December 2, 2010

ब्लगर प्रदिप बस्यालका ब्लग गफ

ब्लग भित्र ब्लग स्तम्भ पून लिएर आएका छौं। यसपटक दौंतरीमा ब्लगर निम्ताउने क्रममा http://pradeepbasyal.com.np/ का ब्लगर प्रदिप बस्याललाई निम्ताएका छौं। प्रदिपजीलाइ कसरी ब्लगर बन्ने भूत चढ्यो सुनौं उहांकै गफबाट। प्रदिपजीको ब्लग तथा दौंतरीको ब्लग भित्र ब्लग स्तम्भ कस्तो लाग्छ प्रतिक्रिया दिन पक्कै नभूल्नुहोला।

१) ब्लगर कसरी बन्न पुग्नु भयो ?

यसको एउटा वेग्लै रोचक कथा छ । पिताजीको जागीरको दौरान म नवलपरासीमा रहेर पढ्थेँ । सानैदेखि नै आइटीमा रुचि राख्ने हामी केही साथीहरुको (गृष्मराज पाण्डेय, ज्ञानेन्द्र आचार्य, सुरेन्द्र पौडेल) एउटा बेग्लैखाले समूह थियो । सूचना–प्रविधि सम्बन्धी केही नयाँ कुराहरु समाचारमा कतै भेटियो भने त्यसको ‘कटिङ्ग’ लिएर आउँथ्यौं हामी र पढ्दैमा निकै उत्साहित हुन्थ्यौं । कक्षा ५ मा पढ्दादेखि नै इमेल, इन्टरनेटबारे धेरै पढ्ने र सुन्ने गरेता पनि कक्षा ९ मा आएर बल्ल त्यसको अनुभव गर्न पायौं, परासीमा साइबर क्याफे खुलेपछि । हामीहरु बरोबरी पैसा भाग लगाएर इन्टरनेटमा बस्थ्यौं । पत्रिकामा त्यसबेला हामीले ध्यान लगाएर खोज्ने
 भनेकै वेवसाइटहरु हुनेगर्थे । त्यसैले इमेल एकाउण्टसँगै वेवसाइट ग्यामरले गर्दा मैले कक्षा ९ मै पढ्दै गर्दा ‘विवो’ सबडोमेनमा ब्लग खोलेको थिए । पछि काठमाण्डु आएपछि म दीपक अधिकारी र दिनेश वाग्लेको ब्लगिङ्ग शैलीबाट निकै प्रभावित भएँ । त्यसैक्रममा आशिष लुइटेल, रमेश न्यौपाने, आकार अनिलहरुको ब्लगहरु पढ्ने र वहाँहरुको संगतले पनि मलाई ब्लगबारे धेरै जान्ने अवसर मिल्यो ।


२) दि प्रदीप पोष्टमा केके पढ्न सकिन्छ ?

सन् २००९ को जुनदेखि मैले चल्तीमा ल्याएको मेरो ब्लगलाई पहिले कलेज र होस्टेल जीवनसँग मात्र जोड्ने सोचले खोलेको थिएँ । तर पछि कान्तिपुर दैनिकको हेलो शुक्रबारमा स्तम्भ र फिचरहरु लेख्न थालेपछि मैले ब्लगलाई त्यसभन्दा ठूलो दायरामा लैजाने अवसर पाएँ । यद्यपि ब्लगमा धेरै स्पेस पत्रिकामै छापिएका कुराहरुले ओघटेका छन् । तर पनि फरक फरक स्वादका कुराहरु हुनाले बालबालिकादेखि युवाहरुसम्मलाई पढ्न रोचक नै हुने मैले ठानेको छु । युवा स्तम्भ र फिचरहरुका अलावा मेरा केही व्यक्तिगत अनुभवहरु, फिल्मी कुराहरु, समाजलाई नयाँ बाटोतर्फ डोर्याउन खोज्ने केही तन्नेरीहरु, बाल कथा, पुस्तक समीक्षा, नियात्रा, विचार–विश्लेषणहरु लगायतका कुराहरु मैले ब्लगमा समेटेको छु । कतिपय प्राविधिक कारणले पत्रिकामा छाप्न नसकिने लेखहरुलाई मैले अझ बढि खुलेर ब्लगमै लेख्ने गरेको छु ।

३) तपाईँ ब्लगरका साथै पत्रकार पनि । हेलो शुक्रबारमा प्रकाशित लेखहरुमध्ये तपाईँलाई सबैभन्दा चित्त बुझेको चाहीँ कुन हो ?

नेपाली इञ्जिनियरहरुको प्रोजेक्टले विश्वभरका इञ्जिनियरहरुलाई उछिन्दै स्वर्णपदक पाएको कुरालाई मैले हेलो शुक्रबारमा फिचर ‘जर्मनीमा नेपाली सान’ लेखेको थिएँ । क्षमता हुँदाहुँदै पनि देशभित्र काम गर्ने वातावरणको अभाव महसुस गरिरहेका धेरै त्यस्ता इञ्जिनियरहरुको भावना मैले त्यस फिचरमा जोड्ने प्रयास गरेको थिएँ । र, त्यस फिचरसँगको मेरो अर्को रोचक अनुभव पनि छ । त्यसका लागि नेपालबाट छानिए लगत्तै म उनीहरुलाई पच्छ्याउन थालिसकेको थिएँ र नेपालका अन्य कुनै मिडियाले पत्तो नै नपाउँदै मैले उनीहरु सबैको अन्तरवार्ता जोडेर फिचर लेखेँ (हेलो शुक्रबारमा छापिएपछि मात्र अन्य मूलधारका पत्रिकाले त्यसलाई आफ्नो समाचार बनाए) । जुन सम्झँदा मलाई निकै खुसी लाग्छ ।

४) तपाईँको ब्लगको लेखाई र पत्रिकाको लेखाईमा के फरक पाइन्छ ?

पत्रिकामा लेख्नुका आफ्नै खाले सीमा र बाध्यता हुनेगर्छन् जसमा चहाना हुँदा हुँदै पनि स्वतन्त्र भएर लेख्न सकिँदैन । यद्यपि ब्लगमा म स्वतन्त्रपूर्वक मेरो अन्तरआत्माकै कुरा लेख्छु जसले मलाई पत्रिकाको तुलनामा धेरै सन्तुष्टि पनि दिन्छ ।

५) एउटा असल ब्लग कस्तो हुनुपर्छ ?

यो प्रश्नको उत्तर निकै जटिल हुनसक्छ । मेरो छोटो ब्लगिङ्ग अनुभवलाई हेर्दा सायद मलाई सोध्नु नै अलि छिटो भयो कि जस्तो नि लाग्यो है मलाई । तर पनि म मेरो नितान्त व्यक्तिगत कुरा तपाईहरुलाई भन्छु । ब्लगको ‘सुन्दरता’ यसको ‘स्वतन्त्रता’मै हुन्छ । त्यसैले औपचारिकता कम सत्यतासँग बढि नजिक भएर लेख्ने ब्लगहरु मलाई राम्रा लाग्छन् । नेपालमा अझै ब्लगलाई त्यती धेरै महत्व दिने परिपाटी बनिसकेको छैन । भारत लगायता अन्य त्यस्ता प्रजातान्त्रिक मुलुकहरुमा हेर्नुस, स–साना देखि राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका सवालहरु उठ्दा त्यसको बढि यथार्थपरक कुराहरु ब्लगमै पढ्न पाइन्छन् । आलोचना र टिप्पणी संस्कृति निकै कम रहेको हाम्रोजस्तो मुलुकमा ब्लगले त्यसको काम गर्न सक्छ ।

६) अन्य ब्लग कत्तिको हेर्नुहुन्छ ? विदेशी र नेपाली ब्लगहरुमा के फरक देख्नुहुन्छ ?

मैले फुर्सदको समय काट्ने एउटा तरिका नै ब्लगहरु पढ्ने पनि हो । मेरो आफ्नै सर्कलदेखि बेलबखत ब्लगहरुको सञ्जालमा खोजेर पनि ब्लगहरु पढिरहेकै हुन्छु । नेपाली ब्लगहरु बढि साइट सजावट, प्रशंसा गर्नमा केन्द्रीत छन्, यद्यपि विदेशी ब्लगहरु मैले अघि भनेजस्तो ‘आलोचना’ र ‘टिप्पणी’ गर्ने मामिलामा धेरै अगाडि छन् ।

७) तपाईँले ब्लग लेख्ने उत्तम समय कतिवेला पर्छ ? र, ब्लगमा लेख्दा के कुरामा बढि ध्यान दिनुहुन्छ ?

त्यस्तो अनुकुल समय भन्ने छैन । जतिवेला कुनै घटना र अनुभवले मन अशान्त पार्छ, त्यसैबेला ब्लगमा लेख्छु । र, पत्रिकामा लेख्दा जसरी म अन्य कुराहरु सोच्दै लेखिरहेको हुन्छु, ब्लगमा लेख्दा भने म मात्र विषयबस्तुमा केन्द्रीत हुन्छु, अरु केही सोच्दिन । (किनकि त्यसको लेखक र सम्पादक दुवै मै परेँ नि । हाहाहा)

८) तपाईं आफूलाई लजालु भनेर परिभाषित गर्नुभएको रहेछ तर अध्ययनलाई श्रीमती र पत्रकारितालाई रख्यौल भन्नुभएको पनि रहेछ । धेरै नबोल्ने मान्छे भित्रबाट ज्याद्रो हुन्छन् कि क्या हो ?

मैले आफूलाई लजालु कुन अर्थमा भन्या हो भने म अपरिचितसँग चाँडै झ्याम्मिन सक्दिन । मेरो ‘कम्फर्ट जोन’ नि निकै साँघुरो छ भने साथी सर्कल पनि उस्तै सानो छ । अनि जहाँजम्म तपाईँले मेरो ब्लगमा रहेको परिचयबाट उद्धृत गर्दै ‘श्रीमती र रख्र्यौल’को कुराको प्रशंग निकाल्नुभयो, त्यो मैले एन्टोन च्याखोभको भनाईबाट प्रभावित भएर राखेको हुँ । उनीजस्तै म पनि दुई सामान्यतः विपरित ध्रूवका कुरामा दक्षता बढाउन चहान्छु, आफ्नो विज्ञानतर्फको पढाई र पत्रकारिता । सरकारले बहुविवाह गर्न नदिने भएको हुनाले दुवैलाई विहे गर्न नसक्या मात्रै हो । हाहाहा । र, दुईमध्ये कुनै एउटालाई नि म छाड्न सक्दिन । श्रीमती र रख्र्यौलको कुरा यसरी जोडिएको हो । दुवै मेरा प्रेमिकाहरु नै हुन् । जसलाई च्याखोभकै भाषामा भन्नुपर्दा दुवै मेरा ‘एक्ट्याकटिभ वेडफेलोज’ हुन् । कहिले एउटाको यौवनले आकर्षित गर्छ त कहिले अर्काकोले । अनि ‘ज्याद्रो’ को कुरा छ तपाईँले मैले यसो लेख्नुको मर्म सायद नबुझेर नि हुन सक्छ (जुन तपाईँ आफैले पनि प्रश्नमा बताउनु भएको छ ।) म पनि एउटा मान्छे नै हुँ जसमा सबैमाझैँ हरेक किसिमका संवेदनाहरु हुन सक्छन् । जुन सबैमा हुन्छ– चाहे सोझो होस् या टेडो । तर पनि मेरो ब्लगमा रहेको परिचयलाई त्यती धेरै गहिरिएर नबुझ्नु नै राम्रो होला ।

९) तपाईँलाई उपन्यासले कत्तिको असर पारेको छ ?

उपन्यास पढ्ने बानीको बिकास सारै ढिलो भयो । त्यसमा पनि आफै पुस्तक छानेर पढ्ने बानी झनै बसेन । प्लसटु पढ्दा साथीहरुले चर्चामा आएका किताबहरुको खुबै हल्लाखल्ला र बखान लगाउँथे र त्यही छानेर पढिन्थ्यो । जसले गर्दा पनि जति पढियो, ति राम्रै परेका छन् । अहिले एनी फ्याङ्र्सको ‘अ डायरी अफ अ योङ्ग गर्ल’ पढ्दै छु । उमेरकै दोष हुनुपर्छ उपन्यास पढ्ने क्रमकै शुरुवातमै ‘इलेभेन मिनट्स’ पढियो । जसको पात्र मारिया मैले अहिलेसम्म पढेका धेरै उपन्यासको दाँजोमा मन परेको पात्र हो । जसमा म उपन्यासकार पाउलो कोहेल्लोको लेखन क्षमता निकै बेजोड छ । जताबाट हेर्दा पनि कुनै मूल्य नभएकोजस्तो लाग्ने पात्रलाई सशक्त रुपमा उतारेर ‘नायक’ चित्रण गरिएको छ जस्तो गुण कमै उपन्यासकारसँग हुनेगर्छ । हरेकको जीवनमा संघर्ष छ र हरेक आफ्नै जीवनको नायक हो भन्ने शिक्षा मलाई इलेभेन मिनट्सले दियो । त्यसकै प्रभावले मैले उनको अर्को उपन्यास ‘दि अल्केमिष्ट’ पढेँ र पछि अरुहरु पनि । उनको लेखनमा निकै शक्ति छ, ‘गु्रक्ताकर्षण बल’ जस्तो पाठकलाई एउटा शक्तिले बाँधेजस्तो अनुभव गराउने । म भौतिकशास्त्र र सूचनाप्रविधिको विद्यार्थी भएको हुनाले त्यसले हाम्रो जीवनमा ल्याउन सक्ने कायापलटको कल्पना गर्दैमा रोमाञ्चित हुन्छु । त्यसैले पनि डेन ब्राउनका केही साइन्स फिक्सनह म बेलाबखत पढ्नेगर्छु । उनका डिजिटल फोर्थरेस, एञ्जल्स एण्ड डेमोण्ड्स, दा भिन्सी कोड, द लस्ट सिम्बोल र द डिसेसन प्वइन्टको आधासम्म पढेको छु । मलाई उनको लेखन शैलीको अलावा कल्पनाशक्ति, सिम्बोलोलो र प्रविधिको मिश्रण निकै राम्रो लाग्छ । उनमा वेग्लैखाले कल्पनाशक्ति छ । उनले फिक्सनमा उल्लेख गर्ने प्रविधिहरु निकै खतरनाक छन् जसको कल्पना गर्दा नै म रोमाञ्चित हुन्छु । डिसेसन प्वइन्टमा त उनले शुरुमै लेखेका छन्– ‘फिक्सनमा लेखिएका हरेक प्रविधि अस्तित्वमा छन् ।’ जसले मलाई झनै उनका उपन्यासहरु पढ्न झनै रोमाञ्चित बनाउँछ । त्यसैगरी नेपाली लेखकहरुतर्फ मैले पढेकामध्ये लीलबहादुर क्षेत्री, नारायण वाग्ले, बुद्धिसागरहरुका उपन्यासले पनि मलाई धेरै आनन्द दिएको छ ।


१०) नेपालमा पोर्न साइट बन्द गरिएको छ । व्यस्क व्यक्तिहरुलाई यस्ता साइट नहेर भन्ने सरकारी निर्णय कस्तो लाग्यो ?

यो एउटा ठूलो बहसको विषय हो जसलाई केहीअघि मैले कान्तिपुरमै पनि लेखेको थिएँ । सरकारको हावादारी र केटाकेटी खेलेजस्तो काम भन्छु म त यसलाई । पहिलो कुरा त आजकल म इन्टरनेट सञ्जालमा ‘ब्लक’ भन्ने कुरालाई नै महत्व दिन छाडिसकेको छु (प्रोक्सी सर्भरहरुको प्रयोग त्यस्ता ठाउँमा बढ्नेगर्छ )। दोस्रो कुरा सरकारी पारासँग म असन्तुष्ट छु, यस्तो संवेदनशील कुरा जसरी ठूलो गृहकार्य र छलफलसँग आउनु पथ्र्यो, त्यो हुन सकेन । हो, एउटा उमेरसम्म बालबालिकालाई अश्लिल सामाग्रीको पहूँबाट टाढा राखिनुपर्छ (बरु त्यसको लागि प्रयास आवश्यक छ) तर बढ्दो उमेरसँगै बढ्ने यौन उत्सुकतालाई कुनै वहानामा रोक्नु हुँदैन र सकिँदैन पनि । जसको सही विकल्प ‘यौन शिक्षा’ हो जसमा हाम्रो ध्यान अझै राम्ररी पुगेको छैन ।

११) हालै काठमाण्डुमा भएको नेपाली ब्लगर भेलामा तपाईँले कस्तो अनुभव गर्नुभयो ? उक्त भेलामा भेला हुन चहाने र नचाहनेका बारेमा तपाईँको धारणा के छ ?

मेरो त्यस प्रकारको पहिलो अनुभव थियो त्यो । त्यसैले पनि नेपालका केही पुराना एवं चर्चित ब्लगरहरुसँग भेट्न पाउँदा म खुसी नहुने त कुरै भएन । तपाईँले यसै प्रश्नमा जोडेको कुरा पहिल्यैदेखि विवादमा आइरहेको रहेछ । तर म भने व्लगहरु भर्चुअल दुनियाँमा रम्ने कुरा हुनाले यसको खुकुलो सञ्जाल नै ठिक हुने ठान्छु । यद्यपि बेलाबखत भेटघाट र भेला गर्नुलाई अन्यथा पनि लिनु हुन्न ।

१२) नेपाली ब्लगबारे तपाईँको समीक्षा के छ ?

(यसमा भन्नुपर्ने कतिपय कुराहरु माथि नै दोहोरीपनि सकेका छन् ।) नेपालमा आफ्नो मनको वह र भावना व्यक्त गर्ने राम्रो चौतारी भएको छ ब्लग । हरेक पेशा र तप्काका मान्छेहरु आफै लेखक र सम्पादक बनिरहेका छन् जुन राम्रो पक्ष हो ।

१३) तपाईँले अग्रज ब्लगरहरुबाट केके सिक्नुभयो र आउने ब्लगरहरुलाई के भन्नुहुन्छ ?

नियमित र आफ्ना सुख–दुःखका कुराहरु ब्लग गर्नाले तिनै अनुभवहरु पछि आफैले पढ्दा आफ्नै जीवनले वेग्लै उत्साह र उत्पेरणा पनि दिनेगर्छ । र, ब्लगले अरुलाई तपाईँबारे जान्ने अवसर पनि दिनेगर्छ । नयाँ आउने ब्लगरहरुलाई बढि स्वतन्त्र रुपमा आलोचना र टिप्पणी गर्ने बानी पनि बसाल्न अनुरोध गर्छु जसले ब्लग कल्चरलाई एउटा नयाँ तहमा पु¥याउन सायद सहयोग पु¥याउला ।

१४) दौतरीको बारेमा तपाईँको मत के छ ?

मैले मेरा धेरै ब्लगर मित्रहरुको ‘ब्लगरोल’ र फेसबुक वालमा दौतरीको लिंक देखेपछि दौतरीबारे जान्ने अवसर पाएको हुँ । देशबाहिर रहेर पनि नेपाली लेखक र ब्लगरहरुलाई समेट्ने यहाँहरुको प्रयास प्रशंसनिय छ । ब्लगको लेआउट र टेम्पेट्समा केही सुधार ल्याउन सुझाव दिन्छु ।

१५) तपाईँलाई भन्न मन लागेको तर मैले सोध्न भुलेको केही त्यस्तो छ ?

त्यस्तो छैन । तर पनि नेपालका पत्रपत्रिकामा लेखरचना वा पाठक प्रतिकृया पठाउँदा त्यसको पुछारमा ब्लगको ठेगाना लेख्दा प्रकाशित नहुने धेरै ब्लगरहरुको गुनासो हुनेगर्छ । पत्रपत्रिकाहरु त्यस मामिलामा केही उदार भइदिने हो भने नेपालमा ब्लग कल्चर सायद अझ राम्ररी फस्टाउन सक्थ्यो होला ।

अन्तरवार्ताको लागि धन्यवाद

8 Comments:

Luna said...

"नयाँ आउने ब्लगरहरुलाई बढि स्वतन्त्र रुपमा आलोचना र टिप्पणी गर्ने बानी पनि बसाल्न अनुरोध"
हो , कुरा ठिक हो , आलोचना र टिप्पणीले उठाइएका बिषयबस्तु माथि निखार
ल्याउन मद्दत गर्छा ।

Namita Shrestha said...

excellent interview pradeep jee. आलोचना र टिप्पणी गर्ने kura ma nepali blog haru sachhi pachadi chan. we all should promote blog culture

वेदनाथ पुलामी said...

मेरो लागी चाही प्रदिप जी -नया ब्लग मित्र पर्नु भो !
दौतरी लाइ बधाई छ - उहाको बारेमा धेरै कुराहरु जान्ने मौका दिनु भएको मा र प्रदिप बस्याल जी लाइ आउदा दिनहरुमा सफलता र प्रगतिको कामना गर्दछु ! धन्यबाद !

Anonymous said...

Science and journalism......lawful wedded wife ra mistress wala line chai dami lagyo............duwai ma ramro garnu mero suvakamana !!!!!

हरि लिम्बु said...

प्रदिप जी त पत्रकार मात्र हो कि भन्या त साहित्यकार पनि हो जस्तो छ । मलाई इन्र्टिभ्यु पढ्न रमाइलो मानेँ

Vivek Kaushik said...

i shared this interview to my facebook. good one

Nepalean said...

प्रदिपजीले पत्रकारीतासंगै ब्लगिगं पनि अगाडी लग्नुभएको छ। ब्लगमा पत्रिकाको संकलन भन्दा पनि ब्लगमा बढी जोड दिनुहोला।

विवेकजी ले अन्तरबार्ता फेसबुकमा राख्नुभएछ। आजकाल सबै मान्छे फेसबुकमा झुम्मिन पूगे। सायद सबै मान्छे ले दिनमा केही न केही समय फेसबुकमा बिताउने गर्छन। कोही त दिनभर नै फेसबुकमा हुन्छन। उस्तै परे अब ब्लगपनि फेसबुकमै बिलाउन के बेर?

Aakar said...

साथी को रुप मा चिनिएको, प्रदिप को ब्लगिङ अनुभव पढ्दा झनै नजिक बाट चिनिए झैँ लाग्यो ! प्रदिपलाई ब्लगिङ र पत्रकारिता दुवै क्षेत्र मा सफलता मिलोस् हार्दिक शुभकामना !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !