February 17, 2009

गौरी

शिव प्रकाश

प्रगाढ मित्रताको आयतनमा फैलदो प्रेमको तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरु यदाकता छछल्किन खोज्थे । सागर आफैं तिर्खाए जस्तो तिर्खाएका उनीहरुमा एकअर्काभित्र डुवुल्की मार्ने चाहना उर्ले पनि सीमिति थिए एक आपसमा । र सीमित रहे वर्षौसम्म । मित्रता र भेटघाट भने निरन्तर थियो।

आशुतोस एकाएक विदेशिने भयो । यो कुरा गौरीसँग पनि उसले लुकाइरहेको थियो । तर कुनै साथीबाट गौरीलाई थाह भयो आशुतोस भोली नै उड्दै छ भनेर !

भोलीको उडान् आफ्ना सामान र सुटकेस मिलाउँदैमा रातको एघार बजिसकेको थियो फोनको घण्टी बज्यो । आशुतोसले हेलो भन्न नपाउँदै "म तिमीलाई अहिले नै भेट्न चाहन्छु" गौरीको आवाज सुनेर आश्चार्य र मौनता दुबै छायो आशुतोसमा । "तर... तर.....तर गौरी अहिले त धेरै अवेला भइसक्यो"। ‘भयो होला तिम्रो लागि, तर मेरोलागि भएको छैन’ प्रतिउत्तरमा गौरीले भनी । गौरीको अस्वाभाविक र अप्रत्यशित चाहना ! उ नचाहेर पनि गौरीबाट टाढिनु त छदै छ त्यसमथि हृदयको खोपीमा बसेकी गौरीबाट विछोडिने घाउ उ भित्रभित्रै पिलिइरहेको थियो । त्यो पीडा उसले गौरीसामू व्यक्त गर्न सकेको थिएन।

तर.....गौरी किन यति अबेला, आखिर त्यस्तो के ? आशुतोस बोलिनसक्दै गौरीले भनि "त्यो पनि मैले भन्नु पर्छ तिमी पुरुष..........'।"

रात निक्कै छिप्पिसकेको हुनाले गौरीलाई मनाउने प्रयत्न गर्‍यो भोली भेट्ने बाचा गर्दै । गौरीले आशुतोसप्रति आवेश पोख्दै भनि "तिमी पुरुषहरु मर्जीका मालिक हुन्छौ, हामी नारीको इच्छाको कदर कहिल्यै गर्दैनौ ।" पीडापूर्ण हाँसो हाँस्दै उसले उत्तर दियो "तिमी नारीहरु पनि त यसरी बेला न कुबेला ठाउँ न कुठाउँ अमिल्दा अप्ठ्यारा कुराहरुको अत्तो थाप्छौ र दोष चाहीँ पुरुषहरुलाई दिन्छौ ।"

"ल उसोभए विहान आठबजे होटल ग्रिनल्याण्डको ११ एघार नं कोठामा भेट ।" गौरीले फोन विसाई । "म पुरुषको भोको होइन । कर्णध्वजको अलावा लाखौं पुरुष छन् मेरा वरिपरि ! तर आशु नै किन उभिन्छ मेरा सामू.......? म मात्र प्रेमको भोको हुँ । मेरो त्यो भोकको उपज पनि आशु नै हो र भोजन पनि आशु नै हो । अनि मेरो प्रेमको पर्याया पनि आशु नै हो, अरुकोही हुन सक्दैन । मभित्र एउटा साम्रज्य बनाएको छ उसले । त्यो साम्रज्यमा आफैभित्र अधिनस्त शासित छु म । बाचाउँ भने कसरी बचाउँ अनि भत्काउँ भने कसरी भत्काउँ त्यो साम्राज्य.......!" यस्तै तर्क र तिस्रनाहरु तेस्याउदै गौरीले त्यो रातसँग रातभर वहसगरेर रात विताई।

आज गौरी आफूभित्रको गह्रौंपनलाई हलुङ्गो पार्न चाहन्छे । आशुतोससामू आफूलाई रित्याउन चाहन्छे।

आशुतोस होटलको कोठामा छिर्ने वित्तिकै उसले ढोकाको चुक्कुल लगाई, पर्दा मिलाई । आशुतोस किंकर्तव्यविमुढ हेरिरन्छ एकहोरो गौरीलाई । निशब्द उभिएको छ एउटा सग्लो पुरुष ! एउटा सग्लो पुरुषभित्रको एउटा पूर्णपुरुष अपेक्षाकृत उभिएको छ मानौ कुनै मूर्ति जस्तो !

आशुतोस निमग्न छ गौरी निशब्द छे । हेरिरहेछन् एक अर्कालाई । एउटा पुरुषभित्रको पूर्णपुरुषको परिकल्पनामा निथ्रुक्क भिजेकी छ गौरी!

एकाएक सम्पूर्ण सीमा र बन्धनहरुलाई नाघ्दै गौरी आशुतोसमाथि यसरी विसर्जित हुन्छे मानौ आत्महत्या गर्ने मान्छे जसरी आँखा चिम्लेर हामफाल्छ।

स्तब्धता



6 Comments:

Luna said...

पुरुष बा दि मस्तिस्क बाट यस्तै कथाको उपज हुने रहेछ ! त्यो भन्दा बढी के नै आशा गर्न सकिन्छ र !
गौरी बिबा हित छे । उस्को श्रीमान कर्ण ध्बज उस्को साथ मा छ ।ुउ आशु तोस लाई प्रेम गर्छे ।
यहाँ सम्म ठिकै छ । प्रेम आफ्नै श्रीमान सँग मात्रा हुन्छ या हुनु पर्छ भन्ने छैन र यो श्रीमती मात्रा होइन कि श्रीमान मा पनि लागु हुन्छ । ( सबै होइन तर केही को मात्रामा हामीले बिश्ब समाज मा यो देख्छ । )
प्रेम मन - मस्तिस्क बाट उत्पन्न हुने हो । यो भाबना हो । भाबनालाई रोकेर रोक्न सक्तैन मान्छे तर उस्ले कन्ट्रोल गरिरहेको हुन्छ ।
यस् अर्थ मा यहाँ गौरी लाई कन्ट्रोल गर्न नसक्ने नारी पात्र को रुपमा उभ्याइ एको छ भने आशु तोस लाई कन्ट्रोल गर्न सक्ने पुरुष पात्र को रुपमा ।
अब हाम्रो जस्तो समाज मा प्रेम भाबना कन्ट्रोल गर्न नसक्ने लाई चरित्र हिन नारी को रुपमा उभ्याइन्छ ।
यहाँ गौरी लाई चरित्र हिन पात्र को रुपमा उभ्याइेको छ ।
श्रीमान साथ मा भएको मान्छेले बिहान को ८ बजे होटल मा बोलाएर उन्को प्रेमी सँग न्यौछार भएको देखाएको छ कथामा । जुन व्यबहार मा यस्तो देख्न हम्मे पर्ला ! किनकी यहाँ प्रेम भनेर लेखिएको छ कथामा तर व्यबहार एउटा बेश्या को रुपमा देखाइ एको छ । बरु सिधै गौरी पात्र लाई चरित्र हिन पुरुष गम न पात्र भनेर त्यस किसिमले कथा लेखेको भए हुने थियो ।
एका तिर प्रेम को ध्बाङ्ग पनि दिने अर्को तिर सोही मार्फत पुरुष लाई चाँही बडो त्यागी ( किनकी उु प्रेम कै कारण पनि बिदेश जादै छु ) बनाएको छ भने नारी पात्र लाई श्रीमान हुँदा हुँदै बिहान को ८ बजे होटल मा बोलाएर यौन कामना पुरा गरेको देखाइेको छ !
कथा पढि सके पछी पाठक को मनमा ( बुझ्ने ले त यसरी पक्कै सोच्दैन्न ) नारी पात्र प्रती घ्रिणा उत्पन्न गराउन यो कथा बेहद सफल छ ।
यस् किसिमका कथा लाई पुरुष बादी मस्तिस्क बाट उपज सोच भन्न् सकिन्छ ।
जे होस् कथा पढे पछी सोच्ने आ- आफ्नो सोचाइ हो । एक पाठक भएकोले जे सो चे त्यही लेखे ।
कथा लेखन शैली धेरै राम्रो छ । न्यायिक सोच प्रधान हुने गरी कथा लेख्दै जानु भए सुन मा सुगन्ध हुने थियो ।
निरन्तरताको शुभ कामना हिर्दय देखी नै ।

Himal_paari said...

कथा राम्रो लाग्यो । कथाकार को प्रस्तुती राम्रो छ । तर कथाकार को कथा भन्दा मलाई लुना जी को बिस्लेसन (अथवा समालोचना) झन राम्रो लाग्यो ।

nepalean said...

लुना जी को तात्तातो कमेन्ट पढे पछि कथा तुरुन्तै पढ्छु भनेको थिए तर समय मिल्दै मिलेन। कथा राम्रो लाग्यो। तर अली लामो भएको भए हुन्थ्यो कि जस्तो पनि लाग्यो।
लुना जी को बिष्लेशण पनि राम्रो लाग्यो। उहांले त सिधै छडी हानिहाल्नु भयो कथाकारलाइ।

purna said...

गौरी कथा पढें साथै यस सम्वन्धि प्रतिकि्रया पनि । मेरो विचारमा कथाकी प्रतिनिधि गौरीको आपुनो प्रेमीसँगको यौन चाहनालाई आधार बनाएर कथा लेखिएकोले उनलाई चरित्रहिन भन्न मिल्दैन । जहाँ सम्म मलाई लाग्छ यौन चाहनालाई लुकाउनु हुँदैन भन्छन् । शायद कर्णध्वजबाट आपुनो चाहना पूरा भएन वा जतिको आशुतोषबाट पहिलादेखि आनन्दको अनुभव होला त्यो बिहे पछि आपुनो पतिबाट पाएन होला र पो विहानै विदेश जाने थाहा पाए पछि मनमा कुन्ठित चाहना एकाएक बाहिर आयो र भोलि गए पछि आपुनो चाहना कसरी पूरा गर्ने भन्ने सोच आए र राती नै भेट्न आतुर भाव पोखिएछ । यसमा लुना जीको प्रतिकि्रयामा चरित्रहिन भनिएको छ गौरीलाई । तर बुझ्नेले यसलाई एउटा प्राकृतिक चाहनाले बुझ्नुपर्छ जस्तो मलाई लाग्छ । कथाको प्रस्तुती राम्रो छ । अझ यसलाई लामो कथा बनाए । गौरीको भावना बुझ्न सजिलो हुन्थ्यो जस्तो मलाई लाग्छ ।
purna
purna_mdr@yahoo.com

Nepalean said...

पूर्णजीले डेड बर्षपछी कथा पढ्नुभएछ। मैले फेरी दोर्हाएर पढें। कथा उस्तै जोडर लाग्यो। उखान छ नि फूत्केको माछो ठूलो। सायद मानव जिवनमा पनि त्यही लागू हुन्छ होला। कथाकारले त्यही कुरा प्रस्तुत गर्न खोज्नूभएको छ। नारी र पूरुष बिचको मनोबिज्ञानमा आधारित यो कथाका बिश्लेषण पढ्न झनै रमाइलो हुंदोरहेछ।

प्रतिनाद said...

लुना जीको कमेन्ट चाहीँ अलिक पुर्वाग्रही लाग्यो मलाई । त्यसतो उहाँले सोचे जस्तो र आवेशमा नै आइहाल्नु पर्ने कथामा कुनै त्यसतो तर्क नभएकाले उहाँले यसमाथि व्यक्त गर्नुभएको प्रतिकृया अलिक नमिलेको हो कि जस्तो लाग्यो मलाई। कथा सरल छ। तपाईले भने अनुसार स्त्रीलाई समाजमा दिइने सर्वनामसंग जोडेर यहाँ हेर्नु भएको छ । सबैको आफ्नै दृष्टिकोण हुन्छ । रह्यो समाजको ऐना भन्ने कुरा - कथा सँधै समाजकै कुरो लेख्छ भन्ने पनि छैन । समाजबाट धेरै नै दु:खी हुनुहुन्छ भने बरु लुनाजीले त्यसता समाजका कुराहरुलाई प्रस्तुत गर्नुभएको भने सायद समाजको त्यो अनुहार पनि छर्लङ्ग हुने थियो ।

सबैभन्दा महत्वपूर्ण कुरा भन्न मनलागेको चाहिँ यौटा कुरा छ - यो चाहिँ सबैले मनन गर्नु पर्छ जस्तो लाग्छ । हो समाज पुरूषप्रधान समाज हो - तर यो भन्दैमा सबै पुरुषलाई यौटै दृष्टिले हेर्नु हुँदैन र सबै नारीलाई पनि यौटै दृष्टिले हेरिनुहुँदैन । सबै नारी अबला हुँदैनन् । र सबै पुरुष कामुक/यौनपिपाषु हुँदैनन् । र यदि तपाई बुझ्नुहुन्छ भने अर्को कुरा पनि भन्न चाहन्छु । यौटा नारीवादी पुरुष (फेमिनिष्ट) जति कट्टर फेमिनिष्ट हुन्छ, त्यति कट्टर सायद यौटा फेमिनिष्ट नारी ।

कथा सरल, मनोवैज्ञानिक, स्पष्ट र सामान्य विषयवस्तुमा केन्द्रित कथा छ । यसमा यति धेरै अधैर्य हुनुपर्ने सायद त्यसतो कुनै आवश्यकता छैन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !