January 23, 2009

भ्रम

शेखर ढुंगेल
अमेरीका

नमस्कार !

कोही अपरिचित व्यक्तिले किरणतर्फ हात फर्काउँदै अभिवादन गर् यो । किरण अकमक्क पर् यो । पछाडि फर्केर हेर् यो सायद अरु कसैलाई नमस्कार गरेको होला ! तर पछाडि कोही थिएन । औपचारिकताका लागि नमस्कार फर्कायो । हाँस्दै हात मिलायो अनि सोध्यो- “हाम्रो भेट कतै भएको थियो र माफ गर्नुहोला मैले त ठम्याउन सकिनँ । यहाँको नाम जान्न सक्छु होला ”

"मेरो नाम दीपक हो म माथिल्लो टोलमा बस्छु ।” अनि सोध्यो- “तपाईं डाक्टर साहेब होइन ?” उसको प्रश्नले आफ्नो व्यक्तित्वप्रति किरण आफैं गद्गद् भयो एकछिन । प्राकृतिक रुपमा हँसमुख अनि व्यक्तित्वको धनी किरणलाई बेला-बेलामा अलग-अलग जात र पद दिई सम्बोधन गरेको यो पहिलो पटक भने थिएन ।

यस पटक एक्लो उपस्थितिमा कसैले नितान्त एकदमै भिन्न दर्जा दिएकोमा किरण चकित पर् यो । किरणले एकदमै सहज तरिकाले जवाफ दियो “होइन म खाते हुँ । दीपक !”

"'के भन्नु हुन्छ किन मजाक गर्नु भो डाक्टर साहेब?” किरणले फेरि दोहोर्‍यायो “होइन म खाते नै हुँ ।” दीपकले भन्यो- “यो सेतो कोट…।” किरणले हल्का हाँस्दै भन्यो “विश्वास गर्नुहोस् म खाते नै हुँ ।”

दीपकले विश्वास गरेन र फेरि थप्दै गयो “सेतो कोट यो महँगो घडी यो व्यक्तित्व तपाई डाक्टर नै हो । ल किन ढाँट्नु हुन्छ ठूलो मान्छे भएर ?” दीपकको जिद्धी देखेर किरणले मनमनै भन्यो “यो कस्तो मुर्ख मनिस होला एक त अपरिचित त्यसमा पनि नभएको पगरी गुथाएर उल्टो हो भन्ने गराउन जोडदिइरहेको छ । म त्यो होइन भन्दा विश्वास नै गर्दैन ।”

घरमा बच्चाले म:म, तन्दुरी चिकेन लेराउन भनेकाले किन्न रेष्टुराभित्र पसेको किरणको पछिपछि आएको दीपकले गरेको प्रश्न उसको विश्वास अडान देखेर मनमा अनेकौं प्रश्नहरुको ओइरो पनि लाग्यो- म साच्चिकै डाक्टर भैदिएको भए हो म फलानो अस्पताल क्लिनिक वा कुनै ठूलो मान्छेको निजी डाक्टर हुँ भनिदिन्थें ऊ खुसी हुन्थ्यो होला । अझ कतै मैले मेरो ठूला-ठूला नेतासित पहुँचको गफ छोडिदिएको भए फोन ठेगाना वा बिजनेस कार्ड माग्दथ्यो होला । उसको आफ्नै नभए अरु कोहीको काम फत्ते गर्न सिफारिस गरिदिन अनुरोध गर्दथ्यो होला । म “पक्का काम हुन्छ चिन्ता नगर्नुहोस्” भनी विश्वास लाग्ने गरी आश्वासन दिन्थें होला । ऊ झुक्दै नमस्कार गर्थ्यो होला । मेरो म:म र चिकेन तन्दुरीको पैसा तिरी मलाई किन्न बैनाबट्टा गर्थ्यो होला । त्यो प्याकेट गाडीसम्म पुर् याउन आई गाडीको ढोका बन्द गरिदिन्थ्यो होला ।

तर किरण न त डाक्टर थियो न त नभएको गफ दिएर झुकाइ खाने स्वभाव नै थियो उसको । सामान्य रुपमा भद्र नै देखिने दीपक नै बरु कुनै सरकारी कर्मचारी हुनुपर्दछ । अपरिचितसित अप्रसंग नै नजिक हुनखोज्ने स्वभाव उचित कि अनुचित जेहोस् जोसुकै होस् दिएको सत्य जबाफलाई विश्वास नगरी आफ्नै जिद्दीमा अडान राखेको छ दीपकले । रेष्टुरा व्यस्त थियो किरणको सामान अझै तयार भैसकेको थिएन । दीपक अझै अक्कबक्क भै किरणलाई नियालि रहेको थियो ।

अरु दुई ग्राहक भित्र पसे । दीपकले उनीहरुलाई सोधेर किरणलाई डाक्टर सावित गराउन खोज्यो । दुवै अपरिचित गलल हाँसे र टेबुलमा बसे । दीपक भने खिन्न मन लगाएको जस्तो देखियो ।

किरणले दीपकलाई उसकै बारेमा सोध्यो । दीपकले पनि सीधै जबाफ दियो- “म व्यापारी । घर जग्गा गाडीको खरिद-विक्री गर्दछु । राम्रै चलेको छ ।”

किरणले १० बर्षअघि मात्र नोकरीको खोजिमा राजधानी पसेको दीपक साइकल मोटरसाइकल खरिद-बिक्रीको प्रगतिले उसलाई समाजमा ठूलो मान्छे बनाइसकेको सोच उसमा पलाएको पायो ।

कुराकानीको क्रममा दीपकको पहुँच निकै माथिसम्म रहेको किरणले थाहा पायो । दीपकको गाडी किरणकै कारपछाडि रोकिएको थियो । तर कार वास्तबमा उसको थिएन बिक्रीको लागि कसैले उसको ग्यारेजमा राखेको कार थियो त्यो । तर ग्यारेजमा यसरी राखिने सबै कारको स्वाद उसले चाखिसकेको थियो ।

किरणलाई त्यस्तो अप्ठ्यारो अवस्था पहिले पनि नपरेको होइन । केही बर्ष पहिलाको कुरा हो उसको एकजना नातेदार प्रहरीका ठूलो हाकिम थियो । ऊ जिल्ला भ्रमणमा जाँदा किरण पनि साथै गएको थियो । जिल्ला तहका हाकिम डिएसपीले आफ्ना हाकिमलाई जस्तै उसलाई ड्याम्म यसरी सेलुट गरे पछि ऊ झसंग भएको थियो । पसिना-पसिनाजस्तो भएको थियो किरण ! अब के भनेर परिचय गर्ने । तर चलाक किरणका आफन्तले कुरा मोडिदिए परिचय गर्नै परेन .

यस्तै उनलाई भेट्न प्रहरी प्रधान कार्यालय जाँदा कतिले किरणलाई सेलुट नगरेका पनि होइनन् । किरणको ब्यक्तित्व मारवाडी ब्यापारी प्रहरी सेनाका अधिकृतजस्तै थियो- छोटो कपाल र टोपीमा ऊ सधैं हुन्थ्यो । नचिनी सेलुट गर्नेहरुदेखि किरण मनमनै खुबै हाँस्दथ्यो ।
आज किरण डाक्टरको रुपमा छ दीपकको अगाडि जो ऊ होइन । “हजुरको म:म तयार भयो” दीपक पनि सामानको पर्खाइमा थियो दीपकले अझै पनि किरणलाई हेरिरहेको थियो । दीपकको आँखाले “मलाई किन ढाँटेको?” भनिरहेकै थियो । दीपकको भ्रमले किरणलाई पनि मजा भने दिएको थिएन- कहाँको यथार्थ कहाँको भ्रम

किरणले आफूमाथि विश्वास गर्न अनुरोध गर्ने के सोचेको मात्र थियो दीपकले फेरि जबरजस्ती प्रहरीले केरकार गरेझैं सोध्यो । “यो सेतो कोट महँगो घडी, महँगो कार चढ्ने डाक्टर नभए को त ?“ दीपकको जिद्दीले किरणलाई अब आफ्नो साच्चिकै औकात देखाउन प्रोत्साहित गर्दैथियो । नम्रता र शिष्टता पनि टुट्यो अनि कारको सिटबाट चिच्यायो- “दीपकजी म खाते नै हो । हिजोका खातेले प्राडो पाजेरो चढेको देख्या छैन खातेहरुले नयाँ-नयाँ महल बनाएको देख्या छैन महँगो अत्तर छर्केर टाई ढल्काएको देख्या छैन लुगाजस्तो लायो मानिस त्यहीं हुन्छ ! भ्रष्ट गरिब चुसुवा महान समाजसेवी बन्या सुन्या छैन हामी नेपालीले समय र मानिस चिन्न आजसम्म किन सकेका छैनौं यो कोट मेरो मालिकले जापानबाट यो घडी मालिकको छोरीले अमेरिकाबाट ल्याइदिएको । यो गाडी म यो गाडीको ड्राइभर ! किरणको छर्राझैं निस्केको जवाफले दीपक तिल मिलाउन पुग्यो । ऊ ढोकाको आड समातेर थुचुक्कै बस्यो । “अब त उसको भ्रम पक्कै टुट्यो होला ” किरण हाँस्दै अगाडि बढ्यो ।




4 Comments:

Luna said...

हाम्रो समाज का टुप्पाबाट पलाउने हरु लाई बडो ब्याङ्यात्मक ढंग ले प्रहार गरेको छ यो कथाले । शहरी क्षेत्र का नब धनाड्य मैधनी हरुको बाहिरी आबरण लाई काउकुती लगाइ लगाइ उनिहरुको भित्री आबरण देखाउन सफल छ यो कथा ।

उजेली said...

धेरै नै राम्रो कथा ॥ वास्तविकतालाई निकै नै मजालो ओकल्न सफल कथा ॥

Anonymous said...

लौ , यहा का हाम्रा कमेन्ट काहा गयचन् , के हो दौतरी साप , अब माई संसार जस्तो हाकिम हुन खोजेको हो क्या हो ?

नेपालियन said...

हे प्रभु यो एनीलाइ पनि के भाको? लेख्ने एक ठाउंमा, खोज्ने अर्को ठाउंमा। बिबाद माथी बिबाद गर्न तिर लागिन है म त।
बाइबाइ

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !