January 24, 2011

किताब - लघुकथा




त्यो किताब लेख्न सजिलो थिएन ।

किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले नया नेपाललार्इ संबोधन गर्नुका साथै वास्तविक परिवर्तनको आभाष दिलाउन सक्नु पर्थ्यो । प्रगतिशील राष्ट्रले अबलम्बन गर्नु पर्ने स्पष्ट दिशानिर्देश र उसले हिड्ने नया गोरेटोको खाका कोर्नु पर्थ्यो
अनि समतामुलक न्यायप्रणालीको हँसिलो अनुहार प्रतिबिम्बित गर्नुपर्थ्यो किताबले ।

त्यसैले किताब लेखिने उर्दी जारी भयो । सैयौंको संख्यामा देशभरिका बडे बडे लेखकहरु भर्ना भए । उनीहरुको मुख्य काम त्यो महत्वपुर्ण किताब लेख्नु थियो ।

सर्वविदितै कुरा हो, शान्त वातावरणविना, हल्ली खल्ली र भाडभैलोको अवस्थामा लेखनकार्य सम्भव हुदैन। दिन, महिना र बर्ष बित्दै गयो किताब लेखिएन । कुर्दा कुर्दा पाठकहरु निराश भए ।

एकदिन मैले यसो चियाएर हेरें, उनीहरु कापी कलम बोकेर घरबाट त निस्कदा रहेछन तर दिनभर चौरमा पारिलो घाम तापेर मस्त निदाउदा रहेछन, अनि कसरी लेखिन्थ्यो त त्यो किताब ?

बुझ्दै जादा थाहा पाएँ, त्यो किताबको नाम "संविधान" रहेछ ।



कृष्णपक्ष,इजरायल

3 Comments:

Shiva Prakash - शिव प्रकाश said...

चौरमा पारिलो घाम तापेर मस्त निदाउदा रहेछन् हैन बानेश्वर र सिंहदरबारमा बदाम खाएर सुत्दा रहेछन् । राम्रो छ कथा, छोटो ।
nepalimanharu.com

साहित्यसंसार (कृष्णपक्ष) said...

हो त गाँठी कुरो हजुरले ठ्याक्कै पत्ता लगाउनु भयो । मिठो प्रतिक्रियाको लागी धेरै धन्यवाद ।

Nepalean said...

चौरमा बसेर बदाम खाने यि नेताले संबिधानको सट्टा एउटा दोहोरी एल्बम निकाल भने बरु २ दिनमै निकाल्थे कि? २ बर्ष कटी सक्यो संबिधानको अत्तोपत्तो छैन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !