July 20, 2009

थाहा छ ? सगरमाथा नेपालमा नपर्ने रहेछ नि !


(वायां तर्फको फोटो गुगल अर्थबाट लिएको हो भने दायांतर्फको फोटो गुगल म्यापबाट लिइएको हो । वायांतर्फको फोटोमा पहेंलो रंगको रेखाले सिमाना छुट्याएको छ जसमा सगरमाथाको चुचुरो चीनतर्फ पारेको छ । दायांतर्फको फोटोमा सेतो रेखाले सिमाना छुट्याएको छ जसमा सगरमाथा नेपालतर्फ देखाएको छ । आशा गरौं हाम्रो सगरमाथा नेपालमै छ र रहनेछ । - ZH)

नेपालमा हर्दम बहस चल्ने गरेको छ : सीमा मिचियो अतिक्रमण भयो । बोर्डरका खम्बाहरू सार्ने भारतीय सीमा सुरक्षाबल र भूसर्वेक्षणका नोकरशाहहरूले भारतको सीमालाई नेपालको अन्तर्गर्भमा घुसाउँदै बेलाबखत नेपालमा राष्ट्रवादको सडकनाटक मञ्चनमा सघाउँदै आएका छन् । केही समयको तमासा पछि भलै ती कुरा बिर्सिएकै किन नहोस् । तर मैले अहिले चर्चा गर्न खोजेको विषय भने नेपालको उत्तरी सीमा मिचिएको कुरा हो । त्यसभन्दा ठूलो चिन्ताको कुरो के रह्यो भने , हामीले नेपालको गौरव ठान्ने गरेको विश्वको सबैभन्दा अग्लो हिमाली शीखर सगरमाथा पूरै चीनमा पर्छ भनी गरिएको चीनिया दावाको कुरा हो ।

जर्ज एभरेष्टले भू सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शीखर यही हो भनी पत्ता लगाउञ्जेल यो हिमाल पूरा नेपालमा पर्थ्यो । स्थानीय भाषामा चोमोलोङ्मा भनी चिनिने यो संसारको शीर रूपी टाकुरालाई पछि नेपाली इतिहासकार बाबुराम आचार्यले हामीले अहिले बोल्ने गरेको 'सगरमाथा' नाम दिए । लामो समय नेपालको पूरै स्वामित्वमा रहेको यो सर्वोच्च टाकुरा धर्म गुरू दलाई
लामाको तिब्बतमाथि चीनिया कम्युनिष्ट नेता माओत्सेतुङको नेतृत्वमा रहेको रेड आर्मीको अतिक्रमण संगै विवादास्पद बनाइयो । तिब्बत अधीनस्थ पारेपछि पूरै सगरमाथा आफ्नो हो भन्ने दावा चिनले गरिरह्यो । तर पछि प्रधानमन्त्री वि पी कोईरालाका पालामा वि.सं. २०१६ सालमा नेपाल र चीनले सहमति गरी सगरमाथा सीमामा स्थित शीखर रहेको र यसको दक्षिणी मोहडा नेपाल र उत्तरी मोहडा चीनको हुने गरी सहमति भएको भन्ने कुरा मैले कुनै इतिहासको पुस्तकमा पढेको सम्झना छ । अहिले पर्यन्त पर्वतारोहीहरूलाई सगरमाथा चढ्न दिइने अनुमतिमा उत्तरतिर चीनले र दक्षिण मोहडामा नेपालको जिम्मा हुने गरेको छ । तर बेलाबखत सगरमाथा चढ्न चाहने बिदेशीहरूलाई नेपालले दिने अनुमतिमा चीनले निश्चित आग्रह नराखेको भने हैन । पछिल्लो समयमा तिब्बतमा ओलम्पिक टर्च लैजाने बेलामा , नेपालतिरको मोहडाबाट सगरमाथाआरोहण गर्न पनि चीनीया आग्रहमा नेपालले केही समय प्रतिबन्ध लगाइकै थियो ।

तर विश्वप्रसिद्द गूगल अर्थको पछिल्लो भर्सनको भुउपग्रहीय तस्वीर तथा तल उद्धरण गरिएको उत्तिकै प्रसिद्ध विकिपेडियाको वाक्यांश सारले स्पष्ट रूपमा सगरमाथा माथि नेपाली स्वामित्व नरहेको प्रष्ट पारेको छ । स्मरण रहोस् गूगलले चीनमा सरकारको पूर्ण अनुमतिमा मात्र काम गर्ने गरी कार्यरत रहनुपर्छ । गूगल अर्थले नेपालपट्टि पर्ने सगरमाथा आधार शिविर र खुम्बु ग्लेसियरको केही भाग बाहेक दक्षिणी मोहडाको सम्पूर्ण पहाडसहित सगरमाथाको ९०% भागलाई स्पष्ट रूपमा चीनको सीमा भित्र पारेको छ । कुनै जमानासम्म संसारकै लुप्त मुलुक मानिने तिब्बतको बाटो भएर सगरमाथा चढ्ने पर्वतारोही नहुनाले नेपाली बाटोको प्रचलित रूटका कारण मात्र नेपालतर्फबाट सगरमाथा आरोहीलाई सजिलोको लागि बाटो छोडिदिएर नेपालका लागि अलिकति पर्वतारोहण रोयल्टीको जोहो जुटाइदिन चीनले दया देखाएको अर्थ लाग्छ यो नक्शा हेरेपछि ।

यो कुरा पनि साँचो हो कि चीनिया पाठ्यपुस्तकहरूमा माउण्ट एभरेष्ट पूरै चीनको हो भनेर नै पढाइन्छ । यो कुरालाई सहन सकिन्छ होला किनभने हामीले यो हाम्रो हो भनेर पढेका हुन्छौँ । तर यो कुराको मतलब त चाइनिज नबुझ्ने नेपालीलाई हुने कुरा पनि भएन होला !

तल उद्धृत विकिपेडियाको अनुच्छेदले भने सगरमाथालाई नेपालको सगरमाथा अञ्चल र चीनको तिब्बत बीचको नो म्यान्स ल्याणडतिर पर्ने गरी लेखेको रहेछ । गूगलले सीमा सम्बन्धी कुरामा चीनको अनुमति नपाई म्यापिङ र सीमाङ्कनको कुरा प्रकाशित गर्‍यो होला भन्ने मान्न पनि सकिन्न । कुनै बेला सिंगै रहेको हाम्रो सगरमाथा कालान्तरमा आधा हुँदै पूरै उता गइसकेको हो भने त अब हामीसंग गर्व गर्न पर्ने कुरा नै के रह्यो र ? शक्तिसम्पन्न राष्ट्रले दयामायाले छोडिदिए त ठिकै हो , तर भूउपग्रहीय मापनमा नै उता परेको लेखोट र अरू पनि कृत्रिम अभिलेख सहित चीनियाहरूले भोलि सम्पूर्ण सगरमाथाको स्वामित्वको दावा गरेछन् भने पनि हामीसंग के जवाफ हुने होला र, त्वं शरणं बाहेक ? फेरि हाम्रो विश्वास पनि गजबको छ नि भारतले दु:ख दिँदा हामी सोच्छौँ त्लेयो भारतले नदिए चीनले पेट्रोल र मट्टितेलको धारो हाम्रा घरघरमा ल्याइदिन्छ रे भनेर । वास्तवमा हिमालपारिका ५० औँ हजार हेक्टर हिमाली भूभाग र हिजोका नेपाली चौँरी चरनहरू आज उत्तरी भेगका पशुपालक किसानबाट छिनिँदा पनि हाम्रो राष्ट्रवाद अन्तै एकोरिहेको जस्तो छ । आक्कल झुक्लमा चिनिया सीमा यता उता गर्नु पर्ने नेपालीले चीनिया सुरक्षाबलबाट खेप्नु परेका दुर्दसाका कहानीका लागि यो सन्दर्भ अनुकुल पनि नहोला । दुई देशको बीचको तरूल बढेर ठूलो हुने कता हो कता यहाँ त ढुंगा बढेर तरूल चेप्टिने क्रम बढेको छ र चट्टानको अजस्र थिचाइमा तरूलको अस्तित्व कता हो कता हुने भैसकेको छ ।

नेपाली राष्ट्रवादको कुरामा दक्षिण , पश्चिम , र पूर्वी सीमा मिचिएका क्रन्दनमा हाम्रो अस्मिता र परिचय बोकेको हिमाल र अझ त्यसको गौरव पताका सगरमाथा अर्कै मुलुकमा परेको कुरामा हाम्रो राष्ट्रवादी व्याख्या कस्तो रूपमा आउने हो मलाई थाहा छैन । तर राष्ट्रका प्वाँख यसरी जटायूका सदृश ठुट्टिँदै जाँदा , हामी कतै अतीतको गौरवमा मात्र रमाउने अस्थिकंकाल रूपी नेपाललाई रुँगेर बस्न वाध्य निरिह नेपालीको रूपमा घटुवा हुँदै त छैनौँ ?


एकपटक गूगल अर्थमा सगरमाथा खोजेर हेर्नूस् त । नेपालमा नै रहेछ भने खुशी सहित खबर गर्नुहोला है त ।

विकिपिडियाको यो अग्रलेख पढ्नुहोस् :

http://en.wikipedia.org/wiki/Mt_everest

Mount Everest – also called Sagarmāthā (Nepali: सगरमाथा), Chomolungma or Qomolangma (Tibetan: ཇོ་མོ་གླང་མ) or Zhumulangma (Chinese: 珠穆朗玛峰 Zhūmùlǎngmǎ Fēng) – is the highest mountain on Earth, as measured by the height above sea level of its summit, 8,848 metres (29,029 ft). The mountain, which is part of the Himalaya range in Asia, is located on the border between Sagarmatha Zone, Nepal, and Tibet, China.





July 19, 2009

दौतरी को चौतारी मा गोर्खाली गफ

शेखर ढुंगेल

१- एकजना नेता पत्रकारहरु देखी वाक्क दीक्क भएर टाउको समाती राखेको बेलामा उन्ले धुरन्धर विद्वान भनी नियुक्ती गरेका पि. ए. ले सोधे होइन ए नेता ज्यु यो कोलमिस्ट कि कोलबिस्ट (COLUMIST) भन्या को हुन ? । नेताले झर्किदै भनेछन: को हुनु ?, त्यै जहाँ पायो त्यही जहिले पायो त्यही डर लाज नमानी कलम बाट बिस्ट्याउदै हिंड्ने हरु नी !!!

२- दुई मित्रहरु मान्छेहरुको भाग्यका बारेमा चर्चा गर्दै रहेछन । यसै बीचमा एकले सुस्केरा हाल्दै भने छन: खै आफु लाई त भगवानले न कला दिए, न गला दिए, दिए त दुई बाङ्या गोडा निक्कै दु:ख पाइयो जिन्दगी को लाइफमा !!!

३- केही उमेर ढल्दै गएका साथीहरु चौतारीमा बसेर कसैका फुलेका कपाल, कसैका खुइलिएका तालुको बारेमा चर्चा गर्दै ब्यस्त थिए । त्यतिकैमा अर्का त्यस्तै तालु खुइले साथी टुप्लुक्क देखापरे।  एकले थपे: उ आयो अर्को तालु !। त्यो सुनेर आगन्तुक मित्रले झोक्किदै भने: ए तालु को रौं गएर के भो ?, कान र नाक मा उम्रेको देख्दैनस ? !!!

४- ४-५ जना युबतीहरु छुट्टीको दिन पधेँरामा लुगा धुँदै गफगाफ मार्दै थिए । त्यतिकैमा एउटीले सोधिन: होइन ए मोरी हो केटा केटा मात्र जम्मा भएका बेला कस्ता कस्ता गफ गर्दा होलान हगी ? । अर्कीले जवाफ फर्काइन: तिनीहरु पनि हामी जस्तै त हुन नी !। सोध्नेले जिब्रो टोक्दै भनीछन छ्या कस्ता छिल्या मोराहरु !!!


एउटा बुद्ध चाहियो

एउटा बुद्ध चाहियो भन्छ मलाई मेरो माटो
बोलाम कसो गरि जताततै बन्द भाछ बाटो

पसिनाको थोपाले लेख भन्छ ईतिहास फेरि
कसरी लेख्नु बारुद छ कलममा मसीको साटो

जपतपको आरध्य जगमा गौतम " बुद्ध "बने
हाँस्छ अचेल सिस्नो सित तेही तपोभूमिको पाटो

सदभाबको लाली गुराँस फुल्यो भन्थे पाखामा
के फुल्थ्यो अझै लथपथिएको रैछ रगतको टाटो

एउटा सबालले घोची रहन्छ अस्मिता माथि
बहादुर बादुर भयौ अब हामी बाठो कि लाटो


July 18, 2009

ठूला मान्छेको नातेदार

* जोतारे धाइबा
नस-नातो भन्ने कुरा बलियो जोर्नीतिरै जोल्टिएको राम्रो । तब पो समग्र कुरामा निरोग प्राप्‍त हुन्छ । यस्तै गूढ पक्ष हाम्रो सामाजिक सम्बन्धमा पनि रहेको छ । उस्तै परे 'सिन्की अचार मुलाको, नातागोता ठूलाको' भनेर एकोहोरिने बेला आइसकेको छ । गोरु बेचेको साइनोसमेत खनीखोस्री गरी भजाएर आफ्नो मझेरी सम्याउन नछोडिने आजको जमानामा कसैको नातेदार हुन पाउनुजस्तो अहोभाग्य अरु के होला ?

आफू कसैको नातेदार हुनु र त्यो पनि लरतरो पाराको, यो त पटक्कै सुहाउने कुरा होइन । सोझै भन्दा घाटाको कारोबार । नाता-सम्बन्धमै फलिफापको कारोबार भएन भने त जिन्दगीको हिसाबै गोलमाल हुन्छ । नातेदार हुनु त ठूला मान्छेको । रगतकै गाढा नातालाई पनि जोडबलले तानतुन गरी पत्तो लगाएको ठूला मान्छेसँगको नाताले कोसौँ पछाडि छाडिदिन्छ । जुग-जमाना कहाँ पुगिसक्यो, आसेपासे वल्लो र पल्लो घरको पिँढीतिरै 'ए काकी, ए बडाबा' भनेर सीमित हुँदै अलमलिने बेला अब छैन । जति सक्यो, ठूला मान्छेको नातेदार बन्ने अभियानमा जुट्नु छ । यसको लागि टोल र बस्तीको धुरी नाघेर ठूलै छलाङ मार्नु किन नपरोस् ! ठूलो जालमा ठूलै सिकार भन्ने त उखानै छ ।

ठूलो मान्छेको नातेदार भएपछि बारीमा फलेको मुला पनि चाँदीको ठेकीमा स्याउलाको बिर्को भएर देखा पर्छ । भोज र मोजको त छेलोखेलो वर्ष नै हुन्छ । चतुरता झिकेर यता-उता महामानवहरूसँग चोचोमोचो गाँस्न सकिएन भने चाहिँ हेलाहोचो सहेरै जुनी झिरिप्प हुन बेर लाग्दैन । 'बडा घरको बडै चाला' भन्ने देउसी गीतको भाका बाह्रै मास दैनिक जीवनयापनमा नभट्याए त केही पार चल्ने छाँट देखिन्न ।

जब भइन्छ ठूला मान्छेको नातागोता तब मिल्छ इज्जतको लोटा भन्ने भाव राष्‍ट्रिय स्तरमा सारै जनप्रिय मन्त्र हुनपुगेको छ । नहोस् पनि कसरी, ठूलाहरूको स्याहार र सङ्गतिबिना चुलाचौकाको दस लन्ठाले आहार नपाउने भएपछि निहुरमुन्टी न त बन्नैपर्‍यो । यसरी नस-नाता र निहुरमुन्टी न मा प्रगाढ परिवार आयोजनको कार्यव्यार रहेछ भन्ने प्रस्टै देखिन्छ । जति कोरी निहुरमुन्टी न को कुल्ली-डन्डा जोत्यो, उति मात्रामा बुरुबुरु नातागोताको उब्जाउ । फेरि अरूखाले खेतीमा बाली रोपेपछि अपेक्षा गरेअनुरूप प्रतिफल ननिस्किने खतरा रहन्छ, नातावादको खेतीमा भने पोल्टो भरिने पक्का ग्यारेन्टी हुन्छ । ती ठूला ख्वामित्‌ले 'तथास्तु' भने झैँ आशीर्वादको पोको थमाइहाल्छन् । ठूला मान्छेको नातेदार हुनुको यस्तो मज्जा अन्यत्र कहाँ पो पाइएला ?

कहाँ कुन पद खाली छ, त्यसमा जाने कि त्यो भन्दा अलि सानदार कुर्सीमा जाने, ठूला मान्छेको छत्रछायामा रहन थालेपछि छानीरोजी चिट्ठा मिल्छ । मामा ससूराकी बुहारी होस् कि मीत ज्वाइँको साक्खै सालो होस् केही फरक पर्दैन । जति घुमाउरो नाता भयो, उति नै घुम्ने मेचमा जम्ने भाग्यको दैलो खुल्छ । अब चाहिँ प्रगतिशील जोगी आए, नातागोताको टीके खेल नचल्ला भन्नुपर्दैन, कानै चिरेर तिनले पनि नातेदारको बत्तीसकुने यार्लिङ झुन्ड्याएर देखाइहाल्छन् । कविशिरोमणि लेखनाथजीले भने झैँ 'फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?' नातेदार भएपछि पूजा-आजाको प्रसाद खान नपाइने कहाँ छ र ?


July 16, 2009

दौँतरीमा जालझेल

दौंतरीलाइ हेरविचार गर्ने समय प्राय बिहान र साँझ मात्र मिल्छ। अरु बेला दौंतरीमा गडबड भए अन्य एडमिन मित्रहरुको भर पर्छु। हुन त वहाँहरुले पनि सँधै आँखा लगाइराखेको हुनुहुन्छ। तर पनि समयले सबै व्यस्त भैराख्दा के कस्तो समस्या आइपर्छ पत्तो हुँदैन। अस्ती गूगलले आफ्नो ब्लगिङ्को बाटो परिवर्तन गर्दा १ दिन जस्तो यता उता गर्दै ठिक्क भयो। सबै सामग्री गूगलमा रहेको हुँदा अजिंगर जत्रो गूगलको अगाडि हामी भुसुना जस्तै हुन्छौं। हाम्रो समस्या गूगल समक्ष राखे पनि सुनुवाइ नहुन पनि सक्छ र भए पनि हप्तौँ लाग्छ। यस्तै छ गूगलसंगको ब्लगिङ्।

आझ बिहान दौँतरी इमेल हेर्दा भने निकै खतरायुक्त इमेल भेटियो। साइबरको जालोमा जाली पत्र त असंख्य नै आउँछन। कतै त लाग्यो यो खतरायुक्त इमेल जाली पत्रै हो कि भनेर। तर, पत्र आएको ठेगाना र पत्रमा राखेको लिंक जिनियुन नै भेटियो। पत्रले भन्छ दौँतरी ब्लग स्पाम ब्लगको लिस्टमा रहेको छ। तुरुन्त रेस्पोन्स नगरे २० दिन पछि ब्लग रोकिने छ। गरेको त केही होइन कसरी स्पाममा पुग्यो, म त छक्क परेँ। हुन त पत्रमा कहिलेकाँही झुक्किएर पनि यस्तो हुनसक्छ भनिएको थियो। कसैले रीस वा ईर्ष्याले जालझेल गरेर दौंतरीलाइ स्पाममा दर्ता गराइदिका पनि हुनसक्छन भनेर पनि कसै कसैले भनेको पाएँ। तर पनि हतार गरेर दिइएको लिंकमा दौंतरी स्पाम होइन भनेर दर्ता गराएँ।

दौंतरीको कुनाकानी मिलाउनमा ठरकी दादा निकै सक्रिय हुनुहुन्छ। वहाँलाइ पनि यस्तो समस्या आएको जानकारी गराएँ। त्यस पछि अफिस तिर लागेँ। दिनमा त दौँतरी चियाउन पनि हम्मे हम्मे पर्छ। काममा इन्टरनेट ट्रयाक हुने हुँदा इन्टरनेट चलाउन निकै समस्या आउँछ। बेलुका दौँतरी इमेल खोलेको ठरकीजीलाई पनि यस्तै पत्र आएको रहेछ। वहाँले तुरुन्तै दौंतरी स्पाम नभएको कुरा ब्लगरमा जानकारी गराइसक्नु भएको रहेछ। त्यस पछि एकलव्यजीलाई पनि त्यस्तै पत्र आएको रहेछ। उहाँलाइ पनि यो सबै भएको जानकारी गराएँ। एडमिनहरुलाइ मात्र यस्तो पत्र आएको हो कि दौँतरी लेखकलाई पनि यस्तो पत्र आएको हो त्यो भने पत्तो लागेन। त्यसैले यसबारे सबैलाई जानकारी दिन यो ब्लग लेखेर नै टाँसेको हुँ।

दौंतरीकै एडमिन / लेखक या अन्य ब्लगहरुले पनि यस्तो अनुभव गर्नुभएको भए बाँड्नुहोला ।

तपाईँहरूका सल्लाह निकै अमूल्य हुन्छन। लेख पढेपछि आफ्नो विचार बाँड्न नभुल्नुहोला। तपाईँ पनि लेख्नुहुन्छ भने दौँतरी (dautari@gmail.com)इमेलमा लेखहरु पठाउनुहोला । राम्रा लेख र रचनाका हामी सधैँ भोका छौँ । बरु लेख युनिकोडमा पठाउनुहोला र सकेसम्म शुद्धतामा ध्यान दिनुहोला । राम्रा र स्तरीय लेख भए पनि एउटै लेख बिभिन्न साइटमा पठाउँदा दौंतरीमा राख्न हामीलाइ अप्ठ्यारो हुनेकुरा पनि तपाईँहरु समक्ष बाँड्न चाहन्छु।


भानु तिम्रो सम्झनामा

शेखर ढुङेल्

भानु तिम्रो नाम मा
धेरै गोस्ठी र सभा भए
भानु तिम्रो नाम मा
धेरै ले दौरा सुरुवाल टल्काए
भानु तिम्रो नाम मा
धेरै ले बिभुषण , तक्मा थापे
भानु तिम्रो नाम मा
धेरै ले भाग्य चम्काए
भानु तिम्रो नाम मा
धेरै मन्च सजियो
भानु तिम्रो नाम मा
धेरै ले नगद पुरस्कार थापे
तर
जब तिम्रो तोडिएको
सालीक देख्दछु
आँखा रसाउछ
जब तिम्रो खन्डहर
घर देख्द्छु
मुटु चिरिन्छ
जब मलाई गिज्याइ रहेको
तिम्रो बस्ती देख्दछु
आँफै लाई धिकार्दछु
धिकार्दछु आधुनिक
प्रचार प्रेमी
नेपाली साहित्यकार हरु लाई
जस्ले तिम्रो नाम बेच्दै छन
तिमी लाई नगद बनाउदै छन
तिमी जस्तै निरिह छु
एक्लो छु कसैले सुन्दैनन
आफ्नै नाम र घर बनाउन
ब्यस्त छन सबै यहाँ
कस्ले हेर्ने तिम्रो
रम्घा को झुपडी ?
मात्र भाबपूर्ण श्रदान्जली
को औपचारिकता यस पाली पनि


संविधान, भींमसेनपूजा, माओवादी र महायज्ञ

Mao-Yagnya हिजोको नागरिकन्यूज डट कमको वेब संस्करणले माओवादीले हालै सम्पन्न गरेको विचित्र महायज्ञको समाचार छापेको छ ( हेर्नूस: http://nagariknews.com/news-highlights/139-highlights/2910-2009-07-15-05-19-11.html) । ‘धर्म अफिम हो’ भन्ने सिद्धान्त बोकेको कट्टर कम्युनिष्ट पार्टी स्वयंको आयोजनामा सम्पन्न भएको श्रीमद्भागवत महायज्ञको कुरा सुन्दा जति अचम्म लाग्न सक्छ त्यो भन्दा कैयौँ गूणा बढी, यो महायज्ञमा भएको दान दिने शैलिका बारेमा पढ्दा लाग्छ । हिजो जनताबाट ‘स्वेच्छिक’ चन्दा लिने अनौठा प्रविधिहरूको सफल परीक्षण गरी पारंगत बनेका माओवादीहरूले धर्म र दानको परिभाषालाई नै ‘चमत्कारी छलाङ’ प्रदान गरेको कुरा यो समाचार पढ्ने जो कोहीलाई बुझ्न गाह्रो पर्दैन । दान दिने पार्टी भक्त दाताहरूले जहाँ जसको जे जस्तो हालतमा भएको सम्पत्ति वा धनलाई यज्ञस्थलमा आएर ‘ लौ मैले यति बोलेँ’ भन्ने शैलिमा दान दिन मिलेको यो समाचार पढ्दा मलाई यो कतै गाउँ खाने कथाको पहेली जितेपछि ‘यति र यो गाउँ लैजा’ भन्ने खेल पो हो कि भन्ने भ्रम परिरहेछ। धार्मिक महायज्ञको यो नमूना प्रपञ्चबाट धर्म, दान, परोपकार, न्याय कानून र सभ्यताका अरू पनि पक्षहरूको उठान कहाँ र कति भयो , यो सम्बन्धित हरूले नै केलाऊन तर यही एउटा प्रकरणलाई हाम्रो नेपालमा बेलाबखत मञ्चन भैरहने विचित्रताहरूको शृङ्खला मध्येको एउटा प्रतिनिधि झलक भने ठान्न सकिन्छ ।

यो महायज्ञको अर्को अनौठो विशेषता के रहेछ भने कुनै बेला माओवादीद्वारा नै मारिएका भनिएका पण्डित नारायण प्रसाद पोखरेलका सहोदर छोरा दिनबन्धु पोखरेल नै यहाँ मूल पण्डित भएर मण्डपासीन भएका रहेछन् र एउटै यज्ञमा ५०औँ करोड रकम र जायजेथा उनले उठाइदिएका रहेछन् । एउटा यज्ञमा ५० औँ करोड उठ्नुको महानतालाई हेर्ने भने नेपाल जस्तो दानी दाताको बाहुल्यता भएको मुलुक संसारमा कमै होलान जस्तो लाग्छ । बालाजूमा टाट पल्टिन लागेको कुनै प्राइभेट अस्पताल चार्टर्ड एकाउण्टेण्ट नारायण बजाजबाट माओवादीले ३३ करोडमा किनेको थियो र पछि यसको नाम जनमैत्री अस्पताल राखिएको थियो । यही अस्पतालका लागि यो यज्ञ गरिएको रहेछ । यहाँ स्मरणीय के छ भने , ७,८ महिना अघि माओवादी सरकारका पालामा यो अस्पताललाई आर्थिक लगानी गर्न हुने विश्वस्त आधार नदेखेर बैँकहरू तयार नहुँदा, माओवादी सरकारले राष्ट्र बैँक मार्फत दवाब दिँदै नेपाली बैँकहरूको एउटा कन्सोर्टियम खडा गरी ३५ करोड रुपैयाँको बलजफ्ति ऋण प्रवाह स्वीकृति गराएर अस्पताल किनिएको थियो ।

आजको कान्तिपुरमा प्रकाशित अर्को समाचार छ “ संविधान निर्माणका लागि भिमसेन पूजा” (हेर्नूस: phalano_july16 http://ekantipur.com/kolnepalinews.php?&nid=204479) । महाभारत अनुसार भीमसेन बाहुबली र गदा युद्धका कुशल लडाकू थिए । तर्क र विचारले भन्दा मल्ल युद्ध र गदा रूपी फलामको मुङ्ग्रो चलाउन माहिर यी भीमसेनको पूजा गरेर नया संविधानको निर्माणमा कस्तो शिघ्रता आउने हो भक्तजनहरूले नै जानून । तर, भक्तजनहरूको यो पूजा र आराधनाको समाचार सुनेर म एउटा निष्कर्षमा भने पुगेको छु । त्यो के भने, भीमसेनका पूजक यी भक्तजनहरू अब नेपालको संविधान समयमा बन्नका लागि भगवान कै हस्तक्षेप जरूरी छ भन्ने निचोडमा पुगेछन् क्यार! अथवा, अब एकापसमा मिल्दै नमिल्ने दलहरूलाई एक ठाउँमा आउन र नया संविधानका लागि काम गर्ने बनाउन भीमसेन जस्ता बहादुर दैवी पात्र आएर तिनीहरूको टुप्पी समातेर एक ठाउँमा तान्नै पर्ने निस्कर्षमा पनि ती खोटाङका भीमसेन पूजक भक्तजनहरू पुगेका हुनसक्छन् ।

मैले दुई घटनाका आधारमा एउट ब्रम्हज्ञान पाएको छु । नया नेपालमा क्रान्तिकारीहरूको सोच र व्यवहारमा हुने असंगति, बिसंगति र विडम्बनाका बारेमा नराम्रो भन्न नपाइने हुँदा यसको सकारात्मक पक्ष खोज्नु जरूरी छ । यसो त नेपाली कम्युनिष्टहरूको धार्मिक रूझानका बारेमा भारतीय विद्वान कुलदिप नायरले पनि धेरै लामा लेख लेखिसकेका छन् । नेपालमा जति नै ठूलो कम्युनिष्ट क्रान्तिको कुरा गरिए पनि, हाम्रो रगत र चरित्रमा कम्युनिष्टहरूको त्यो धर्म बिरोधी राजनीतिक सोच भने घुसेको छैन कि जस्तो छ । यो कुरा स्वदेशी र बिदेशीले बेलाबखत चर्चा गर्ने गरेका छन् । यत्रो रक्तरंजित क्रान्ति पछिको यो बिन्दुमा आइपुगेर, जनगणतन्त्र स्थापना गर्नै लागेको यो मौकामा , माओवादीले ‘श्रीमद्भागवत महायज्ञ’ लगाएको छ । यो पुण्यको महारथ कति होला भोलि फल लागेपछि देख्न पाइएला । कतै हाम्रो यो महान क्रान्तिकारी पार्टीले विविध राजनैतिक प्रयोगहरूको अनन्त श्रृंखलाका क्रममा , धनी, बुर्जूवा र सामन्तीहरूलाई बढी भएको सम्पत्ति ‘स्वेच्छिक दान’ गर्न लगाएर समाजमा रहेको असमानता र गरीब धनी बीचको असन्तुलनलाई धार्मिक ढंगले समाधान दिन खोजिरहेको त छैन ? कामरेड प्रचण्डले बारम्बार भन्ने गर्नु भएको चमत्कारको राजनीति { धर्म, अर्थ (काम र मोक्ष बाहेक) र राजनीतिको फ्यूजन} यस्तै खालको त हैन ? जहाँ श्रीमद्भागवतले समाजवाद र भीमसेन पूजाले संविधान स्थापनार्थ भगवद् सामर्थ्य हासिल गर्छ ! भगवान भरोसा चलेको मुलुकका लागि यो भन्दा ठूला क्रान्तिकारी विम्वहरू के नै होलान र ?