November 28, 2010

अस्तव्यस्त काठमाण्डु :

केही समय वा वर्ष बिदेश बसेर नेपाल फर्किएका हाम्रै नेपालीहरूले ‘फर्केर आउँदा नेपालको तस्वीर उदेक लाग्दो पाएँ ‘ भनेर बताउँदा मलाई त्यो मान्छेप्रति भाउन्न भएर रिस उठ्थ्यो । जिन्दगीको विडम्बना , आँफूलाई पनि परदेशी नै हुन केही विवशता र जीजीविषाका रहरहरूले वाध्य बनाए । एकाध वर्षमा स्वदेश फर्किनु पर्ने सन्दर्भ र परिस्थिति आउने नै भए , आखिर हाम्रा हाँगाबिँगा जता छरिएका भए पनि जरा त स्वदेशमा नै गाडिएका छन् । तर स्वदेश फर्किएर प्रथम गासको रूपमा आँफूले हासिल गर्ने अनुभवहरूले भने प्रतेक पटक दाँतमा ढुङ्गा लगाउने परिस्थिति बनाएका छन् , यसपालि पनि मैले खुशी हुनु पर्ने सन्दर्भ र घटना फेला पार्न सकिन । यसो भन्दा बाहिर बसेर स्वदेशको कन्तो खन्ने शठ-बुज्रुकमा म पनि दरिउँला तर पनि इमान्दारिता पूर्वक भन्ने हो भने मैले स्वदेशमा आशा र भरोसा कहीँ कतै फेला पारिन । मुलुक दश वर्ष उताको भन्दा हरेक क्षेत्रमा मूल्यवत्ता , संस्कार, परिष्कार र आशा-अपेक्षा का पक्षमा जतासुकै खस्केको हो कि भन्ने निराशाववादिताले मलाई यस पटक पनि निर्लिप्त गाँजेको छ ।
काठमान्डू , देशको मुटु र मष्तिष्क दुवै हो , जब यो अस्वस्थ हुन्छ मुलुक दुर्घटनामा पर्छ । अहिले काठमाण्डु जनसंख्याको चाप , भीड र तत्जन्य समस्यामा डुबेको छ । धुँवा, धूलो , यातायातका साधनहरूको अथाह चाप, साँघूरा र नियमबिहीन सडक, सडक पेटीमा जीविकाकाका लागि खोलिएका नाङ्ले र कुम्ले पसल र हजारौँ अराजकताको समष्टि बोकेर पनि निकै व्यस्त, सुस्त र आँफैमा
रमेको पशुपति क्षेत्रको एउटा गँजडी साधु जस्तो देखिन्छ हाम्रो राजधानी शहर अहिले । शरदबाट हिउँद तर्फ प्रवेश गर्दा बिहानी जाडो , हुस्सुको शुरुवाती परिचय, धुलाम्मे परिवेश अनि मान्छेहरूको सर्वत्र कोलाहल बीच यो कुनै मुलुकको राजधानी नभएर एउटा मध्ययुगको भग्नावशेष किल्ला हो कि जस्तो प्रतीत हुन्छ । काठमाण्डु उपत्यकाका तीनवटा पुराना शहरहरूको आधुनिक आवादी वा जनसंख्याको कुनै आधिकारिक आँकडा कतै छैन तर वर्षेनी बनिरहेका घर, अपार्टमेण्ट र आवासगृहको संख्या नै दशौँ हजारमा छ यहाँ । आधिकारिक आँकडा नभए पनि ५ लाख जनसंख्याका लागि बनाइएको उपत्यकाको सीमित पूर्वाधारले अहिले आफ्नो क्षमताभन्दा १० गूणा बढी लगभग ५० लाखलाई थामेर घिस्रेको छ भनिन्छ । यातायातका साधनको कुरा गरी साध्य छैन तर यो यातायाताका साधनहरूको भीडमा माइक्रोबस नामको एउटा साधनलाई भने सबै अग्राधिकारहरू हासिल छन् जस्तो देखिन्छ , मानौँ संघीय राजधानी काठमाण्डुको रैथाने जात यही ‘माइक्रो बस’ नै हो । काठमाण्डुमा मात्र लगभग ८ लाख मोटरसाइकल गुड्छन् रे । हुन पनि किन नहोस् राजधानीको भीड छिचोलेर हिँड्ने कुनै चलायमान जीव वा निर्जीव छ भने त्यो यही हो । यही साधनले स्कूल, कलेज र महा वा विश्वविद्यालयका शिक्षकदेखि धेरै जागिरेको जागिरको भरोसा र जीवन बोकेर सडकमा गुडेको छ ।

काठमाण्डूमा पूर्वाधार निर्माणको कुनै योजना र लक्ष्य त केही देखिएनन् , यसको प्रमाण स्वरूप बिगत २० वर्ष देखि लमत्तन सुतिरहेको मेलम्ची परियोजनाको गाथा र कथा हाम्रा अगाडि छँदैछ । एउटा आधुनिक शहरको कुरा त छोडौँ , सामान्य आवश्यकताका सुविधाहरूको व्यवस्थाका कार्यक्रमहरु कतै पाइपलइनमा पनि छैनन् । तर पनि केही ठूलाठुला मल , महल र अग्ला अग्ला आवासग्रृहहरूको निर्माण भैरहेको देखिन्छ , कतिपय चलिसकेका पनि छन् । यो ब्रगेल्ति छरिएको अव्यवस्था र योजना बिहीनताका बीच यस्ता निर्माण र सुविधाहरू अनि यहाँ भीड बन्न पुग्ने मध्यम वर्गदेखि अति धनाढ्यसम्मका सुविधाग्राहीहरूले भने काठमाण्डुको जीवन भित्रको अर्को वर्गको पनि प्रतिनिधित्व गर्दो रहेछन् कि जस्तो अनुभव भयो । फाइभ स्टार होटलको रेष्टुरेण्टदेखि , मेगामल र क्यासिनोहरूमा समेत अहिले ९० प्रतिशत भन्दा बढी नेपाली नै ग्राहक रहने तथ्य सुन्न पाउँदा नेपाल गरीब मुलक भए पनि यहाँका जनता त धनी हुन कि भन्ने भ्रम पर्न सक्छ । यस्तो खालको टिप्पणी मैले एकजना बिदेशी मित्रको मुखबाट नै सुनेको पनि हुँ र म आँफै यो कुरा सही पो हो कि भन्ने भ्रममा पुगेको छु । तर वास्तविकता अवश्य त्यस्तो हैन ।

पूर्वधार सुविधा शून्य भए पनि , काठमाण्डुमा घडेरी र घरको जोहो गर्नु अबका दिनमा चानचुने औकातले भ्याउने कुरा रहेन । घर र घडेरीको विषयमा कुरा गर्दा शुरुवाती युनिट १ रहेछ । १ भनेको १ करोड ! पिउने पानी र , बिजुली र अन्य जीवनका आधारभूत सुविधाबाट बञ्चित नै हुनु परे पनि , काठमाण्डुवासी हुनुको स्टाटस अब धेरै माथि पुगेको छ । हुनत मुलुकका अरू शहरहरूको स्टाटस पनि कम छैन रे ! हर्दम मुखमा मास्क लगाएर , ८ सिटे माइक्रोबसमा ३० जना कोचिएर सास्तीले यात्रा गर्दा पनि काठमाण्डुले कसैलाई पराइ भनेर हुत्याएको छैन-विशालहृदयी छ पशुपतिनाथको काठमाण्डु । महंगीले आकाश ‍भन्दा पनि माथि अरू छुने कुरा भए छुन खोज्दैछ , तर नेपालीहरूलाई यी कुरा किन मुद्दा बनेका छैनन् देख्दा अचम्म लाग्छ । राजनीतिका स-साना मुद्दामा पार्टी पार्टी बनेर तथानामको तमाशा गर्न पछि नपर्ने हाम्रो जीवन र प्रयास , जनजीविकाका मुद्दामा कतै देखा पर्दैन । राजनीतिको तमाशे जात्रा त चलेकै छ , तर सरकारी कार्यालय र अड्डामा पुग्दा १५ वर्षे क्रान्तिको कुनै असर र प्रभाव कतै सुधारका लागि पसेको देखिन्न , बरू कर्मचारीको मनोवृत्ति र विकृति संस्थागत बनेको देखिन्छ राजनितिक संरक्षणको आशीर्वादमा । बलिया दलहरूको फेरो समातेर गर्न नपाइने कुनै कुरो छैन । हरेक काम जायज छ समूहमा गरेपछि , नजायज भन्नेहरू प्रतिगामी, यथास्थितिवादी वा क्रान्ति विरोधी हुनसक्छन् । उता परम्परा र सभ्यताको धुनी जगाउनेहरूको बिलखबन्दी र अकर्मण्यताको बयान पनि छैन। सबै दल , वर्ग , युनियन र विचारका कर्मचारी संगठित बनेर आ-आफ्ना व्यक्तिगत र पार्टीगत झोली बोकेर सम्पूर्ण विकृतिलाई संस्थागत रूप दिन दिलोज्यानले खटिएका दखिन्छन् । धन र लाभका लागि हाम्रो ‘कलेक्टीभ कन्ससनेस’ फोकस्ड भएको देखिन्छ । चियापसल, सरकारी अफिस र कलेजहरूमा पुग्दा हाम्रो मुलुकका मूर्धन्य व्यक्तित्वहरू तीनवटा कुरामा केन्द्रित देखिन्थे – घरघडेरी , पार्टी-भोज ( सुरा-सुन्दरी सहित) , र राजनीति ( दल, कर्मचारी युनियन र अरू तिक्डम् ) । मानौँ , हाम्रा चिन्तनका विषयहरू अरू केही बाँकि रहेनन् ।

म क्षमा चाहन्छु ती चिन्तनशिल सकारात्मक सोच र कर्मठ उत्कण्ठाले ओतप्रोत सीमित काठमाण्डुवासीहरू संग जसले संस्कार , सम्भावना र सभ्यताको सानो बत्तिलाई निभ्न नदिएर जोगाइरहनु भएको पनि होला , यदि मैले काठमाण्डुको अलिक बढी बदख्वाईँ गरेको छु भने । तर मेरो मानसमा अनि समय दैन्दिनीका पछिल्ला पानाहरूमा काठमाण्डुले सँधै निराशा मात्र थप्दै गएको छ ।

6 Comments:

SandipN said...

Well I see an equal fault of all. Hope the condition changes.

Zero Hour (शुन्य समय) said...

कृष्णजीले लेख्नुभएको कुरा मैले आफ्नै हातबाट कुनै बेला कोर्न चाहेको थिएं । यो जटिल वास्तविकता विदेश देखेका र नेपालमै जिन्दगी उत्सर्ग गर्नेहरुले मनन गरेमा सायद उचित हुन्थ्यो होला। हामी विदेशबाट "देशभेट" गर्न जानेहरुले मात्र महसुस गर्दैमा यसमा मुनै तात्विक अन्तर नपर्दो रहेछ । तपाइले भने जस्तै "१ युनिट" पनि जुटाउने हैसियत नभएका म जस्ता प्राणीलाई फगत विदेशको स्वाद चाखेर "मात" लागेको भन्ने आरोप सुन्नु भन्दा चुपचाप निर्जन बनेर बस्दा उचीत होला कि भन्ने मनोभावले नै जित्छ । पहिले ८ क्लास पास गरेकाहरु "दक्षीणतिरको लाहुर" जान्थे अहिले १२ क्लास भन्दा माथिकाहरु अलि टाढैको लाहुर जान्छन । अनि देशमा कहिले रौंको, कहिले क्षेत्रको, कहिले नाकको, कहिले कालाको, कहिले सेताको, कहिले हर्केको, कहिले लखनियाको विगविगी छ त कहिले खुट्टा गर्धन र ढाड भाच्नेहरुको विगविगी छ । यि कुराहरु कसैले कसैको अधिकार सुनिश्चित गर्न र मुलुक सुदृढ पार्न भन्दा पनि देशबाट बचे खुचेको दिमाग र सक्षम जनशक्ति पलायन गराउने "लङ टर्म" सुनियोजित प्रपंच हो । चमत्कारी बाबा देखि विदेशी प्रभु सबैको षडयन्त्रको मार खेप्दै आएको देशमा पचेको राजनीतिक प्रणाली, अवव्यस्था, लुटपाट, भुमाफिया र हुनेखाने अवसरवादीहरु समेतको रतिक्रिडाको मार पनि देशले नै सहनु परेपछि पशुपतिनाथले पनि देशको कल्याण गर्न सक्दारहेनछन ।

पीजी (जिरो आवर)

PD said...

kathmandu is also called tukuchamandu which is a capital city of nepal. it smells and stinks. dirt and dust is very common in kathmandu. you can find them easily everywhere, every corner. but people like this place. so more people keep on coming and adding up the population.

Nepalean said...

कृष्ण केही समय हरानउनु भएको त नेपाल गाउं तिर लागेर पो रहेछ। म पनि केही महिना पहिले काठमान्डौ पूगेको थिए। बिकास थप्प,मानिस झन झन थपिनूको कारण बाटो,पानीको समस्या झन कष्टकर बनेको रहेछ। केही पहिले एक जना मित्रले भनेका थिए,काठमाण्डौको बाटोमा भएका सबै गाडी लाइन लागउने भने २ राउण्ड लगाउंदा पनि पूग्दैन रे। हो कि जस्तो लाग्यो। एक किलो मिटर छिचोल्न नै हम्मे हम्मे पर्ने रहेछ। मैले फरक पाएको अर्को कूरो भने महंगी हो। महंगीले भने आकासै छोएको रहेछ।

जिरोजी तपाई केही समय हराउनू भयो,तपाई पनि नेपालै तिर लाग्नु भएको थियो कि क्या हो? टि‍ टाईम ल्याउनु गर्दहोला है। अनि दौंतरीमा च्या खाएर जोक पढ्नुपर्छ।

deepak said...

this is a real situation of kathmandu. it is too much populated. maybe 5 or 6 times than the capacity. i think if there was de-centralization, it wont be like that. but everything is in kathmandu. so people from all over the country are forced to come there. that makes the life kathmandu people miserable. in addition to that all kind of illegal things are flourishing in kathmandu.it is an easy way to make money and law is very weak. no wonder crooks are taking advantage.

Luna said...

बेस्मरी मन रुन्छा काठमाण्डौको बिजोग देख्दा ----

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !