April 16, 2008

माओबादीको राजनीतिको मूलधार प्रबेश-एमालेको योगदान

अहिले माओबादीको अपत्यारिलो बिजयको जती चर्चा भैरहेको छ, लगभग त्यती नै चर्चा एमालेको पराजयको भैइरहेको छ। एमालेको पत्तासाफ, एमालेको दिन सकियो आदी इत्यादी शिर्षकमा लेख रचना टिप्पणीहरु आइरहेका छन। खुच्चिङ् गर्नेहरु पनि छन्।दुख मनाउ गर्नेहरु पनि छन्। तर समग्रमा देशले के चाहेको थियो भन्ने कुरा तिर मानिसहरुले ध्यान दिईरहेका छन्। सबै जना माओबादीको जित वा एमालेको हारको बिष्लेषण गर्न नै ब्यस्त छन्।मूल् मुद्धा कुनै पार्टी बिशेषको जित वा हारको होइन।मूल् मुद्धा देशमा शान्ति पुनर्श्थापनाको थियो, जसको लागि माओबादीलाई राजनीतिको मूलधारमा ल्याउनु थियो र कथंकदाचित माओबादीको हार भएको भए त्यो असम्भव जस्तै थियो। भलै यो चुनावमा कांग्रेस्-एमालेहरुको हार भएको छ, तर माओबादीहरु जंगल् जान बाट रोकिएका छन् र देशमा शान्ति पुनर्श्थापना हुने बलियो आशा जागेको छ।के यो ठूलो कुरो होइन?
एमालेको पराजयमा खुशियाली मनाउने वा खिसिट्यूरी गर्नेहरुले यो कुरा बिर्सिरहेका छन् कि एमालेले माओबादीलाई राजनीतिको मूलधारमा कत्तिको योगदान् दिएको थियो भनेर। नेपाली कांग्रेसले माओबादीलाई आतंककारी, उग्रबादी भनिरहदा एमालेले जहिले पनि उनीहरु राजनैतिक शक्ति हुन् भनेर प्रतिबाद गरिरह्यो। अनेक खतरा मोलेर सिलिगुढीमा माधव कुमार नेपाल माओबादीलाई भेट्न गए, पटनामा भेट्न गए। आतंककारीलाई भेट्न जानेहरुपनि आतंककारी नै हुन् भनियो।एमालेले हरतरहले माओबादीलाई राजनीतिको मूलधारमा ल्याउन मिहेनत गर्यो। राजाले भित्तैमा पुर्याएर अचेड्न नखोजेका भए गिरिजा-देउवाहरु कहिले पनि माओबादीसंग सहकार्य गर्न राजी हुने थिएनन् होला।

लोकतंत्रको स्थापना पस्चात् पनि एमालेले माओबादीहरुलाई शान्तिप्रक्रियाबाट बिमुख् नहुन् भनेर हदै सम्म लचिलो बन्यो।कांग्रेस र माओबादीका अडानहरु बिच् आफ्नो अडानहरु छोड्दै गयो तर अबुझहरुले उल्टै एमालेलाई अडान नभएको ढुइमुले पार्टी भनेर भने।अब सत्ता हातमा आइहालियो, माओबादी भाडमा जाउन जस्तो गरेर कांग्रेसले ब्यबहार गर्यो तर एमालेले गणतन्त्र र समानुपातिक निर्वाचन् प्रणालीको मुद्धामा, जुन एमालेको पनि आफ्नो मुद्ध थियो, माओबादीलाई साथ दियो र माओबादीलाई संसद छोडेर जंगल जान बाट रोक्यो। यसमा पनि एमाले माओबादीको टांग मुनि छिर्यो भनेर हल्ला गरियो। तर एमालेले जे गर्यो माओबादीहरुलाई शान्ति प्रक्रियाबाट बिमुख नहुन भनेर गर्यो।
केही गल्तीहरु भएका छन्। केन्द्रीय राजनीतिमा अल्झिरहदा जनतासंग संबन्ध टुटेको छ र माओबादी दबदबाको कारणले एमालेको संगठन कमजोर रहेको छ। तर यो नै संसारको अन्त्य होइन। गणितीयरुपमा हेर्दा एमालेको पराजय भएको छ,तर माओबादीलाई राजनीतिको मूलधारमा ल्याउन एमालेले दिएको योगदान् महत्वपुर्ण छ र यस मानेमा एमाले बिजयी भएको छ। देश र जनता भन्दा पार्टी ठूलो ठान्नेहरुको लागि मात्र यो एउटा हार हो। देश र जनताको लागि राजनीति गरेका हरु यो हारबाट बिचलित् हुंदैनन्।



6 Comments:

nepalean said...

सायद एमाले र माओबादी दुबै बामपन्थी दल अनी माओबादी जिमन बाट उठेर सीधै आकाशमा पुगेको हुंदा माओबादी शहर र एमाले जंगले गए सरी सबैले ब्याख्या गरेका छन। गणितीय रुपमा त नेपाली कांग्रेस पनि एमाले संग संगै छ, अझ समानुपातीकमा त नेपाली कांग्रेस ३ नं मा पुगे्यो।
तर जनमानसमा कांग्रेसको भोट भिविष्यमा फर्किय पनि एमालेको भोट माओबादीमै अल्झिने हो की भन्ने डर छ।
यसपटकको भोट हेर्ने हो भने त नेपालमा डेडिकेटड भोटरले चुनाबी परिणाममा खासै असर पार्न सक्दैनन की जस्तो पो लाग्ने थाल्यो । यदी यो सत्य हो भने राम्रो काम नगेर भोलीको दिनमा माओबादीले राम्रो काम नगेर एमाले जस्तो मात्र होइन राप्रपा जस्तो नहोला भन्न सकिन्न।

Panda said...

तपाइको „गणितीयरुपमा हेर्दा एमालेको पराजय भएको छ, तर माओबादीलाई राजनीतिको मूलधारमा ल्याउन एमालेले दिएको योगदान् महत्वपुर्ण छ र यस मानेमा एमाले बिजयी भएको छ। देश र जनता भन्दा पार्टी ठूलो ठान्नेहरुको लागि मात्र यो एउटा हार हो“ भन्ने भनाई सत्य हो ।

तर एमाले लाई फर्केर हेर्ने हो भने भुमिगत कालमा बनाएको जनाधार , कार्य प्रक्रिया आदिलाई पुर्ण वेवास्ता मात्रै नभएर लत्याएर नया किसिमको कार्य शैली लागु गरियो । पार्टीलाई २०४८ सम्मको स्थितीमा ल्याउनेहरुलाई गुटबन्दी र जालझेल गर्न माहिर टिमले असक्षम र पुरातनबादी सोच भएका भन्दै पाखा लगाउने काम गरे । अर्कोतिर चुनाव जितेर सरकार चलाउनु नै सबै थोक हो भन्ने मानसिकता चरम रुपमा विकसित भएकोले नै “भीम प्रसाद गौचन” देखी “नर बहादुर बुढा” सम्म कामरेड बन्न पुगे । नेपाली कांग्रेस जस्तो सत्ताको लागि राजनीति गर्ने पार्टीको फर्मूला “जनबाद” को स्थापना गर्ने पार्टीले अपनाउनु दीर्घकालिन पार्टी हीतमा भएन ।

अर्कोतिर आफ्नै पार्टी भित्र आफु माथि आउन अर्कोलाई चरम दोषारोपण गर्ने प्रवृती यति खुला रुपमा देखियो कि जनतामा नपुग्नु पर्ने कुरा पनि सडक छरिन पुगे । द्वैध चरित्र देखाएको कुरामा पनि शंका छैन । तर माओबादिलाई यो स्थिती सम्म ल्याउनको लागि एमाले र कांग्रेसको प्रयास आत्मघाति भए पनि ठूलो र महत्वपूर्ण हो (यदि माओबादिको चालले भूमिका खेलेको थिएन भने) ।

Nepali Janata said...

तपाईको तर्क या विश्लेशण पनि असत्य त हैन तर यसमा म शत प्रतिशत सहमत भने छैन । किनकी यदि साँच्चै बामदल भएको नाताले वा माओबादी पनि एउटा राजनैतिक शक्ति हो भन्ने स्विकार गरेकै कारण खतरा मोली मोली माओबादीसँग एमालेले सम्बन्ध बिस्तार गरेको हो भने, अनि यदि साँच्चै एमालेमा सत्ता लिप्तता र पार्टिबाद हावी थिएन भने, माओबादी नेता डा. बाबुराम भट्टराइले एमाले माओबादीको एकिकरणको प्रश्ताव ल्याउँदा किन माधव नेपालले माओबादी जनताको माझमा अलोकप्रिय भएको कपोलकल्पित भ्रामक तर्क दिएर पन्छिए ? प्रचन्डले चुनावमा त तालमेल गरौँ भन्दा एमालेले किन त्यो पनि अश्विकार गर्यो ? किन चुनावी सभाहरुमा केपी ओलीका बोलीमा माओबादीलाई नै गोली हानियो ? शक्ति छ भने चुनावमा गएर देखाउ भनेर व्यङ्ग्यात्मक चुनौति दिइयो ? यसले के स्पष्ट पार्छ भने, एमालेले माओबादीलाई शक्तिको रुपमा स्विकार गरेकै थिएन, चुनावमा जान्छ, दुइचार भोट ल्याउँछ अनि थन्किन्छ भन्ने सोचेको थियो, तर जनताले त्यो सोचेनन् जो एमालेका सबै त हैन केही सिमित (प्रदिप नेपाल, केपी ओली जस्ता) नेताहरुले सोचेका थिए । तरपनि तर्क वितर्क आरोप प्रत्यारोप भन्दा पनि सहमति र समझदारी गरेको भए नेपालमा कम्युनिष्टहरुको दुर्दशा हुने थिएन । दुर्दशा मैले किन भन्न खोजेको भने, समानुपातिक तर्फको अहिलेसम्मको परिणामलाई हेर्दा माओबादीको पनि स्पष्ट बहुमत आउने छाँटकाँट छैन, अनि च्याप्नुपर्यो एउटालाइ । ५१ र ५६ सालको चुनावमा काँग्रेस एमालेको स्पष्ट बहुमत नआउँदा राप्रपालाइ जुन किसीमको मोज भयो, त्यो मोज, त्यस्तै फाइदा फेरी अर्को कुनै गैर बामले उठाएछ भने अचम्म नमाने हुन्छ । नेपालका दशौँ टुक्रे कम्युनिष्टहरु एक नभएसम्म देशमा राजनैतिक अस्थिरता कायम नै रहनेछ, देश भासिनेछ, दलदलमा फस्नेछ, त्यसको प्रत्यक्ष असर हामी जस्ता सर्वसाधारण जनतालाइ पर्नेछ, यदि अझैपनि कम्युनिष्टहरु सत्तामोह त्याग्दैनन् भने, जुँगाको लर्डाई गरीरहन्छन् भने एक्काइसौँ सताब्दिका नेपाली जनता हातमा दही जमाएर बस्ने छैनन् ।
जनता र्सार्वभौम छन्, एकदिन यस्तो दन्त्यकथा लेखीने छ कि नेपालमा कम्युनिष्ट पनि सत्तामा पुगेका थिए रे , कमरेडहरु ! यदि तपाइ साँच्चै नेपाललाइ माया गर्ने नेपाली कम्युनिष्ट हो भने सबै बाम एक ठाम हुनुहोस् , यसैमा सबैको कल्याण छ ।

brilliantman71 said...

"नेपाली जनता" को नामबाट लेख्नु हुने साथीको प्रतिकृयासंग असहमत हुने ठाउँ छैन। एमालेमा एउटा गुट छ जसलाई म बिरालु गुट भन्ने गर्छु। नेपालीमा एउटा भनाइ छ-घरमा पालेको एउटा कुकूरले सधै कामना गर्छ रे-यो घरको परिवार ठुलो हुंदै जाओस ताकी सबैले एक्-एक गांस दिन्छन र मैले बढी खान पांउछु। तर बिरालुले भने सोच्दछ रे-कुन् दिन् यो घरका सबै मान्छे मर्छन् र अंगेनाको तातोमा बसेर सबै दुध् खान पांउछु। त्यस्तै बिरालो सोचका नेताहरुले गर्दा एमालेलाई अन्य बाम पार्टीहरुबाट टाढा लगिराखेको छ एमाले फुटाउन पनि त्यो गुटले बाध्य पारेको थियो र मालेलाई एमालेमा फेरि समाहित हुन पनि सकेसम्म रोक्न खोजेको थियो। भारत भ्रमणको नाम-सूचीमा प्रोटोकल नमिलेको भनेर भारत भ्रमणमै नजाने नेताले अर्को पार्टीसंग एकता पछि आफ्नो तह कति तल पुग्ने हो भन्ने पिरले किन एकता हुन दिन्थ्यो र?
त्यो गुटका नेताहरुको भाषणहरु सुन्दा र लेखहरु पढ्दा अझै पनि चेत खुलेको छैन जस्तो छ।जो चोर् उसैको ठूलो स्वर्।

ठरकी दादा said...

त्यसो त तपाईको मूल लेख संग पनि म सहमत नै थीएं तर यो "बिरालो गुट" को प्रसंग उठाएर तपाईले हाम्रा नेताहरुमा निहित अर्को यौटा अति-बादको पनि सान्दर्भिक संकेत गर्नु भएको छ ।

आर्को वा तेस्रो व्यक्तिसंग मात्रै हैन आफ्नै परिवारसंग पनि मिल्न नसक्नु हाम्रा नेताहरुको पहिचान भैसकेको छ र यो "बीरालो गुट" चाहि सायद एमालेमा मात्रै नभएर नेपालका सबै पार्टीमाा छन ।

Anonymous said...

माओवादी पार्टी ए मा ले भन्दा के फरक रह्यो त ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !