December 4, 2010

सुकन्या अर्थात नीलिमा

शर्मिला खड्का दाहाल


तातो नारी शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्प्राण छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असर्मथ पाउँछु । फेरि इन्द्रियहरू परिचालन गर्न खोज्छु । कसोकसो दहिने हात उठाएर नारी शरीर को मुखमा लान्छु । ऊ मेरो देब्रेपटि्टको छातीमा आफ्ना हृष्टपुष्ट छाती जोडेर सुतेकी छे । मुस्किलले नाकमा फूली छ भन्ने थाहा पाउँछु । उसको आधा शरीर मेरो शरीरमा जोडेकी छे । जिउ शिथिल छ, आफ्नो हैन अरू कसैको जस्तो लाग्छ । बोल्न खोज्छु  शब्द निस्कदैनन् । मुटु र मस्तिष्कको समन्वय मिलिरहेको छैन । मस्तिष्क शून्य छ । केही सोच्ने शक्ति नै छैन । केही समयपछि मस्तिष्कलाई झट्का दिन्छु । केही कुरा चलचित्रझैँ घुम्न थाल्छन् । 
    म कहाँ छु ? कोसँग सुतिरहेको छु ? कतै धेरै पिएर यस नारीको भविष्य त खराब गरिन् ? अहँ, मैले अहिलेसम्म कहिल्यै कुनै स्त्रीजातिलाई यौनवासनाको नजरले हेरिनँ । त्यसो भए मसँग सुत्ने यी महिला को हुन त ?
    म सायद कुनै जङ्गलको झुपडीजस्तो सानो घरमा छु । बाहिर चराचुरुङ्गी उज्यालो हुन लागेको संकेत दिइरहेका छन् । म सम्झन्छु । म काठमाडौबाट पश्चिमको विकट पहाडी जिल्लामा जिल्ला अधिकारी अथार्त सिडिओ भएर खटिएको छु । म स्मरणशक्ति तन्काउँछु ।
    म अहिले यहाँ छु । हिजो कहाँ थिए ? अनि के गर्दै थिएँ ? म मस्तिष्कलाई अझ बढी क्रियाशील बनाउँछु । अचेतन अवस्थाका सारा बिम्बहरू बिस्तारै चेतका किरणले बिलाउँदै लान्छ । मेरो स्मृतिपटलमा स्मरणका हजारौँ आवाजहरू पड्कन थाल्दछन् ।
    'खबरदार ˜ ˜.... फायर.....  ठोक.....  आत्मर्समर्पण गर.....   हामीले सदरमुकाम कब्जा गरिसक्यौँ..... पब्लिकको घर जोगा......  आधार˜ ˜...  प्रतीक˜ ˜.... अघि बढ....  मोर्चा लिई.....  घड्याम्म ˜ ˜..  ड्याम्म ˜ ˜... फायर...  ड्याम्म.˜ ˜....'
    चारैतिर बन्दुक पड्किरहेछ । केही मिनेटको अन्तरालमा बम पड्किरहेछ घरै हल्लने गरी । हजारौँ बन्दुकहरू  भीमकाय आवाज लिएर पड्कँदै छन् । वातावरण कोलाहलमय छ । जताजतै क्रन्दन छ, रोदन छ , चिच्याहट छ, गोलीहरू छानामा असिना बर्सेझैँ बर्सिरहेका छन् । केही छिनअघि एउटा  व्यक्ति '.बत्ती निभा ..' भन्दै थियो । त्यसको केही छिनमा बत्ती गयो । सायद विद्युत् प्राधिकरणको ट्रान्समिटर बमले उडाइदिए होलान् । बम पड्केर जमिन नै हल्लिएझैँ भएको छ । कालो अजिंगरले आहारा निलेझैँ अँध्यारोले सम्पूर्ण भूवनावट निलेको छ । बिजुली चम्केर चट्याङ् परेझैँ बेलाबेलामा आवाज र उज्यालो एकैसाथ आइरहेको छ ।
    म सिडिओ-क्वार्टरमा छु । म भरखर सुत्ने तरखर गर्दै थिएँ । तर यो भीषण युद्ध जीवनमा मृत्युलाई यति नजिकैबाट मैले कहिल्यै देखेको थिइनँ । हुन त सिडिओ भएर यो ठाउँमा आउने बेलामा नै मैले आफ्नो मृत्युलाई शुभकामना दिएर आएको थिएँ । तर पनि काल्पनिकता र वास्तविकतामा धेरै फरक  पर्दो रहेछ ।
    म अत्यन्त नर्भस भइसकेको थिएँ । फोन गर्न टेलिफोन तान्छु । नजिकै झ्यालनिर गोली ठोकिन्छ । म तर्सिन्छु । म खाटमुनि पस्छु । एकछिनमा फोन बज्छ । मुस्किलले फोन उठाउँछु । उताबाट डिएसपी बोल्दै थिए -
    "सर के गरौँ ? आत्मर्समर्पण गर भन्दै छ ।"  , म थरथर कापेको शरीरले बोल्दै छु ।
"सुरक्षा गर्ने तपाईँहरूको काम हो, जे गर्नुहुन्छ गर्नोस् । अब बाँचिदैन ।म आक्रोश मिसिएको अभिव्यक्ति दिन्छु ।
 "आत्मर्समर्पण नगरौँ  । सेना मुभ हुँदै छ रे ।"
"तपाईँहरूको जो विचार ।"
यति बोलिसकेर म माथिल्लो  तलाबाट तल्लो तलामा झर्छु मुनितलामा पिउन र अर्को स्टाफका परिवार खाटमुनि पसेका छन् । बाहिर एकनासले आवाज आइरहेको छ । म छटपटाउँछु । भुइँमा पल्टन्छु । सबजना रुवावासी गरिरहेछन् । घरको कम्पाउन्डको गेटमा कसैले गेट फुटाउन खोज्दै छ । म अझ त्रसित हुन्छु । मुख सुकेर आउँछ ।
म क्वार्टरपछाडिको ढोकाबाट बाहिर निस्कन्छु । क्वार्टरपछाडि ठूलो भीर छ । तल सुनसान छ । न आवाज छ न त उज्यालो छ । म झट्ट दिमागलाई कम्म्युटरझैँ परिचालित गर्छु अनि डोरीको खोजीमा भित्र पस्छु । कतै डोरी देख्दिनँ । छेउमा पिउनकी श्रीमतीको फरिया देख्छु । त्यहीँ टिपेर बाहिर निस्कन्छु । बाहिर गेटमा जोडजोडले हिर्काउँदै छन् ।
म अत्यन्त चाँडो फरियालाई एउटा रुखमा बाधेर आफू तल झर्छु केही तलपुगेपछि फरिया रूखबाट फुस्कन्छ । म फरियासँगै लटपटिएर निकै तल पछारिन्छु । एउटा सानो गोरेटोमाथि बजारिन्छु । जीउभरि चोटैचोट छ । डर र त्रासले शरीरको पीडा महसुस हुँदैन । कतै घर देख्दिनँ। अझ तलतिर झर्छु निकै तल पुगेपछि भीरमुनि एउटा सानो झुपडी देख्छु । मुस्किलले फेरि फरियालाई रूखमा बाधेर भीरबाट तल झर्छु यसपाली झन् बढी काँडाले मेरो शरीरभरि घावैघाव बनाउँछ । शरीरको पीडालाई मानसिक पीडाले सजिलै निलिदिन्छ । बडो मुस्किलले त्यो झुपडीमा पुग्छु । घरमा ढोकामा ताला लगाइएको छ । म तालामा झुन्डिन्छु । म उभिने अवस्थामा छैन । ताला फुस्कन्छ । ताला त्यतै फ्याकिदिन्छु र कोठाभित्र पस्छु । घरभित्र कोही छैन भन्ने कुरामा म निश्चिन्त हुन्छु । भित्र पसेर ढोका लगाउन खोज्छु, न चुकुल भेट्छु न त आग्लो । ढोका ढप्काएपछि म भुइँमा पछारिन्छु । फेरि उठ्न निकै प्रयास गरेजस्तो लाग्छ । तर सक्दिनँ । त्यसपछि के भयो मलाई थाहा छैन ।
अब मलाई निकै होस आइसकेको छ । यो नारी शरीर मृत हो कि जीवित ? म छाम्छु । त्यहाँ कोही पनि छैन - कतै यो भ्रम हो कि वा भुत , चुडैल  पो हो कि - म सशङ्कित हुन्छु । म शङ्कास्पद दृष्टि दौडाउँछु परिवेशको वरिपरि । एक छिनपछि कतै कुनामा एउटा उक्त नारी शरीर बत्ती बाल्दै गरेको देख्छु । ऊ कुपी लिएर मेरो नजिकै पिर्कामा बस्छे । ऊ आफ्नो  अनुहार मेरो अनुहारको विपरीत दिशामा फर्काउछे । म राम्ररी चिन्दिनँ । म उसको ध्यानाकर्षण गर्न चटपटाउँछु अनि मुखबाट 'उफ भन्दै उच्छवास निकाल्छु । ऊ मपट्टि मुखमण्डल फर्काउछे र मलाई हर्छे उसको अनुहारमा म केही लज्जा , केही आक्रोश , केही धैर्य पढ्छु ।
    बिस्तारै उक्त अनुहार मलाई परिचित लाग्छ । म अचम्मका विस्फारित आँखा ओछ्याउँछु ऊमाथि - 'तिमी˜˜ '
'हो सर.. म सुकन्या.'.
उसको सौम्य अनुहार , स्निग्ध र निश्चल हेराइले मलाई मोहित पार्छ । म केही सम्झेजस्तो गर्छु मैले चिनेका धेरै थोरै राम्रीमध्ये सुकन्या पनि पर्छे ऊ कसरी यहाँ आइपुगी - म मनमनै मनोवाद गर्छु .।
"सरंलाई म कसरी यहाँ आइपुगे भन्ने लागेको होलाहामी राती यहाँ सदरमुकाम हान्न आएका थियौँ ।  र्फकदा म आफू जन्मेको घरमा पनि पसेर आमालाई भेट गरूँ भनेर साथीहरूलाई छलेर पसेकी थिए । सरलाई भुइँमा लडेको देखेँ । शुरुमा त आमा लड्नु भएछ भन्ने सोचेँ तर पछि बत्ती बालेर हेर्दा सर हुनुहुदो रहेछ । रगत धेरै बगेको थियो । मैले मसँग भएको औषधि लगाइदिएकी छु । सर , बेहोश हुनुहुन्थ्यो । सरलाई मैले उचाल्न सकिनँ । यही भुइँमा ओछ्यान बनाएर सुताएँ । चिसो धेरै भएकोले सरलाई होश आउन गाह्रो होला भनेर मैले आफ्नो शरीरको तातो दिए ....".   उसले अन्तिम वाक्य मुस्किलले भनी । बत्तीको उज्यालोमा उसको लज्जावोधले ग्रस्त अनुहार राताम्मे देखिन्थ्यो ।
    एक वर्ष अघि ऊ माओवादी भई रे भन्ने हल्ला चलेको थियो अफिसमा । ऊ मेरो अफिसमा नागरिकताको लागि आएकी थिई । हुन त त्यसभन्दा पहिला पनि आफ्नो अफिसको काम लिएर आउने गर्थी । तर नागरिकता लिने बेलामा उसको र मेरो राम्ररी चिनाजान भएको थियो ।   
ऊ भन्दै थिई  "सर मेरो नागरिकता बनाउनुपर्यो । अहिले एउटा स्वास्थ्यसम्बन्धी एनजीओमा काम गर्दै छु । नागरिकता भएपछि स्थायी हुन्छ । नत्र भने दुइ महिनापछाडि मैले जागिर छोड्नुपर्ने हुन्छ ।
म भन्दै थिएँ "नागरिकता लिनलाई बुबाले सनाखत गर्नुपर्छ । तिम्रो बुबा छ कि छैन -" एउटी कलकलाउँदी उन्नाईस , बीस वर्षी युवतीसँग म संवाद गर्दै छु ।
    "सर मेरो बुबा हामीसँग हुनुहुन्न । त्यसैले नागरिकता लिन गाह्रो भयो । बरु सरले नै कुनै उपाय बताइदिनुहुन्थ्यो कि । त्यसको लागि म जे गर्न पनि तयार छु । सरले चाहनुभयो भने नागरिकता लिन गाह्रो हुन्न रे ।" एउटी भर्खरकी गाउँकी केटीले जे गरेर भएपनि भन्दा मेरो नैतिकता जुरमुराउँछ  "होइन तिमीले के भन्न खोज्दै छौ । कस्तो जे गरेर भएपनि भनेको । बाउबिना कही नागरिकता हुन्छ -" मेरो आवाजमा शक्ति र सम्पन्नताको गन्ध आइरहेको हुन्छ ।
ऊ नम्र हुदै भन्छे  "हैन सर - मेरो मतलब त्यो होइन । पहिलाका सिडिओसाबले जस्तोसुकै गाह्रो काम पनि मिलाउनुहुन्थ्यो रे भनेको सुनेर मात्र भनेकी हुँ । सर, मैले यो नागरिकता पाइनँ भने जागिरबाट निकालिन्छु । मेरो भविष्य अन्धकार हुन्छ । काठमाडौँ तिर आमाको नागरिकताले पनि पाउनुपर्छ भन्ने हल्ला छ रे त्यसैले भनेकी हुँ ।"
यो केटी निकै बाठी र निडर रहिछ । पहिलाको सिडिओको बारेमा पनि थाहा रहेछ । योसँग धेरै विवाद गर्नु ठीक हुँदैन । फेरि मजस्तो कुनै हाकिमले यौनवासनाले अन्धो भएर यसकी आमाकी हरहराउँदो वैँसमा चैतको डढेलो सल्काएर कतै हराएको हुनसक्छ । त्यसको रापले आज यो अवोध केटीको भविष्य पिल्सिरहेको छ ।
ऊ मेरो सकारात्मक प्रतिउत्तरको प्रतीक्षामा छे । म भन्छु " तिमीलाई थाहा हुनुपर्ने हो आमाको नागरिकताबाट नागरिकता दिने कानून हाम्रो देशमा बनिसकेको छैन बनेको भए दिनलाई मलाई कुनै गाह्रो पर्ने थिएन । "
अहिले ऊ घुकघुक गर्दै रुदै छे । म किर्ंकर्तव्यविमूढ हुन्छु । 
 ऊ केहीछिनपछि शान्त भएर भन्छे "सर मेरो बुबा पनि तपाईँजस्तो अफिसको हाकिम हुनुहुन्थ्यो रे ।
ओहो कसरी कल्पना गरेको कुरा ठ्याक्क मिलेछ ।
"सर तपाईँनै बुबा भएर मलाई नागरिकता मिलाइदिनोस् न ।"
हैन यो केटी कतिसम्मकी निडर रहिछे । एउटा सिडिओको अगाडियस्तो कुरा गर्नक्ने । फेरि म यसको बुबासमान कहाँ छु र हुन त देख्ने जो कोहीले मलाई उमेरभन्दा दसवर्षजेठोको अनुमान लगाउछँन् । सायद यो खुइलेको तालुको करामत हो । यसलाई पनि यो सम्भाव्यताको सङकेतले  मजाले नै खाएछ    म अब स्थिर हुन्छु ।
"यो कसरी सम्भव छ । सिडिओ भएर आफै गलत बाटो रोज्न मिल्छ ल भन त ।म मध्यस्थता कायम गर्न खोज्छु उसको विचार र मेरो भनाइबीच ।
त्यसपछि दुइचार चोटी ऊ मेरो अफिसमा धाई । असम्भावानाका हिमचुली चुलिँदै गएपछि ऊ अफिस धाउन छोडी । ऊ माओवादी भई रे । उसग र्सतर्क हुनुपर्ने कुरा अफिसका स्टाफबाट सुनेको थिएँ ।
"सर के सोच्नु भएको अब मलाई राम्ररी चिन्नु भयो होइन ।" उसको मलिन स्वरले मेरो एकाग्रता भङ्ग गरिदिन्छ । म वर्तमानमा तानिन्छु । 
अहिले त झन यो केटी अझ बढी निडर , स्वाभिमानी र तर्कशील देखिन्छे । ऊ मृत्युको भयलाई पचाएर आएकी छे तर्सथ उसको अनुहारमा कुनै भय छैन त्रास छैन । क्रान्तिको दनदनी आगोमा आफ्नो अमूल्य जीवन होमेकी छे । यस्ती कलकलाउँदी सुकोमल शरीर भएकी मान्छेले आफूलाई किन होमेकी होला यसरी आगोमा ।
"सरले सोच्तै हुनुहुन्छ  म किन र कसरी माओवादी भए भनेर होइन सर - सर म रहरले माओवादी भएको होइन । मेरो नागरिकता बनेको भए किमार्थ म माओवादी हुने थिइन । मेरो जागिर स्थायी हुन्थ्यो अनि आमालाई  म राम्रोसँग पालेर बस्न सक्थे । तर मेरो जागिर तत्कालै छुट्यो । म घर बस्न बाध्य भए । त्यसपछि चिनेका साथीभाइले माओवादीमामा जाऔ देशलाई क्रान्तिकारी योद्धाको खाँचो छ भन्न थालेँ । त्यसपछि म माओवादी भएँ सर । "
" तिमीलाई गोलीबारुदसँग डर लाग्दैन ?" म प्रश्नको झटारो हान्छु ।
ऊ निर्भिक भएर भन्छे "केको डर सर ?"
"हाम्रो देशलाई हामीजस्तो युवाको बलिदान चाहिएको छ । देशको भ्रष्ट र दुष्ट सामन्तहरूलाई नाश गर्नु छ । हामी रातदिन दुख गरेर एक छाक खान पाउँदैनौँ । उनीहरू मोज गरेर बसेका छन् । हामीले नयाँ नेपाल बनाउनुछ । त्यसैको लागि हामीले क्रान्ति गर्नु परेको छ । माओको सिदान्त अनुरूप शोषित वर्गलाई उठाउनु छ सर ।" यति भनेर ऊ केही सम्झेजस्तो गर्न थाली ।
मलाई उनीहरूको पार्टी धेरै कमी कमजोरीहरू भन्न मन थियो । तर आफ्नो शरीरको अर्समर्थता र प्रतिकूल परिस्थितिले गर्दा मैले केही बोलिनँ । ऊ पार्टी सिदान्तबाट अत्यन्त प्रभावित देखिन्थी ।
सारा शरीर दुखिरहेको छ । म पीडाले उच्छवास लिन्छु - 'ऊफ'
ऊ भन्छे "सरलाई साह्रै दुखिरहेको होला म पेनकिलर दिन्छु ।"
ऊ कतै कुनाबाट औषधि र पानी झिकेर मलाई दिन्छे । मेरो एउटा खुट्टा चलाउनु सकेको छुइन् । शरीरमा धेरै ठाउँमा घाव भएको रहेछ । अहिले मजाले दुख्दै छ । उसले सफासुग्धर गरेर औषधि लगाइदिएकी रहिछ । अहिले थाहा पाउँदै छु ।
मेरो ध्यान उसको साडी चोलोमा पर्छ । मेरो उत्सुकतालाई अभिब्यक्तिमा पगार्छु तिमी सखर मुकाम हान्न आएकी मान्छे , यो साडीचोलो.. ?"
"यी त मेरी आमाका हुन । कम्ब्याक्ट ड्रसमा बसे खतरा हुन्छ भनेर लुकाएर राखेकी छु ।"
यो केटी सारै बाठी भइछ । फेरि मनको कुरा पनि कति चाडो बुझ्दिरहिछ । यो केटी किन यसरी मेरो लागि आफ्नो ज्यान खतरामा पार्दै छे । यो मेरो को हो - मलाई किन यसरी उदारता देखाउँदै छे ।
"सर, मैले पार्टीनै मनोविज्ञानबारे केही कुरा पढेकी छु र म केही पढेकी हुनाले काउन्सिलिङ्सम्बन्धी तालीम पनि लिएकी छु । त्यसैले यो समयमा सरले केकस्ता कुरा सोच्न सक्नुहुन्छ म सजिलै अनुमान लगाउन सक्छु । सरले सोच्नुभएको होला मैले यो खतरा किन उठाइरहेकी छु भनेर सर, हामी जतिसुकै कठोर र निर्दयी भएपनि हामीभित्र पनि मानवीयता छ , संवेदना छ । सरको हालत देखेर मलाई छोडेर जान मन लागेन । हुन त सरको अगाडि हामी भुसुनासरह हौँ हाम्रो जीवनको कुनै मूल्य छैन तर मैले सरको जीवन बहुमूल्य ठानेको छु । सरका पछाडि धेरै आशाका गोरेटाहरू छन् । जसले सरलाई पछ्याइ रहन्छन् । मेरो जीवनको कुनै भर छैन ।कुनै मूल्य छैन। मेरो न आशा छ न भविष्य । मेरी आमाले पनि मलाई छोडेर हिँड्नुभएछ । "
यति भनेर ऊ धेरै गम्भीर भई ।
यति राम्री केटीले यस्तो भनेको सुनेर मेरो आत्मा छटपटायो । यति सुन्दर शरीर , यति उचाइको वौद्धिकता भएकी केटीले ठाउँ पाउने हो भने संसारलाई आफ्नो  वशमा पार्न सक्थी तर यो नेपालीहरूको विडम्बना भनौँ - यति सुन्दर हातहरूले बम र गोला खेलाइरहेका छन् यहाँ सुकन्या जस्तो धेरै कन्याहरू छन् जसले आफ्नो उज्ज्वल भविष्यको सपनालाई बलिदान दिँदै क्रान्तिको यज्ञमा होमिएका छन् । उनीहरूले आफ्ना खुसी, चाहना र भविष्यलाई हृदयमा नै दाहसंस्कार गरेका छन् ।
हामी गफ गर्दा राम्ररी उज्यालो भइसकेको थिएन । उसले गाग्रीमा कतैबाट पानी लिएर आई । उसले कोठाको कुनामा रहेको ओदानमा आगो बालेर पानी तताई । कतैबाट मकै खोजेर ल्याई र भुट्न थाली । अब बाहिर राम्रोसँग उज्यालो भइसकेको थियो । हाँडीमा मकैका फूल उठ्तै थिए । मेरो मनमा पनि अनेकौँ तर्कवितर्कका ज्वारभाटाहरू उठ्तै बस्दै गर्दै थिए । हाँडीको मकैजस्तै मेरा भावनाहरू कहिले  फूल बन्दै कहिले ठेट्ना बन्दै उचालिँदै पछारिँदै गर्दै थिए ।
उसको सन्निध्यताले मैले जीवनसम्बन्धी धेरै कुरा सिकिसकेको थिएँ । हामी दुइधारमा बगेका विपरित लिङ्गी मानव थियौँ । म सरकारको पक्षमा राज्यमा शान्तिसुरक्षा गर्न खटिएको एउटा मर्दाना कर्मचारी थिएँ भने  ऊ राज्यमा क्रान्तिगरी सरकारी प्याकेजहरूलाई असफल पार्न खटिएकी जनना छापामार थिई । ऊ मृत्युलाई हाँक दिन सक्थी भने मृत्युदेखि भाग्ने डरछेरुवा थिएँ। मसँग धेरै आशा विश्वास, चाहनाका फूलहरू थिए जुन सुन्दर संसारबाट टिपिरहेको थिएँ भने ऊ उदेश्यहीन आशाहीन जीवन लिएर फूलको सट्टामा बारुद र गोलामा , आफ्नो भविश्य साटिरहेकी थिई । यस क्षण र यस घट्नाले मलाई उद्धेलित र भावुक दुवै बनाउँछ । सुषुप्त अवस्थामा रहेको मभित्रको लेखकीयता जुरमुराउँछ । मानवीयता छटपटाउँछ ।  म अत्यन्त गम्भीर र संवेदनशील बन्छु । यस अकल्पनिय घट्नालाई कुनै समय भाषिक अभिव्यक्ति दिनेछु भनेर  संकल्प गर्दछु ।
    "सर. उसले मेरो एकाग्रतालाई पुन भंङग गर्छे सरलाई म खबर पठाएर मान्छे लिन पर्ठाईदिन्छु । हुन त रात परे पछि मैले हिँड्दा ठीक हुन्थ्यो तर साँझपरुन्जेल सम्म सरको स्वास्थ्य स्थिति बिग्रिन सक्छ ।  त्यसैले अहिले खबर दिएर म बाटो लाग्छु सर । ''
    ऊ मकै खाँदै मालसामान मिलाउन लागी । मैले पनि अलिकति खाएँ । उसले हतारहतार एउटा सानो कागजमा केही लेखी र पुलुक्क मेरो मुख हेरी । उ गम्भीर र संवेदनशील हुँदै भन्न थाली "सर कतै भेट भयो भने नबिर्सनुहोला, कतै निलिमा नाम पढ्नुभयो वा सुन्नुभयो भने सम्झनुहोला । सरको स्वथ्य चाँडै राम्रो होस् । म बाटो लाग्दै छु । केही समयपछि  माथिबाट  मानिसहरू सरलाई लिन आउँनेछन् । मेरो विषयमा कसैलाई केही  नभन्नुहोला ।"
 उसको कुराले म अत्यन्त चिन्तित र गम्भीर भएँ। एकातिर उसको ज्यानको खतरा थियो भने अर्को तर्फमेरो स्वस्थ्यस्तिथि ब्रि्रंदै गएको थियो । म मुस्किलले भन्छु-
"सुकन्या तिमी नजाऊ आत्मर्समर्पण गर तिम्रो लागि म बोल्नेछु ।"
ऊ अत्यन्त धीर बन्दै भन्छे "सर अब धेरै ढिलो भइसक्यो । अब मैले र्फकने सारा बाटाहरू बन्द भइसके । मैले आत्मर्समर्पण गरे पनि मेरो आत्माले शान्ति पाउने छैन । यो हाम्रो पार्टी सिदान्त विपरीत छ । त्यसैले म जान्छु । मलाई मृत्युको कुनै चिन्ता छैन । " त्यसपछि उ सानो पोको सायद कम्ब्याक्ट ड्रेस  थियो क्यार,बोकेर बाहिर लागी । उ बाहिरिएको मैले सुतेर नै  टुलुटुलु हेरिरहेँ ।
 ऊ गएको करिब दुइ घण्टापछि मानिसहरू स्टे्रचर लिएर म भए ठाउँमा आए । मलाई अस्पताल पुर्याइयो । अस्पताल बिमारीले खचाखच भरिएको थियो । पहाडको अस्पताल भने जस्तो सामान औषधि केही थिएन । त्यहाँ सैनिक, कर्मचारी तथा साधारण जनता धेरै घाइते थिए ।
    दिउँसो म निकै बेर निदाएछु । आँखा खोल्दा बाहिर धेरै हल्लाखल्ला सुनेर मसँग बसेको स्टाफलाई सोध्छु । " बाहिर के को हल्ला हो ?"
"सर , बाहिर फेरि एउटा नयाँ छापामार घाइते भएर ल्याएको रहेछ, उसको नाम निलिमा रहेछ ।"
निलिमा भन्ने बित्तिकै मेरो कान चनाखा हुन्छन् । मेरो हात खुट्टा गलेर आउँछ । ओठ तालु सुकेर आउँछ । म छांगाबाट खस्छु । उफ   निलिमा तिमीले यो के गयौ । म आफ्नो पीडा कसैलाई सुनाउन सक्दिनँ । म वरिपरि मानिसहरू ऊसम्बन्धी गफ गरको कुरा सुन्दै मनमनै गम्छु ।
"त्यो अघि आएकी छापामार कति राम्री रहिछ ।'
"यस्तो लाउँलाउँ, खाउँखाउँ भएकाहरूले किन यसरी ज्यान फ्याकेका होलान् ।
सायद बाँच्दिन होला ।"
ऊ सम्बन्धी प्रत्येक वाक्यले मेरो मुटु घोचिरह्यो । साँच्चै तिमी  महान छौ निलिमा । म मेरो यो जीवन तिम्रै नाममा अर्पित गर्दछु । मेरो जीवन सधै तिम्रो ऋणी भइरहनेछु । निलिमाको सम्भाव्य मृत्युले मलाई धेरै दुखाउँछ । संसार अँध्यारो देख्छु । सुकन्या उर्फनिलिमाको अस्तित्व त्यसै अन्धकारमा हराएको देख्छु । म ऊ सम्बन्धी बढी जानकारी लिने कोसिस गरिरहेकी हुन्छु तर अर्समर्थ हुन्छु ।
मेरो उपचार त्यहाँ हुन नसकी म काठमाडौ ल्याइन्छु । म करीब डेढमहिनाको बेडरेस्टमा छु खुट्टा भाँचिएको हुनाले । यो समयभरि सुकन्या उर्फनिलिमा मभित्र झाँगिरही । मेरो ढुकढुकीमा बाँचिरही । मैले उसलाई भुल्न सकिनँ । मेरो सम्झनाको आकाशमा कहिल्यै नअस्ताउने जून बनेर उदाइरही । उसको उपस्थितिले मेरो सुषुप्त अवास्थामा रहेको लेखकीय भावाना, भाषा र कथासिल्पको पखेटा लगाई कथ्य आकाशमा उड्न थाले - 'मेरी सुकन्या उर्फनिलिमा' भन्दै ।
sakhada4@yahoo.com

०००००


9 Comments:

Shiva Prakash said...

" एउटी भर्खरकी गाउँकी केटीले जे गरेर भएपनि भन्दा मेरो नैतिकता जुरमुराउँछ "होइन तिमीले के भन्न खोज्दै छौ । कस्तो जे गरेर भएपनि भनेको ।"
मैले पढेका कथा मध्येमा राम्रो कथामा राखेँ यो कथालाई ।

Luna said...

कत्ति राम्रो साहित्य ! निरन्तरताको शुभकामना है शर्मिला जी |

PD said...

खबरदार ˜ ˜.... फायर..... ठोक..... आत्मर्समर्पण गर..... हामीले सदरमुकाम कब्जा गरिसक्यौँ..... पब्लिकको घर जोगा...... आधार˜ ˜... प्रतीक˜ ˜.... अघि बढ.... मोर्चा लिई..... घड्याम्म ˜ ˜.. ड्याम्म ˜ ˜... फायर... ड्याम्म.˜ ˜....'
aba ta nepalma atleast yesto situation nahola. kehi pahile ta hai gau jana pani muskil thiyo. hamro santi kchetra nepalko sithi yesto chha. k bhannu aba?

sanu jange said...

ati mitho bhabpurna katha, manai choyo. badhyata ka kati dherai kura thorai thau ma bunna sakya ho mannai parcha lekhakiya sali lai, nirantar lekhnu hola.dherai shubhakamana........

पोस्तक श्रेष्ठ said...

कथा राम्रो लाग्यो। मर्मस्पर्षी पनि छ। अपाङ्ग कानून, त्यसले जन्माएका बिद्रोहको बाटो, कठोर सैद्धान्तिक साङ्लोको बिच पनि कोमल मानवियतालाई समेट्नु भएकोछ।

प्रभात किरण said...

wastabikatalaai saral sabdama bagaunu bhayeko chha. Ujwal sahityik jivanko subhakamana.

Nepalean said...

शर्मीला खड्काजीको शुकन्या कथा निकै राम्रो लाग्यो। हुन त यो एउटा काल्पनिक कथा होला तर जनयुद्द कालमा यस्ता घटना नेपालमा पक्कैपनि प्रशस्त घटेका होलान। युद्दको उदघोष गर्ने र त्यसको प्रतिकार गर्ने मुखिया आफ्नो बोलीमा अडिग हुन्छन तर युद्दमा होमिने सर्वसाधारणको कथा ब्यथा निकै कारुणिक हुन्छ। सिडियो र निलीमा यही कारुणिक कथाका पात्र हुन। यस्ता कथा लाखौं नभए पनि हजारौं पक्कै पनि छन। खुसीको कुरा अब युद्द बन्द भयो तर न त युद्दमा लड्ने लडाकूको ठेगान गरिएको छ न त संबिधानको मुद्दा लिएर लडेका माओबादी संबिधान बनाउन सहयोग नै गरेका छन। अन्य पार्टी पनि कसरी सरकार आफ्नो कब्जमा ल्याउने भन्ने कसरतमा लागेका छन। माओबादी पनि त्यही भूमरीमा फंसेको छ। फेरी पनि सुकन्याहरू निलीमा नबनुन,यस्ता दूखद कथा पढ्न नपाइयोस।

शर्मीलाजी कथाहरू लेख्दै गर्नुहोला। यो कथा निकै मन पर्यो।

बिष्णुनन्द चाम्लिङ्ग said...

शर्मीला जीको कलात्मक कथाका पात्रहरुसंग म पनि अभिनय गरिरहेको अनुभूति गर्ने गर्छु वहाँको कथामा । उच्चकोटीको कथा बुन्नुमा माहिर हुँनु हुन्छ शर्मीला जि । निरन्तर लेखिरहुहोस पाठकको मन तानिरहनु भएको छ । म तपाईको एक पाठक हुँ । मीठो कथाकोलागि धन्यबाद ।

PD said...

sharmila ji ta sabaile man paraune lekhak hunu hudo rayecha. malai lekh sarai maan paryo. uha ka purana pramshasak ta thuprai hunu hodo rayecha. all the best.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !