November 2, 2008

क्रान्तिक्षेत्र नेपाल

शेखर ढुङ्गेल
कोतपर्व, भण्डारखाल पर्व मकैपर्व, पर्वैपर्व अर्थात् क्रान्ति नै क्रान्ति र रगतको छिट्टैछिट्टाले पोतिएको नेपालको इतिहासमा अझै क्रान्तिको त्रासदीपूर्ण आवाजको गन्ध आइरहेको छ । कुनै बेला तत्कालीन राजा वीरेन्द्रले शान्तिक्षेत्र नेपालको प्रस्तावको जामा पहिर्‍याउन  खोज्दा ‘निरंकुशता भित्रको मुर्दा-शान्ति’ भनी व्याख्या गर्दै नेपाली कांग्रेसले भारतलाई सो प्रस्ताब अस्वीकार गर्न अनुरोध गर्‍यो, बहुदलीय व्यवस्थापश्चात् सो प्रस्ताब रद्धीको टोकरीमा फ्याँकिदियो ।

क्रान्तिकारी संस्कार भएको राजनीतिक संस्कार नभएको नेपाली कांग्रेसको नेतृत्वको कारण माओवादीलाई चोख्याएर सत्तामा मात्र पुर्‍याएन  शान्ति तथा पुनर्निर्माण नामको मन्त्रालय नै स्थापना गर्‍यो । जुन आफैंमा उपबुजु्रक र खोक्रो अभिनय थियो । यस मन्त्रालयको स्थापनाले नै नेपाल क्रान्ति र ध्वस्ततातिर गैराखेको देश हो भन्ने प्रमाणित गर्दछ ।

केही महिना अगिसम्म मात्र माओवादीलाई डोर्‍याएर  सत्तामा पुर्याएँ भनी स्याबासी लिने कांग्रेसका नेता स्वयं अर्को नयाँ क्रान्ति भन्न थालेका छन् । आफूलाई क्रान्ति-पुरुष भनाउन चाहनेहरु फेरि जुर्मुराउन थालेका छन् के क्रान्तिपछि क्रान्ति अनि फेरि क्रन्ति नै हामी नेपालीको नियति हो?

गणतन्त्र संविधानसभापछि सबै समस्याहरु ठीक हुन्छन् भनेर नथाक्ने गिरिजाप्रसाद कोइरालाहरुमा फेरि नयाँ क्रान्तिको आवश्यकता किन पर्‍यो आफूबाहेक अरुलाई सत्तामा देख्न नसक्ने नेपाली कांग्रेस प्रवृत्ति नेपालको लागि अभिशाप सावित भयो । शान्ति नेपालको लागि खोक्रो आडम्बर र सत्तामा पुग्ने झुठो खेती मात्रै सावित भयो । अमुक व्यक्ति वा दल सत्तामा हुँदा शान्ति-सुव्यवस्था देख्ने र सत्ताबाहिर पुग्ने वित्तिकै जताततै भुईंचालो आएको देख्ने प्रवृत्ति कतिको घातक हुँदोरहेछ भन्ने कुरो नेपालको संसदीय व्यवस्था दुई-दुई पटक असफल भएबाट स्पष्ट भएको छ । नेपालमा क्रान्ति होइन प्रवृत्तिमा परिवर्तन हुनु जरुरी छ । क्रान्ति नै क्रान्तिको बिगुल फुक्ने अनौठो रोगले दलका नेतालाई गाँजेको देखिन्छ । हो व्यक्ति स्वतन्त्रता मानवाधिकार प्रजातन्त्र वाक् एवं प्रकाशन स्वतन्त्रताको लागि लड्नु पर्दछ । २००७, २०३६ ,२०४६, २०५२ माओवादी जनयुद्ध प्रारम्भ २०६२, २०६३ लगभग ६० कै इतिहास बनिसक्यो क्रान्ति नै क्रान्तिको । बेलायत फ्रान्स जर्मनी रुस चीन र भारतमा पनि क्रान्ति भए देशले एउटा निश्चित राजनीतिक बाटो लियो र आर्थिक विकासतर्फ लम्किएर सफलताको शिखरमा पुगे । तर नेपाल सधैं अस्थिरताको दलदलमा फस्यो ।

नेपालका दल र तिनका नेता यस्ता असहिष्णु असमझदार अविवेकी देखिए कि ती सबै सधैं आफूलाई घट्ट र जनतालाई गहुँ सम्झी पिसिनै राखेका छन् त्यसैमा गौरब गरिराखेका छन् । इमान्दारिता र नैतिकता लाग्दछ तिनका दुष्मन हुन् त्यसैले त्यो दुई कुरा हाम्रा नेताहरु आत्मसात् गर्नै सक्तैनन् । यदि आत्मसात् गर्दा हुन् त न २०१७ न २०५२ न त २०५९ को घटना जन्मिन्थ्यो । लाग्छ जनता नेताका दास हुन् नेता जे गर्दछन् त्यो अकाट्य हुनुपर्दछ भन्ने जङ्गे प्रवृत्ति आफूलाई क्रान्तिकारी भन्न रुचाउने सबै पार्टीमा कायम देखिन्छ । प्रत्येक क्रान्तिपछि बनेको सरकार घमण्ड र अदूरदर्शिता नातावाद कृपावादको भुमरीमा फसेका छन् । उनीहरुले आफ्नो चिन्तन असफल भएको सत्यतालाई स्वीकारी परिमार्जित हुने सोच र व्यबहार लागु गर्न सकेनन् । २०४८ सालपछि बनेको नेपाली कांग्रेसको सरकार व्यक्तिको हठ र महत्वाकांक्षाको कारण जनताको बलिदानी आन्दोलनको अवमूल्यन गर्न पुग्यो राजनीतिक अस्थिरताको बिउ रोपियो । फलस्वरुप माओवादी जनयुद्ध विविध रणनीति पार गर्दै स्वयं कांग्रेसको अस्तित्वमाथि चुनौती बनेर उभिएको अवस्था छ । देशको राजनीतिक भविष्य आस्वस्त बन्नुको साटो झनै सशंकित बन्दै गएको छ । क्षेत्रीयता जातीयता संघीयताको लडाईं संविधान निर्माणजस्तो संवेदनशील अवस्था अनि देश र दलहरुको दिशाहीनताजस्तो खतरनाक परिस्थितिले कुनै न कुनै प्रकारको नयाँ राजनीतिक ध्रुवीकरण एवं क्रान्तिलाई नकार्न नसक्ने देखिन्छ । अबको क्रान्ति मौजुदा असफल दल र नेतृत्वको सामथ्र्यले नभ्याउने पनि निश्चित छ । दशैं-तिहारपछि सुरु भएको राजनीतिक घटनाक्रम र दलहरुको ध्रुवीकरणले नयाँ राजनीतिक शक्तिको जन्म हुने सम्भावना देखिएको छ । तत्कालीन सातदलको एकता र सहमतिको विकल्प नभएको अवस्थामा आआफ्नै तर्क र कुतर्कले दलीय एकता तोडिइसकिएको छ । आन्दोलनको मर्मलाई एकपटक फेरि अबमूल्यन गरिएको छ । नेपाललाई कहिले सुनको टुक्रा त कहिले सिङ्गापुर कहिले स्वीजरल्याण्ड त कहिले के बनाउने भन्ने सपना बाँडी क्रान्ति गर्ने मानसिकता जनता पिस्ने अनि सत्तामा पुग्ने वित्तिकै परिवार र दलीय स्वार्थको संकीर्णताभन्दा माथि उठ्न नसक्ने नेपाली राजनीतिक नेतृत्वको कारण देश असफलतातिर भासिदै गएको छ ।

जनताको महान क्रान्तिको नाममा माओवादीले चाहेको र उसको मागमा सहमति जनाई सबै दल गणतन्त्रात्मक संविधान बनाउने भनी भत्ता बुझ्दै संविधानसभा भवन धाइराखेको अवस्थामा फेरि नयाँ क्रान्तिको उद्घोष भएको छ । यो सरकारको पतनसँगै झनै खतरनाक अस्तव्यस्तता देशले व्यहोर्नु पर्ने संकेत देखिएका छन् । माओवादी सत्ताच्युत भै झलनाथ वा गिरिजाले अवस्थामा सुधार एवं सुशासन दिनसक्ने अवस्था पनि छैन । तत्कालको क्रान्तिले एउटा डरलाग्दो चक्रब्युहमा देश फस्ने छ संविधान बन्ने छैन अनि फेरि आजसम्मको सबै क्रान्ति मूल्यहीन बन्न पुग्नेछ । क्रान्तिमात्र बिकल्प होइन । सहमति समझदारी सहयात्रा दूरदर्शिता एवं सद्भाव स्याथी विकल्प हुनसक्छ । प्रतिपक्षमा बसेर कति पिस्ने नेपाली जनतालाई सत्तापक्ष र प्रतिपक्ष दुबैले सुझबुझ एवं सहमतिको यात्रा तय गर्नु आजको अनिवार्यता हो ।



1 Comments:

ठरकी दादा said...

मैले देखेको यौटा कुरा:-
नेपालका दलहरु, भाषण र गफमा निरंकुशताका बिरोधि भए पनि आ-आफुमा भने सबै निरंकुश नै छन् । राजतन्त्रमा सधैं यौटै व्यक्तिले राज्य चलाउने भएकोले त्यो ठीक थिएन, अब गिरिजा कोईराला पनि आफै मात्रै प्र म भए मात्रै देशमा लोकतन्त्र बहाल हुने देख्छन भने त्यो उनको निरंकुशताको पराकाष्ठा हो ।

सत्ता चलाउनु मात्रै राजनीति होईन। सहकार्य, सहयोग वा बलिदान पनि राजनितिमा निक्कै महत्व राख्ने कुराहरु हुन, जुन कुरा हाम्रा कुनै पनि दलका कुने पनि नेतामा छँदै छैन । सबै जना राजा फ्याकेँ पछि आफै 'लोकतान्त्रीक' वा 'गणतान्त्रीक' राजा हुने सपना देख्दै छन।

समष्टिमा हाम्रा नेताहरु सबै निरंकुश छन र तिनले सत्ता बाहेक अरु कुनै चिज देख्दै देख्दैनन् । यो स्थितिमा देशमा यस्ता सत्ता लिप्साहरुको कथित क्रान्तिको 'सिरिएल' कहिले सकिने हो भन्न गाह्रो छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !