October 10, 2017

राइनासकोट नमुना गाउँ उदघाटन सँगै होमस्टे सञ्चालन

लम्जुङ जिल्लास्थित राइनास नगरपालिका, वडा-९ को शिरमा अवस्थित ऐतिहासिक कोट "राइनासकोट" को नजिकै रहेको राइनासकोट गाउँमा भूकम्प पछिको पुनर्निर्माण सम्पन्न भएको छ | पुनर्निर्माण अन्तर्गत १ सामुदायिक भवन र १४ वटा आवासीय घरहरुको नयाँ निर्माण तथा १ संग्राहलय (घुमाउने घर) र २ पुराना घरहरुको संरक्षण रहेका छन् | संगसंगै अमेरिका र संगसंगै नेपालको मुख्य आर्थिक सहयोग, सर्वोदय सेवाश्रमको स्थानीय समन्वय र स्थानीय जनताहरुको सहभागितामा सम्पन्न पुनर्निर्माणको जम्मा लागत २ करोड ५० लाख रहेको छ, जस मध्ये १ करोड ६० लाख बराबर “संगसंगै” बाट सहयोग र ९० लाख बराबर स्थानीय सहभागिता भएको छ | उक्त पुनर्निर्माणमा संगसंगै अमेरिका संयोजक नतासा ओजनियकको प्रमुख भूमिका रहेको छ |





     पुनर्निर्माण संगै ऐतिहासिक राइनासकोटको पर्यटन प्रवर्धन गर्ने तथा गाउँमा आर्थिक उपार्जनको नयाँ आयामहरु सुरुवात गर्ने उदेश्यले विधिवत रुपमा होमस्टे पनि सञ्चालन गरिएको छ | रास्ट्रिय योजना आयोगको माननीय सदस्य ई. डा. सुनिल बाबु श्रेष्ठले गत असोज-२१, २०७४ मा एक समारोह बीच नमुना गाउँ तथा होमस्टेको समुद्घाटन गर्नुभयो |





सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाको अधयक्षतामा राइनासकोट पुननिर्माण समितीका स्थानिय अध्यक्ष विष्णु गुरुङले स्वागत गर्दै सम्पन्न भएको समुद्घाटन समारोहमा राइनास नगरपालिका मेयर सिंह बहादुर थापा, पालुनटार नगरपालिका मेयर ई. दिपक बाबु कंडेल, दुधपोखरी गाउँपालिका अध्यक्ष छुपी माया गुरुङ, लम्जुंग जिल्ला प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, उपप्रध्यापक नेत्रराज पौडेल, कृषि वैज्ञानिक धुव्र बहादुर थापा, नेपाल इन्जिनियर्स एशोशियसन पुर्व उपमहासचिव ई. दिनेश चन्द्र पन्थी, संगसंगै नेपाल संयोजक विवेक पण्डित, नेपाली कांग्रेस प्रतिनिधि तथा स्थानिय समाजसेवी खड्ग बहादुर गुरुङ, ने.क.पा. एमाले प्रतिनिधि पूर्ण बहादुर गुरुङ, ने.क.पा. माओवादी प्रतिनिधि पुष्पराज खनाल, नयाँ शक्ति प्रतिनिधि राजु थापाले राइनासकोटको पर्यटन प्रवर्धन, होमस्टे संचालन तथा राइनास नगरपालिकाको विकासको सम्भावनाहरुको बारेमा विचार राख्नुभएको थियो | राइनासवासी तथा पत्रकारहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन रितमभरा पोखरेल र कीरण गिरीले गर्नु भएको थियो |

कार्यक्रममा राइनास नगरपालिका कै  बोराङबाट ब्राह्मण संस्कृतिको  भजन, बालुन, कुंडुलेबाट गुरुङ संस्कृतिको बार्हमासे घाटु र कोके गाउँबाट गुरुङ संस्कृतिकै स्यार्गा प्रस्तुत गरिएको थियो | त्यसैगरि स्थानीय छन्दकवि मातृका प्रसाद खनालले २०७२ को भूकम्पलाई सम्झदै रोचक कविता प्रस्तुत गर्नुभएको थियो | बेजोड साँस्कृतिक प्रस्तुतिहरूले प्रकृति र इतिहासको संगमस्थल राइनास नगरपालिका साँस्कृतिक र साहित्यिक हिसाबले पनि अत्यन्त उर्वर भएको स्पस्ट बुज्न सकिन्थ्यो |  




   
ऐतिहासिक दृष्टिकोणबाट गोरखा लिगलिगको राजा हुनुभन्दा पहिले द्रब्य शाहले लामो समय बिताएको स्थल राइनासकोट तत्कालिन लम्जुङे राजाको अत्यन्त महत्वपूर्ण पूर्वी सामरिक स्थल हो भने प्राकृतिक दृष्टिकोणबाट राइनास नगरपालिकाको लगभग केन्द्रमा अवस्थित राइनासकोट किल्लाबाट पुरा ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ | एकै विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाईन, गणेश, माछापुच्छ्रे लगायत १८ वटा हिमश्रृङ्खलाहरु सहित सुर्योदय र सुर्यास्त  देख्न सकिने उक्त चुचुरोबाट राइनास नगरपालिकालाई घेरेका चेपे (चम्पावती) र मर्स्याङ्दी (कर्मदा) नदीका नागबेली बहावहरु संगै सुन्दर उर्वर फाँटहरुको पनि रमणिय दृश्यावलोकन गर्न सकिन्छ |  








  पूर्वी लमजुङकै प्रवेशद्वारमा रहेको राइनास ८ स्थित सर्वोदय सेवाश्रम वा राइनास ७ स्थित पाँचभाईबाट लगभग तीन घण्टाको पैदल दुरीमा पुग्न सकिने राइनासकोट किल्ला सम्मै सवारी यातायातको संजाल पनि पुगी सकेको छ | पैदल यात्रा गर्न चाहने र पैदल यात्रा गर्न गाह्रो हुने दुवैथरिका यात्रीहरुका लागि यो गन्तब्य स्वर्गानुभुति दिने खालको छ | राइनासकोटमा  शुरु गरिएको होमस्टेले यात्रीहरुको बसोवास सहज हुने तथा स्थानीय संस्कृतिको प्रत्यक्ष अनुभव गर्न सकिने कारणले अत्यन्त मनोरन्जन हुने विश्वास गर्न सकिन्छ |  


बार्है महिना पानी लाग्ने कृषिको अत्यन्त सम्भावना बोकेका राइनासटार, हर्राबोटटार, कैनीटार, तिनपिप्ले, अल्काटार, सातबिसे, टिमुरे, साहिलीटारका हरिया फाँट, टारी तथा बेसीहरु, दर्जनौं खोलानालाहरु, लुपू झरना, कर्मदा शिव ढुन्ढुर जस्ता विविध प्राकृतिक झरना तथा धरतीको गर्भ छुने खोंचहरु, चेपे र मर्स्याङ्दी नदीहरुमा अवस्थित ऐतिहासिक घाटहरु, असंख्य वन पैदावारहरु, जंगली जनावरहरु तथा विभिन्न प्रजातिका चराचुरुङ्गीहरुले भरिपुर्ण राइनास परापर्यटनको हिसावले पनि अत्यन्त महत्वपूर्ण गन्तव्य हो |


प्रकृति, संस्कृति र इतिहासको संगमस्थल राइनास अवश्य भ्रमण गरौँ |

-    ई. दिनेश चन्द्र पन्थी
[email protected]     
             




1 Comments:

Anonymous said...

http://www.lumbinionlinepatrika.com/

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !