो, ल है म त छक्क परें।

ल अब भने अर्को पटक पक्कै चिनाजानी गरौंला।

सपनासंसार said...

हैन हैन के को अफ्ठ्यारो हुनु ! हरेक प्रतिकृया सह्रदय स्विकार्य छन् । र दशैमा हुन लागेको खसी प्रतियोगितामा यहालाई स्वागत छ। तातो आलु को समर्थन गर्नुहोस् र खसी को रक्तुवा र चिउरा अनि भुटुवा खाने अवसर नगुमाउनुहोस् ।

सपनासंसार

नेपालियन said...

लौ म त आत्तिएर झन्डै दौंतरी ब्यबस्थापनलाइ कमेन्ट हटाउन निबेदन हालेको? लौ ठिकै भो त्यसो भे।

यो खसी प्रतियोगिता भनेको चाही के हो नि? खसी को रक्तुवा र चिउरा अनि भुटुवा त सांच्चै मन पर्छ तर अब खाने अबसर कसरी जुट्ने हो जान्न पाउं है?

Milan said...

होइन ... कुन ठाउं हो हौ यो..??? दौतरीका सबै साथि एकै तिर बस्नुहुन्छ के ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !