February 14, 2009

के माओवादी लडाकूहरू जनसेना हुन त ?

मैले चिनेका केही मान्छेका नामहरू वास्तवमा अत्यन्त विपरित अर्थ लाग्ने खालका छन् । एकजना कर्ण बहादुर हुनुहुन्छ । वहाँको नाम अनुसार वहाँका कानहरू एकदमै टाठा हुन पर्ने हो । तर अफशोस वहाँ चर्को कुरा मात्र सुन्ने खालको बहिरो मान्छे हुनुहुन्छ । त्यस्तै अर्का नेत्रपाणी बाजे हुनुहुन्छ, तर नामको सार्थकता झल्किनु पर्नेमा विधिको विडम्बनाले वहाँ कानो हुनुहुन्छ र एउटा आँखा पटक्कै देख्नुहुन्न। अहिले बूढेस कालमा अर्को आँखाको तेजमा पनि कमी आउनाले वहाँ लगभग अन्धो हुन पुग्नु भएको छ, लट्ठिको भरमा हिँड्नु हुन्छ । झन अर्का बुद्ध बहादुर त बुद्धको अहिंसाको धर्मलाई धज्जी उडाउन नै जन्मेका जस्ता छन् । उनी परोस् नपरोस् मारमुङ्ग्रीमा उत्रीने, अति धेरै मासु-माछा र मदिरा सेवन गरिरहन पर्ने र मान्छे मार्ने र पिट्ने कुरामा जाइलाग्ने खालका छन् । अहिले मेरो जिल्लाका माओवादी नेता रहेका उनले गाउँतिर पसेर त्रास नै मच्चाउने गरेका छन् । केही समय अघि गाउँमा भेट हुँदा मलाई माओवादीको समर्थक नभएको थाहा पाएका उनले कथित जनयुद्दमा कम्तिमा ५०,६० जनाको आँफू एक्लैले सफाया गरेको वीर-गाथा अति घमण्डका साथ सुनाएर मलाई अप्रत्यक्ष धम्काए । एकै स्कूलमा पढेका हुनाले र कहिले काहीँ त्यो बेलाका परीक्षाहरूमा चीट चोर्न पर्दा मबाट पनि मद्दत लिएको सम्झेका उनले, अबको नया नेपालमा म जस्ता पढे लेखेका सामन्ती र बुर्जूवा डिग्रीधारीको कुनै भूमिका नहुने फरमान पनि सुनाए, मैले चूपचाप सुनेँ किनभने यस्ता कुराको प्रतिवाद गर्नु नया नेपालको शासनमा वर्जित छ । ज्यान जोगाउने कुरालाई ठूलो ठान्न पर्ने भएकाले मेरो तर्क र बौद्दिकता बुद्धेका क्रन्तिकारी हिंसात्मक गालीमा नतमस्तक बने ।

माथिका तीनजना सत्य पात्रहरूको शारीरिक वा मानसिक कमजोडिलाई मैले परिहासमा ल्याउन खोजेको भने हैन। प्रकृति वा भगवानले हामीलाई जस्तो बनायो त्यस्तै हुने हो, हाम्रो चाहनाले हामी कोही राम्रो वा नराम्रो बन्न पुगेका हेनौँ होला । तर कतिपय कुरालाई मान्छेले चाहे सुधार गर्न सक्छ, जस्तो कि बुद्धेले सभ्य मान्छे बनेर जीउनु पर्छ अनि बाँच र बाँच्न देऊ भन्ने कुरा चाह्यो भने अपनाउन पनि सक्छ । तैपनि माथिका उदाहरणहरूले के कुरा दर्शाएको देखियो भने नाम जे भए पनि काम त्यही अनुरूपको हुनुपर्छ भन्ने छैन । नेपालमा अहिले माओवादीहरूको एउटा सेनाको धेरै चर्चा हुने गरेको छ जसलाई माओवादी र उसका समर्थकहरूले जनसेना भन्ने नाम दिएर बोलाउन छन् । मेरो बुझाइमा माओवादीको यो जनसेना, कर्णबहादुर, नेत्रपाणी बाजे र बुद्धेका नामहरूमा एउटा किसिमको एकरूपता छ त्यो के भने सबैका नामहरू र तिनले धारण गर्ने अर्थहरूमा ठीक विपरित खालको सम्बन्ध छ ।

साँचो जनसेना त्यो हुन पर्ने हो जसले जनताका दु:खहरू हरण गर्न वा हटाउन भरसक प्रयत्न गर्छ वा गरेको थियो । साँचो जनसेना त्यो हो जुन राजनीतिको साँघूरो र परस्पर एकापसमा घृणा गर्ने संकृणताको सीमाबाट माथि उठेर जनतालाई अपनाउँछ । उसले राजनीति, धर्म , जात, भेक, रङ ,नाक-नक्सा र विचारका आधारमा मान्छेलाई मेरो र तेरोको व्यवहार गर्दैन र अझ भन्ने हो भने जनताको अनुमति बिना केही लिँदैन बरू दिइमात्र रहन्छ, सताउँदैन बरू सहन्छ । जनतालाई प्रताडित गर्ने कुराको कल्पनामा पनि जनसेना काँप्छ, उसले आफ्नो विचार, व्यवहार र कर्मले कतै कसैलाई बिघ्न पुग्ला कि भनी आँफूलाई हर्दम संयम र नियन्त्रणमा राखिरहन्छ । तपाईँको विचारमा यस्तो कल्पनातीत जनसेनाको झूण्ड नेपाली भूमिमा कदाचित देखिन पुगेको छ ?, के माओवादी लडाकू जसले स्वयंघोषित जनसेनाको नाम र पगरी टाउकोमा गूथेर नेपालमा ढलीमली गरिरहेको छ , उसका समग्र क्रियाकलापहरू माथि वर्णित बुद्द बहादुरका जस्ता छैनन् र ?

जनताको जीवन, बाँच्न पाउने अधिकार, गास, बास, र आवरण अनि आवरूलाई नेपालको इतिहासमा सबैभन्दा विभिषिकापूर्ण कहालीलाग्दो वातावारणको बन्दी बनाउने जमात जनसेना हुन्सक्छ भने हाम्रा शव्दकोषका परिभाषाहरूलाई विपरितार्थक तर्फ मोड्ने हो कि ?

यदि मेरो बुझाइमा कतै भ्रम रहेछ भने, माओवादी लडाकूहरू जनसेना हुन सक्ने र हुनु पर्ने पक्षमा केही अकाट्य तर्कहरू पो छन् कि ?



8 Comments:

ठरकी दादा said...

होईनन्। (छोटो उत्तर यहि हो)

जनतालाई मार्ने, काटने, कुट्ने र तर्साउने बाहेक जनताको लागि के गरेको छ र 'जनसेना'?।

भारतमा राम सेना, शिव सेना आदि नाम दिएर बाल ठाकरे जस्ताले आफ्नै 'निजि' सेना राखै जस्तै यो लडाकु जत्थालाई माओसेना वा प्रचण्ड सेना भन्न सकिएला तर जनसेना हैन । जसरी भारतमा रहेका शिवसेना र रामसेना नामका मात्रै कारणले भगवान शिव वा रामका सेना हुँदैनन् त्यसरी नै 'जनसेना' भन्दैमा यिनिहरु जनताका सेना हैनन्।

Keshab Ghimire said...

जनसेना भन्नले त जनताको सेना हुनु पर्छ जो जनताको दु:ख सुखमा साथ दिने गर्छ । एदी तिनिहरु सच्चा जनसेना हुन भने त किन सिबिर मा बस्थे त जनताको कमाइ खाएर ? आउथे नि गाउगाउमा, त्राश फैलाउन होइन कि बिकास निर्माण कार्य गर्न । जनसेना भए एत्तिका बर्ष सम्म किन बस्थे त्यो सिबिरमा। नेपाली जनताको पशिना बगएर कमाएको धन खर्च गरेर , किन हुन्थ्यो हत्या आतंक, लुटपाट आज। किन फैलिन्थ्यो असन्ती आज, किन देशमा उनिहरुकै कारणले राजनीतिक अस्थिरता पैदा हुन्थ्यो ।

sumansudha said...

janasena hoina prachand ko sena chai ho , aba tiniharu lai aafno aafno ghar pathaidiye hunchha. tiniharu ko kam chhina. janata ko pasina ko kamai khayera kina baseko hola .

प्रबिण थापा said...

हो माओवादीको सेना जनसेनाको परिधीभित्र रहन नसक्ने धेरै कारणहरु छन। तपाईंले भने झै यहाँ धेरै नराम्रा मानीसहरुको जमघट पनि छ तर एउटा यथार्थ भने हामीले भुल्नु हुँदैन कि यसभित्र धेरै राम्रा मानीस हरु पनि छन जसले धेरै समर्पण गरेको छ अहिलेको स्थितिमा आइपुग्न।
एउटा सस्था भित्र एक जनाले नराम्रो काम गर्‍यो भने पनि सस्थाको नै बेइजत्त हुन्छ फेरी यहाँ त धेरै अनुहार हरु छन त्यस्ता नराम्रा प्रब्रिती बोकेर यस भित्र छिरेका र तिनिहरुले नै आफ्नो स्वार्थ को खातिर अनेकौ उदन्ड मचाउने काम गरिरहेका छन तर यहाँ बुझ्न नसकिने कुरा चाँही के छ भने किन माओवादीले तिनिहरुको सम्रक्षण गरिरहेका छन? यदी जनताको लागि १० बर्ष युद्द लडेका थिए, हजारौ को बलिदानी परिवर्तन को लागि थियो भने। अहिले गम्भिर प्रश्न माओवादीको नैतीकता को हो? उसका आदर्श उन्मुख कुराहरुको हो उसले लिने नयाँ कार्यदिशा को हो। यदी माओवादीको सेना साचिकै जनसेनाको नाममा रुपान्तरण हुन चाहन्छ भने अझै समय बितिसकेको छैन यसको लागि माओवादीको इच्छा शक्तिमा भर पर्छ यदी उनिहरुको सेना अझै उनिहरुको कमान्डमा हिंड्न सक्छ भने नत्र यो भबिश्यमा न जनसेना, न माओवादीको सेना, न प्रचन्डको सेना बन्न सक्छ बरु यसबाट अरु आतंककारी को समुहहरु जन्मनसक्ने र यो नेपाल र नेपालीको लागि खतरानाक हुनसक्ने कुरमा भने दुइमत नहोला।

लेख सही छ, जल्दोबल्दो पनि। धन्यवाद

nepalean said...

प्रश्न सोधीहाल्नु भयो एकलव्य जी माओवादी लडाकूहरू जनसेना हुन सक्ने र हुनु पर्ने पक्षमा केही अकाट्य तर्कहरू पो छन् कि ?
तर्कहरू धेरै छन तर ति अकाट्य नै छन यानी ति तर्कका बिरुद्द जाने हरु आफै काटीनु पर्छ। अब मान्छे काटीनु भन्दा त तिनै अकाट्टय कै तर्क तिर लाग्नु पर्यो,होइन त? फेटा पार्टीको नाम जनताको, आखिर पार्टी नै जनताको भए पछि सेना जनताको हुने भएनन त?
म मात्रै किन सबै नेपाली अहिले आफ्नु कट्टु चिसो पार्दै अघी अघी माओबादी पछि पछी स्वाहा गर्दै हिडेका छन। मलाइ त नया नेपालको यो बिजयको शंखनाद होइन कि म्रित्यु यात्राको मलामीको शोखमा ढुबेको एकोहोरो शंख जस्तो लाग्छ। यो नया नेपालमा कालो लाइ सेतो, सेतोलाइ कालो भन्दा भन्दा माओबादीको बेतुकको परिभाषा तथा सत्ता भित्र र बाहिरबाट गरिएको राज्य संचालनले नेपाललाइ आर्यघामा छिटै सेलाउंछ। यो कुरा ठट्टा होइन,अप्रीय लाग्ने यि शब्दहरु पछि भोग्दा झन पिडादायिक रहेन छन।

rahulvai said...

'जन " र जनता शब्दको दुरुपयोग माओवादीले मात्र होइन अहर कोइ साम्यवादी पार्टी र संगठनले फर्दै आएका छन। पञ्चायत काल मा स्थानिय निकाय र राष्ट्रिय पञ्चायतमा उम्मेदबार हुने कम्युनिष्ट जम्मै जन पक्षिय उम्मेदबार । मानौं अरु जम्मै जन-बिरोधी उम्मेदबार। आम् सभा लाई जन सभा।
त्यो भन्दा नि महत्वपूर्ण कुरा जुन देश मा लोकतन्त्र र जनकल्याण को नामो निशान छैन। जनता भोकै मर्दा नि मिसाइल बनाउन मै गर्ब गर्छ। राजतन्त्र को ठ्याकै नक्कल गर्द छ। त्यो देश को आधिकारिक नाम चाँही जनगणतन्त्र कोरिया रे। त्यही कोरिया को बाँकी भूभागमा लोकतन्त्र पनि छ, बैभव पनि छ, अर्थिक क्रान्तिको उत्शर्ग मा छ, त्यो चाँही गणतन्त्र कोरिया मात्र। यस माने मा बुझ्नु पर्छ, जन भनेको माओवादी हरु कै भाषामा भन्नु पर्दा खसी को टाउको झुन्ड्याइ कुकुर को मासु बेच्ने पसल जस्तै हो। जन भनेको न वा अ जोडीएको अकरण शब्द भन्ने बुझ्नु पर्छ। त्यसैले जनसेना मात्र होइन जन जोडीएका धेरै यस्ता शब्दहरु छन जसको अर्थ यथार्थमा जनबिरोधि नै छन। '

Postak_Shrestha said...

सबै ऊस्तै हुन्। कसैले पानी माथिको ओभानो हुनै पर्दैन। अरुको देशको के कुरा काट्नु, नेपालमा चाँहि नेपाली काँग्रेस जति सबै प्रजातंत्रबादी। जुन पार्टीमा एक जना नेता बाँकि सबै दासहरु जस्ता छन्। चुनावनै नगरी, छलफलै नगरी गिरीजा संसदीय दलको नेता बन्छन्-बिरोधमा कसैको बोली फुट्दैन। शाह र राणाहरु पछि सबै भन्दा बढी शासन गर्न पाउँदा पनि केही गर्न नसक्ने, देशलाई कंगालै तुल्याउने, तर मुखमा चाँहि जहिले पनि "जय नेपाल"।

Panda said...

पोस्तकजी ले भने जस्तै परिभाषा त्यही हो ,

कांग्रेस : प्रजातन्त्र
कम्निस्ट : जन- (जन सेना, जनसंगठन आदि इत्यादि)
राजानजिकका : राष्ट्रवादी
यि तिनवटैको आलोचना गर्ने : प्रतिगामी वा प्रतिक्रियावादी

अर्थात आंफै धामी, आंफै पुरोहित नाम राख्न के को सार्हो कुरा पर्यो र !

तसर्थ सबै चोर, कसले के चोर्यो र कति चोर्यो भन्ने मात्र फरक हो ।
अब जनसेना, मधेश टाइगर, मुक्ति मोर्चा के के हुन भन्ने छन नि सबै मेरो बिचारमा मागी खाने भाडो वा माथि उक्लिने सिंढी हुन । भविष्यमा चढ्ने मान्छे माथि पुगे पछि लात हानेर लडाइदिए पछि कुन सेनाको सदस्य रहेछु भन्ने तिनै सेनालाई हेक्का हुन्छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !