February 22, 2009

माओवादी सरकारका नियुक्तिहरू : कस्ता दुर्नाम मजाक

माओवादीहरूको नेतृत्वमा गणतन्त्र नेपालमा सरकार बन्यो र यो सरकारबाट धेरैको आशा थियो एउटा गतिलो प्रकृयाको आरम्भ हुनेछ । राजनैतिक, कानूनी, कानूनी राज्य, लोकतान्त्रिक विधि र सुशासनको कुरा मात्र सुन्दा आजित परेका हामीलाई आशा थियो , अब हरेक कुराको राजनीतिकरण हुने छैन र सरकारी काम कार्यवाहीको तौरतरिकामा विधिसम्मत पारदर्शिताको निर्वाह हुनेछ । तर , वर्तमान सरकारका कामलाई हेर्दा भने , माओवादीहरू अझै पनि राज्य र यसका अंग अवयवहरूलाई ध्वंश नै पार्न खोजिरहेका छन् कि भन्ने प्रतीत हुन्छ । यो कुराको चर्चामा मैले आज , माओवादी नेतृत्वको सरकारका केही राजनैतिक नियुक्तिको कुरालाई मात्रै अगाडि सार्दै , माओवादीले राज्ययन्त्रलाई कसरी सिलसिलाबद्द ढंगले एउटा गाइजात्रे प्रहसनमा रूपान्तरण गर्दैछ भन्ने कुराको सानो उदाहरण पेश गर्न खोजेको हुँ ।

घोषित, अघोषित रूपमा माओवादी सरकार चलाउन चाहन्न बरू सत्ता कब्जा गर्न चाहन्छ भन्ने कुरा त उसका नेताहरूको बेला कुबेलाको फलाकोबाट नै देखिएको हो । तर कब्जा गर्ने नियतमा पनि उसको पार्टीको उद्देश्य कम तर त्यहाँका सनकमणी संकृणहरूको दबदबा मात्र देखिनु उदेक लाग्दो पक्ष बनेको छ , जसले माओवादीलाई राजनैतिक पार्टी कम र हुल्लडहरूको जमात बढी बनाएर छोडेको देखिन्छ । यसका चाख लाग्दा उदाहरण हेरौँ :

१) केही महिना अघि माओवादीले योजना आयोगमा नया उपाध्यक्षको रूपमा डा पिताम्बर शर्माको नियुक्ति गर्‍यो । तर उनलाई रत्तिभर सूचना नदिई अनौठा नामधारी राजनैतिक कार्यकर्ता र नातागोताले भरिएको एउटा डफ्फालाई सदस्यको रूपमा मनोनयन गरेको घोषणा सुनायो । बाबुराम भट्टराईकी साढू दिदी, गिरिराजमणीका दाइ, एकजना पूर्व भलिवल खेलाडी, अनि अर्का एक लडाकू कार्यकर्ताले भरिएको यो डफ्फाको नाम सार्वजनिक भएपछि , माओवादी र पार्टनर सत्तारूढ दललाई यति लाज भयो कि डा पिताम्बर शर्माले त उपाध्यक्ष पदबाट राजीनमा दिएर हिँडे नै , केही दिनपछि यो लाजलाई टोइलेट पेपेरमा लपेटेर आफ्नो खल्तिमा फिर्ता लान सरकार वाध्य भयो । फलत : पूरै डफ्फा नया आयो, अहिले के गरिराछ यो डफ्फाले अनुसन्धान जरुरी भएको छ ।

२) मातृकाको सनकले नेपाललाई नपुगेको हो कि भनेर प्रकृतिले अर्को सनकमणि पनि मुलुकमा जन्माइदिएका रहेछन् जसको नाम हो- गोपाल खुम्बु । आँफुले ने गरेको दावा अनुसार ई कृस्तान मन्त्री मैलो नपर्ने भएकाले एक महिनामा मात्र एकचोटी नुहाउँछन् रे !( पढ्नुस केही समय अघिको नेपाल पत्रिका)। यी मन्त्रीका अनुसार नेपालमा शान्ति ल्याउन प्रतेक नेपालीको आफ्नो बन्दूक हुनुपर्छ रे ! नेपाललाई ८०० जिल्लामा बाँड्ने यी नया ईसाइ मतालम्बी योजनाकारले केहि समय अघि पशुपतिमा विष्णु देवकोटा नामका पार्टी कार्यकर्तालाई मूल भट्ट नियुक्त गर्दै, रडाको मच्चाए । विधि र कानूनको बाटोबाट पशुपतिको आम्दानीलाई नियमित बाँध्ने व्यवस्था गर्नुको साटो , करौँडो धर्मावलम्बीको संवेदनशिलतालाई यिनले र माओवादी पार्टीले यसरी धज्जी उडाएकी उनीहरू धर्म निरपेक्ष दल हुन कि धर्म सापेक्ष स्वयंले बिर्सिए । तर यो नियुक्तिको सान्दर्भिकता त्यतिबेला सकियो , जतिबेला प्रचण्डले यो लगायतका नया नियुक्तिहरू फिर्ता गरेको घोषणा गर्नु पर्‍यो ।

३) पछिल्लो पल्ट प्रज्ञा, कला र नृत्य प्रतिष्ठानमा यिनै गोपाल खुम्बुले यस्तो लिँड्को चलाए कि, सो पदहरूमा नियुक्त गर्नका लागि नाम सिफारिस गर्ने समितिका सदस्यहरू समेत विस्मयमा परे । खुम्बुले केही पूर्व राजावादी, सजातीय र अन्य जनजाति प्राज्ञका यस्ता नामहरू नियुक्तिमा पारेको समाचार सुनाए, जुन कुरा स्वयं उनका पार्टी नेताहरूलाई पनि थाहा रहेनछ । सो नियुक्तिको विरोधमा भएको वक्तव्यबाजीमा स्वयं माओवादी र बाँकि बामपन्थी कथित विज्ञहरू र राजनैतिक नेताहरूको भैरेहेको बिरोध हेर्दा यस्तो लाग्छ कतै माओवादीले राज्य सत्तामाथि आफ्ना कर्म र व्यवहारहरूको फोहरी हिलो खेलिरहेको त छैन ? यो कुरा लेखूञ्जेल त सर्वोच्चले पनि नियुक्ति बदर गराउन अन्तरिम आदेश जारि गरिसकेछ !

'आची गरीसकेर दैलो देख्ने' र आची पोको पारेर खल्तिमा गुट्मुट्याएर सफा बन्ने यो तरिका कहाँ पुगेर टुंगिने हो हेर्दै जाऔँ । "हेरौँ सत्ता कब्जा गर्ने अभ्यासका स-साना रिहर्सलहरूको यो सिलसिला कहाँ गएर कुन ढंगले पटाक्षेप हुने हो ।



3 Comments:

ठरकी दादा said...

माओबादि देशको सत्तामा आउनु नै यौटा बृहत अन्तर्राष्ट्रिय मजाक हो ,अब यो बृहत मजाकको 'महाकाव्य' भीत्र यस्ता नियुक्ति र सत्ताकब्जाका सानातिना ठट्टाहरुको प्रसंग त आउने नै भए ।

nepalean said...

मलाइ यि खुम्भु भन्ने मानव त गाउं घरमा आउने भोटे ब्यापारी जस्ता लागे। पहिला एउटा निरबल लाइ २ पाथी कोदो भन्ने दिने बेलामा ४ माना कोदोमा दिने। रोज्दा अली बुद्दी पुर्राउनु पर्छ नी। भन्दा सुन भन्ने रोज्दा नुन रोज्ने।

Panda said...

मूलुकमा विधि, योजना र दिमागले चलाउने शासन भन्दा भागबण्डाको शासन हावी हुन पुगे पछि यस्ता धेरै तमाशा देख्न, सुन्न अनि भोग्न पाइन्छ । पैसाको लागि क्रिश्चियन बन्ने यी मनुवा पैसाको लागि गर्धन काट्न पनि पछि पर्दैनन । यी गोपाल खुम्बु मातृका भन्दा पनि सन्की र दिमागको हिसाबले मातृका भन्दा धेरै तल छन ।

अनि जंगलमा हुदा एउटा सानो वृत भित्र सिमित माओबादीले अन्य विज्ञ भेट्न वा भेटेर पनि विश्वास गर्न सक्दैनन त्यसैले खानेपानी देखि दुरसंचारसम्मका अनुहारहरु सबै उस्तै वा उही हुन्छन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !