August 4, 2009

खाँचो छ आन्दोलनको तर 'जन्तु' हैन जनताको ।

सबै कुरा समाधान हुन्थ्यो यदि नेपालका राजनैतिक दलहरूले मेरो गोरूको बाह्रै टक्का नभन्ने हो भने । तर भएन वा हुन सकेन , हाम्रो नियति यस्तै बनाए राजनीतिका तिकडम खेलमा माहिर खेलाडीहरूले ।

राजनैतिक दलहरूले सहमति गरेकै हुन यस अघि पनि । त्यसैले अब नहुनु वा हुन नसक्न पर्ने केही कुरा थिएन। सहमति गरेर मुलुक हितमा काम गर्ने हो र राजनैतिक दुराग्रह नपाल्ने हो भने मिलन विन्दू नभेटिने कुरा छँदै छैन । केवल मुख्य राजनैतिक दलहरूको एकार्काप्रतिको अविश्वासले गर्दा, देशको समग्र शान्ति र विकासको भविष्य दलदलमा फसेको मात्र हो । हाम्रो जीवन चौपट बनेको मात्र हो ।

मुख्य मुद्दा हो माओवादी र गैरमाओवादी बीचको विश्वासको संकट । यही विश्वासको संकटमा मुलुकको वर्तमान र भविष्य दुवै कैद परेर थुनिएका छन् ।

माओवादीहरू सोच्छन् अरू राजनैतिक दलहरू अकर्मण्य छन् र नया नेपालको सोचबाट नदारद छन् । माओवादीहरूले गर्दा गणतन्त्र र संविधानसभा सम्भव भएको हो र त्यसैले गर्दा माओवादी विजेता हो । निर्वाचनमा ठूलो दल पनि बनेपछि त जनअनुमोदित भैसकेको हुनाले उसको विचार र राजनैतिक सोचले अग्राधिकार पाउनुपर्छ र अरू सबै उसको पछिपछि चल्नु पर्छ । अर्कोतिर उसले , कम्युनिष्ट सोचमा आधारित जनगणतन्त्रको राग अलापिरहन्छ र एउटा कम्युनिष्ट दल नियन्त्रित लोकतन्त्रको खाका प्रस्तुत गर्दै भनिरहन्छ ‘यही बाटोबाट जनताको अधिकारको रक्षा र मुलुकमा चमत्कार सम्भव हुनेछ’ । आफ्नो छापामार र अर्धमिलिसिया दस्तालाई अगाडि सार्दै बेलाबखत उसले जोरजुलुम र गैर लोकतान्त्रिक हर्कत गरिरहन्छ त्यसै कुरालाई लिएर अरूमा डर छ ‘माओवादीहरूको काम बलजफत सत्ता कब्जा गर्ने र यही जोडबलका नाममा आफ्नो पार्टीको शासन कायम गरी त्यसैलाई लोकतन्त्रको जामाले सजाइदिनु हो’ । माओवादी भन्छ, हामी यहाँसम्म आयौँ हामीलाई विश्वास गरेर नया नेपालको हाम्रो सोचमा सबै एकाकार भईदिऊन । तर लोकतन्त्र नै सबैको लक्ष्य हो भने आँफूले गरेको कामको पुरस्कार स्वरूप निश्चित कुराको अग्राधिकारवाला ह्याकुले मिचाइँ प्रवृत्ति छाड्नै पर्छ तर छाड्ने संकेत पनि कसैले देखाएको छैन । यस्तोमा जुध्न खोज्न गोरूले सिँगौरी खेलेर आफ्नो तुजुक देखाउन छाडेको छैन नै ।

अरू सोच्छन: माओवादी केवल उसका छापामार र अर्ध मिलिसियाका कारण मात्र ठूलो दल हुन सकेको हो। पुरानो कम्युनिष्ट सोच र व्यवहार बोकेर बल र हिंसाका भरमा यहाँसम्म आइपुगेको माओवादी शक्ति बाहिर लोकतान्त्रिक र भित्री रूपमा एकदलिय अधिनायकवादी लक्ष्यमा छ । ऊ आँफै बाहेक कुनै राजनैतिक सोच र दलप्रतिका व्यवहारमा इमान्दार छैन र भोलि मेसो मिल्ने बित्तिकै आफ्नो एकदलियता लाद्न चाहन्छ । सबैतिर कब्जा जमाएर उसले सेना र अदालतमाथि आँखा गाडेको छ र उसको त्यो लक्ष्य पूरा हुनासाथ माओवादीको असल नियत बाहिर आउने छ तर त्यति बेलासम्म धेरै ढिलो भैसकेको हुनेछ । माओवादीले पस्केको प्रस्तावित नेपालको शासकीय स्वरूपको खाकाले पनि कतिपय यस्ता तर्क गर्नेहरूका मान्यतामा सहमति देखाएकै छन् ।

अविश्वास रुपी यो खडेरीमा , विश्वास रूपी सुमधुर वर्षाको कुनै आभाष कतै देखिएको छैन । अत: हाम्रो निकट भविष्यमा आशाका पालुवा र विश्वासका कोपिला लाग्ने सम्भावना कतै छैन । नेपाललाई भकुण्डो बनाउँदै केवल बिरोधी कोर्टमा खेल्दै निर्वाध आँफै गोल गरिरहन पाउनु पर्ने अनौठो फुटबल खेल खेलेर स्वस्थ प्रतिस्पर्धाको आनन्द लिन चाहन्छन् नेपाली दलहरू र जनताले ताली पिटेर यो खेलको भरपूर आनन्द लिऊन भन्ने आकांक्षा राख्छन् हाम्रा माओवादी, कांग्रेस र एमाले आदि खेलाडीहरू । यही खेल उनीहरूको परिभाषा भित्रको लोकतन्त्र हो, नागरिक मुक्ति वा सर्वोच्ता हो !

दलहरू आ-आफ्नो सर्वोच्चता खोजिरहँदा , जनताको शान्ति अनि विकासको अभिलाषामा जहिले पनि वज्रपात परेको छ । आज मुलुक छियाछिया परेको घाऊ र मुलुकमा व्याप्त बनेको अराजकता र अनुशासनबिहीनताको बयान गरी साध्य छैन । संसार कहाँ पुगिसक्यो , हामी गास, वास, कपासको रटमा राजनीति गर्नबाट २१ औँ शताब्दिमा पनि मुक्त हुन सकेनौँ । १८ औँ शताब्दिको महामारी हैजा , हाम्रो परिचय बनेर अहिले पनि राप्ति र सेतीमा रोएको देखियो । राजनैति एजेण्डाका ठूला ठूला कुरा गर्नेले मुलुकको हैजा र भोकमरीले ल्याएको अन्तराष्ट्रिय बेइज्जतीलाई मनन गर्ने पो कहिले र कसरी ? सँधैको आन्दोलन र क्रान्तिलको खेतिमा सामेल हामी, आँफैले आँफैलाई महान अनि क्रान्तिकारीको संज्ञा दिन आतुर हामीले बाँकि संसारले हामीलाई सदैव कलह र कोलाहलमा रमाउन मन पराउने झगडालु मुलुक र मुलुकवासीका नामले चिन्दा यसमा चिन्ता लिने पो को ?

के राजनीतिको साँघूरो घेरा भन्दा माथि उठेर , मुलुक कै लागि सोच्न पर्ने बेला भएन र अब? अब, कुनै राजनीतिक रंगमा नरंगिएका विशुद्ध जनता ऊठेर , मुलुकलाई आफ्नो पकडमा लिएर राजनैतिक दल रूपी छद्म दलालहरूको चंगूलबाट मुक्त पर्ने बेला पो आएको हो कि ! हामीलाई राजनीतिले विभाजित गर्‍यो र सँधै लडायो तर पनि हामीले सँधै धोका खाइरह्यौँ । अब , यो राजनीतिको आवरणमा ओढिएर मुलुकको दलाली गर्दै आफ्ना दलका खातेपिते आशेपासेहरूका लागि मुलुकलाई नै भोज र भोजनको वस्तु बनाउन खोज्नेहरू बाट देशलाई मुक्त बनाउनै पर्ने अवस्था आइसकेको छ ।

माओवादी, कांग्रेस वा एमाले रूपी रंगीन झोलयुक्त बाल्टिनमा नचोबलिएका विशुद्ध जनताको आन्दोलन अब अनिवार्य बनिसक्यो । यदि साँच्चै मुलुकलाई गति दिने हो भने अबको आन्दोलन राजनीति मुक्त आन्दोलन हनुपर्छ जहाँ जनता केवल जनता होऊन र आन्दोलन पछिको सत्ता फ्रेञ्च क्रान्तिले ल्याएको जस्तो जनताको हुन सकोस् , वोल्शविक वा अरू जस्तो हैन जहाँ जनताको आन्दोलन गर्ने नाममा पार्टीले यसलाई अपहरण गर्न नसकोस् । राजनीतिमा सँधै असहमति मात्र रहने हो भने राजनीतिमुक्त सहमतिको अनिवार्यता अबको आवश्यकता बनिसक्यो । कुनै नेता र दलको हैन । अनि मात्र नेपालको साँचो मुक्ति सम्भव हुनेछ। यो नेतृत्व नागरिक समाज नामका नेताको पनि हैन , केवल जनताको हुनसकोस् – माओवादी, कांग्रेसी वा एमाले आदि जस्तै दलहरूको डोरीले बाँधिएका 'जन्तु'हरूको हैन विशुद्ध जनताको!


6 Comments:

ठरकि दादा said...

यो आलेखको पूर्ण पाठमा मेरो १००% समर्थन ।

Biplab said...

यो आलेखको पूर्ण पाठमा मेरो १००% समर्थन ।
Existing situation will do nothing but trash our country.
So I also agree 100% with this post.

नेपालियन said...

मलाइ लाग्छ नेपालको बर्तमान समस्या भनेको कमजोर कानुन हो। त्यांहा जे गरे पनि छुट छ।

सानों उदाहरण नै लिउं ने, गत साता मात्रै पत्रकार सम्मेलनमा एकजना हाकीम कुटीए। वाइसिएलको अफिस हटाउने तै हैनस भन्दै मुक्का बर्साइ रहेका थिए। यो सबै राष्ट्रिय टेलिभिजनमा प्रसारण भैराखेको थियो। अब तिनीहरुलाइ के कारबाही होला? केही पनि हुंदैन। किनकी अपराधी थाहा पाएरै पनि सहितरिकाले कारबाही हुंदैन। यदा कदा होला तर प्रया कि प्रहरीले नै चासो राख्दैनन या मिलेमतोमा छोड्छन या माथीको आदेशको पालना हुन्छ।
नियम कानुनको कुरो कसरी आयो त राजनितिक मुद्दामा?
संसद चल्न नदिनु कानुन उलघंन हैन?
सरकारी अफिसमा ताल्चा लगाउनु,बाटोमा हिंडडुल गर्न नदिनु कानुन उलंघन हैन?

यांहा त नियम कानुन सम्बत हैन कि पाखुराको बलमा देश चलाइन्छ। भोट माग्दा देशलाइ म के गर्छु हैन कि आफुलाइ भोट नदिए के गर्छु भनेर जनतालाइ भनिन्छ। अनि कसरी कुरा सुल्झिन्छ। आकार प्रकार र भिड्ने तरिका फरक फरक होलान तर सबै पार्टीको पोलिटिक्स त्यही छ।

समग्रमा कुरा त्यती हो नेपाल र नेपालको स्थीती एकदम दयनिय छ तर पनि मूर्ख नेताहरु आंफैमा दंग पर्दै पदको खोचातानीमा दशै मनाइराखेका छन।

प्रबिण थापा said...

राष्ट्रलाई सहि गति दिन, दिनानु दिन बिग्रदै गएको देश र जनताको अबस्थामा सुधार ल्याउन राजनीतिको रंगबाट मुक्त सम्पूर्ण नेपाली जनताको आन्दोलन अपरिहार्य भैसकेको छ भन्ने एकलब्य जि को निष्कर्ष मा मेरो पनि पुर्ण सहमति छ।

पुष्प said...

एकलव्यजी,

कुरा महभन्दा पनि गुलियो लाग्यो । तर नेतृत्त्वको अर्थ र महत्व बुझ्नुभएको रहेनछ । त्यसै त आफैलाई भेडाको संज्ञा दिन रुचाउने हामीहरू बिना असल नेतृत्व के हाल हुने हो हाम्रो आफैं विचार गर्नुस् ।

Zero Hour (शुन्य समय) said...

पार्टीहरुका रंगीन झोलमा नडुबेका "आन्दोलनकारी" भेटाउन हाम्रो देशमा गार्है पर्ला । एउटै पार्टी भित्र त फलानाले राम्रो काम गर्यो भने जस र नाम उसैको हुन्छ भन्ने डरले एउटा समुह वा स्वार्थले अर्कोलाई काम गर्न दिदैन भने एउटा पार्टीले अर्कोले राम्रो काम गरेर जस लिएको हेर्न त के सक्लान र !

त्यसैले अब केहि गर्ने हो देशका लागि भने केहि वर्षका लागि पार्टीको "ब्राण्ड" नाममा गरिने राजनीति बन्द गरेर देशका लागि मिलेर काम गर्नै पर्छ ।

राम्रा काम नगर्ने जो सुकैलाई पनि जनताले लत्याए भने नाम मात्रका नेताहरुले आफ्नो लागि मात्र नभएर देशका लागि केहि गर्लान कि । त्यसकालागि जनता "भेंडा" भन्दा माथिल्लो स्तरमा उठ्नै पर्छ । प्रचण्डको बोली सापटी लिएर भन्दा "जनता राम्रो नभएर नेता राम्रो नभएको हो" ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !