October 25, 2009

आज बांदरको कुरा गरौं


मान्छे चकचक गरे कस्तो बांदर जस्तो रैछ भन्नेगर्छौं। बांदरको करामत सर्बसाधरणले त रमाइलो मानेर हेर्छन नै, पत्रकारले पनि भेटे भने क्यामरा सोजाइहाल्छन। अनि पुग्छ बांदरको करामत राष्ट्रिय पत्रिकामा। हिजो मात्रै यो छेउको फोटो दैनिकी पत्रिकामा आएको थियो। मान्छे मात्रै कोक कती खाने, समाबेशी नेपालमा बांदरले पनि त मौका पाउनु पर्यो नि। आखिर यि बांदर जाती पनि मानिसकै नजिकका पुस्ता पर्छन क्यार। त्यसैले होला यो बांदरले पनि लोकतन्त्रको उपभोग गरेको।

मेरो गाउंमा प्रसस्तै बांदर पाइने हुंदा बांदरको कार्यतालिकसित म निकै परिचित छु। हरेक दिनमा बांदरसंग कतै न कतै जम्काभेट भइरहन्थ्यो। कहिले कांहि त बाटोमा होइन घरमै आउंथे। घरमा भेटघाट गर्न त के हुन्थ्यो र उही कांक्रा,घिरौंला के के छन तिनै खान आउथे। कांक्रो ठुलो भएपछि खाउंला भन्दै हेर्दै बस्यो मान्छे नभएको बेला पारेर बांदरले लगिसक्थे। कांक्रो मात्रै खाए पनि हुन्थ्यो नि कांक्राको झ्यालनै चुडालेर जान्थे। एक पटक हाम्रोमा मादले कांक्रो रोपेका थियौं। हुन पनि मादले कांक्रो पाक्ने बेलासम्म मादल जत्रै ठुलो हुन्छ। दशैंलाइ भनेर राखेको मादले कांक्रोमा बांदरको आंखा लागेछ। बोट बाट त झार्यो उसलाइ बोक्न गार्हो भएछ। यसो कान्लो मुनी हेरको त बांदरले ठेला ठेले जस्तै गरी त्यो कांक्रो ठेलेर जंगल तिर लांदै पो रहेछ।

यस्ता बांदरका कथा हजारौं त नभनौं २,४ सयवटा भन्ने पक्कैछन। कहिले कांही काममा दिक्क लाग्दा सहपाठीहरुलाइ यिनै बांदरका कथा भनेर रमाइलो गर्छु। जनावरको नाममा कुकुर र बिरालासित मात्रै परिचित अमिरीकीहरु बांदरको कथा निकै रमाइलो मानी मानी सुन्थे। नेपाल जांदा भिडियो खिचेर ले है भनेका थिए। पोहोर साल नेपाल जांदा क्यामरा बोकेर जंगल जंगल घुमे मरी गए भेटिएनन बांदर। चाहिने बेलामा त कांहा आउछन र यि बांदर पनि। सायद हिउंद लागेर होला खानाको खोजमा अन्तै लागेछन। हिउंद भने बांदरको लागी निकै कष्टपूर्ण हुन्छ। जाडोले होइन, खानाले। कपडा सपडा नलाउने बांदरलाइ जाडोको त कुरै भएन तर हिउंदमा खेती नगरिने हुंदा बांदरको आयस्रोत न्युन नै हुन्छ। केही बाठा बांदर भने मान्छेको घरमै छिर्छन। यिनीहरुको मुख्य निशाना भनेको मकै नै हो। धान मकै राखिने ठाउं अध्यारो हुंदा केही बांदर भने घर भित्र नै आफ्नो बास बनाउंछन। हाम्रो घरमा एक पटक एउटा बांदरले हप्तै बिताएको थियो।

झट्ट हेर्दा बांदर मान्छे जस्ता मात्र हुंदैनन सोच्ने क्षमता पनि करिब करिब मान्छे जत्तीकै हुन्छ। आइमाई केटा केटीलाइ भने पटक्कै टेर्दैनन। बुढा बुढीलाइ त के टेर्नु? चाइनिज ठुलो छाता पछाडी भिरेर एक पटक नाताले हजुरबा पर्ने बजार जांदै रहेछन। बाटोमा बांदरहरुसंग भेट भएछ। बन्दुक भने पछि बांदरको सातो जान्छ। उनले पनि बन्दुक जस्तै गरि छाता बांदरतिर तेर्ससाएछन। बन्दुक ठानेर बांदर भाग्लान भनेको तिनीहरु के को लाटा हुनु नी उल्टै जाइलागेछन। कता कता बाट स्कुले केटा केटी आइपुगेछन र ति हजुरबाको उद्दार गरेछन। त्यो दिन त टर्यो तर त्यो बर्षैभरी ति हजुरबालाइ देख्यो की बांदरहरु जाइलागिहाल्दा रहेछन। बांदरहरु करिब किरब हरेक गाउंलाइ हेक्का राख्दारहेछन।

बांदरको मेलमिलाप पनि गज्जबकै हुन्छ। एउटालाइ अप्ठ्यारो पर्यो कि अरु बांदरहरु साथ दिन आइहाल्छन। बगालको कुनै बांदर अप्ठ्यारोमा पर्यो भने जोडले कराउंछ त्यसपछी समस्याको प्रकार हेरेर बांदरहरु त्यो समस्या समाधान गर्नतिर लाग्छन। तर जब कुनै बांदरले बदमासी गर्छ त्यस पछी भने त्यसले बगालबाटै सजाय पाउंछ। बांदरले बगालबाट सजाएं पाउने भनेको एउटै कारण हो , त्यो हो अल्पबायु छोड्नु। जब बांदरले अल्पबायु छोड्छ त्यसपछी भने सबै बांदर त्यसै माथी खनिन्छ। खनिनु पनि जयाज नै हो तपाइ पनि त्यो बेला वरीपरी हुनुभयो भने बांदरको अल्पबायु कती घातक हुन्छ थाहापाउनुहुनेछ।

बांदरका कथा जम्मा गर्ने हो भने सानो तिनो उपन्यास नै तयार हुन्छ। फेरी समय मिले बांदरको कथा बाडौंला अहिलेलाइ भने बिट मारौं।


7 Comments:

Basanta said...

साह्रै रमाईलो लाग्यो! अरु पनि जाओस्!

HAWA said...

तेही भएर अरुलाई हेप्ने र लुट्ने प्रब्बितीलाई बाँदरे प्रब्बिती भनिएको होला.. बाँदर सँग निकै संगत रहेछ.. तपाईंलाई थाहै होला... जङल का बाँदर भन्दा शहरिया बाँदरहरु धेरै धुर्त र अटेरी हुन्छन

Dilip Acharya said...

मैले पनि भर्खरै बाँदरकै बारेमा लेखेको थीएँ । यता पनि बाँदरकै चर्चा भएको रहेछ ।

तर तपाईको पोष्टमा बयान गरिएको बाँदरलाई तपाईले जत्ती खराव दर्शाए पनि मेरा बाँदरका अगाडि भने यीनिहरु साधु ठहर्ने रहेछन ।

जे होस पोष्ट भने रमाईलो लाग्यो ।

Umesh Gajurel said...

हैन अहीले सबै साथिहरू बाँदरको किन पछी पर्नु भएको ??? खै एउटा पोष्ट बाँदरको बारेमा लेखुम भनेको कोहीपनि भेटीएन...............

Ashesh said...

रमाईलो लाग्यो । कसैमाथि व्यङग्य पो हो कि भन्ने लागेको थियो सुरूमा तर कुरा पुर्ण निश्पक्ष रहेछ । झनै खुसी लाग्यो । वास्तवमा पशुपति, स्वयम्भू तिर बादरसँग बाक्लै भेटघाट भएपनि आनीबानीको बारेमा भने मलाई साह्रै थाहा थिएन । अब त म पनि अरूलाई बाँदरका कथा सुनाउँने भएँ!!!

नेपालियन said...

तपाइहरुले भने जस्तै यसपटक भने बांदर सप्ताह नै भएछ कि क्या हो।

दिलीपजी को कथामा छोरो भन्दा असल बांदर थियो। तर हाम्रा गाममा पाइने बांदरलाइ भने धपाउन छोरो नै पठाउनु पर्छ। छोरी पठायो भने त कांहा टेर्नै? रुखको हांगामा यताबाट उता, उता बाट यता गरेर नै झुक्काउंछन। अहिले त नेपालमा समानताको कुरो उठेको छ,यी बांदरको दिमागमा पनि केही घुस्योहोला कि? नत्र भने यिनीहरुलाइ पनि बांदर अदालतमा ठडाउनु पर्छ।

बांदरका कथा मात्र होइन ब्यथा पनि उतिक्कै छन, सबै बिस्तारै बाड्दै जाउंला।

Anonymous said...

It sounds really funny! कहिले कांहि त बाटोमा होइन घरमै आउंथे। घरमा भेटघाट गर्न त के हुन्थ्यो र उही कांक्रा,घिरौंला के के छन तिनै खान आउथे।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !