August 9, 2009

फूलको चोट

शिव प्रकाश

उल्टो भइरहेछ उसको जीवनमा सधै, सबै कुरा ! छातीमा ढुङ्गा बज्रदा उसले त्यति पीडाको अनुभूत गरेन जति एउटा कोमल फूलको चोटबाट गर्यो । उसलाई कथा थाह छैन तर "हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ" उ अहिले आफ्नै कथा आफैं भनिरहेछ - "फूलको चोटको कथा !"

उसले सेतो फूल मन पराउन छोडेको छ !

ढुङ्गाको चोटभन्दा फूलको चोट झन् गहिरो हुदोरहेछ, झन् पीडादायक हुँदोरहेछ । निको भएर जाँदोरहेछ ढुंगाको चोट, तर कहिल्यै निको नहुदोरहेछ फूलको चोट ! सधैं दुःखिरहदो रहेछ चस्सचस्स भित्रभित्रै, सधैं दुखिरहदो रहेछ ! सायद ढुङ्गा र फूलमा फरक पनि यतिमात्र हुँदो हो …। !

सीताशालाई सम्झदाँ शिवासु सधै त्यो सेतोफूल सम्झन्छ । मुटुमा बिजेको काँडा भएर बसेको छ त्यो सेतोफूल शिवासुको छातीभित्र ! खुशीका क्षणहरु सम्झन्छ तर ती क्षणहरुसँगै पीडाका भेलहरु उर्लेर आउँछन् । शिवासु अझै भित्रभित्रै आतंकित हुन्छ "कतै ती भेलले अझै मलाई नबगाउन् ।" उ आफूलाई अझै भयभीत देख्छ ।

पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्रवर्ष वितिसक्दा पनि सीताशाका वारेमा उभित्र द्धन्द अझै छ । मानौं उभित्र एकप्रकारको युद्ध चलिरहेछ ! उ आफैं एउटा युद्धभूमि भइरहेछ र एउटा युद्ध नायक पनि ! दुबैपक्षको नेतृत्व उ आफैंले गरेको छ । यो युद्धमा उ आफै एक अर्काको शत्रुपक्ष भएर उभिएकोछ !

सीताशा ठीक थिई वा म आफू गतल थिए ? सीतासा गलत थिइ वा म आफू ठीक थिएँ ? युद्ध निरन्तर छ उभित्र ! सीताशा-शिवासु ! शिवासु-सीतासा ! गलत-ठीक ! ठीक-गलत ! एउटा भीषण मनोवैज्ञानिक युद्ध विभिषिका उसको मनमस्तिष्कमा अझै मडारिरहेछ । उ मुक्ति चाहन्छ यो द्वन्दबाट । तर न सीताशालाई विर्सन सक्छ न त्यो फूललाई र न त आफ्नो भूललाई ! न त्यो युद्दबाट मुक्ति !

उ सोच्छ - द्वन्दको कारण सीताशा हैन, फूल हो । हैन, द्वन्छको कारण फूल हैन; सीताशा हो । दुबै थरी सोच्छ, दुबै थरी स्वीकार्छ, दुबै थरी नकार्छ ! हो पनि, होइन पनि ! होइन पनि, हो पनि ! सायद मान्छेमात्र यस्तो प्राणी हो जो हो र होइनको विचित्र व्यवहार र अनिश्चित विचारभित्र बाँचेको हुन्छ ! शिवासुको क्षणिक विश्लेषण हो यो मान्छेका बारेमा - हो पनि, होइन पनि; होइन पनि र हो पनि !

पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्र वर्षमा उसले एउटी आइमाईमान्छे सीताशालाई चिन्न सकेन । तर एउटा लोग्नेमान्छे उ आफैंले आफैंलाई पनि आजसम्म चिन्न सकेको छैन । उ अझै रनभुल्लमा छ । यो संसारले नबुझ्ने र नसुन्ने एउटा प्रश्न यही संसारलाई गर्छ - 'मान्छे सबै मजस्तै हुन् कि म अरु सबै मान्छे जस्तो हुँ ?' उसका यस्ता हरेक प्रश्नहरु त्यो फूलसँग सम्वन्धित छन् । हरेक घटनापरिघटना, दृष्यपरिदृष्य सबै त्यो फूलसँग सम्वन्धित छन् । अर्थात फूल नहुदो हो त यी कुनै कुरा हुदैनथे ! अथवा सीताशा नहुदी हो त त्यो फूल पनि हुदैनथ्यो ! अथवा त्यो फूल त्यतिबेला नै फ्याकिदिएको भए .....?

सीतासाको नाउँसँगै सधैं त्यो सेतोफूल सम्झन्छ । वास्तवमा सम्झनु पनि पर्देन नदी सम्झने वित्तिकै नदीसँग पानीको विम्ब आए जस्तै सीताशासँग फूल आउँछ । नदीको पर्याय पानी भए जस्तै सीतासाको पर्याय फूल भएको छ त्यो सेतोफूल ! तर पानीको पर्याय नदी नभए जस्तै फूलको पर्याय सीतासा भने हैन - भन्ने ठान्छ ।

फूल धेरै प्रकारका हुन्छन् र मान्छे पनि ! उसले एउटा कविता पढेको हुन्छ -

निश्छल छ फूल

फूलको निश्छलताभित्र प्रतीक छ प्रेमको

उपमा छ आत्मीयतको, वैभव छ विश्वासको

तर फूलभित्र काँडा पनि हुन्छ !

फूल कागजकोपनि हुन्छ !

फूल सम्झेर सुम्सुम्याएको सीतासाभित्र तिखारिएर बसेका विषालुकाँडाको अनुभव उसले गरसिकेको छ । अब न फूलप्रति विश्वास हुन्छ उसलाई न मान्छेप्रति !

सीताशासँग हिडेका बाटाहरु सम्झन्छ, पाटाहरु सम्झन्छ । खेतबारीहरु सम्झन्छ, उकालीओरालीहरु सम्झन्छ । हातहरु सम्झन्छ, साथहरु सम्झन्छ; सँगै विताएका रातहरु सम्झन्छ । रातका मातहरु सम्झन्छ, रातका बातहरु सम्झन्छ । रातको मौनता सम्झन्छ, मादकता सम्झन्छ । रात बौलाएको सम्झन्छ, रात मुर्झाएको सम्झन्छ । घोडा चढेको सभ्झन्छ, बग्गी चढेको सम्झन्छ । समुन्द्रको किनार सझन्छ, जंगलको बाटो सभ्झन्छ । हिउँका फाल्सा सझन्छ, गाउँका खोल्सा सम्झन्छ । शरह सम्झन्छ, गाउँ सम्झन्छ । हिलो सम्झन्छ, धूलो सम्झन्छ । तर प्रत्येक सम्झनासँगै त्यो सेतो फूल सम्झन्छ ।

सीताशाबाट शिवासुले धेरै राम्रा कुराहरु सिक्ने मौका पाउँछ ति सबै सम्झन्छ तर तिसँगै त्यो फूल पनि सम्झन्छ ! राम्रासँगै केही नराम्रा कुराहरु पनि सिक्छ ति पनि सबै सम्झन्छ र ति सबैसंग त्यो फूल पनि सम्झन्छ । फूल - सीताशा ! सीताशा - फूल ! अर्थात शिवासुको मुटु छेड्ने त्यो शूल…त्यो सेतोफूल !

शिवासुले एउटा झिनो निष्कर्ष निकाल्छ - मैले आफूलाई भन्दा सीताशालाई राम्ररी चिनेको छु, यस अर्थमा चिनेको छु कि मैले आफूलाई सम्पूर्णरुपले हेर्न सक्दिन तर सीताशालाई सम्पूर्ण देखेको छु । सीतासाले मलाई लुकाउँन बाँकी नै के थियो र तर ……! उ मनमनै भन्छ - 'सीतासाको मन बाहेक सबै देखेको छु । देखेँ तर चिनिन, चिन्नु पनि कसरी मन त मैले कहिल्यै देख्दै देखिन ! ‌‌‌‌। मान्छे चिने पनि मान्छेको मन नचिन्नु भूल हो त ?'

हरेक फूल देख्दा उ सीताशा सम्झन्छ । सीताशा जस्ता हरेक आइमाइहरु देख्दा उ त्यो सेतोफूल सम्झन्छ । सीतासालाई चाहेर पनि विर्सन सक्दैन र सम्झेर पनि सधैं सम्झन चाँहदैन । तर विडम्बना …सोचेजस्तो जीवन र जीवन जस्तो सोचाइ कहाँ हुन्छ र ! सीताशा पनि छे, त्यो फूल पनि छ । सीतासा अझै हाँसिरहेकी छे यो धरीतमा त्यो फूल अझै सुरक्षित बसेको छ तर कतै कुनै पत्रुमा ! र, त्यो फूलको चोट अझै फक्रिरहेछ शिवासुको हृदयमा ! सायद सीताशालाई त्यो फूलको कुनै हेक्का छैन - सीतासाले यस्ता फूल धेरैलाई दिएकी हुन सक्छे ।

त्यो दिन साँझ झमक्क परिसकेको थियो । गेटमा उभिएर सीताशाले उसलाई हातमा सेतोफूल, गालामा रातो हुनेगरि चुम्बन र हृदयभरीको शुभकामना दिएर विदा गरेकी थिई । सीताशाका शव्दहरु सम्झन्छ - 'शिवासु धेरैधेरै शुभाकामना ! तर विदेश गएर यताउता धेरै नबरालिनु, यसपटका तिम्रो पालो । तिमी जानु र म जानु भनेको एकै हो शुभकामना …! शुभकामना …! ! शुभकामना ,,,,,! ! !

जागीर खाएकोदश वर्ष भै सकेको छ, उसको यो पहिलो विदेश भ्रमण ! उभित्र उत्सुकता र कौतुहलताहरु उद्वेलित भइरहेकाछन् । एक दिन कै लागि भए पनि विदेश जानु भनेको हाम्रो समाजमा यसै पनि इज्जतिलो ठानिन्छ त्यसमाथि करीव एक महिनाको भ्रमण, त्यसमाथि सुख्खा जागिरेका लागि एउटा रसिलो र भरिलो आम्दानी । सोच्यो - 'जीवनमा पहिलोपटक डलर पनि देख्ने भइयो ।' शिवासु फुरुक्क परेर घर फर्कियो । बाटामा उसले पहिलो पटक पुरा एक किलो खसीको मासु किन्यो साथमा एक क्वाटर मन्जो पनि ! औधी खुशी थियो घर आइपुगेको थाहै भएन । सीताशाप्रति विषेश शिष्टाचार तथा कृतज्ञता ज्ञापन गर्न फोन गर्यो, फोन उठेन ! आधाघण्टा पछि फेरि गर्यो, फेरि उठेन ! अर्कोआघा घण्टा पछि फेरी गर्यो, फेरि उठेन ! हरेक आधाघण्टा पछि उसले लगातार गरिरह्यो, बल्ल छैठौं पटक फोन उठ्यो तर फोनमा आवाज अर्कै थियो ! साध्यो - जवाफमा 'म काम गर्ने देवकी' भन्ने आयो । सीतासाका बारेमा सोध्यो - 'दिदी आउने वित्तिकै बाहिर जानु भो र बाहिरबाट आउने वित्तिकै घप्लक्क सुत्नु भो' ।' अपत्यारिलोजवाफ पायो, आश्चार्यचकित भायो ! तर पनि खुशीले रातभर रातसँग बातमारी रह्यो, निदाएन ।

अब सारा साथीभाइबाट वधाइ पाइने भइयो- नाना कल्पनापरिकल्पना गर्दै खुट्टा भुँइमै भएता पनि मन बोइङ्गमा उडाउँदै भोलीपल्ट उ विषेश स्फुर्तिसाथ अफिस पुग्यो । तर अफिसको सूचनापाटीमा उसको नाउँ थिएन, त्यो सीटमा एकमात्र निर्विकल्प उमेद्वार भनेर सीताशाको नाउँ टाँसिएको थियो । सीताशाको घरैछेउमै डेरा बस्ने उसको सहायकले खुसुक्क कानमा भन्यो - 'सर सीताशा म्यामलाई हिजोराति अबेला मन्त्रीको गाडीले पुर्याउन आएको देखेको थिएँ ।'

शिवासुले त्यो दिनदेखि सेतोफूल मन पराउन छाडेको छ ।

आखिर प्रेम गर्ने र नगर्ने दुबैले गर्ने त एउटै हो - भोग ! अर्थात भोक मेटाउने भोग - सम्भोग ! प्रेम र मित्रता त एउटा नाउ मात्र हो जुन नाउमा सबै प्रेमी र मित्रहरुले दुबै खुट्टा हालेका हुदैनन्, त्यसैले प्रेमामा मित्रतामा घात-प्रतिघात हुन्छन् - मैले सुनिरहे ।

मित्रता ! मित्रताभित्रबाट प्रेम ! प्रेमभित्रबाट धात-प्रतिघात ! घात-प्रतिघातबाट शत्रुता ! शत्रुताभित्रबाट पुनः मित्रता ! यसरी नै सुनायो शिवासुले त्यो फूलको चोटको कथा …!


3 Comments:

प्रबिण थापा said...

कथा निकै राम्रो लाग्यो, शायद अलि अलि आफ्नो जीवनसग मेल खाने भएर पनि होला । खै यो प्रेम भनेको पनि के हो के हो? कहिले क्षणभरमा खुशी बुई चढ्छ प्रेमकै नाममा त कहिले निमेषमै दरार भित्र जाकिन पुग्छ। प्रेम समग्रमा भन्दा पिंडाको भण्डार हो भन्छु म त,जति पटक भित्र केहि पाउने आशामा पसिन्छ उतिनै जिवन रित्तिदै जान्छ।

Anonymous said...

"हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ"
wow ! Kataha, Really touchy ! yahoo mail bata comment dina khojeko kati garda ni bhayena ra Anonymous thoki diya. la ja. ssajilo rahechha

dong dong23 said...

adidas predator
hermes bags
supra footwear
ray ban sunglasses sale
under armour shoes
salvatore ferragamo belt
adidas trainers uk
nike air force 1 high
ferragamo outlet
coach factory outlet
2017.5.18chenlixiang

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !