May 23, 2009

शान्तिपाठ

धेरै भो,
हामीले एकापसमा धारे हात लाएको
एक-अर्कालाई सिध्याउने कसम खाएको,
तर,
हिंसाको यो अखण्ड कथामा
ताज पहिरिने समय कहिल्यै आएन
मनले त्राण पनि त कहिल्यै पाएन !
हतास मनभरि त्रास र घृणा रोपेर
मानव उद्विग्नता र आकांक्षाका तनभरि
कुटिल मादकताको जहर खोपेर
हामी मृत्यु यज्ञको होता बनिरह्यौँ
हामीले अन्तहीन गर्तको गोता खाइरह्यौँ
कसैलाई शत्रूको कित्तामा जाकेर
अरूलाई आफ्नाहरूको पर्खालले ढाकेर
हामी ध्वंश र मृत्युको मातम खेल खेलीरह्यौँ
मैन-शिखा सदृश आत्मदाहको उज्यालोमा बलिरह्यौँ ।
हामीलाई थाहा थियो,
अन्तहीन विनिर्माण र विध्वंशको यो कथामा
हिंसा, स्व-विनाश र चित्कारको यो व्यथामा
अर्थहीनतालाई रोमाञ्चको कलेवरमा सजाउँदै
हामी लडिरह्यौँ वीरोचित बन्दै अनि बनाउँदै
मुठ्टीभर आकांक्षीहरूका सपनाहरू सजाउँदै,
तर ,
इतिहास सांक्षी छ,
युद्ध त्यज्य औ बुद्ध पूज्य छ
मोजेज , रोम र सिकन्दरहरूको
गाथा र स्मृतिमात्र भव्य छ
आऊ, त्यसैले
एउटा मधुर संस्कृतिको खेती गरौँ,
घृणा र दुष्कर प्रवृत्तिको अन्त्य रोजौँ,
निषेध र वञ्चनामा प्रवृत्त मुखहरूमा
माधुर्यताको मृदुलता रोपौँ
ध्वंशमा उठेका हातहरूमा
सिर्जनाको कर्मठता खोपौँ
बिसर्जनका यी क्रन्दनहरू
अभावका ती रोदनहरू
अनिकालका पर्याय बनून
सहभाव अनि अपनत्वका मनभरि
आलिङ्गनहरू र सहकाल छाऊन् ।




- एकलव्य

4 Comments:

प्रबिण थापा said...

nice poem eklabya ji!

ठरकि दादा said...

Hats off to you Eklayva !!

Nice composition.

कृष्णपक्ष said...

तर ,
इतिहास सांक्षी छ,
युद्ध त्यज्य औ बुद्ध पूज्य छ
मोजेज , रोम र सिकन्दरहरूको
गाथा र स्मृतिमात्र भव्य छ....


एकलव्य जी, पीडाहरुको कारुणिक स्वर मात्र नअलापेर शान्ति, आशा र संभावनाको यो भीषण पृथकतालाइ यती मिठो शैलिले एकै कवितामा प्रस्तुत गर्नु भयो । उत्कृष्ट लाग्यो ! यत्ति भन्छु - किन द्रवित हुदैनन ढुंगाका मनहरू र गाउदैनन शांतिका गीतहरु ?

बिप्लब said...

कृष्णपक्ष जि संग म पनि सहमत छु।मलाइ पनि लाग्छ किन द्रवित हुदैनन ढुंगाका मनहरू र गाउदैनन शांतिका गीतहरु ?
तर पनि खुशी भित्र पिडा हुंदा मुस्काइरहेछन ओठहरु। त्यो नै राम्रो आयाम लाग्यो।
अन्तीममा एकलव्कै शब्द पैचो लिन मन लाग्यो।
एउटा मधुर संस्कृतिको खेती गरौँ,
घृणा र दुष्कर प्रवृत्तिको अन्त्य रोजौँ,
निषेध र वञ्चनामा प्रवृत्त मुखहरूमा
माधुर्यताको मृदुलता रोपौँ
ध्वंशमा उठेका हातहरूमा
सिर्जनाको कर्मठता खोपौँ

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !