March 13, 2009

पोलिटिकल ईन्फ्लुएन्जा, पाँच कक्षाको कथा र हाम्रा नेता

केहि हप्ता अगी देखी नेपालका नेताहरुलाई एक पछि अर्को गर्दै अचम्म अचम्मको रोग लाग्न थालेको छ । अचम्म यस मानेमा कि रोग जे भए पनि जस्तो भए पनि, उपचार भने भारतमा मात्रै हुने !।

पूर्व राजा भारतमा बिहेमा सामेल हुन गए लगत्तै बामदेब, केपि ओली लगाएत गिरिजा कोईरालालाई समेत ‘भारतमै उपचार गर्नु पर्ने रोग’ लागेका कारण सबै एक एक गर्दै आफ्ना पुराना गुरुहरुको कुटिमा प्रवेश गरेका छन ।

चुनावी नारा र देखाउने आडम्बरमा जेसुकै भए पनि माओबादी लगाएतका प्राय जम्मै दलका नेताले उतैका महामानवलाई आफ्नो शंकटमोचक, मार्ग दर्शक र मसिहा सम्झने र मान्ने गरेको कुरा अब भने चाहि खुलै रुपमा सबैलाई थाहा छ, र यी कुनै पनि दलका नेताहरु आफ्ना गुरुकहाँ गएर साष्टाङ्ग दण्डवत गर्न र दु:ख मनाउ गर्न पाउँदा आफुलाई धन्य र हल्का भएको महशुस गर्ने गर्दछन ।

एकातिर उपचारकोलागि भनेर गुरुकुल गएका नेताहरुको कहाँ कसरी र के को उपचार हुँदैछ भन्ने बारेमा खबर त्यती प्रष्ट छैन भने अर्कोतिर ती सबैले आ-आफ्ना देवतुल्य पथ-प्रदर्शक गुरुहरुसंग भेटघाट गर्ने गरको बारेमा चाहि उडन्ते र फिरन्ते खबरहरु भने आईरहेका छन ।

पहिलो कुरा त रोग पनि गज्जबको लागेको छ, अस्पताल नगै सिधै गुरुकुल वा आश्रममा गएर दु:ख पुकारा गरेर निको हुने । वा देखाउनको लागि एकपटक अस्पताल छिर्ने अनी त्यसपछि आश्रममा गएर काउन्सलीङ गर्ने ।

अनी काउन्सलीङ पनि थरी थरीका: कसैलाई खुट्टाको बलमा उभिन मात्रै मुश्किल हुने बेलामा पनि फेरी एक पटक कुर्सी चाहिएको छ । कसैलाई आफ्नै दल भीत्रको छलछाम बारे बताएर मन हलुका गर्नु छ, त कसैलाई हालको कुर्सी थमौति गरी अझ सशक्त हुने मनासाय छ।

अन्तीममा गएका बयोबृद्ध नेताले भने खुलेरै आफ्ना गुरुका अगाडी माओबादी प्रती असन्तोष देखाएछन। पत्रीकामा आएको कुरा त्यत्ती हो । पर्दा पछाडी छिट्टै आफ्नो पेवा कुर्सी आफैलाई पुन फिर्ता दिलाईदिन पनि अनुनय बिनय भए होलान वा फेरी कुर्सी पाएको खण्डमा कुनै ठूलो योजनाको फेरी समझदारी (सम्झ्यौता हैन है!) गरेर गुरुकुल हराभरा गर्ने र सो गर्दा कतै कसैले केहि भने “हामीले त्यतीबेला गाँजा खाएर सहि गरेको हो र?” भन्ने साक्षी समेत उपस्थित गराए होलान। सोच्दै जाँदा यति भएको खण्डमा आफू कुर्सीमा र साक्षीलाई ‘उपकुर्सी’ मा राख्ने बाँडफाँडका कुरा पनि भए होलान वा अरु पनि जे पनि हुन सक्छन ।

मतलब उपचार गर्न भनेर विदेश जाने र बिदेश गएपछि हस्पीटल र डाक्टर भन्दा त्यहाका पार्टी कार्यालय र नेताको चाकडीमा जुट्ने मानिसले जे पनि गर्न सक्छन र तिनका भनाई र गराइमा शंका गर्ने ठाँउ भने प्रसस्तै छन ।

पाँच कक्षामा हुँदा यौटा कथा पढेको थिएँ:

“ चार ओटा लठ्ठी एक्कै ठाँउमा राखे भाच्न सकिन्न र छुट्टा छुट्टै भएमा सजिलै भाँचिन्छन । ”

कुराको मतलब आफ्नो देश र अर्को दलसंगको समस्या आफै मिलेर समाधान गर्नु पर्छ । यसकोलागी बिदेशी गुहार्दै हिंडने होईन । बिदेशी नै नगुहारी समस्या समाधान हुँदैन भने हामिले गिरिजा, माकुने वा ओली जस्तालाई किन नेता मान्ने ?। तीनका ठाँउमा तीन कक्षा नपढेको रामे, गुलेली चलाउने बिर्खे र गुण्डागर्दी गर्दै हिडने गोतामेलाई राखे पनि के फरक पर्छ र? (समस्या परेमा यीनिहरुले पनि सिमापार गएर समाधान ल्याई हाल्छन)

जे होस, कुरा बाहिर नआएसम्म हामिले सबैलाई उपचार गर्नै गएको सम्झनु पर्छ । तर मुख्य कुरा के भने उपचारकको नीयत ठिक भएकै अबस्थामा पनि हरेक उपचारले समस्या समाधान गर्छ नै भन्ने कुनै ठोकुवा हुँदैन। तर एउटा कुरा भने निश्चित छ: हरेक उपचारको प्रक्रियामा रोगीलाई फाईदा भए वा नभए पनि उपचारकलाई भने निश्चित फाईदा हुन्छ ।

म आशा गर्छु, हाम्रा नेताहरुले पुन पाँच कक्षाको कथा पढुन र बुझुन पनि ।



2 Comments:

Panda said...

मलाइ त लट्ठी पनि भांचु भांचु लागेको छ । अब सबै चाकडीबाज कसलाई गाली गर्नु ! सबै सर्पको विष निस्केकै राम्रो । केहि परिवर्तन हुन्छ, हुनै पर्छ तर परिवर्तन राम्रोका लागि होस।

Luna said...

दा !
खै के बुझ्थे राम्रो कुरा हाम्रो नेताजी हरु ले ! बुझेर पनि बुझ पुचाउछन अब ! सत्ता सोम रस मा डुबे पछी अनौठो रोग लाग्दो रहेछ नि !
हाम्रा राम्रा नेताजी हरु को बिश्बास लाग्न छोड्यो तर बिकल्प पनि छैन नेता ज्यु नभनी !
को छन त खै अहिले सम्म साच्चैको गर्ब गर्न लायक का नेताजी !
यि सप्पै मुलुक डुबाउने मा परे ! ईतिहास ले सदा सराप्ने छ यिनलाई !
( अरु के पो भन्नु त खोइ ! )

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !