November 19, 2008

नेपालीले भारतकै दास भएर बाँच्नुपर्ने भयो त

शेखर ढुंगेल
अमेरिका
हालसालै प्रधानमन्त्री प्रचण्ड बिमिस्टेकको शिखर बैठकमा सहभागी भएर स्वदेश फर्कनु भएको छ । फर्कदा फर्कदै प्रधानमन्त्री प्रचण्डले एयरपोर्टमै भन्नुभयो- अनमिनको म्याद थप्न भारत सकारात्मक रहेको छ । हाम्रा प्रधानमन्त्री जनतालाई सार्वभौमिक शक्तिसम्पन्न बनाउँछु भनेर डिङ् हाँक्छन् व्यवहारमा चाहीं फिजीको महेन्द्रिसंहजस्तो भारतको पपेट प्रधानमन्त्रीको चरित्र देखाउँछन् भने यस्ता प्रधानमन्त्रीको नेपाली जनताले कुन हदसम्म विश्वास गर्नुहुन्छ ।

निश्चय नै संविधानसभाका माध्यमबाट जनताले माओवादीलाई सरकारमा पुर्‍याएका हुन् राजनीतिक शक्तिका रुपमा सम्मानित गरेका पनि हुन् । जनमतको जनादेशको कदर माओवादीका नेता तथा देशका प्रधानमन्त्रीका यस्तै अभिव्यक्तिले हुन्छ त के नेपालको निर्णय भारतको सकारात्मक र नकारात्मक अनुमतिमा निर्भर छ के प्रचण्ड भारत निर्देशित प्रधानमन्त्री हुन् होइन भने उनका अभिव्यक्तिले नेपाली जनताको जनमतको अपमान गर्यो कि गरेन ।

यही भ्रमणमा प्रधानमन्त्री पचण्डले सुपुर्दगी सन्धि सीमामा हुने सबैखाले आतंककारी गतिबिधि नियन्त्रण गर्नका लागि भारतलाई सर्वशक्ति सुम्पेर आएका छन् । के प्रधानमन्त्रीले भारतीय फौजलाई आतंककारी गतिबिधि नियन्त्रण गर्ने नाममा नेपालमा निर्वाध पस्नका लागि अनुमति दिएर आएका हुन् त हुन् भने यसबारेमा नेपाली राजनीतिज्ञ सुरक्षाबिद सुरक्षा निकाय किन बोल्दैनन् ।

भारत परस्तहरुको कुनै कमी छैन नेपालमा । राजनीतिदेखि पत्रकारितासम्म समाजसेवादेखि परोपकारसम्म उद्योगदेखि व्यापारसम्म अर्थनीतिदेखि अर्थतन्त्रसम्म जताततै भारत परस्तहरुको लर्को छ । नेपालमा भारतबादीहरुको बहुमतीय जमात खडा भइसकेको छ । यो भीडमा नेकपा माओवादीका नेताहरुको चर्को राष्ट्रबादी नाराले जनतालाई आकर्षित गरेको छ । तर प्रचण्ड प्रधानमन्त्री भएपछि लज्जा पनि लज्जित हुनेगरी प्रचण्डले ब्राण्डेड भारत परस्तहरुलाई पनि परास्त गरेर भारतबादी चरित्र देखाईदिएका छन् । योभन्दा जनताको अपहेलना अरु के हुनसक्छ ।

भारतले जलस्रोतमा कव्जा जमायो । हिजो महाकालीका कुरा थियो आज सप्तगण्डकी अपरकर्णाली देखि सेती र बुढी गण्डकीमा पनि भारतको नङ्ग्रा गाडिसकेको छ । मेचीदेखि महाकालीसम्म ६५ ठाउँमा सीमा बिबाद छ । प्रचण्डजी दुईपटक भारत के जानुभयो कालापानी र सुस्तामा बाहेक कहीं सीमा बिबाद छैन संयुक्त कार्यदलले सीमा बिबाद टुङ्ग्याईसक्यो भनिदिनु भयो । यही कुरा परराष्ट्रमन्त्री तथा फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि दोहोर्‍याईदिनुभयो । सबैलाई थाहा छ नेपाल र भारतकाबीच सीमा बिबाद छ । भारतले दिनदिनै सीमा अतिक्रमण गरिरहेको छ । सबैलाई थाहा छ भारतले सीमामा नेपालीलाई लुट्ने नेपाली बालीनाली लुटेर लाने काम गरिरहेको छ । सबैलाई थाहा छ भारतको सीमा सुरक्षाबलले नेपालीको इज्जत लुटिरहेको छ बलात्कार गरिरहेको छ । तर माओवादी र फोरम प्रचण्ड र उपेन्द्र यादव हाँमा हाँ मिलाएर भनिरहेका छन्- नेपाल र भारतका बीच सम्बन्ध सुधार भइसक्यो । कुनै समस्या छैन । १० वर्षमा १० हजार मेगावाट बिद्युत निकाल्न भारतले सघाउने भएको छ ।

हिम्मत छ स्वेतपत्र निकाल्ने जब हिम्मत छैन भने जनताको आँखामा छारो हालेर कतिदिन चलाउने प्रचण्ड र उपेन्द्र यादवमा भिन्नता छैन भने माओवादी र कांग्रेस समानान्तर छन् भने नयाँ नेपाल बनाउने र पुरानो नेपाललाई बिगार्नेमा फरक छैन भने राजतन्त्र फालेर नेपाललाई सिध्याउने बाहेक के उपलव्धि भयो त स्वाधीनता नेपालीको चाहना हो स्वतन्त्रता र शान्ति नेपाली जनताले खोजेका हुन् । शान्ति सुरक्षा र समान अवसर नेपालीको आवश्यकता हो भने त्यसलाई आपूर्ति गर्ने अवधारणा कार्यक्रम माओवादीले ल्याएको खोई जब टाट उग्रनारा हो भने त्यस्तो उग्र नाराले अस्थिरतामात्र सिर्जना गर्न सक्छ । सम्पन्नता ल्याउन सक्दैन ।

आज युवाहरु विदेश पलायन हुन आतूर देखिन्छन् । किन तिनीहरुलाई स्वदेशमै बसुँ-सुँ पार्न नसक्ने विदेश पलायन भएकालाई नेपाल फर्कन आकर्षित गर्न नसक्ने माओवादीको कुन चाहिं निर्णयले स्वाधीनताको रक्षा गरेको छ। हिजो २३ लाख नेपाली नागरिकता बिक्री गर्दा माओवादीले समर्थन गर्‍यो । आज आफै सत्तामा छ भारतको दास प्रवृत्ति देखाईरहेको छ । यो सब देखेपछि कुनै पनि नेपाली मानसिक रुपमा गलित र शारीरिक रुपमा दबित हुन्छ हुन्छ । अनि उसले बिदेश पलायन हुने अवसर नखोजे के खोज्छ नेपालमा बस्ने केही गर्ने वातावरण नै नपाएपछि नेपालको निर्णायक तहमा पुगेका व्यक्तिहरु भारतीय चरणदास बनेपछि नेपालीले हार्छ । जनताले माओवादीलाई परिवर्तनका लागि चुनाव जिताए माओवादीले सत्ता जित्यो । तर नेपालीले हारे नेपालले हार्‍यो भन्न करै लाग्छ । किनभने नेपालको आन्तरिक मामिलाको निर्णय गर्न समेत भारत सकारात्मक छ कि नकारात्मक भनेर बुझेर निर्णय गर्ने बेला आयो ।

प्रचण्डजस्ता अग्रगामी चरित्र देखाएर लामो जनयुध्द गरेर सत्तामा पुगेको र जनताले आशा गरेको पार्टी र नेताले समेत राष्ट्रिय अडान कायम राख्न सकेनन् । यो अवस्थाले के देखाउँछ भने वर्तमान थाङ्ने नेताहरुको कमजोरीका कारणले गर्दा नेपालीले भारतकै दास भएर बाँच्नुपर्ने भयो । कि कसो?



2 Comments:

Panda said...

भारतले नचाहेको भए न माओबादिले यत्रो लडाइ गर्न सक्थे न त भुटानीहरु खुरुखुरु भुटानबाट खेदिन्थे । जसले हुर्कायो कर्म दियो उसले त जति सुकै दर्शनबादिलाई पनि नचाउने नै भयो नि । जनताले आगो बाल्न र बाटो छेक्न बाहेक अरु जान्दैनन !

ठरकी दादा said...

ढुंगेल जी ! तपाईको आलेखमा बचे खुचेको कुरा सायद पान्डा जी को कमेण्टबाट पुरा भएको छ ।

कस्को चरित्र कस्तो भन्ने बारेमा चाही 'हात्तीको देखाउने र चपाउने दाँत' जस्तै हाम्रा सबै नेताहरु एउटै ड्याङका मुला हुन भनेर बुझ्दा परक नपर्ला ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !