February 22, 2010

सेनाको लोकतान्त्रीकरण कि माओवादी हतियारवादको लोकतान्त्रीकरण

माओवादी खेमाबाट अक्सर नेपाली सेनाको लोकतान्त्रीकरणको चर्को रट सुन्ने गरिन्छ । माओवादी कोणका छापा र त्यही ल्याबेल टाँसेका विद्वानहरू समय समयमा सम्पादकीय र स्तम्भहरू सहित माओवादी उद्घोषको यो नारा बोकेर प्रस्तुत हुने गर्छन् । तर अहिलेको अशान्त र सन्त्रासमय नेपालमा , नेपाली जनताको अमनचैनलाई कुनै कुराको सबैभन्दा ठूलो अवरोध र अतिक्रमण छ भने त्यो हो माओवादीको हतियारवादी हूंकार ।

राजतन्त्रको अन्त्य भइसक्यो । साढे २ शताव्दि लामो राजतन्त्र र राजाको बिदाइ हुन हुन्न भनेर नेपाली सेनाले कहीँ कतै भाँजो हालेन । संविधानसभाले त्यो निर्णय लिँदाका बखत वा परिवर्तनका पछिल्ला तीन नेपाली वर्षहरूमा सेनाले आँफूलाई जुन संयमका साथ अलग्गै राखेको छ , त्यो तारिफ योग्य अवश्य छ । कमसेकम , माओवादी बाहेक तटस्थ जनताको नजरियाबाट हेर्दा भने यो यस्तै देखिन्छ । समयक्रममा, सेनालाई लोकतान्त्रीकरण गर्नु पर्ने र लोकतान्त्रिक संस्कार अनुरूप पारेर परिवर्तित सन्दर्भमा आउन सक्ने सम्भावित जटिल पक्षहरूलाई पनि बुझ्ने अनि व्यवहारमा अपनाउन सक्ने पार्न अनवरत प्रशिक्षणको खाँचो अवश्य छ । त्यो खालको प्रशिक्षण सेनालाई मात्र नभएर सारा प्रशासन, सेना, प्रहरी , नागरिक र अझ बढी बिभिन्न राजनैतिक दलका अन्ध कार्यकर्ताहरू लाई जरूरी बनेको छ । किनभने , परिवर्तन र लोकतान्त्रिक संस्कारको खाँचो केवल अरूलाई मात्र दरकार हुन्न , बरू सबैभन्दा ठूलो संस्कारको नमूना आँफैमा देखापार्ने सके अरूले अनुकरण गर्ने सम्भावना बलियो हुन्छ ।

१२ वर्षे हिंस्रक युद्ध लडेर अहिलेको अर्ध शान्तिको राजनीतिमा आएको माओवादीले धेरै हदसम्म उसको जनयुद्ध नेपाली सेना र राजा बिरुद्ध लडेको थिएन । यो कराल अवधिमा माओवादी कोणबाट मारिएका नेपालीहरूको संख्यामा अधिकांशत: कांग्रेस, एमालेका गाउँले कार्यकर्ता, शिक्षक र स्थानिय व्यक्तिहरू थिए जुन कुनै न कुनै किसिमले माओवादीका बिरोधी कित्तामा माओवादी स्वयंले वर्गीकृत गरेको थियो । त्यसपछि, मारिएकामा गाउँले प्रहरी चौकीमा खटिएका पुलिसहरू थिए । वास्तवमा , माओवादीको सेनासंगको जम्काभेट उनीहरूले आँफैले दाङ आक्रमणबाट शुरू गरेका हुन् र सेना र माओवादीको भीडन्त संख्या र प्रकार दुबैले कथित जनयुद्धको अन्तिम वर्षहरूमा मात्र चलिएको हो ।त्यो पनि , राजा बीरेन्द्रको अवशानले गर्दा माओवादि स्वयंले दावा गरेको कार्यगत एकतामा बिघ्न आउनाले मात्र सेनासंग आमनेसामने हुन परेको हो । माओवादीले सेना माथि गरेको सबैभन्दा ठूलो आक्रमण पीलीमा गरिएको थियो र यो युद्ध लड्न नभई बाटो खन्न बसेको सेनाको समूहमाथिको घातक र खूनी आक्रमण थियो । मंगलसेन आक्रमणमा सरकारको सुरक्षा डफ्फामा अधिकांश मारिनेहरू सशस्त्र प्रहरी , जनसेवाका प्रहरी र केही सेनाका जवानहरू थिए । राजा ज्ञानेन्द्रको निरंकूश शासन अवधिमा पनि पछिल्लो समयसम्म , राजाले दलहरूलाई प्रतिवन्धित गरी आँफूसंग कार्यगत एकता गर्लान् भन्ने प्रतिक्षामा माओवादीको प्रचण्ड समूह आशारत रहेको कुरा प्रशस्त बाहिर आइसकेका छन् । ई भए , हामीले बिर्सन खोजेका तर अपरिहार्य अतीतका वास्तविकता ।

अब राजतन्त्र बाँकि रहेन । केवल लोकतन्त्र भनेर कराउने दलहरू मात्र हामी समक्ष बाँकि छन् । लोकतन्त्रलाई सबैले मान्ने भएपछि , लोकतन्त्रको आधारभूत शर्त हुनुपर्छ निर्वाध - जीवन सुरक्षाको अधिकार । जीवन सुरक्षित भए पछि स्वच्छ खाने पानी, खाना, आवास, स्वास्थ्य सुरक्षाको अधिकार र कानूनी उपचारको अधिकारको कुरा निश्चित हुन सक्यो भने मात्र मान्छेले हाम्रो जस्तो तेस्रो विश्वको गरीब मुलुकमा आधारभूत अधिकार पाएको अनुभव गर्न सकिन्छ । तर, माओवादी र माओवादी गर्भबाट विश्रृङ्खलित भएर समयक्रममा जन्मेका सयौँ हिंसात्मक समूहहरू र तिनको हतियार र हिंसाप्रतिको मोहले गर्दा आजको नेपालमा सामान्य नागरिकले जीवन सुरक्षाको आधारभूत अधिकार गुमाउन वाध्य छन् । माओवादी उसको अर्ध सैनिक दस्ता र संरक्षक पूर्ण सैनिक शिविरस्थ छापामार समूह जुन एउटा निरंकुशतावादी राजनैतिक विचारले प्रशिक्षित छ यिनको छत्रछायामा नै अहिलेको नेपालको हिंसा र अराजकताले हुर्कने र मौलाउने मौका पाएको छ । लोकतान्त्रिक आन्दोलन पछि शान्तिकालीन समयमा घटेका केही दूर्दान्त हिंसात्मक घटनाहरू लाहान, गौर र कपिलवस्तु जस्ता हत्याकाण्डदेखि पत्रकार वीरेन्द्र शाह, रामहरि श्रेष्ठ, प्रचण्ड थैव देखि रसुवाका ६० वर्षीय पुण्टे तामाङको हत्यासम्ममा माओवादी हतियारवादको संलग्नता प्रष्टिएको अहिलेको सन्दर्भमा नेपाली लोकतन्त्रको कलिलो मूनामा कसैले एसिड खन्याइरहेको छ भने यो कुन हो भनेर चिन्न गाह्रो छैन ।

लोकतन्त्रमा सबे जनता र दलहरू समान हुन् । कुनै दल विशेषले आफ्नो पार्टी विचारले प्रशिक्षित हिंसात्मक दस्ता राखेर बलियो भएको तुजुक देखाउन पाउने र कुनै अरूले तिनै हतियारधारीका डरले मुलुकको भविष्यका बारेमा अष्पष्ट हुनुपर्ने कुरा लोकतन्त्रको घिलाग्दो नियति हो । अझ ती छापामारहरू जनताको करले बन्ने राजश्व उदरस्थ पार्दै एउटा पार्टी विशेषको अधिनायकवादी राजनीतिक एजेण्डालाई फलिभूत पार्न कसम खाएर कस्सिएका छन् र तिनलाई राष्ट्रिय सेनमा मिसाएर मात्र साँचो राष्ट्रिय सेना बन्न सक्छ भन्ने जिरह राख्छन् भने, सेनाको लोकतान्त्रिकताको यो रट भित्र कुन गिद्धे अभिष्ट लुकेको छ बुझ्न गाह्रो छैन । मार्क्स, लेनीन, स्टालिन, माओ र चे गुवेराको फोटो मुनि रात दिन वर्ग शत्रू सफायाको प्रशिक्षण लिने कुनै निश्चित पार्टीका छापमार ‍हरू सेनामा नमिसिए समग्र शान्ति प्रकृया खत्तम हुने फर्मानका साथ , सेनाको लोकतान्त्रिकरण भएन भने लोकतन्त्र खतरामा पर्छ भन्ने सोचले कुन दिशा र दशामा मुलुक लतार्न खोजेको हो नबुझ्ने नेपाली कमै होलान् ।

अत: लोकतान्त्रिक बनौँ र बनाऔँ भन्ने कुरामा दुई मत छैन भने , आफ्ना व्यवहार र सोचहरू लोकतन्त्रको मान्यताका समर्थन वा बिरुद्ध कहाँनेर छन् भनेर निष्पक्ष समीक्षा गरियोस् । बन्दूकको कुन्दामा आँफ्नो आग्रह लादेर, एकात्मकताको जोरजुलुम र तमाशा मञ्चन गरेर लोकतन्त्र बन्दैन । लोकतन्त्रलाई लोकतान्त्रिक आचरणको उकेरा चाहिन्छ र यसको अवलम्बन् पहिला आँफैले गर्नुपर्छ । परिवर्तित सन्दर्भमा सबैले लोकतान्त्रिक आचरण र प्रशिक्षण अपनाउनै पर्छ र त्यो सबैभन्दा बढी हतियारको र हिंसाको वैशाखी टेकेर म नै लोकतन्त्र हूँ भन्ने अहंकारवादीहरूले पहिला गर्नु पर्छ हैन भने इदि अमीन र हिट्लर नै इतिहासका सबैभन्दा लोकतन्त्रवादी महानायक थिए भनेर आफ्नो ढिंडोरा पिट्दा पनि आश्चर्य नमान्दा हुन्छ । त्यसैले, हतियारवादी समूहको भरमा छाती ठोक्न छोडेर विश्वमान्य स्वतन्त्रता, शान्ति र समानतामा आधारित विचार बोकेर जनताकोमा पुग्ने र जनताको आशीर्वाद शीरमा बोकेर लोकतान्त्रिक बन्ने आँट लोकतन्त्रका दावेदारहरूले देखाउन सक्नुपर्छ । हैनभने आफ्नो अधिनायकवादी लक्ष्यका बारेमा नै भए पनि प्रष्ट मुख फोरेको राम्रो ।



3 Comments:

MANU said...

चोरले म चोर हूं कहिल्यै भन्दैन। हिजो आज माओबादीले गरिरहेका क्रियाकलाप ले के भन्छ? यो त केटाकेटीले पनि बुझ्ने कुरो हो। जे मा पनि, जता पनि उनीहरु आफ्नै हालीमुली गर्ने र अरुलाइ पाइला सम्म टेक्न नदिन हरदम प्रयास गर्छन। अत: माओबादीको चाहना नै अधिनायकबाद हो, यसमा कुनै शंका लिनुपर्ने कारण नै छैन।
सबभन्दा हांसो लाग्ने त बामपन्थी बुद्दीजिबि को हो, भन्न चांही स्वतन्त्र बामपन्थी बुद्दीजिबी भन्छन काम भने कुनै पार्टीको भजन गाउने। नामै के दिनु,तपाइहरुले भेउपाइ सक्नुभो होला।

विवेक said...

manu ji le bhannu bhayeko kura mali pani ramro lagyo aphno jiuko jumra nadekhnele aruko jiuko ........... dekhne bhaner ysailai bhan6an

पुष्प said...

माओवादीले हतियार बिसाएको र सेना समायोजन र पुनर्स्थापना प्रकृयामा लागिसकेकै छ नि । अनि यो केको रडाको हो ? यस्तो रुवाइ कति प्रस्तुत गर्नुहुन्छ ? सेनाको लोकतान्त्रीकरणचाहिँ अत्यावश्यक र अवश्यम्भावी छ; अन्यथा छोटे राजाहरूको कर्तूतले बडेराजाहरूलाई माथ ख्वाउनेछ । बरु यसतर्फ कलम चलाउने कि एकलव्यजी !

अनि यो लोकतन्त्रको पाठ कसलाई पढाउनुभएको हो कुन्नि ? इन्द्रका अगाडि स्वर्गको बयान ! मलाई त कुरिकुरि पो लाग्यो त ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !