September 16, 2008

अजब नेपाल , गजब नेपाल , चमत्कारी नेपाल !

(१) सिराहा जिल्लाको मिर्चैया गाउँमा ६७ जना जमिन्दारहरूको ११ बिघा जमिन लुट्न माओवादीका हाइपरटेन्सन्वाला भूमिसुधार मन्त्री मातृका यादवको नेतृत्वमा एक हूल वाइसिएल बन्दूक र हतियार सहित जाइ लागेछन् । यो समाचार नेपाली मिडियामा तीन दिनदेखि छाएको छ । तर प्रश्न उठ्छ, माओवादीले भूमि सूधारको नाममा कब्जा जमाउन लागेको उक्त ११ बिघा जग्गा र स्थानीय माछा व्यापारी बीरेन्द्र शाहको १६ कोठे घर वास्तवमा जमिन्दार र अवैध धनसम्पत्ति जम्मा गर्नेहरूको नै हो त ? यदि हो भने ६७ जना व्यक्तिको स्वामित्वमा रहेको ११ बिघा जग्गाको आँकडाले त हिसाब गर्दा प्रति जमिन्दार जम्मा ३.२ कठ्ठा पो हुन पुग्यो त ! के हाम्रा तराईका सामन्तहरू यति गरीब छन् ? अनि माओवादी भिजिलान्तेहरूको नाइके बनेर साथमा भूँडि पल्टाएर हिँड्दै गरेका मातृका यादव आँफै पो सामन्त जस्ता देखिएका छन् त ? यो जग हँसाइ हो कि मान्छेको भूमिका फेरिएको कुराको उदाहरण ? कार्यकर्ता जनसाधारणको जमिन कब्जा गर्न हतियार बोकेर जाइलागेका छन् र कसैको बन्न लागेको गर भत्काउँदै छन्, अनि मन्त्री ह्याण्फोनबाट यसको अपडेट हाइकमाण्डलाई दिँदै छन् । माओवादी शासनमा कानूनी राजको यो विजोगपूर्ण उदाहरण देखेर ‘ चमत्कार’ शव्दको नया अर्थ र भाष्य निकाल्न भाष्यकार बाबुराम भट्टराईको मद्दत लिन पर्ने पो हो कि !

(२) कामरेड प्रचण्डले अस्ति भारत भ्रमणको क्रममा राजघाट जानुभई माहात्मा गान्धीको समाधीमा फूलको गुछ्चेमाला चढाएको देख्दा , गान्धीजीको आत्माले के ठान्यो होला भन्ने सोच्न म वाध्य भएँ । त्यति बिघ्न नेपालीहरूको अकाल मृत्यूका कारक कामरेड प्रचण्ड अनि अहिंसाका लागि विश्वविख्यात गान्धी, एण्टिथेटिकल क्लाइमेक्स नै हुने देखेर, म गान्धीको सम्झना गर्दै विस्मित बन्न पुगेको हुँ। कसैले हान्न खोजे अर्को गला थाप्ने भन्ने गान्धीवादी विचार अनि, कसैले केही गरोस् नगरोस् न नपरेकालई आरोप लगाएर सफाया गर्ने माओवादी दर्शन एका ठाउँमा भेटिएको यो विडम्बनामा विस्मित बन्नु सिवाय के बाँकि छ र ?

(३) कामरेड वामदेव गौतमले , रात्री जीवन र डान्स वारमाथि धावा बोलेर पपुलिष्ट काम गर्नु भन्दा । डान्सवारका नर्तक, नर्तकी, बाउन्सर र व्यवसायीको रोजीरोटी खोसेर चर्चा बटुल्नु भन्दा बरू देशभर बस्न, खान र बाँच्न पनि सास्ति भोग्दै गरेका सामान्य नेपालीहरूको आधारभूत जीवन जिउने अधिकारको रक्षामात्र गर्दिन सके बामदेवलाई ‘महादेव’ मान्न हुन्थ्यो । डान्सवारे हरू र तिनको काम तिनलाई नै गर्न छाडिदिएर देशभरि फैलिएको वाइसिएल-युथफोर्स- फोरमको घमासानलाई रोक्न र नेपालको तराईदेखि काठमाण्डु सम्म प्रताडित जीवनलाई बस्न-खान उपयुक्त हुने बनाउने प्राथामिकतामा राख्न सकिदिए हुन्थ्यो भन्ने कामना गर्न मन लाग्यो । वेश्यावृत्ति गर्न वा महंगा नाङ्गोनाच वार र रेष्टुरेण्टमा त जो कोही जान सक्ने पनि हैन , पैसावाल र खर्च गर्ने सामर्थ्यका बिग्रेका किराहरू वा रसिक सोमहरू रस तान्न त्यहाँ पुग्छन् , तर जीवन बाँच्नै नसकिने ढंगले जीर्ण बनिसकेको हाम्रो सुरक्षा व्यवस्था र सत्तारूढ दलका युवा-जत्थाहरू जो मत्त साँढे झैँ ठाउँ कुठाउँ जुधेर देशलाई रगताम्मे परिरहेका छन् र सर्वसाधारणलाई बाटो हिँड्नबाट तर्साइरहेका छन् तिनको यो , तमाशा रडाको रोकेर मुलुकलाई शान्त पार्दिए हुन्थ्यो नि बरू भन्न करै लाग्यो ।

(४) कामरेड प्रचण्डले सरकारको नीति तथा कार्यक्रम पास गर्न अनुरोध गर्दादेखि लिएर आफ्नो भारत भ्रमणको क्रममा पनि , रट लगाउँदै आएका छन् अबको नया नेपालले कम्युनिष्ट एकाधिकारवाद र संसादवाद दुवैलाई पूर्ण रूपमा अपनाउने छैन । उनको दावा छ । अबको नेपालमा सबै कुरा चमत्कारिक ढंगले हुनेछ । हैन यो माओवादीको कुन गोलमटोलवा हो जहाँ राजनीतिदेखि अर्थनीतिसम्म सबै कुराका लागि कुनै सिद्दान्त , नतिनियम र कार्यक्रम आदि कुराका लागि कुनै आधार नचाहिने बरू सबै कुरा एकाएक चमत्कारिक ढंगले मात्र हुने ? कतै , अबको नया नेपाली राजनैतिक व्यवस्था, राजा महेन्द्रको पञ्चायती व्यवस्था जस्तो नेपाली माटो सुहाउँदो हुने त हैन ? जे होस् राजा ज्ञानेन्द्रले राजपाठ त्यागेपछि धेरैजसो राजावादी माओवादीमा नै लागेको हुँदा , हिजो राजतन्त्रमा लागेका मान्छेहरू देखि महेन्द्रवादीहरू समेत माओवादीमा नै भएको हुँदा , कामरेड पुष्पकमल दाहाल उर्फ प्रचण्डलाई नेपाली माटो सुहाउँदो गैर कम्युनिष्ट गैर संसदवादी व्यवस्था नेपालमा स्थापना गर्न धेरै होमवर्क गर्न भने पर्दैन कि भनेर ढुक्क हुने ठाउँ छ । जय प्रचण्डपथ !



3 Comments:

Anonymous said...

चमत्कार हो नि एकलब्य जि
ह्या भन्दा केही चमत्कार हुन पर्याछ?

ठरकि दादा said...

अब त बिहारी राजनेताहरु पनि नेपाली राजनीतिज्ञसंग डराउँदा होलान।
चोरको सरदार र मन्त्री कुन हो भनेर छुट्याउन पनि गाह्रो दिन आयो ।

साँच्चै अजब नेपाल , गजब नेपाल , चमत्कारी नेपाल !
तर अर जे भए पनि "जय नेपाल"

पीजी said...

फुल मात्र चढाएको कहां हो र , अडवाणीलाई त तपाई अभिभावक भनेर च्याप्प समातेछन माइबाप भन्दै । अनि गाउं गाउंमा मन्दिर भत्काउंदै हिड्ने र धर्मको खोइरो खन्ने कामरेडले पशुपतिको दर्शन गर्न निम्तो समेत दिन लाज मानेनछन । यिनको चाला त धरोधर्म मैले बुझिन !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !