May 8, 2009

छविलालको उदांगिएको छवी र उल्लू बनेका हामी

पुष्पकमल दाहालले शक्तिखोर ब्यारेकमा आफ्ना सैन्य दस्तालाई सुर्क्याउन घुर्क्याएका कुराहरू भिडियो बनेर छ्याप्छ्याप्ति बन्दा समाचार सुर्खीमा छाउनु स्वाभाविक बनेको छ ।

एकथरी भन्दै छन् यो त माओवादी नेताले १६ महिना अघि भनेको कुरा हो। अत: यो विषयलाई लिएर अत्तो थाप्नु हुन्न ।

तर, वृहद् शान्ति सम्झौतामा आँफैले सही ठोकेर माओवादी नेताहरूले वर्ष एक जति मन्त्री पदको जागिर खाँदै गरेको त्यो बेला, उसका पार्टीका सर्वोच्च नेता र छापामारहरूका कमाण्डर-इन-चिफ छविलाल उर्फ पुष्पकमल उर्फ प्रचण्डलाई १६ महिना अघि जे बोले पनि पाउने छूट राज्यले दिएकै थियो त ? १६ महिना अघि नेताले जे पनि बोल्न पाउने कानून थिएन भने कसरी उनका एमानका ठूला समर्थकहरूले यसको पैरवी गर्ने साहस जुटाए त ? लौ मानौँ, छविलाल दाहाललाई १६ महिना अघि जे बोले पनि पाउने छूट थियो अरे ! तर, त्यो सार्वजनिक गरिएको भिडियोमा भनिएका कुरा मार्फत माओवादीका सुप्रिमो दाहालले कि त माओवादी छापामार कि त गैरमाओवादी शान्तिवादी नेपाली जनता एकथरिलाई त थाङ्नामा नै सुताउने उल्लु कुरा त गरेकै छ नि !

छविलाल दाहालले अहिले बिभिन्न मुलुकका राजदूतहरू, विपक्षी नेताहरू र नागरिक समाजका कथित अगूवासंग दावा गर्दै याचना गर्दै छन् कि उनको लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिवद्दतालाई शंका गर्दिनु भएन । यदि यो मान्ने हो भने शक्तिखोर व्यारेकका कमाण्डर कामरेड विविध ( रामहरी श्रेष्ठका हत्यारा)लाई समेत संबोधन गर्दै माओवादीको जनगणतन्त्र कायम गर्न सत्ता कब्जाको तरिका र बाटोबारे जुन लेक्चर उनले आफ्ना छापामारलाई पिलाउँदै छन् र जुन भाषणमा उनका आज्ञाकारी छापामारहरू आफ्नो भोलिको विजयको सपनामा भूलेर ठहाका लगाएर तिघ्रा ठटाउँदै आनन्दित बनेका छन् तिनलाई धोका भएन र ? ट्रकका ट्रक सरकारी पैसामा खरिदिएका हतियारको प्रयोग गरी त्यही सरकारलाई 'नेस्तनाबूद' पार्दै सम्पूर्ण छापामारहरूलाई सरकारी सेनामा 'आफ्नै तरिकाले' चाहेजति भर्ना गरेर 'उताकालाई आधा घटाउने' अनि सारा सेनालाई कब्जामा लिने यो रणनीतिले या त मुलुकका गैरमाओवादी सबै शक्तिलाई उल्लू ठानेको छ या त तिनै माओवादी सपनामा लट्ठिएर संसारलाई छविलाल कामरेडले कसरी उल्लू बनाइरहनुभएको छ र माओवादी विजयको खाका कोरिरहनु भएको छ भनेर सोच्ने 'ब्रेनवास्ड' जमात माथि मानसिक शारीरिक र मनोवैज्ञानिक विष भरिरहनुभएको छ, हाम्रा महान कामरेड छविलालजिले।

७,८ हजारको मिलिसियलाई कैयौँ गूणा बढाएर अनमिनको प्रमाणपत्र लिनुलाई पार्टीको सफलता देख्ने र ती सबैलाई राष्ट्रीय सेनामा हाल्न सकेमा जनगणतन्त्र र सत्ता कब्जा अवश्यंभावी हुन्छ भन्ने प्रचण्डको दावामा, कट्टर माओवादीको हौसला जसरी उत्साहित हुनसक्छ त्यसरी नै विश्वमान्य लोकतन्त्रको कल्याणकारी राज्यप्रणाली र पुस्तौँ पुस्ताको शान्ति चाहने सामान्य माओवादी बाहेकको वा अन्य गैरराजनैतिक सोच राख्ने कुनै पनि नेपालीलाई कामरेड छविलालाको पछिल्लो कर्तूतले चिन्तित तुल्याउनु स्वाभाविक हो । यो चिन्ता माओवादीले कट्टर कम्युनिष्ट शैलिको जनगणतन्त्र स्थापना गर्न चाहे मुलुकमा भनेर हैन बरू यो असहिष्णु सोचका कारण नेपालमा अब सिर्जना हुन सक्ने प्रतिरोध र प्रतिशोधी राजनीतिका श्रृंखलाहरूले अझै केही पुस्तासम्मको राजनैतिक अस्थिरता अवश्य निम्ताउने नै छ । आखिर, अतिवादको राजनीतको परिणति 'खतिवाद' र विध्वंश त हो नि ।



6 Comments:

पुष्प said...

उदांगिएको हैन, उजिल्याएको छवि भन्नुस‌् । बुझ्नु छैन !

ठरकि दादा said...

सानै बेलामा एउटा कथा पढेको थीएँ The Emperor's New Clothes" " भन्ने ।

नयाँ अदृश्‍य लुगाको नाममा राजा नाङ्गो हिंडदा पनि उनका रैतीहरुले "वाह! नयाँ लुगा कस्तो राम्रो" भन्दै तारीफ गरेथे कथामा ।

अहिले गणतन्त्र छ र राजा छैनन, तर पनि गणतान्त्रीक राजाको पछाडि पनि अझै एक हुल "अदृश्य लुगा देख्‍नेहरुको भिड छ"

म परें त्यहि कथाको "But he has nothing on!" भन्ने बच्चा जस्तो मान्छे ।

नाङगीएकोलाई नाङ्गीएकै भन्छु म पनि ।

नेपालियन said...

एका तिर सेनामा आफ्ना लडाकू छिराएर सत्ता कब्जा गर्ने कुरा गर्ने अर्को तिर हाम्रो शान्ती प्रक्रियमा तथा लोकतन्त्रमा शंका नगर्न याचना गर्ने।
यो त सिधै ठगले म ठग होइन भने जस्तो भएन र? कुरा लामो गरे पनि कुरा छोटो गरे पनि मर्म त यही हो नि। नत्र सेनपती प्रकरणले नै सरकार ध्वस्त हुन्थ्यो र? हुने भए त पशुपतीका पुजारी फर्काउनु पर्दा पनि सरकार ढल्नुपर्ने हो।
ठरकी दादाको The Emperor's New Clothes कथा फेरी रमाइलो लागेर पढें।

Rajan said...

छविलालको पहिला पनि के छवि थियो र उदांगिने?, पहिला पनि लुगा त अदृश्‍य नै थीयो ।

तर मान्छेलाई लाज पचे पछि केहि लाग्दैन। यी छविलाला पनि अझै पत्रकार र समाचार माध्यमको सहारा लिएर उनको अदृश्य लुगाको अस्तित्व रहेको प्रमाणित गर्न खोज्दैछन ।

पीजी said...

पुष्पजी ढाटेर वा छलछाम गरेर पनि कसैको छवि उज्यालो हुन्छ भन्ने मान्नुहुन्छ ?

भुमिगत अवस्थाबाट बाहिर आउने वित्तिकै हिप हप जेनेरशन र प्लस टु जेनेरेशनले समेत प्रचण्डलाई रोल मोडेल र लायक नेता मानेका थिए । के त्यो लहर झन बढ्छ अहिलेसम्मको माओबादी क्रियाकलाप, कुटपिट-गोली काण्ड र भिडियो काण्डले !

मैले त्यसरी प्रशिक्षण कार्यक्रममा वा गच्छेदार वा गुप्ताको भाषणमा पनि त्यति मान्छेलाई उल्लु बनाउने कुरा सुनेको थिइन । कम्निष्टका बन्द प्रशिक्षणमा पनि बसिएको थियो कुनै जमानामा त्यस्तो कुरो सिधा अर्थमा कहि पनि सुनिएको थिएन ।
गाउंबाट झरेका सोझा युवकहरुलाई दुबई वा मलेशिया तिर पठाउने दलालले मात्र यति पाइन्छ यस्तो राम्रो हुन्छ भनेर यस्ता उल्लु बनाउने कुरा गर्छन एउटा मुलुक हाक्न तम्सेको नेताले यस्ता कुरा गर्दैनन ।

अझै माओबादीबाट केहि आश गर्ने हो भने अब कामरेड प्रचण्ड पुग्यो अर्को योग्य "कामरेड" चाहिन्छ, उनि दोबारा राष्ट्रिय राजनितिमा नदेखिए हुन्छ (माओबादी राजनीतिमा जे सुकै गरुन)।

नेपालियन said...

मैले पनि नबुझेको कसरी उज्लियो छवि भनेर नी। झुटको राजनिती छरपष्ट हुंदा त लाजले कुरी कुरी हुनुपर्ने होइन र? हुन त प्रचण्डले भिडीयोले तिनीहरुलाइ झन सहयोग गरेको छ भनेका छन सायद पुष्प जी ले त्यही भन्नुभएको होला। सहमतीमा निकास खोजेर नेपालको बिकास चहानेलाइ त त्यो भिडीयो ले पक्कै झस्काएको हुनुपर्छ। देशलाइ माओबादी पकडमा गाजेर सत्ता चलाउनेलाइ फाइदै पुग्यो होला किन कि अब भने बाटो क्लियर भो। कि सत्ताको राज कि बनको बास।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !