June 28, 2010

वि...च...रा... म

- गणेश खड्का

सुख्खा लागेर धाँजा फाटेको
जिन्दगीको गराबाट
आकाशतिर
आशाको त्यान्द्रो फालिरहेको
सँधियारको रोपो
हरियो फिरिसक्दा पनि
अझै पाल्दै मनभरी
अलिकती आशा, थोरै विश्वास, झिनो भरोसा ...
कतै वृष्टि भैहाल्छ कि ?
माटो भिजीहाल्छ कि ?
जीवन फुलिहाल्छ कि ?

तर खोइ ...?

कुलो नलाग्ने खेत न हो
पर्न आँटेको पानी टरेर
फेरी उही टन्टलापुरमा सेकिएको
आकाशे खेतीको भरमा बाँच्ने
निरिह किसान जस्तो
खडेरी परेको जिन्दगीको छेउबाट
आफ्नै पुरपुरोलाई
दोष दिइरहेको
वि ... च ... रा ... म
आस्थाको कोठेबारीमा
विश्वासको बिऊ छरेर
मुग्लानी बनेको
कर्मको खकन - तोक्मा
अक्करको भिरमा ठेस लाग्दा
बेसहारा बनेको
कठै, त्यो भरिया दाई जस्तै
मरि-मरि बाँच्दै
र बाँचेर पनि मरे जस्तै
आफ्नै लाशलाई
आफ्नै काँधमा उठाईरहेको
वि ... च ... रा ... म
मैनबत्ती जस्तै जल्दै
सलाईको काँटी जस्तै बल्दै
मान्छे होइन, मान्छे जस्ताको भिडमा
आफु हारेर, अरुलाई जिताउनु
आफु मरेर,अरुलाई बँचाउनु
खै, आफ्नो त कर्मै उस्तो हो कि ?
छायाँ बाँड्दा -बाँड्दै ,-
सुकेको रुख जस्तो
मायाँ बाँड्दा -बाँड्दै,-
बुढिएकी कुमारी जस्तो
अरुलाई तार्दा- तार्दै,-
आफैं डुबेको नाबिक जस्तो
आफ्नै अस्तित्वको धरातलमा
आफैं बिलाईरहेको
वि ... च ... रा ... म
तै पनि -
कसैले कठै ... भनेनन्
तै पनि -
कसैले बरा ... भनेनन्
तै पनि -
कसैले सहानुभूती सम्म दिएनन्
बरु,
आफैंलाई टिठ लाग्दो रहेछ आफ्नो
वि ... च ... रा ... म !!!

0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !