October 31, 2010

यूएईमा देउसी भैलो साँस्कृतिक कार्यक्रम



गत शुक्रवार अक्टोवर १९ २०१० का दिन वर दुवईको एभरेष्ट होटल नेपाली दर्शकहरुले खचाखच भरिएको थियो । उक्त अवसर दुवई नेपाल जनकल्याण राहत प्रतिष्ठानले जुराई दिएको थियो ।दशै लगत्तै तिहारको आगमनसँगै आयोजना गरिएको विविध साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुले दर्शकहरुलाई भरिपूर्ण मनोरञ्जन दिलाए ।बरु सुनकोशीले सुसेलेको दुधकोशीले सुन्छ यो मनले सुसेलेको कस्लेपो सुन्छ, कविता राईको नृत्यको भाकाले यहि भन्दै थियो । रुप खोज्ने आँखाहरु धेरै धेरै आउछन्, मन खोज्ने मायाँलुलाई कहाँ  भेटिएला, हितैको मायाँलाई कहिले भेटौला, उनले प्रवासमा मायाँलुलाई खोज्दै थिइन् यहि गीतको भाकाको नृत्यमा, उनको उत्कृष्ट नृत्यले दर्शकहरुलाई भरिपूर्ण मनोरञ्जन दिएको थियो । दर्शकहरुको आग्रहमा दोश्रो पटक पनि नृत्य गर्न बाध्य भएकी थिइन् ।आँखैमा सपना छ मुटुभरि चाहना ओठमा नौलो तिर्सना भन्छे चोरी चोरी गीतको बोलमा प्रीया लामाको नृत्यले दर्शकलाई

 जुरुकजुरुक पारेको थियो । राजन लिम्बु, पदम राई, पुजा लामा तथा आशिष राईको नृत्यले दर्शकलाई तताएको थियो ।किरण भट्टराईको भर्खरै बजारमा आएको आफ्नै गीत संग्रहको चर्चित गीत तिमी गयौ, खुशी गयौ, आशुँ गएनछ, सानु तिमीलाई पाउनु मेरो भाग्य रहेनछ । उनी आफैले गाँउदा दर्शकहरु भावविहाल देखिन्थे भने स्थानिय कलाकारहरु, देवराना मगर, सुजन रसाईली, सुनिल पोख्रेल, जीवन संगीत, नन्दुराई, दिप सुब्बा आदिले विभिन्न आधुनिक गीत तथा पप गीतहरु गाउँदा दर्शकहरुको तालीले हल गुञ्जिएको थियो ।दुई चरणमा विभाजन गरिएको उक्त कार्यक्रम पहिलो चरणको कार्यक्रम साहित्यमय तथा दोश्रो चरणको कार्यक्रम विशुद्ध मनोरञ्जनात्मक भएको थियो । द कैलाश राईको छेकिदिन्छु आँखाहरु गजलसंग्रह कृतिको प्रमुख अतिथि तथा अन्य अतिथिहरुले विमोचन गरेका थिए । कृतिको बारेमा साहित्यकार उमेश राई घायलले भूमिका बाँधेका थिए भने अनेसास यूएईका अध्यक्ष समदर्शि काईला तथा साहित्यकार लोकेन्द्र बण्जडाले कृतिकारलाई शुभकामना दिएका थिए । उक्त अवसरमा राहत प्रतिष्ठानले प्रवासमा लामो समयदेखि पत्रकारिता तथा साहित्यमा योगदान पुर्‍याएवापत खेमनाथ पौडेल तथा कला संस्कृति क्षेत्रमा प्रवासमा लामो समय योगदान पुर्‍याएवापत मिना वाईबालाई दोसल्ला तथा सम्मान पत्रले सम्मानित गरिएको थियो ।नेपाली समाजका अध्यक्ष यमप्रसाद तमूको प्रमुख आतिथ्य तथा संस्थाका संरक्षक तथा सभाजसेवी कृष्ण ढकालको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका का.वा अध्यक्ष टेक थजाली मगरले गरेका थिए । विविध प्रतिभाका धनी, साहित्यकार धनकुटे कान्छा तथा पत्रकार उमाकान्त गाउँलेले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको बिच बिचमा धनकुटेका विभिन्न किसिमका चराका आवाज तथा विभिन्न कलाले दर्शकहरुलाई भरिपूर्ण मनोरञ्जन दिएको थियो । कार्यक्रम प्रमुख अतिथि तथा विशेष अतिथिले पानसमा बत्तिबाली उदघाटन गरिएको थियो ।कार्यक्रमको अन्त्यमा देउसी भैलो गीतमा दर्शकहरु स्टेजमा नै गई नाचेका थिए । करिव ४ घण्टासम्म सञ्चालन भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, साहितयकार, पत्रकार तथा प्रवासमा छरिएर रहेका प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो ।खेमनाथ पौडेल/यूएई


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !