January 21, 2009

बर पिपलको पातहरु ।

:-लुना

१०८ वटा गेडा रुद्राक्ष मालाको जप सिद्दिए पछी पण्डित बाजेले तुलसीकै मठ्को खोपी बाट सानो पुरानो एना झिकेर हेर्दै चन्दन टिका निधारमा लगाए । छेउमै उभिएकी पण्डितनी बज्यैलाई पनि लगाइ दिए । पण्डितनी बज्यै ले खुट्टा ढोगी दीइन, बाजेले "आयुष्मान भब !" आशीर्बाद दिए ।

कान्छा छोरा हरीशरण पिढींको खाटमाथि छाम-छाम, छुम-छुम गर्दै रेडियो मिलाउदै थिए , उनलाई पनि ललाटमा चन्दन टिका लगाइ दिए । बिहानी को पूजा कर्म सिद्दियो ।

तोरिको कून्युमाथि उल्टो पारेर राखेको मान्द्रो लाई आँगन मा फैलाए पण्डित बाजेले । “ओसीएछ शितले…, घामको तातो लागोस अनी फिजाम्ला कून्यु लाई …” पिढींमा रेडियो सुन्न बसेका छोरातिर हेर्दै पण्डित बाजेले भने ।

आँगनमै खुइलिएको बाक्लो पुरानो खाटमा बस्दै डाके पण्डित बाजेले “आ! साना, किन बस्छस चि' साँ, ह्या ताता घाम पर्‍याछन, आइज ! ”

हरीशरण एक हातले रेडियो र अर्को हातले लौरो समाउँदै ट्याक ट्याक को भरमा बा को छेउमा आएर बसे । पण्डितनी बज्यै ले एकै छिनमा तातो दुध काँसको गिलासभरी ल्याएर बाजेलाई दिइन । गिलास हातमा समाउदै पण्डित बाजेले भने “खोइ त साना लाई ? ”, पण्डितनी बज्यैले “सारोबारो गर्दैछु, ल्याइ हालेँ …” भन्दै भान्सामा गएर दूध ल्याउदै दुई गिलास मा राखेर सेलाउन थालदै थिइन, हरीशरण ले भने “आमा दिनोस मै सारोबारो गरुला ” । पण्डितनी बज्यैले “ तातो छ है साना! पोल्ला नि!” भन्दै हातमा गिलास जतनले थमाइ दिइन ।

हरीशरण जन्मदै आँखा नदेख्ने अन्धो जन्मिए । लट्ठी, बा- आमा नै उन्को सहारा भएको छ यो २४ बर्से उमेर सम्म पनि, अनी रेडियो मन बहलाउने साथी । रेडियो सुन्दा सुन्दा उन्ले संसारमा कती महादेश छन, कुन महादेश मा कती देश छ, ति देशहरुको नाम के-के छन, कुन कुन देशमा कती कती जनस्न्ख्या छ, कुन देशमा महिलाको संख्या कती - पुरुष को सन्ख्या कती छ, संसार मा कती वटा हिमाल-पहाड छन, कती उचाइका छन , तिनका नाम के-के हुन, नेपालमा कती अञ्चल छ, जिल्ला कती, नाम के- के, कहाँ कुन भुभागमा के कस्तो खेती पाती हुन्छ, के कस्ता पशुपंक्षि हुन्छन, कुन देशका राष्ट्रपती - प्रधान मन्त्रिका नाम के के हुन जस्ता सामान्य ज्ञान सम्बन्धी कुराहरु जानिसकेका थिए । उनी सुनेको भरमा खररर भन्न सक्थे । मस्तिष्क तिक्ष्ण थियो ।

उनको यही क्षमतालाई गाउँका स्कुले केटाकेटीहरु स्कुलको हाजिरी जबाफ प्रतियोगितामा प्रयोग गर्थे अर्थात सामान्य ज्ञान सम्बन्धी जानकारी लिन हरीशरणसँग सोध्न आइपुग्थे । हरीशरण पनि खुशी भएर सम्झी सम्झी बताइ दिन्थे । केटाकेटिसँग उनी पट्टकै झिँजो मान्दैनथे । केटाकेटी पनि उनलाई ' सान्दाइ ' भनेर खुब झ्यामिन्थे ।

पण्डितनी बज्यै, छोरा यसरी भुलेको देखेर सन्तोष लिन्थिन र कहिले काही आँगनमा झुम्मिएर बसेका केटाकेटिहरुलाई मेबा काटेर खान दिन्थिन , कहिले छोराको लागि बनाउँदै गरेको पुवामा पिठो थपेर धेरै बनाइ सबैलाई बाँडिदिन्थिन ।

हरीशरण लट्ठीको सहराले टेक्दै गाउँको बर पिपलको चौतारी सम्म पुग्थे, जुन चौतारी गाउँका मान्छेहरुको गफ गर्ने - छलफल गर्ने थलो थियो, घाँस-दाउराको भारी बोकेर आउनेहरुको बिश्रामको चौतारी थियो त्यो, चट्पटे दाईले चट्पटे बेचेर गुजारा गर्ने चौतारी थियो त्यो, फूल मायाकि आमाले काँक्राको चिरा बेचेर आफ्ना ५ लालाबालाहरुको पेट भर्ने थालो थियो त्यो , अनी मगर्नी साँहिलीको बादाम बेचेर आबारा दाई र बुढी आमालाई पाल्ने थालो थियो त्यो । तिजमा नारायणी नुहाएर फर्केकाहरुले नाच्ने थालो थियो त्यो बर पिपल को चौतारी । झन हरीशरण को त के कुरा ! उसको खुशी नै थियो त्यो चौतारी ।

उनी लट्ठीको सहाराले दिनको २-३ पटक त्यहाँ पुग्थे । घर देखी १०- १५ मिनेटको बाटो लट्ठीको सहाराले ट्याक ट्याक गर्दै जब जब चौतारीको नजिक पुग्थे तब तब बर पिपल का पातहरु सररर सर्सराएर स्बागत गरेको भान हुन्थ्यो हरीशरणलाई । चौतारी मा गफ गर्न बस्नेहरुले काँक्रा-बदाम, चट्पटे किन्दा हरीशरणलाई पनि दिन्थे । त्यसोत कहिले काही कोही नहुँदा (किनेर दिने मान्छे नहुँदा) चट्पटे दाइले “सानो दाई ! चट्पटे खाइलिनोस !” भन्दै दिन्थे, फूलमायाकि आमाले “सान्कान्छा ! लु’ खा शितालो काग्रा ” भन्दै काँक्रा दिन्थिन, बदाम बेच्ने साहिलिले यताउता हेर्दैँ कसैले नदेखेको मौका पारेर जिस्काउँदै “लु, खोस्ल्याउँदै खाउ है बदाम” भन्दै हातमा दिँदा चुटुक्क चिमोटेर दिन्थीन् । हरीशरणलाई साहिलीको यो चिमोट्याइ खुब मिठो लाग्थ्यो ।

हरीशरण बेला बेलामा चौतारीको हिरो हुन्थ्यो रेडियो मा सुनेको कुरा सुनाएर। झन अझ चुनाव को बखत मा त के चाहियो र ! कहाँ कुन नेताले कती भोटले जित्यो – हार्‍यो सबै खररर रेडियोले बोलेझैँ गरी भनिदिन्थ्यो । अनी सबै बाट बाह ! बाह ! को ताली पाउँथ्यो । गफ गर्नेहरुले चौतारी नजिकैको चिया पसलबाट चिया मगाएर खुवाँउथे रामशरणलाई । रामशरण साहिलीले मेरो ‘बाह ! बाह !’ सुनी कि सुनिन होली भन्दै कान ठाडो पारेर साहिलिको स्वरमा ध्यान दिन्थ्यो ।

यि दुई बिच अमूक प्रेम थियो। साइली “म तिमीलाई प्रेम गर्छु” भन्न जान्दिनथि तर बदाम दिएर मायाले चिमोट्दै प्रेम दर्शाउँथी, हरीशरण पनि आँखाले नदेख्ने भए पनि मनले देख्ने ज्ञानी थियो । त्यसैले “साहिली ! म सँग बिहे गर्छ्यौ ?” भन्न सक्दैनथ्यो, आफ्नो जिन्दगी को भार उमाथि थोपर्न चाह्दैँन थियो । यती हुँदाहुँदै पनि साहिली को चिमोट्याइ सँग उ बेहत खुशी थियो ।

कहिले काही उरेन्ठेउला छिमेकी गाउँका केटाहरुले चौतारी मा बस्दै बदाम खाने निहुँमा साइलीलाइ जिस्काउँदा हरी शरण भित्र भित्रै रिसले कामेर सुनिरहन्थ्यो । साइली मुखाले थी । त्यस्ता लाई हदै सम्मको जबाफ फर्काउँथी । हरी शरण डराउथियो त्यतीखेर, कतै तिनिहरुले नराम्रो व्यबहार त गर्ने होइन्न साहिलीलाइ भनेर । अनी मनमनै सोच्थ्यो ' बरु एउटा गतिलो मान्छे सँग पोइल गए हुन्थियो साहिली ' । आँफैले माया गरेको साहिलीलाई यती सम्म सोच्न बिबश थियो उ । आफू अन्धो भएको महशुस गरेर यतिखेर बेस्मरी दुख्थ्यो उ । अनी भगवान सँग असाध्यै चित्त दुखाएर मन मनै भन्थ्यो “हे भगवान ! मेरो के दोष थियो जन्मदै अन्धो बनायौ ?? ” चित्त दुखेको अर्को मनले भन्थ्यो “छैनन् भगवान!”

पण्डित दम्पतीलाई कान्छा छोराको भबिष्यप्रती असाध्यै चिन्ता थियो ।'हुने हार दैब नटार' मन बुझाएर बस्नु बाहेक अहिले सम्मलाई अरु कुनै उपाय थिएन उनिहरुसँग ।

पण्डित दम्पती का जेठा छोरा को नाम रामशरण थियो । रामशरण सानै देखी पढ्न मा तेज थिए । पण्डित दम्पतिले आफ्नो बुताले भ्याएसम्म खर्च गरेर रामशरणको पढाई मा लगानी गरेका थिए । उनी अमेरिकामा थिए । अमेरिका पठाउन पनि भाग्य ले साथ दिएको थियो । एका तिर उत्कृष्ट पारीणाम त थियो नै अर्को तिर काठमाण्डौमा सरकारी उच्च ओहदा मा आफ्ना चिनेका मान्छे थिए पण्डित बाजेको । उनैबाट छात्रबृत्ती सुबिधा मा अमेरिका पढ्न पठाएका थिए रामशरण लाई ।

माटो बिज्ञान मा पि .एच् .डि . गरे रामशरणले । तत्पश्चात अमेरिकि सरकारले दिने सुबिधा अनुसार उनी २ बर्षको लागि अमेरिकामा नै जागीरे भएका थिए । २ बर्ष पछी नेपाल फर्किने योजना थियो रामशरणको । यही जागिर अबधिमा उनी थोरै समय मिलाएर नेपाल आएका थिए, बा-आमा, भाई गाउले सबै लाई भेट्न् ।

पण्डित बाजेको घरमा खुशी छाएको थियो रामशरण आउने दिन ताका । २ तले काठ- ढुङ्गा - माटोले बनेको घरका झ्यालहरु हरिया रङ्गका थिए । माटो का भित्ताहरु रातो र सेतो माटोले पोतिएको थियो । गाउले छिमेकी आईमाईहरुले पण्डितनी बज्यैलाई घर पोत्न सघाएका थिए । घर शुन्दर चहकिलो देखिएको थियो । बारीमा मेबा, कागती, आप, अंबा, काफल, केराका बोट बुट्यान थिए । आँगनमा तुलसिको मोठ , नजिकै बाह्रमासे फूल्ने घन्टी फूल ढक्मक्कै रातै भएर फूलेको थियो, आँगनको डिलभरी बाबरी र चमेली का फूलहरु सेताम्मे फूलेको थियो । धेरै बर्ष पछि पण्डित बाजेको घरमा आएको यो खुशीको बातावरणमा आज पण्डित बाजेले यि सम्पूर्ण सौन्दर्यको स्वाद पाएका थिए । उनको मन कविमय भएको थियो । उनी खुशीले गुनगुनाउन लागे:-

" न धुलो न धुवाँ, न हतार न चटार

शान्त थपक्क गमक्क गमक्क

रातो माटो हरियो झ्याल सुन्दर यो चमक  

कसरी न गुनगुनाउ ! देखी यो सौन्दर्य झमक !

बोट बुट्यान झुम्म झुम्म हरित हर्ष

खुशी बनी झर्छन यहाँ बादल बर्षा

झ्याङिएर मात्तिएर फक्रिन्छे तरु लता

मोहित हुनेछ राम शरण देखेर यो सुन्दरता

°°°°°                  °°°°°

अहा! फूल वरिपरि सुमधुर चमेली

टाढा सन्सनाउँछे बग्दै नारायणी शुसेली

रात उज्यालो मुस्कुराउँदा शितल जुनेली

हास्छे यहाँ मसक्क मस्की बिहानी उजेली ……

पण्डित परिवारको यो खुशी गाउलेहरुलाई पनि लागेको थियो । गाउलेहरुले पनि स्बागत गरे । सबै खुशीले फूलेल भए । रामशरण आए । उन्ले भाईलाई छत्रे टोपी र हातैले छोएर समय थाहा पाउन सकिने घडी ल्याइ दिएका थिए । आफूले अमेरिकामा भाईको लागि सक्दो बुझ्दै गरेको पनि बताए । पण्डितनी बज्यै भगवान भरोसामा थिईन । सधैं मंगल चौथीको ब्रत लिन्थिन । मन मनै ' ठुला अम्रिका मा छ , त्याँ त बडे बडे जान्ने डाग्डर हुन्छ्न रे, कुनै दिन हाम्रा सानाको पनि दिन आउँला कि ! ठुलाले केही त गर्ला ! ' आमाको मन सधैं आशाबदी हुन्थ्यो । भाकल पनि गरेकी थिन उन्ले । आँफैले कातेको धागोले लाख बत्ती बालेर भगवान लाई खुशी बनाउन दत्त चित्त परेर लागेकी थिन उनी । त्यसैले फुर्सद भो कि कपास र चोखो खरानी समाइ हाल्थिन ।

राम शरण अमेरिका फर्कने फर्कने बेला भएको थियो । एक दिन साँझ पण्डितनी बज्यैले धागो कात्दै रामशरण लाई भनिन “ठुला ! बे गर बाबु !, म त डाँडा माथिको घाम हुन लागि सकेँ, बुहारी को मुख देख्न पाए, बुहारी ले चुलो चौका धानिदिए कती सुख ले मर्दी हुँ म् ! ”

“आमा ! अब एकै बर्ष त बाँकी छ, उताबाट फर्केपछी गरुँला, अहिले फुर्सद पनि छैन , फेरी जिन्दगी बिताउने कुरा हो, हातार गरेर पनि भएन नि आमा” रामशरणले भने ।

पण्डितनी बज्यैले भनिन “ल है बाबु ! अर्को साल त बुहारीको मुख देख्न पाम्ला नै मैले ? '

छोराले आज्ञाकरी बालक ले झै टाउको हल्लाए स्विकृतिमा । छेउमै बसेर आमा छोराको गन्थन सुनिरहेका पण्डित बाजेको अनुहार सूर्यदोयको उज्यालोझैँ धपक्क भो ।

पण्डित बाजेले ४ बिगाहा बन्धकिमा राखेको जग्गा पनि निखानेका थिए छोराको आगमन संगै । अमेरिका फर्कने बेलामा छोराले बा-आमा बुढाबुढी भाईसकेकाले अब खेतिपतिमा जोतिनु भन्दा बरु ४ बिगाहा जग्गा भरीनै रुख-बिरुबा लागाइदिनु मान्छे राखेर, म फर्के पछी बागबानी केन्द्र खोल्छु गाउलेहरुसँग मिलेर अरु जग्गा पनि जोडेर , भने ।

रामशरणको सपना थियो गाउँमै बागबानी केन्द्र खोलेर आफूले हासिल गरेको ज्ञान मार्फत गाउँ घरका किसानहरुलाई सक्दो सहयोग गर्ने र कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान का बिद्यार्थीहरुलाई पनि भोलिको लागि आँफै नमुना बनेर प्रस्तुत गर्ने ।

कुन माटोमा कस्तो खेती कसरी गर्नु पर्छ देखी लिएर पशु पंक्षि सम्बन्धी पनि यथेस्ट ज्ञान हासिल गरेका थिए उन्ले । आफ्नो यस योग्यता-प्रतिभालाई नेपाली माटोमा खर्च गर्न चाहन्थे रामशरण ।

१ बर्षमा अमेरिकाबाट फर्किए पछी आफ्नो सपना पुरा गर्ने बचन दिएर उ आमा, बा, भाई, गाउले सँग बिदाबरी भएर हिड्यो । अमेरिका फर्कने बेलामा काठमाण्डौ हुँदै फर्कनु पर्ने थियो । जसै काठमाण्डौ आए उनलाई कृपा गरेर अमेरिका पठाउन सहयोग गर्ने परिवार ले आफ्नै भान्जी शितलसँग विवाह को प्रस्ताब राखे । रामशरणले टार्न सकेनन । काठमाण्डौबाट अचानक खबर आयो पण्डितबाजेलाई । अहिले नै बिहा गर्ने थाहा पाएर बुढा बुढी बाल्ल परे ।

गाउँघर कै कन्या रोजेर धुम धाम ले विवाह गराउँला भन्ने सपना काठमाण्डौको बबरमहल को क्षणिक कागजमा टुङिने भो । पण्डित बाजे खिन्न भए , बज्यै खङ्रङ भाईन । पण्डित बाजेले मनको पिर लाई अनुहारमा आउन नदि सम्झाउँदै भने “हेर बुढी ! पढे लेखेको छोराले पढे लेखेकी बुहारी रोज्यो, अब आफूसँगै लान्छ रे, उता बसुन्जेल सगै बस्न, उस्को खुशीमा हामी खुशी हुनु पर्छ ' । पण्डितनी बज्यैले भनिन “यतिका थोरै दि 'ना कसरी भ्याम्ला त सरदाम जुटाउन !” पण्डित बाजेले भने “ हामी आसिक दिन मात्रै जाने हो काठमाण्डौ, सबै उतैकाले बन्दोबस्त गरी सके रे !, कोर्ट म्यरिजमा त सरदाम के चाहियो र ! ”

पण्डितनी बज्यैले भनिन , “ कोट मारिज भन्या कोट ला' र गर्ने हो हजुर ?”, “अदालत जस्तो ठाउँ मा गर्ने बे लाई त्यस्तो भन्छन” बुढाले भने ।

“ ए …… !” बुढी झन गलिन् । “ यत्रा घर आँगन हुना हुनै चोर- पुलिसका ठाममा बे ! …… ” पण्डितनी बज्यैले आशु खसालिन ।

विवाह सिद्धियो । रामशरण - शितल अमेरिका गए ।

बर्ष बित्यो, २ बर्ष बित्यो, ३ बर्ष बित्यो, ४ बर्ष लाग्यो छोरा बुहारी आएनन् । यसै बिचमा जुम्ल्यहा नाती नातिना जन्मेको खबर आयो । अहिले उनिहरुले उतै बैक बाट ऋण झिकेर घर पनि किनेछन । ' छोरो उतै फस्यो' पण्डित बाजे ले बुझे ।

बेला बेलामा छोराले पैसा त पठाए, तर त्यो पैसाले पण्डित परिवारमा खुशी ल्याउन सकेन, न्यास्रो मेट्न सकेन । झन जुम्ल्याहा नाती नातिनाको मुख देख्न नपाउदाको पिर आफ्नै ठाउँ मा थियो ।

छोराको सपना ' बागबानी फार्म ' बनाउने बगैचा पनि झाडिले भरिँदै गएको थियो । जङल भएको बगैचा हेर्दै बुढा झोक्राउँथे । बज्यै को पिरको सिमाना थिएन । आशु नझारेको दिन हुँदैनथ्यो ।

एउटा छोरा आँखा नदेख्ने अन्धो, अर्को बुढेश कालको सहारा अमेरिकामै नै बस्ने छनक बुझेर पण्डित बाजे भित्र भित्रै गल्दै गएका थिए ।

दिन नजिक आईपुगेको महशुस गरे पण्डित बाजेले । एक दिन एकान्त मा छोरा हरीशरण लाई बोलाएर भने “कान्छा ! साना ! अहिले सम्म त तेरो दाह्री, कपाल मैले नै खौरिएँ, लङौटी मैले फेर्ने काम मैले गरे बाबु, अब मेरा शेखा पछी तलाई हेर्ने बुढी आमा मात्रै हुन्छिन, म त थल्ली सकेँ बाबु , मेरो सेखा पछी नारायणी नदी नजिक छ, हाम फालेस, उतै भेटौँला बाबु - छोरा ” । हरीशरणले कुरा बुझ्यो । बुढी आमाको बोझ नबनिदे भन्न खोजेका थिए बा ले ।

नभन्दै केही दिन पछी पण्डित बाजेले प्राण त्यागे । १३ दिने किर्या सिद्दिए को भोली पल्ट् १४ औं दिनको दिन गाउँ बाट हरी शरण हराए । गाउँ ले हरुले जहाँ तही खोजे भेट्टाएनन् । बर पिपलका पातहरु ले हाबामा सररर दु:ख प्रकट गरे । साइलिले कसैले नदेख्ने गरी आशुको थोपा झारी ।

:-लुना



13 Comments:

ठरकी दादा said...

यो कथाको सामन्य सम्पादन र पोष्ट पनि मैलेनै गरेकोले सायद लुनाजीले लेख्‍नुभएपछि पढने पनि म नै पहिलो हुँला!।

नेपाली ग्रामीण भागको परिवेशमा लेखिएको कथा अपेक्षाकृत रुपमा केहि लामो जस्तो लागे पनि घटनाक्रमको बहाव र बिच बिचमा आउने 'घरेलु' सम्बादले कथालाई रोचक बनाएको छ । मार्मिक र दुखान्त कथालाई पढन थालेपछि पाठकलाई एकै सासमा पढन मनलाग्ने गराउनु यो कथाको राम्रो पक्ष भए पनि सामान्य रुपमा असम्भव अन्तिमको घटना अलि अस्वभाविक र नाटकीए देखिएको छ ।

पारिवारिक स्थिति जत्तीसुकै नाजुक भएपनि बाउले छोरालाई आत्महत्या नै गर्न उक्साउनु भने त्यत्ती चित्तबुझ्दो लागेन। एकातर्फ हरीशरणलाई तेज दिमाग भएको र लट्ठिको सहारले चौतारीसम्म पुग्न सक्ने र तिक्ष्ण बुद्दी समेत भएको देखाँउदा देखाँउदै अर्कोतर्फको यो हुत्तीहारापन अली मिलेन जस्तो लाग्यो । बाँकी कथाको वहाव र मानव संबेदान अनी सामाजिक परिवेशको चित्रण भने जिवन्त छ ।

Basanta Gautam said...

हाम्रो समाजको र विस्तारै आफ्ना सपनाहरुलाई बिर्सँदै पलायनको बाटो रोज्ने नेपाली बुद्धिजीविहरुको सरल भाषामा यथार्थ चित्रण गरिएको छ। अलि-अलि फरक पर्ला तर हामीमध्ये धेरैनै सारमा यो कथाको रामशरणसंग मिल्न सक्छौं।

ठरकी दादाले भनेजस्तै अन्धो भएपनि त्यत्तिको क्षमता भएको छोरालाई भने केहि नसिकाई, आत्मनिर्भर नबनाई छोडे होलान् यो जमानाका चेतनशील पण्डितले भन्ने कुराचाहिं अलिक पत्यार लाग्दैन।

अरु पनि जाओस् लुनाजी!

दीपक जडित said...

लुनाजीको कथा राम्रो हो । ठरकी दादा र वसन्तजीले भने झैं पण्डितले कथाको अन्त्यतिर छोरालाई भनेको कुरा अस्वभाविक देखिन्छ । आजित भएर पण्डितले त्यसो भन्न सक्लान् तर यहाँ त गंभिर भएर नै भनेका छन् र अस्वभाविक त बाबुले भनेझैं छोराले गरेको कुरा भयो । बदामवाल्नी साहिँलीलाई तुरुक्क आँशु झार्न लगाउनकै लागी पण्डितले कुनै कारणवश झिँजिएर त्यसो भनेको र सानाले दिग्भ्रमित भएर त्यसो गरेको बनाए अलि हुन्थ्यो जस्तो लाग्यो मलाई चैं । ठरकी दादाले भनिसक्नुभए जस्तै कथा सामाजिक परिवेशको जीवन्त चित्र उतार्न सफल छ ।

Luna said...

बाबुको मृत्‍यु पश्चात १४ दिनको दिन कान्छा छोरा हराएका थिए । छिमेकी हरुले सोध्दा बाबु छोराको सम्बाद लाई ब ताएकी थिन , सबै गाउँ ले को लख यही नै थियो उन्ले नारायणीमा हराए ---
जेठा छोरा पनि अमेरिकामा नै सेटल भए ।
त्यही घटनालाई सम्झिएर मैले मेरो कल्पनाको क्यान्भास मा रङ्ग छरेकी थिए । जुन यथार्त घटना छ त्यो नै प च्न गार्हो भएको छ कथामा तर पनि त्यो नै यथार्त हो ;त्यसैले मैले अन्तिम तिर नबङ्गाइ जस्ताको तस्तै लेखे ।
धेरै धन्यवाद ठ र कि दादा , बसन्त जि र दिपक जि लाई प्रतिकृया र हौसलाको लागि ।
( यस् पटक पनि शुद्दा शुद्दी मा निकै समय खर्च गर्नु भो ठ र कि दादा तपाईंले । हिर्दय देखी नै मुरी मुरी धन्यवाद है । टाइप गर्दा के मिल्दैन के मिल्दैन र त्यस्तो हुन्छ ।अझै पनि सुधारने कोशीस गर्ने छु )

खुल्लामन्च said...

good one ! congrats !!

Postak_Shrestha said...

ल, लुनाजीको प्रगती गजबकै भएछ नि। कथामा घटनाक्रमको प्रस्तुती, प्रवाह मिलेको छ। यति राम्रो कथा लेख्नु भएकोमा बधाइ। ठरकी दादा, बसन्तजीहरुको प्रतिकृयासंग चांही सहमत हुन सकिन। पढेलेखेका पंडितहरु सबै उच्च मनोबल भएकै हुन्छन भन्ने छैन। प्रौढ अवस्था, रोग, जेठो छोरोको बिदेश पलाएन, अपांग कान्छो छोरो यी सबै कारणहरु मानिसलाई निराशाबादी बनाउन काफी हुन्छ। जीवनदेखि हार खाएका मान्छेहरुले आफ्नै छोरा-छोरी च्यापेर नहरमा हामफालेका कुराहरु नेपालमै सुनिएको छ। यो कथा मैले लेखेको भए पनि शायद अन्त्य यसरी नै गर्थें होला। म पनि अलि निराशाबादी नै हुं क्या।

Anonymous said...

बर पिपलका पातहरुलाई साछी राखेर प्रस्तुत यो कथामा साहिलिले बगायका आसुका थोपा मा निकै रहस्य देखिन्छ । लुना भित्र रहेको आत्मिय करुणता सहितको रोदन लाई पक्कै पनि संसार भरका पाठकहरुले आत्मै देखी बुझेर सेअर गर्ने छन भन्ने विश्वाश गर्दछु । साथै लुना द्वारा प्रस्तुत कथा लेख रचनाले समाजलाइ निस्चित दिसामा डोर्याउन सहयोग पुर्याउने छ यसमा दुई मत छैन ।

पुरुशोत्तम सुबेदी -बेल्जियम

Luna said...

धेरै धन्यवाद है खुल्ला मन्च , पोस्तक जि र पुरुसोत्तम जि लाई प्रतिकृया दिनु हुँदै हौसला ब ढाइ दिनु भएकोमा ।
पुरुसोत्तम जि !
कथाको अन्त्य त दु:खद नै भयो जुन यथार्त थियो , जस्तो थियो त्यस्तै लेखे ।
अब यहाँ राम शरण को अमेरिका सेटलको कुरा मार्फत नै अहिले को हाम्रो समाज ( समग्रमा मुलुकले ) भोग्नु परेको घाटा को कुरालाई प्रस्ट्याउन खोजेकी थिए ।
राम शरण को सपना ज स्तै हरेक नेपाली बिद्यार्थी हरुको सपना हुन्छ पढाई पश्चात नेपाल फर्कने र आफ्नो गाउ - समाज हुँदै मुलुक को हित को लागि ठोस् योगदान गर्ने तर जब उनिहरु बिभिन्न कारण बश उतै ( बिदेश मा ) सेटल ( पलायन ) हुन्छन तब तिनका महान सपना तरल हुँदै उतै बिलाउछ जुन हाम्रो गाउ - समाज - मुलुकको लागि असाध्यै घाटादायी हुन्छ ।
मेरो कथाको उद्देश्य नै यसैमा केन्द्रित थियो ।

प्रबिण थापा said...

जीवन संवेकको भेल हो जहाँ जुन बेला जे हुनपनी सक्छ शायद जब संवेकले मनिसलाई नियन्त्रण गर्छ तब त्यहा बौदिकता, सक्षमताको केही लाग्दैन। लुना जि कथा यथार्थ छ, हाम्रो समाजमा आज पनि यस्ता घटनाक्रम भई नै रहेका छन।

Anup said...

HI Luna G you are great write. but it long story. but it's good. keep it up. be always good and happy.
Thank you

HP Anuragi said...

Luna G Katha ramro chha. thikai chha prayas ramro chha aauda dinharuma shortcot ma banauda ramro hunchha jasto lagchha ma pani testo sahityakar ta hoina tara sujhab dina chahi janeko chhu.hope you will submit story's continue.

Luna said...

प्रबिण जि , अनुप जि र अनुरागी जि लाई धेरै धेरै धन्यवाद है यसरी भर्खरजानी नजानी लेख्न कोशीस गरिरहेकी लुनालाई हौसला दिनु भएकोमा ।

anup said...

Tapaile dharai ramro lekha lekhanu bhayako cha Luna g.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !