August 15, 2008

पवित्र गठबन्धन र माओवादी 'नया सत्ता' को आयू

कम्युनिष्टहरू धर्म मान्दैनन् र भौतिकवादी हुन्छन भन्ने कुरा राजनीतिको कखग जान्ने मान्छेलाई पनि थाहा भएकै कुरा हो । धर्म मान्नेहरूका लागि भने 'पवित्र' वा 'अपवित्र' ( sacred, holy or unholy ,sacrilige) भन्ने जस्ता कुराहरूको महत्व हुन्छ । तर। केही कुराहरू 'अपवित्र' भैहाल्यो भने पवित्र बनाउन पण्डित वा धर्मगुरूले पवित्र जल अभिषेक गर्न सक्छन् । नेपाली गाउँघरमा अशुद्दलाई शुद्द पारेर काम चलाउने बनाउन सुन पानी छर्केर पवित्र पार्ने पनि चलन छ । तर राजनीतिमा भने कुनै ग्रन्थ छैन जसले कुन कुरा पवित्र वा अपवित्र हो खुट्याउन सकोस् । केही हप्ता अघि कांग्रेस, एमाले र फोरम मिलेर राष्ट्रपतिपदको निर्वाचनमा माओवादीलाई लोप्पा ख्वाएका थिए र यो तीन दलीय मेलमिलापलाई माओवादीले 'अपवित्र' गठबन्धनको संज्ञा दिएर सरकारको नेतृत्व गर्ने नैतिकता आँफूसंग नरहेको स्वीकारोक्ति प्रकट गरेको थियो । राष्ट्रपति पदमा हारेको आवेशमा जे कुरा भनेको भए पनि त्यसपछिका दिनहरूमा भने माओवादीले सरकार गठनको आफ्नो अभिलाषलाई कहिलै लुकाएन । तैपनि नया बन्ने सरकारमा कांग्रेसको सहभागितालाई सकेसम्म पञ्छाएर बाँकि रहेका एमाले र फोरमको मोर्चा आफ्नो नेतृत्वमा बनाएर यो समीकरणलाई 'पवित्र' पार्ने कोशिशमा भने लागि रह्यो । यसरी पाक्दै गरेको खिचडीमा 'पवित्र'ताको 'घ्यू' थपेर स्वादिष्ट पार्ने काम भने हिजो प्रचण्ड प्रधानमन्त्री बनेपछि सम्पन्न भयो । कामरेड प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री निर्वाचित भएको घटना संगै, आधुनिक नेपालका राजनैतिक घटनाक्रमहरूले एउटा वृत्त पूरा गरेका छन् । डेढ दशक लामो हिंसात्मक संघर्ष वा बिद्रोहलाई परिचालन गरी परिवर्तनका नाराहरूका आधारमा राजनीतिमा फर्केको क्रान्तिकारी शक्तिलाई सत्ता राजनीतिको जिम्मेवारी सुम्पेर, मौका पाउँदा उसले के गर्दो रहेछ त भनेर हेर्ने अभिलाषा माओवादीका समर्थक र बिरोधी दुवैलाई रहेको थियो , तर पनि अबको राजनीतिलाई माओवादीले कत्तिको जिम्मेवारीपूर्ण तरिकाले सञ्चालन गर्नेछ भन्ने कुराहरूले नै यो सरकारको आयू तय गर्नेछ । माओवादीले सत्ता आरोहणको यो मौकालाई आफ्ना पार्टीगत राजनैतिक अभिष्ट र एजेण्डा पूरा गर्ने उद्देश्यले प्रयोग गर्न खोजेका खण्डमा माओवादी नेत्रत्वको यो सरकारले १०० दिन पुरा गर्न पनि नसक्ने अनि विकल्पमा अर्को नया समीकरण निर्माण भई सत्ता परिवर्तनका अस्थिर अध्यायहरू पुन: खोलिन सक्छन् । यो दूर्भाग्यपूर्ण नहोला भन्न सकिन्न ।

संविधानसभाको निर्वाचन सम्पन्न भएको ४ महिना पछिमात्र नया सरकार जन्मिन सक्नुमा कांग्रेस माओवादी वीचको खिचातनी ने जिम्मेवार भएको कुरमा बिमति हुन सक्दैन । यसो हुनुमा कसैले कांग्रेस र विशेषत: गिरिजा कोईरालाको सत्ता लिप्सालाई दोष दिएको देखिए पनि , यो मुख्य रुपमा माओवादीको छापामार चिन्तन, वाइसिएल व्यवहार र सैन्य दम्भमा आउन नसकेको परिवर्तनका कारण पनि थियो । सरकारको एउटा घटक दलका रूपमा माओवादी र विशेषत: उसका विविध नामधारी जनवर्गीय संगठनहरूको हरेक जोरजुलुमपूर्ण व्यवहार सहेपनि अरू दलहरूले उसले गर्ने भनिएको सत्ता नेतृत्वसंगै कथित जनयुद्दकालीन व्यवहारमा सुधारको अपेक्षा राख्नु अस्वाभाविक थिएन । त्यसो हुँदा हुँदै पनि माओवादीलाई ऊ संविदानसभामाको सबैभन्दा ठूलो दल हुँदा हुँदै फेरि पनि, सत्ता भन्दा बाहिर राखेर गैर-माओवादी समीकरण बनाउन यदाकदा प्रकट हुने कांग्रेसी चाहना अहिले सम्म उसकै नेतृत्वमा अघि बढिरहेको समग्र शान्ति प्रकृयाका लागि प्रत्युत्पादक हुन सक्थ्यो । यस्तो घडीमा , माओवादी नेतृत्वलाई सत्तामा पुर्‌याएर एमाले र फोरमले जिम्मेवारपूर्ण काम गरेका छन् भने आफ्ना असहमति साथ प्रतिपक्षमा बस्दै संविधान बनाउने जिम्मेवारी पूरा गर्न सक्यो भने कांग्रेसले पनि ठिकै गरेको छ । तर पनि , अबको यो नया परिस्थितिमा नेपाली सेनाको अराजनीतिक चरित्र भित्र माओवादीले कुन किसिमको धावा बोल्न खोज्नेछ भन्ने कुराले यो सरकारको आयू निर्दिष्ट गर्नेछ भन्ने कुरामा द्विविधा नरहँदा हुन्छ ।
माओवादीले नेपाली सेनामा आफ्ना छापामारहरूलाई समूहगत प्रवेश गराउने आफ्नो नितिलाई कार्यान्वयन गराउने अड्डि लियो भने अनि अरूपनि राजनैतिक एवं दलगत एजेण्डा सहित आफ्नो हात बलियो पार्ने योजना अनुरूप काम गर्न चाह्यो भने , यही कारणले यो नया समिकरण धरापमा पर्ने कुरा ठोकुवा गर्न सकिन्छ ।

तर पनि नय बनेको 'पवित्र' गठबन्धनले ' अरूलाई देख्यौँ पटकपटक, हामीलाई हेर्नुस् एकपटक' भन्ने माओवादी उद्घोषलाई साकार पारेको छ । यो घडी , एकतन्त्रात्मक कम्युनिष्ट राज्य निर्माणका लागि कोषे ढुङ्गा नभएर बहुलवादी समतामूलक समाज व्यवस्था निर्माणका लागि भैदियो भने कसैले चिन्ता लिनु पर्ने हुने छैन , हैन र माओवादीको युद्दकालीन हत्या हिंसा र असहिष्णुपूर्ण व्यवहारको सरकारीकरण गर्नलाई यो 'पवित्र'ताको लाहाछाप लाग्यो भने हामि अभागी नेपालीले सन् १९१७ को रसिया वा आजको उत्तर कोरियाको आधारशिला मुलुकका लागि राखेका हुनेछौँ । आशा छ २१ औँ शताव्दिको उत्तर-आधुनिक संसारमा , मानवताले फेरि पिंजडाको सुगा बन्नु पर्ने छैन ।

-एकलव्य



3 Comments:

Biplab said...

केही हप्ता अघि कांग्रेस, एमाले र फोरम मिलेर राष्ट्रपतिपदको निर्वाचनमा माओवादीलाई लोप्पा ख्वाएका थिए र यो तीन दलीय मेलमिलापलाई माओवादीले 'अपवित्र' गठबन्धनको संज्ञा दिएर सरकारको नेतृत्व गर्ने नैतिकता आँफूसंग नरहेको स्वीकारोक्ति प्रकट गरेको थियो ।
----This has just reminded Girija's joke, communist j bhanchan tyo gardainan, j garchan tyo bhandainan. Lol

ठरकी दादा said...

माओबादिको नीति त पक्कै पनि नेपाललाई उत्तर कोरीया बनाउने नै होला। तर माओबादिले चाहेर मात्रै हुने कुरा त्यो होईन ।

पवित्र वा अपवित्र जे भने पनि मलाई भने यो सत्ताको आयू धेरै छ जस्तो लाग्दैन ।

Panda said...

कांग्रेस, एमाले र फोरमको गठबन्धन “अपवित्र” थियो, त्यो गठबन्धनबाट अगादिको “अ” अर्थात कांग्रेस हट्यो अनि “अ” हटे पछि “पवित्र” भयो , प्रचण्ड कामरेडको सिम्पल लजिक !

सेना समायोजन सबै भन्दा संवेदनशील र जटिल पनि भएकोले र माओबादिले पनि यसलाई आफ्नो भावी रणनीतिक चाल संग जोड्ने भएकोले यस सन्दर्भमा उनीहरुको अडान वा नियत नै यो सरकारको आयुको मुख्य “खड्को” हुने कुरामा शंकै छैन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !