December 13, 2008

कामरेडको बन्दुके कंम्पन !

पहिला बिध्वंसकारी हुदैं आतंककारी सम्मको बिल्ला पाएका, अनि पछि भने क्रान्तिकारीको धार समाएर गणतन्त्रकारी हुँदै सरकारी भएका हाम्रा प्रधानमन्त्री ज्यूलाई आजकल चिन्ता छ रे ।

क्रान्तिकारी सोचको प्रभावकारी परिचालन गरेर नेपाललाई चमत्कारी बिकास गर्छु भन्दै हिडंने मान्छे आजकल नेपालको राजनेताहरुले सधैं बोल्दै आएका र आफ्नो नालायकीपन लुकाउन सबैले प्रयोग गर्ने पुरानो वाक्यांस प्रयोग गर्देछन " … के गर्ने ? काम गर्न त खोजेको हो नि! विदेशी षडयन्त्रकारीले गर्नै दिंदैनन। "

कुनैबेला 'अब हामि आयौं, दश बर्षमा नेपालले युगान्तकारी लक्ष हासिल गर्छ' भन्दै हिंडने मान्छेको यो लाचारी र र बिलम्बकारी बचन सुनेर जनता पनि अकमक्क परेका छन।

त्यसो त, बेला-कुबेला बर्बराउने र कहिले आफ्नै त कहिले अमेरीकी कुटनीतीज्ञको हत्याको योजना बनेको जस्ता हल्ला फैलाएर एकचोटी त 'त्रिशुल बाबा-२' को उपनाम समेत पाएका हुन उनले। अनी उनका केहि धूँवादार वक्तव्यलाई ठट्टा सम्झेर हाँस्ने बानि पनि परिसकेको छ नेपाली जनताहरुलाई । तर हालै केहि समय यता भने केहि दिनको अन्तरालमै फरक फरक वक्तव्य दिएर उनी जनता हँसाउने हैन तर्साउने काममा लागेका छन।

उनको वक्तव्य सुनेर हाल देशमा दुईथरी सनसनी फैलिएको छ । एकथरी मानिसहरु उनको यो वक्तव्यलाई पुरानै ठट्टाका नया 'कडी' सम्झेर बस्दैछन भने केहि भने हतप्रद: भएका छन। कारण, उनको नया वक्तव्य पहिलेको भन्दा पनि अझै भारि-भरकम छ। अझ सिधै भन्ने हो भने उनको यसपालाको वक्तव्य, वक्तव्य कम, धम्की बढि छ। त्यो पनि हतियार उठाउने धम्की

सरकारमा आफैं छन र फेरि आफैं हतियार उठाउने धम्की पनि दिदैंछन हाम्रा जननेता, गज्जव छ! यो हतियार कस्को बिरोधमा उठाउन लागेको हो सामान्य सोचको मान्छेले बुझ्न कठिन छ ।

केहि महिनाको सरकारी कुर्सीको आरोहण पछि नै कामरेडहरुको चमत्कारी गफका घैंटो फुटि सकेको प्रष्ट भएको छ र उनका हालैका दिग्भ्रमित वक्तव्यहरु केलाएर हेरेमा गनतन्त्रका पूजारीहरु गणतन्त्र हाँक्न नसक्ने प्रष्ट भैसकेको छ ।

अबका दिनमा पनि ‘विदेशीले काम गर्न दिएनन’, ‘सहयात्रीले सहयोग गरेनन्’ भन्ने सढे-गलेका बासी वक्तव्य दिएर आफनो नालायकिपन छुपाउने प्रयास नगर्दानै कामरडहरुको हित हुने देखीन्छ । त्यस्तै कुरालाई छुट दिने हो भने ज्ञानेन्द्रले पनि एकताका "विदेशी पैसाको बाढी" आएको कुरा बताएका थिए र उनलाईनै बाढि पैह्रो रोकीएपछि फेरी देश चलाउन दिए वा ‘बाँध’ बाँधेर काम चलाउन दिएको भए नि हुन्थ्यो नि! , अझ अगाडी जाने हो भने पन्चेहरुले पनि मुखले त देश बनाउँछौं भनेकै थिए क्यार ! उनिहरुले पनि विभीन्न कारणबस बनाउन पाएनन् होला। उनिहरुलाई नै निरन्तरता दिएको भए पनि हुन्थ्यो नी।

समष्टिमा जनतालाई अब 'परिणाम' चाहिएको छ, कसैको गन्थन वा हुत्तिहारापन लुकाउने शब्दजालको वक्तव्य हैन। हजारौं जिवनको वलिदान र बर्षौं को प्रतिक्षा पछि देशमा गणतन्त्र आएको छ । अब फेरि पनि कसैले जनतालाई शब्दजालले भुलाउँला, आफ्नो अकर्मण्यतालाई विभिन्न आन्तरीक वा वाह्य समस्याको पुरानो पर्दा लटकाएर लुकाउँला भनेर नसोच्दैमा राम्रो होला ।

सत्तामा बस्ने रहर मात्रै छ तर देश चलाउने हुत्ती छैन भने योग्यलाई सत्ता छाड्न प्रजातन्त्रमा कहिल्यै छेकवार छैन । हैन, फेरी पनि छोरी कुटेर बुहारी तर्साउने युक्तिको लागी कामरेडद्वारा यो हतियार उठाउने धम्की दिएको हो भने यसले उनिहरुको खोक्रो आदर्श, कार्यकुशलता, क्षमता र योग्यतालाई झनै नङ्याउने निश्चित छ ।



2 Comments:

पीजी said...

एक दम जायज कुरा । अहिलेको जमानामा कामा को मुल्याङ्कन भनेको पारीणाम हेरेर गरिन्छ न कि क्रान्तिकारी भाषण र वक्तव्य हेरेर ।

बिकास भन्ने कुरा प्रकृयागत हो र यसको लागि कुनै निश्चित अवधी चाहिन्छ भन्ने ज्ञान राष्ट्र प्रमुखलाई हुनु पर्ने हो । प्रचन्डपथको ideology भनेको एउटा मुलुक ५ वर्ष भित्र काया पलट हुनु पर्छ नत्र हतियार उठाउनु पर्छ भन्ने हो भने यो पथ भनेको भ्रम हो र यो मानसिक असक्षमता वा असन्तुलनको उपज हो । र यस्तो ideology का follower हरुलाई सेनामा एकिक्रित हैन मानसिक उपचार विधीबाट पुनर्स्थापन गरिनु जरुरी हुन्छ ।

हैन काम्रेड काम गर्ने भावना छ भने १ महिना हैन ५ -१० वर्ष काम गर्दै जानुस् बर्ब्राउने बानी छोडेर । राम्रो काम गर्नेलाई सबै नेपालीले साथ दिन्छन !

nepalean said...

बन्दुके कंम्पन ! नौलो होइन। प्रचण्डपथ नै बन्दुके कम्पन हो।
होइन भने २१औ शताब्दीमा बन्दुके समातेर कोही यु्द्द लड्छ त ?
दुखी दरि्द्रिको देश नेपाल भएर नै यिनीहरुले शक्तीमा आए नत्र यस्ताले त जेलको छिडी कुर्नुपर्थ्यो। कसैले मान्छे मार्नेक ओकालत गर्न सक्छ त ?
भाषण दिने र काम गर्ने मा आकास जमिनको फरक पर्छ। बिदेशीले काम गर्न दिएनन भन्दा पंचायतको ठेगो याद आयो " बिदेशीका बुइ चडेका उत्रशिंकल त्तवहरु"....काम गर्ने कोही होइनन सबै बिदेशीलाइ दोष लगाउछन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !