January 18, 2009

विवशता

शेखर ढुंगेल
अमेरीका

आज उसलाई अँध्यारो कोठा प्यारो भएको छ । कता हुन् परिवार, कता छन् आफन्त साथी, ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे ।

उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ जान्थे । सम्पुर्ण जवानी घृणा, डर, त्रास, शोषणको बिंडो थाम्दैमा बित्यो । त्यस्तो कुनै पनि दिन भएन- आराम र शान्तिसित वितेको होस् । कताकता भट्किएका आत्माहरु उसमा समाहित हुन आउँथे र सम्पुर्ण समय खोसेर लान्थे । रात मात्र होइन, बिहान अनि मध्यान्हसमेत उसको भएन । नचाहेको पाहुना, नचाहेको खाना, नचाहेको काम उसको लागि अनिवार्य दैनिकी भएर बित्यो । प्रत्येक रात झपक्कै भएपछि मात्र उसले अपवित्र विछ्यौना पुग्ने मौका पाउँथी । कहिले काहीं बेहुली भएको सपना देख्थी अनि विउँझिदै बलिन्द्रधारा आँशु पोख्दथी । उसको दुलही बन्ने रहर कलिलैमा बन्धकमा परेको थियो- यो समाजको बन्द कोठामा चल्ने अवैध व्यवसायको लागि ।

बच्चामै आमा-बाबु गुमाएकी रोजी -रुक्मिणी) १३ बर्षै उमेरमा र्स्वर्गको भ्रमण गराउने, सुखको महासागरमा डुवुल्की मार्ने सपना देखेर शहर पसेकी थिइन् । रोजीको भाग्यमा त्यसै दिनदेखि विषाक्त खिया लाग्न थाल्यो जुन दिन उनकी घरबेटी आमाले उनलाई नारकीय बाटोमा धकेलिन विवश बनाइदिइन् ।

ठूलो घर, मोटर, नेता, व्यापारीसितको उठबस के के सपना देखाइनन् उनकी घरबेटी आमाले रोजीको जीवनमा । सहारा विहीन अनि अभावमा पिल्सिएकी रोजीको लागि घरबेटी आमाले कोरिदिको सपना, भाग्यरेखा साँच्चिकै र्स्वर्गमै प्रवेश गर्ने मार्ग हो कि भन्ने भान परेको थियो । त्यसैले अँगालिन् घरबेटी आमाबाट प्रशिक्षित धन्दाको बाटो ।

आज, भोलि, पर्सि गर्दै उनी बेचिंदै गइन्, लुटिंदै गइन् । मायाको नाटक गर्ने ब्वाँसाहरु उनलाई चुस्दै, थुक्दै गर्ने क्रम निरन्तर भै नै रह्यो । न त एक दिन कोही सपनाको राजकुमार आयो सिन्दुर बोकेर, डोली चर्ढाई लैजान, न त बन्यो सपनाको महल । आमा बन्ने उनको रहर बिनाविवाह कैयौं भ्रुणहत्यामा पिल्सिन पुग्यो । प्रत्येक आगन्तुक उनको शुन्दरताको बर्णन गर्दै कुनै न कुनै कसम खान चुक्दैनथ्यो, तर दोहोर्‍याएर ऊ फेरि आउँदैनथ्यो ।

समयको गतिले उनलाई शहरको प्रचलित नगरबधू बनाइसकेको थियो । प्रहरीको चिसो कुना उनको लागि सामान्य भैसकेको थियो । सडकमा उनी स्वतन्त्र हिंड्न सक्दैनथिन् । नाम-उपनामले चिन्नेहरु खिज्याउने, जिस्काउने गर्थे । त्यसले गर्दा उनको मौजुदा मूल्य पनि घट्न पुग्थ्यो । एकदिन घरबेटी आमासित उनले हिसाब मागिन्, परिणाममा मनमुटाब हातलाग्यो । उनी छुट्टै कोठा लिएर बस्न थालिन् । आफूजस्तै नगरबधुसित सर्म्पर्क बर्ढाई उनीस्वयं धन्धा चलाउन थालिन् । नाम चलेका पत्रकार, नेता, समाजका ठेकेदार भनाउँदाहरु मुख कालो गर्न आउने गर्दथे । अँध्यारो कोठाभित्र नाङ्गिएका कैयौं नकाबहरु उनको आँखामा छन् । गोप्य राख्नुपर्ने सामाजिक नियम उनले इमान्दारीसाथ निभाएकी थिइन् । त्यतिमात्र नभै सत्य सेवा सुरक्षणमका ठेकेदारहरुको लागि निःशुल्क सेवा गर्दागर्दै एकदिन अपरिचित 'सत्य सेवा' को चङ्गुलमा फस्न पुगिन् । निशुल्क सेवाको बावजुद अतिरिक्त नजरानाको आपुर्तिमा कमी भएकोमा सदरखोर पुगिन् रोजी । उनले सैयौं आश्वासन दिने र महारानी भन्नेहरु कसैको पनि सहयोग पाइनन् । रोजीलाई यस पटक जिउ बेच्ने, मास्ने मुद्दामा सात बर्षको लागि सदरखोरमा राख्ने निर्णय दियो अदालतले ।

रोजीको जीवन 'दो दिनकी चाँदनी फिर उही अँधेरी रात' को नियतिमा परिणत भैसकेको छ । उनको जीवनमा न त कुनै दिन माइतिघर अनि तीज आयो न त भाइटीका । घरबेटी आमासँगै मनाएको दशैंको उनलाई याद छ । घरबेटी आमाको जेलभन्दा कडा नियमभित्र बाँधिएकी थिइन् उनी, कसैसित मनको बह, व्यथा पोख्ने मौकासमेत मिल्दैनथ्यो उसलाई ।

सदरखोरमै थाहा भयो उनलाई असाध्य रोगले गाँजिसकेछ । उनले बुझिन्, उनको जीवन नर्कमय भैसक्यो । उनी जिउँदै मरिसकि छन् । उनका सपना सिसाझैं टुक्राटुक्रा भैसके छन् । सदरखोरबाट निस्किएर सीधै गाउँ जाने योजना बनाएकी रोजीको इच्छा पनि पूरा भएन । उनले सम्झना भएसम्मका आफन्तको पत्ता लगाउन नखोजेकी होइन्- कोही मुगलान पसेका, कोहीले चिन्नसमेत अस्वीकार गरेका खबर उनले पाइन् ।

अब केही समयमात्र बाँकी छ उनको सदर खोरभित्र बस्न पाउने अधिकार । कहाँ जाने, कसरी बाँच्ने- त्यही कुरा मात्र आइराखेको छ रोजीको मनमा । खोरबाट निस्कने दिन नजिकिंदै गर्दा खुशी हुनेहरुलाई देखेर आफूले आफैंलाई टोक्दछिन् रोजी- थुक्क जिन्दगी ! उनलाई थाहा छ- न कोही लिन आउँछन् सदर खोरको ढोकामा न त कोही खुशी हुन्छन् उनको रिहाइमा ।

त्यही चिसो कुना, त्यही सुरक्षा गार्डको खरो आवाज प्यारो भैसकेको छ उनलाई । त्यहाँ कोही छैन तैपनि त्यै ठाउँमा जीवन विर्सजन गर्न पाए आनन्द मान्ने मानसिकतामा पुगेकी छन् रोजी । त्यस्तै सोच्दासोच्दै आँखाबाट तुरुक्क आँशु झर्‍यो । उनलाई पुछ्न पनि मन लागेको छैन । बगोस् सबै बगोस्, फेरि फेरि रुनु त पर्नेछैन । रोए पनि कसैले बुझ्ने छैन आँशु विनाको रुवाइ..........। यस्तो उनको दैनिकी नै हो । एकान्त कोठामा एउटै साथी आँशु मात्रै त छ । अशक्त शरीर विरक्तिएको मनले चाहोस् पनि के - गम्छाले ओठको कलेटी मेट्न खोज्दछिन्, त्यहाँ त धेरै छ्रि्रहरु बनिसकेका छन्.......खटखट.......टिङटिङ...ढोका खुल्दछ .........सदरखोरको सिपाहीले 'पोको-पन्तरो बोकर घर जान निस्क' भन्ने आदेश दिन्छ । रोजी आदेश सुनेको नसुन्यै गरी घोप्टो परेर धेरै बेर रोइ रहन्छिन् । सिपाहीले तानेर उनलाई ढोकाबाहिर पुर्‍याउँछ ।

भोलिपल्ट सबै समाचारपत्रमा फोटो छापिन्छ रोजीको । लाशको फोटो । शीर्षक प्रायः एकै खालको हुन्छ- बेवारिसे लास पशुपति जङ्गल छेउमा ।



6 Comments:

Dilip Acharya said...

मार्मीक र मन छुने कथा!। छोटो कथामा समाजको कालो यथार्थको सजिव चित्रण ॥

Luna said...

नारकिय जिबन भोग्न वाध्य नारिहरुको जिबनको कहाली लाग्दो यथार्त लाई कथा मार्फत शसक्त चित्रण गर्नु भो ।

उजेली said...

गरिबि र उत्पीडनको सिकार नेपाली अशिक्षित महिलाको सजिव तस्विरजस्तो लाग्यो तपाईँको कथा !! धेरै मार्मिक !!

प्रबिण थापा said...

अत्यन्त मार्मिक, यथार्थ ,बिशेष गरेर नेपाली ग्रामीण परीबेशका कयौ नारीहरुको कथा जहाँ अझै पनि शिक्षाको सही चेतना उजागर हुन सकेको छैन जो वास्तबिकता नबुझी मिठो सपना देखाउने दलाल को पछी लागि सुखमय जीवन जिउने आशामा शहर छिर्छन र नरकिय जीवन बिताउन वाध्य बन्छन।

me said...

यो कथा अन्त कतै पनि पढेको जस्तो लाग्छ :) पढिसक्दा सम्म मुटु पनि धुजा धुजा भाथ्यो त्यो बेला। फेरि पढ्न पाइयो खुसी लाग्यो। गरिवी अशिक्षा र बाध्यता हुदा हुदै पनि म त मानिसको सत्रु मानिस नै देख्छु .....

Postak_Shrestha said...

शेखर ब्रो, कथा दाम्स छ, हो। जानेर नजानेर नारकीय जीवनतर्फ धकेलिएका नेपाली चेलीको यो कथा कारुणिक छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !