August 8, 2008

कथा अमेरिकाको

शेखर ढुङ्गेल
अमेरिका विश्वकै धनी र अधिक होमलेसहरुको देश हो । यहाँ पनि मध्यम वर्गीय समाजको जीवन अति नै कष्टकर छ । विगत केही बर्षदेखि अनपेक्षित रुपमा ह्रास हुँदै गएको आर्थिक स्थितिले गर्दा यस्तै अवस्था रहे आगामी एक वर्षभित्रमा मात्रै २२ लाख मानिसले आफ्नो घर ऋणमा लिएको गुमाउँने छन् । एक्लो क्यालिफोर्निया राज्यमा मात्र यो आर्थिक बर्षको प्रथम तीन महिनामा ५७ हजार मानिसले ऋणमा किनेको घर गुमाएको तथ्याङ्क हालै प्रकाशित भएको छ । २००८ को जुन महिनामा मात्र ७७ हजारले नोकरी गुमाउनु पर् यो । दैनिक बढ्दै गएको तेलको मूल्यका कारण विगत ६ महिनायता खाद्यान्न लगायतका वस्तुमा १० देखि ३० प्रतिशतसम्म मूल्य वृद्धि भएका कारण जीवन कष्टकर बन्दै गएको छ । सयौं निर्माण कम्पनी आर्थिक कारोवार गर्ने कम्पनीलगायत बैंकसमेत धराशयी भएका छन् । पाँच बर्षअघिको दाजोमा घरहरुको मूल्यमा ३० प्रतिशतसम्म ह्रास भएको छ भने कोठाको भाडामा भने १० प्रतिशतसम्म वृद्धि भएको छ ।


यस्तो बाताबरणमा ठूला-ठूला सपना देख्ने र यहाँको मुद्दालाई आफ्नो देशको मुद्दासित दाँजी उन्नति प्रगतिको कथा सुनाउँने आप्रवासीहरुको जीवन कति कष्टकर होला तर स्वदेशमा आफन्तलाई घर किनंे यस्तो गाडी किनें उस्तो टिभी किनें भनी सन्देश पठाई आफू स्वर्गमा भएको जनाउनेहरुको यथार्थता तलका तीन जन्मजात अमेरिकीको कथा सुन्दा स्पष्ट हुन सक्दछ । यहाँ प्रस्तुत तीनवटै कथा तीन पात्रसितको प्रत्यक्ष बार्तामा आधारित हुन्-


एक हुन् श्रीमती रोक्सेना जोम्सन । बर्ष ४५ । बसोबास सन्फ्रान्सिस्को । हुर्केका छोराछोरी अलग्गै बस्दछन् । शिक्षा मास्टर डिग्री मेनजमेन्ट । एकबर्ष अगाडिसम्म वार्षिक कमाई १ लाख अर्थात् ट्याक्स कटाउँदा मासिक ७ हजारभन्दा बढी र तत्कालीन खर्च ४ हजार ५ सय घरको ऋण ४ सय कारको ऋण १ सय ३५ इन्स्योरेन्स १ सय ५० फोनको बिल । ५० डलर केबललाइन । १ सय ५० ग्यास-पानी-बिजुली । ३ सय पेट्रोल एवं कार सर्भिसिङ । १ हजार ग्रोसरी खाद्यान्न ५-७ सय डे्रसिङ्ग मेकअपको मासिक खर्च ।
गत साल ५० बर्ष पुरानो प्रतिष्ठित निर्माण कम्पनी जहाँ उनी कार्यरत थिइन् धराशयी भयो । रोक्सेनाले अवकास पाइन् । अर्को ठाउँमा नोकरी पाइनन् । बैंकको ऋण तिर्न असमर्थ भइन् । ९ महिनासम्म घर बेच्न खोजिन् तर विकेन र अन्त्यमा बैंकले नै लियो । केही महिनापछि कोठाभाडा तिर्नसमेत पैसा नभएपछि केही दिन आँसु बोकी सडकको कुनामा समेत बसिन् । बल्ल एकदिन एउटा कम्पनीमा ड्राइभरका लागि आवेदन दिइन् र मुस्किलले त्यो नोकरी हात पारिन् । स्मरण रहोस् अमेरिकामा अधिक शैक्षिक योग्यता भएको मानिसलाई सानो जागिरमा राख्न पाइँदैन । किनकि कुनै बेला नोकरी छोडेर जाने सम्भावना हुन्छ । १० बर्ष मेनेजरमा काम गरेकी रोक्सेना हाल सार्वजनिक बस चलाउँदै छिन् ।


५५ बर्षीय जोन जोन्सन पूर्व प्रहरी हुन् । २५ बर्ष नोकरी गरी अवकास पाएपछि १५ लाख डलर लगाएर एउटा रक्सी पसल खोले । घरबन्दकी राखी ऋण लिएर लिक्वर स्टोरु खोलेका उनी दुई बर्षभित्रै सङ्कटमा परे । तीन पटकसम्म कम उमेर अर्थात् २१ बर्ष मुनिको ग्राहकलाई अल्कोहलजन्य पदार्थ बेचेका कारण उनी स्टोर बन्द गर्न वाध्य भए । स्टोर विक्री गर्न बर्ष दिन कुरे तर बिक्री भएन । स्मरण रहोस् अमेरिकाको कानुनअनुसार १८ बर्ष मुनिकालाई चुरोट वा सूर्तिजन्य पदार्थ र २१ बर्ष मुनिकालाई मादक पदार्थ बेच्न पाइँदैन र तीन पटकसम्म त्यस्तो घटना घटेमा लाइसेन्स रद्द गरी सम्बन्धित कार्यालयमा ताल्चासमेत लगाइन्छ । बैंकले घर लियो र बेचिदियो । उनी कोठामा बस्न थाले । नोकरी खोजे पाएनन् । हुर्केको बच्चा अनि श्रीमती अर्कै राज्यमा बस्छन् रे । छोरो अमेरिकी सेनामा कार्यरत छ । कसैको खास सहयोग मिलेन । बेलाबेलामा सय-दुई सयको चेक पठाइदिन्छ रे छोराले त्यत्ति हो । हाल उनी स्कुले बच्चालाई सुरक्षित सडक पार गर्ने काममा लागेका छन् । कोठा भाडा तिर्न असमर्थ भएपछि उनी सरकारले उपलब्ध गराएको हाउजिङ्गमा बस्न थालेका छन् । अमेरिकाको प्रत्येक शहरमा आयस्रोत कम भएका हुँदै नभएकालाई पनि सेल्टर होम बनाइएको छ । त्यहाँको अनुशासन तथा नियम पालना गर्नु अनिवार्य छ । त्यति मात्र होइन कुकुर-बिरालाहरुका लागि पनि व्यवस्थित सेल्टरहोम बनाइएका छन् । जहाँ सडकमा हराएका अथवा अलपत्र परेकालाई पनि राखिन्छ । पत्रपत्रिकामा फोटो छापी कसैको भए लिन आउनू वा कोही लैजान चाहन्छ भने सम्पर्क राख्नू भनी सूचना गरिन्छ ।


श्रीमती इभा ली । बर्ष ३५ । ११ र ९ बर्ष तथा पाँच महिनाका गरी तीन बच्चाकी आमा । विवाह गर्नुअघि नै बच्चा पाउन थालेकी इभाको विवाह गरेको ६ महिनापछि श्रीमान्सित सम्बन्ध विच्छेद । हाल उनी सौतेली बाबुको सहयोगमा एउटा सानो कोठामा बसेकी छन् । बाबु एउटा प्रतिष्ठित प्याकेजिङ कम्पनीको व्यवस्थापक छन् । त्यहीं उनले जागिरका लागि आवेदन दिइन् । आवश्यक कागजपत्रमध्ये १० बर्षे सबारी चालकको अनुभवपत्र पछि बुझाउने भनी तालिम सुरु भयो । १० दिनपछि तालिम कक्षमा प्रशासक मेनेजर बोलाउन आए र भने तिम्रो ड्राइभिङ्ग रिपोर्टअनुसार थप तालिम अर्थात् नोकरीमा राख्न असमर्थ छौं । यो सत्य बोलेको उपहार थियो । उनलाई तत्काल फिर्ता पठाइयो । उनका बाबुले जो आफू पनि मेनेजर नै छन्- प्रशासकीय व्यवस्थापकसित गलत सिफारिस गरेकोमा माफ मागे । उनले सात बर्षअघि दुर्घटना गराएकी र तोकिएको कानुनी सजाय भुक्तान नगरेकी रहिछन् र आर्थिक रेकर्ड क्रेडिट हिस्ट्री नकारात्मक बनेछ ।


उल्लिखित तीन अमेरिकीको कथाले तीन फरक प्रकारको अवस्था र कानुनी प्रावधानको प्रतिफल दर्शाउँछ । बास्तवमा आर्थिक रुपमा अमेरिकाको यथार्थता यस्तै छ । यहाँ काम गर्नेको र कानुनको मर्यादाभित्र बस्नेको मात्रै इज्जत छ ।


यहाँ अनलाइनबाट नोकरी आवेदन दिने सुविधा छ । फस्ट कम फस्ट सर्भिसु को मान्यता योग्यता विगतका सम्पूर्ण नोकरी विवरण खाएको तलब छोडेको कारण सहितको विवरण आजसम्म बस्दै आएको सबै ठेगाना छनोट भएको खण्डमा शारीरिक मोडल परीक्षण मादक पदार्थ लागू औषध परीक्षण औंला छाप अदालतबाट आपराधिक गतिविधि संलग्न भए-नभएको विश्वसनीय इतिहास हेरेपछि मात्र नोकरी पक्का हुन्छ ।


जति स्वतन्त्रता छ । यहाँ त्यति नै कडा कानुनी एवं आर्थिक नीतिका कारण मानिस सजिलै सडकमा पुग्दछ । यहाँका वित्तीय संस्था यति स्वतन्त्र छन् कि आफूखुसी व्याजदर तोक्न सक्दछन् शून्य प्रतिशतदेखि २९ प्रतिशतसम्म व्याजदर कायम छ यहाँ ।


अमेरिकामा मध्यम वर्गीय जीवन नेपालमा जस्तै अति नै कष्टकर छ । अझ घर-गाडीको सपनालाई पूर्णता दिन प्रयासरत आप्रवासीको लागि त झनै गाह्रो छ । इमान्दार र कानुनको मर्यार्दामा बस्नेले भने अवसरहरुबाट वन्चित हुनु पर्दैन । अमेरिकाको विशेषता भनेको स्थापित व्यवस्था र कानुन हो जसको घेरा तोड्ने राष्ट्रपति होस् कि साधारण नागरिक समान सजायको भागिदार हुन्छ । अर्थात् कानुनभन्दा माथि कोही छैन र माफी वा छुट यहाँको कानुनी किताबमा छैन ।
shekhar1962@gmail.com.



6 Comments:

Anonymous said...

ekdamai sahi kura lekhnu bhayo sekhar ji. maile bujeko amerika pani tehi ho jun bujhaima ma afai bachda chhu. Bhagwan kassam.

ठरकी दादा said...

धेरैले सोचेको भन्दा भिन्दै 'अमेरिकाका' को जानकारि दिनुभएको छ । 'स्वप्न देश'को यो कटु यथार्थ धेरैलाई थाहा नहुन सक्छ ।

साउनमा आखा फुटेको गोरुले सधै हरियो देख्छ भने झै अमेरिकालाई 'स्वर्ग' ठान्नु एक ठाउमा छ भने यो कटु यथार्थ पनि आफ्नै ठाउमा छ।

बाहिरबाट हेर्दा 'स्वप्न देश' भएपनि त्यहि बस्ने लाखौंको 'स्वप्न भंग'भएको तथ्थ रोचक ढंगले प्रस्तुत गर्नु भएको छ । धन्यवाद् ।

Panda said...

तपाईंको यो प्रस्तुति पढेपछि मलाइ पनि २-३ वटा कुरा याद आयो ।

मेरा एक जना मित्र १ महिनासम्म बिरामी परे, रोग पत्ता लाग्न सकेन । बल्ल दोस्रो तेस्रो महिनामा रोग पत्ता लाग्यो । रोग निराकरण गर्न त खासै खर्च हुने छैन तर डायगनोसिसको लागि र इन्टेन्सिभ केयरको लागि उनलाई अस्पतालमा राखेको बिल करिब ३ लाख डलर आएछ । उनको इन्स्युरेन्सले तिर्ने माथिल्लो लिमिट १ लाख डलर रहेछ । अब मित्र २ लाख डलरको बिल तिर्नु पर्ने अवस्थामा छन् यदि कहि कतैबाट गुहार पाएनन् भने ।
स्मरण रहोस, सो रोग पत्ता लगाउदा र उपचार गर्दा १५ हजार रुपिया पनि नलाग्न सक्छ ।

अर्को उदाहरण थियो सी एन एन मा प्रस्तुत एउटा समाचार । कुन स्टेट कि हुन एक जना महिलाले घरको रिणको किस्ता बुझाउदा आजित भएर वा नसकेर इन्स्युरेन्स रकम पाउने आशमा आफ्नै घरमा आगो लगादिइछन । पछि इन्सुरेन्स कम्पनीले जांच गर्दा पत्ता लागे पछि उनी इन्सुरेन्स रकम, घर सबैबाट बिमुख भइन र सजायको भागिदार बनिन ।

त्यसैले अमेरिका मेरो बिचारमा मुहल्लाको एउटा दादा जो अरुलाई आफु शक्तिशाली र सम्पन्न छु भनी देखाउन चौराहमा बसेर बीयर पिउंछ तर घरमा स्वास्नी छोरा छोरीको बेहाल छ । त्यही नै हो फरक सामाजिक सुरक्षा भएका युरोपियन देश र अमेरिकाको बिचमा ।

Panda said...

मेरो भनाइ थियो "स्मरण रहोस, नेपालमा सो रोग पत्ता लगाउदा र उपचार गर्दा १५ हजार रुपिया पनि नलाग्न सक्छ ।

Prajwol said...

घांटी हेरेर हाड निल्न नसक्नु र सानो घांटी हुने लाई पनि ठुलो हाड निल्न प्रेरित गर्ने धेरै स्रोत हुनु नै यि समस्या हरुका प्रमुख जड हुन

nepalean said...

चम्किलो देशमा यि भनिएका कथा तिता यथार्थ हुन। यस्ता नसुनिएका पिडादायिक कथा थुप्रै छन अमेरीकामा। आजको करोडपती भोली कंगाल पती हुन कत्ती पनि बेर लाग्दैन।
नेब्रास्कामा डिभी परेर आउने एक दम्पती मध्यै श्रीमती आएको पहिलो महिनैमै बिरामी परिन। नेपालबाट ल्याएको रुपयाले त के भ्याओस? आउने बित्तीकै जागिर,इनस्सोरेन्स पनि हुने कुरा भएन। उपचारको पैसा तिर्न नस्क्दा उनिहरुको उठीबास नै भएको थियो।रोग साधारण भए पनि उपचार खर्च असाधरण थियो।
कती नया ब्यक्ती अलि बिरामी परे अर्जेन्ट क्यारमा जानुको सट्टा इमर्जेन्सीमा गएर ठुलो रकम तिर्न पुग्दछन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !