March 16, 2009

किन गर्छन हाम्रा सेना प्रहरीहरु जनतासंग रुखो ब्यबहार?


माओबादीयुद्धकालमा सुरक्षाको खतरा देखाएर सरकारले बिमानस्थल प्रवेशलाई अति कडा पारेको थियो। चक्रपथको मुख्यद्वारबाट प्रवेश पाउन या टिकटवाहक यात्रु हुन पर्यो वा बिशेष पास हुन पर्थ्यो। हामी पर्यटन ब्यबसायीहरुलाई भने हाम्रो ट्राभल एजेन्सी वा ट्रेकिंग एजेन्सी एशोसियसन वा होटल एशोसियन मार्फत प्रत्यक कम्पनीका दुई-दुई कर्मचारीहरुलाई पास दिईएको थियो। पासमा वाहकको नाम, पद, फोटो राखिएको हुन्थ्यो। चक्रपथको मुख्यद्वारबाट प्रवेश गरीसकेपछि सेना र प्रहरीहरुबाट चेकिंग शुरु हुन्थ्यो। चेकिंगको लागी कुरेका गाडीहरुको लाईन चक्रपथको पर परसम्म हुन्थ्यो। चेकिंगमा एकरुपता थिएन। तिनीहरुको लहड अनुसार कहिले पास हेर्दै नहेरी हातको ईशाराले जाऊ भनिरहेका हुन्थे भने कहिले गाडीबाटै ओराल्थे। पास र टिकट हुनेवालाहरुलाई जान दिईन्थ्यो र नहुनेहरु ले फर्किन पर्थ्यो। त्यो सुरक्षा ब्यबश्था देखेर मनमनै निकै हाँसो उठ्थ्यो। के माओबादीहरू आक्रमण नै गर्न आउने भए त्यसरी मुख्यद्वारबाट चेकिंगको लागि लाईन लागेर, आफ्नो पालो कुरेर बसेर आउथे? टिकट लिएर आउनेहरु चाँहि गैरमाओबादी हुने भए त्यत्रो बैंक लूटेर र चन्दा उठाएर थुपारेको पैसा छ, उनीहरुसंग, त्यो हजार पन्ध्रसयको टिकट काटेर आउन नसक्ने त होईन नि?

एक दिन एउटा गजबको सनकी प्रहरीको फेला परें म। केही पर्यटक पाहुनाहरुलाई लिन गएको थिंए। पास देखाँए। प्राय: तिनीहरुले पासमा टांसेको फोटो र मान्छेको अनुहार मिल्छ कि मिल्दैन हेर्थे। अनि गाडी भित्र यसो हेर्थे र त्यसपछि हातको ईशाराले जाऊ भन्थे। तर त्यो दिन त्यो प्रहरीको जवानले मेरो नाम सोध्यो। नाम बताँए। मेरो कम्पनीको नाम र मेरो पद पनि सोध्यो र मैले सबै खुरुखुरु बताँए। तर त्यसले मेरो पासको नम्बर पनि सोधेर छक्क पार्यो। मैले मेरो पास नम्बर चाँहि याद गरेको थिईन। मलाई पास नम्बर कण्ठ छैन भनेको त त्यो सिपाही बम्किन पो थाल्यो। मैले मेरो भएभरको अरु परिचय पत्रहरु-सवारीचालक परिचय पत्र, पर्यटक पथप्रदर्शक परिचय पत्र, कर कार्यलयले दिने परिचयपत्र सबै देखाईसके, तैपनि जान दिंदैन। उता बिमान अवतरण भएर पाहुनाहरु निस्कने बेला भैसक्यो, मलाई चाँहि रोकेको रोक्यै गर्यो। “तपाईलाई आफ्नै परिचयपत्रको नम्बर याद छैन, कसरी जान दिने?” भन्छ। मलाई पनि रिस उठ्यो, “तपाईलाई पनि तपाईको नागरिकता नम्बर कण्ठ छ,?” भनेर जंगिंए।

जाने देला भनेको त “बढ्ता बोल्ने होईन” पो भन्छ। त्यस पछि मेरो सवारीचालक भाइले भन्यो “हत्तेरिका सर, यो के गर्नु भा'को, हामी सधैं आउने मान्छे, किन रोक्नु भा’को, पाहुनाहरु निस्किने बेला भैसक्यो, जान दिनूस?” त्यसपछि त्यो सिपाहीले भन्यो, “ल तिमी चाँहि जाऊ, वहाँचाँहि जान मिल्दैन”। यति बेला सम्म गाडीको लाइन बढेर कोही-कोही चालकले हर्न बजाउन शुरु गरिसकेका थिए। यत्तिकैमा सेनाको एउटा हवल्दार के भयो के भयो भन्दै आयो। त्यो प्रहरीले मेरो पास त्यो सेनाको हवल्दारलाई दियो र “यो मान्छेलाई आफ्नो पास नम्बर नै थाहा छैन “ भन्दै सिटी फुक्दै अर्को गाडी चेक गर्न गयो। त्यसपछि सेनाको त्यो हवल्दार अलि बुझकी परेर हो कि वा त्यँहा गाडीको भीढ बढेको कारणले हो कुनि, हामीलाई जान दियो।

केही दिन पछि मेरो एकजना साथीलाई त्यस्त कुनै निहूँ निकालेर रोकेछ र उसले प्रतिवाद गर्न खोज्दा “धेरै बोल्ने होइन, गन (बन्दुक) लोडेड छ” भनेर बेस्सरी तर्साएछ। बाहिर प्रवेशमा त्यस्तो कडाइ छ, र हामी एक शभ्य, वास्तविक पर्यटन ब्यबसायीलाई त्यस्तो दूर्ब्यबहार गरिएकोछ, तर त्यो चेकिंग कटेर गईसके पछि आगमन कक्षबाहिर भने पर्यटकको झोला तानातान गर्न आउने खातेहरु र ट्याक्सीवालाहरु भने बिगबिगी छ। तिनीहरुसंग कुनै बैध पास पनि हुंदैन, तर तिनीहरु भित्र पुगिरहेका हुन्छन् र पर्यटकहरुलाई दु:ख दिईरहेका हुन्छन्।

मैले मुख्य उठाउन खोजेको बिषय चाँहि हाम्रा अधिकांस सेना, प्रहरी र सरकारी कर्मचारीहरुबाट सर्बसाधारणप्रति हुने दूर्ब्यबहारबारे हो। उमेरले आफूभन्दा पाका-बरिष्ठहरुलाई पनि “तँ, तिमी” जस्ता शब्दहरुले सम्बोधन गर्न पनि पछि पर्दैनन्। उस्तै परे एक दुई थप्पड, लात दिन गाह्रो छैन। जनताहरुसंग नम्र भएर बोल्न त जानेकै हुँदैनन्। जहिले पनि अखडिएर, कड्किएर बोलिरहेका हुन्छन्। हाकिम त हाकिम भए, तल्लो तहका सिपाहीले समेत दूर्ब्यबहार, दूर्बचन गरिरहेका हुन्छन्। यिनीहरुले आफ्ना हाकीमहरूलाई चाँहि दरवारिया भाषा प्रयोग गर्छन्। “आइसियोस, खाईसियोस्,” लगाईरहेका हुन्छन्, तर त्यही मान्छे जनतासंग बोल्दा भने अर्कै रुपमा प्रस्तुत हुन्छन्। आखिर किन त्यस्तो ब्यबहार गर्छन् सेना प्रहरीका यी मान्छेहरु? यिनीहरुलाई कस्तो तालिम दिईएको हुन्छ? यिनीहरु किन यति धेरै अभिमानी भएका होलान्? के यिनीहरु जनताकै सन्तानहरु होईनन्?

चेकिंग गर्ने, सोधपूछ गर्ने, खानतलासी गर्ने एउटा निश्चित मापदण्ड, तरिका हुन पर्ने हो नि। मन लाग्यो चेक गर्यो, मन लागेन गरेन। बिमानश्थलमा चेकिंग गर्न बसेको त्यो प्रहरीको मुख्य काम भनेको बिमानश्थलमा प्रवेश गर्न खोज्ने मान्छे वास्तविक हकदार हो कि होईन, त्यो जाँच्नु हो, न कि कसैलाई परिचयपत्र नम्बर याद छकि छैन भनेर जाँचेर बस्ने होईन। कसैले कुनै नियम मिच्यो, गल्ती वा अपराध नै गर्यो भने पनि त्यो ब्यक्ति कानून अनुसार संजायको भागीदार हुन्छ। सोधपुछ, अनुसंधानको क्रममा कुनै दूर्ब्यबहार गरिनु हुन्न। प्रत्यक ब्यक्तिको एउटा आत्मसंम्मान हुन्छ, स्वाभिमान हुन्छ। सेना र प्रहरीले सामान्य जनतासंग गर्ने यस्तै ब्यबहारको कारणले नै गर्दा उनीहरु जनतामा अलोकप्रिय भएकाछन् र माओबादी यूद्धकालमा जनताको भरपुर सहयोग पाउनबाट पनि चुके। हाम्रा सेना र प्रहरीका अधिकृतहरु तालिमको लागि अमेरिका, यूरोप पनि आइरहेका हुन्छन्, यहाँ देखेर पनि जानेको हुन पर्ने हो। यहाँ प्रहरीले जनतालाई “सर” भनेर सम्बोधन गरिरहेका हुन्छन्, तर गर्छन् हाम्रा सेना र प्रहरीहरुले?



3 Comments:

kamaladi.com said...

आफ्नो अनुभव ब्यक्त गर्नु भएको मा धेरै धेरै धन्यवाद ।

आफ्नै देश को एअरपोर्ट पस्न पनि यत्रो ठुलो issue । पहिला बिमान hijack गरे देखी सुरु भएको ब्यबस्था आहिले सम्म जारी छ, माओबादी समस्याले पनि यसलाई निरन्तरता दिन खुब टेवा दियो । संसारमै नसुनेको कुरो: आफ्नी मान्छे लिन आफ्नै एरपोर्ट जान पनि गार्हो । भित्र सुरक्षा बलियो बनाए भाई हाल्यो । ट्यक्सी वाला र भित्र अरु दलाल हरु ले मनपरी गरी रहेको चांही केही फरक नपर्ने ???

अनी यि सुरक्षाकर्मी संग डर र त्रास को कारण हैन कि "गु लाई चलाय गन्ध" भनेर बोल्न गर्हो परेको छ । बिचराहरु लाई पनि दोष दिनु मिल्दैन, उनिहरु त तल्लो श्रमजिवी हुन । यो सबै नियम कानुन भन्दा पनि "माथीको आदेस छ" भन्दै नियम ब्यक्ती पिच्छै फेर्ने परम्पराको उपज हो ।

Panda said...

पोस्तकजी, धन्य तपाइलाई मुख छाडेर गाली गरेनछ । नत्र पुलिसको लागि गाली भन्ने कुरा त सामान्य नै हुन्थे ।

एक पटक कान्तिपुरमा पढेको थिएं, अमेरिकामा बस्दै आएका एक नेपाली छुट्टीमा नेपाल जांदा पुतली सडकको कुनै रेस्टुरेण्टमा बियर पिउंदा पुलीस इंसपेक्टर समेतको जत्था भित्र पसेर जथाभावी गरेछ । उनले आंफुले लामो समयसम्मको अमेरिका बसाइमा समेत यस्तो नभोगेको बताउंदै नम्र हुन पुलिसलाई आग्रह गर्दा इंस्पेक्टरले " को छोरालाई भ्यान भित्र हाल" भनेर तथानाम गाली गरेको कुरा उनले बताएका थिए ।

चोरलाई समेत गुड मर्निङ सर भन्ने जर्मन पुलिसहरुबाट नेपालका प्रहरीले कुनै पाठ सिक्न नसकेको र नेपालीलाई दिइने तालीम खेर गएको भनेर जर्मनहरुले केहि महिना अगाडि गरेको कुरो अहिले तपाइको कुराबाट याद आयो । तर समस्या साना पुलिसहरुबाट नभएर असक्षम नेतृत्वको कारण नै हो ।

प्रबिण थापा said...

पोस्तक जि अत्यन्तै गम्भिर कुरो उठाउनु भो,
मेरो कथा तपाईंको भन्दा चर्को छ, भनु भने त म ति सेना प्रहरीहरुलाई कहिले पनि माफि दिन सक्दिन जसले मेरो एउटा जिन्दगी छियाछीया पारीदिएका छन , हुनत देश नै माओवादी हिंसाका कारण भताभुङग भाको बेला म जस्तै हजारौ नेपालीहरुले दु:ख नपाएका होइनन चाहे माओवादी को तर्फ बाट होस चाहे राज्यका सेना प्रहरीबाट तर फरक कुरो के छ भने माओवादी भन्दा उग्र तरिकाले जनताको नुन खाएका जनताका सेबक भनिने कर्मचारिले गर्ने व्यबहार अत्यन्तै तुच्छ रह् यो, र अझैपनी कुनै परिवर्तन आएको छैन यदी साच्चिकै जनताको नजरमा सम्मानित हुने भए, देशको सेवामा समर्पित बन्ने भए यस सस्था भित्र, आमुल परिवर्तनको खाचो छ, एउटा सभ्य सस्कार सिकाउने तालिम आबश्यक छ नत्र भबिश्यमा पनि यो भन्दा बढी दु:ख, अपमान तपाईंहामीले व्योहोर्नु पर्ने छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !