January 24, 2009

केही यता, केही उताका कुराहरु

परदेशमा बसिएको भए पनि नेपालका समाचारहरु बिचरण नगरेसम्म चित्तै बुझ्दैन। अनलाईनमा उपलब्ध प्रायजस्तो सबै समाचार साईट देखी ब्लगहरु सम्म खोतलिन्छ। धेरै जस्तो समाचारअहरु प्रम, उपप्रम र मन्त्रीहरुका भाषणहरुले भरिएका हुन्छन भने बांकी समाचारहरुमा वाईसीएल र यूथ् फोर्सको भिडन्त र सवारी साधनहरुको दूर्घटनाजस्ता समाचारहरु हुन्छन । म यहाँ सवारी साधनको दूर्घटनाको चर्चा गर्न खोज्दैछु। सवारी साधानहरुको दूर्घटना मै कुरो सकिदैन। त्यसपछि शुरु हुन्छ, पिडीत पक्षको तर्फबाट क्षतिपुर्ति र दोषी पक्षलाई कार्बाहीको माग राखेर चक्काजाम, जुन घण्टा देखि केही दिनसम्म लम्बिन्छ। अनाहकमा मर्कामा पर्नेहरु हुन्छन सर्बसाधारण यात्रीहरु। पिडीत पक्षले दूर्घटनामा ब्यहोर्नु परेको क्षति निश्चितरुपमा अपुरणीय हुन्छ, तर सयौं-हजारौं यात्रीहरुलाई अलपत्र पार्नेगरी गरिएको चक्काजाम र बन्ध अवश्य पनि राम्रो कुरो होइन।

सुनिन्छ, सवारी साधनले कुनै पैदलयात्रीलाई ठक्कर दिन्छ। पैदलयात्री घाईते वा अधकल्चो मात्र भएको हुन्छ, तर चालकले फेरी गाडी ब्याक गरेर ल्याएर उसको इहलीला समाप्त गरिदिन्छ। मान्छे मरेको अवस्थामा थोरै खर्च वा संजायमा चालक उम्किने ब्यबस्था छ भने घाईते मात्र भएको अवस्थामा भने उसको सबै उपचार खर्च ब्यहोर्नु पर्ने हुन्छ। मानिसको जीवनको मुल्य भन्दा केही हजार रुपैयाँको महत्व बढी देख्ने ती नीर्दयी चालकहरू र कसैको जीवन समाप्त गरिदिन कुनै किन्चित मान्दैनन् । अक्सर सवारी साधनले कसैलाई ठक्कर दिएपछी चालक फरार हुन्छन। नहोस पनि किन, त्यंही बसिरहने हो भने उसको रामधूलाइ भैहाल्छ। पिडीत पक्षका आफन्तहरु जाईलाग्नु बुझिने कुरो हो तर त्यहा हुने जो कोहीले लात घुंसा बर्षाईहाल्छन। अनि सवारी साधन तोडफोड, आगजनी हुन पनि बेर लाग्दैन। सवारी साधनमा कसैको मिहेनतको कमाई लगानी भएको हुन्छ। सबै सवारीसाधनका मालिकहरु करोडपति हुंदैनन। त्यसो त करोडपतिको गाडीमा चांही आगो लगाउन हुन्छ भन्ने चांहि होइन।

केही लापरवाहीका घटनाहरु बाहेक सवारी दूर्घटना जानाजान कसैले गर्दैनन्। तर चालकले ब्याक गरेर ल्याएर घाईतेलाई फेरी कुल्चिएर मारिदिने, वा चालक फरार हुने, वा चालकको धूलाई हुने वा सवारी साधन तोडफोड वा आगजनी गरिने कुरो बिकसित पश्चिमा मूलुकमा बिरलै सुनिन्छ। पहिलो कुरो त मानिसहरु शभ्य छन। दूर्घटना हुँदा हात हालाहाल गर्दैनन्। दोस्रो कुरो अधिकांस वाहनहरुको बीमा गरिएको हुन्छ र कुनै दूर्घटना हुंदा हुने क्षति बीमा कम्पनीले ब्यहोर्छ। क्षतिपूर्ती बीमा कम्पनीले ब्यहोर्ने भएपछी चालकलाई धूलाई, गाडीमा आगजनी किन गर्न पर्थ्यो र? न त चालकले केही हजार रुपैयाँ बचाउन गाडी ब्याक गरेर ल्याएर घाईतेलाई मार्नुपर्छ। तर हाम्रो देशमा सवारी साधनहरु अनिवार्य बीमा गर्नु पर्ने ब्यबस्था अहिले सम्म गरिएको छैन। भाषण गर्दा आकाश पात्तालको गफ हांक्न सक्ने हाम्रा नेताहरु, नीति निर्माताहरुको दिमागमा यो कुरा अहिलेसम्म घुस्न सकेको छैन। देश बिदेशको शयर यिनीहरुले नगरेका होइनन्। त्यँहा के कस्तो ब्यबस्था रहेछ भन्ने कुरो सिक्न, जान्न अनि आफ्नो देशमा लागु गर्न यिनीहरुलाई कहिले चासो भएन।

म नेपालमा नै हुंदाको कुरो हो। मँ सँलग्न ट्रावल एजेन्सीको प्रयोगको लागि एउटा पुरानो भ्यान (सेकेन्ड ह्यान्ड) किनेका थियौं। बीमा गराउन भनेर एभरेस्ट इन्सुरेन्समा फोन गरें। त्यंहाको कर्मचारीले रुखो स्वरमा जवाफ दियो, " हामी पुरानो गाडीको बीमा गर्दैनौं"।शायद पुरानो गाडीको बीमा गर्नु उनीहरुको लागि शर्मको कुरो हो वा पुरानो गाडीले बढी दूर्घटना गराउंछन भन्ने उनीहरुको बुझाइ हो। अमेरीकाको कुरा गर्ने हो भने पुरानो गाडीको बीमा गर्दा प्रिमिएम पनि थोरै हुन्छ, नयाँ गाडीको तुलनामा।

नेपालमा यति धेरै सवारी साधन भित्रिएका छन। ती सबै सवारी साधनहरुको अनिवार्य बीमा गर्नु पर्ने ब्यबस्था गर्ने हो भने बीमा कम्पनीहरुको पनि ब्यवसाय फस्टाउंछ। बढी मानिसहरुले रोजगार पाउंछन र राज्यको लागि राजश्व पनि उठ्छ। दूर्घटना भएको अवस्थामा क्षतिपूर्तीको माग राखेर चक्काजाम, बन्ध पनि गर्न पर्दैन।

नेपालमा सवारी साधनहरुको दर्ता पनि दुरुस्त हुंदैन। कुनै सवारी साधनहरु बर्षौं दर्ता नविकरण भएका हुन्नन्। प्रहरीको फेला परिहाले पनि लाइसेन्स, ब्लू-बूकको सट्टा ५०-१०० रुपिया प्रहरीको हातमा थमाईदियो, अनि फुत्कियो। नविकरण गर्न जांदा पनि यो कागज भएन, त्यो भएन भनेर दिक्क पार्छन। दर्ता रेकर्ड किताब नपाएर वा रेकर्ड मेल नखाएर हैरान भइन्छ। मैले पहिलो पटक मोटरसाइकल दर्ता गर्न जाँदा मेरै आँखा अगाडी मेरो नाम तीन ठाँउमा तीन थरिको लखिदियो।पोस्तक राम श्रेष्ठ, पोस्तक बहादुर श्रेष्ठ र पोस्तक राज श्रेष्ठ। यो भुलवश भएको मात्र मान्न सकिन्न। दराजभित्र, बाहिर, भूँईमा जताततै पोको पारेर राखिएका ती दर्ता किताबका तथ्यांकहरु कहिले कम्प्यूटरमा सारिन्छ होला, सोच्दा पनि अत्यास लाग्छ। अमेरीकामा कुनै सवारीसाधनको दर्ता नविकरणको सुचना-बीजक सवारीधनीलाई म्याद नाघ्नु करीब एक महिना अघि नै पठाइन्छ। नविकरण शुल्क क्रेडिट कार्डद्वारा फोनबाट वा अनलाइन तिर्न सकिन्छ वा चेक पठाए पनि हुन्छ। त्यसपछि काउन्टी कार्यालयले नविकरण भएको प्रमाण स्टीकर पठाउँछ जुन देखिने गरी लाइसेन्स प्लेटमा टाँस्नु पर्छ। जस्ले नविकरण म्याद गुजार्छ, ऊ थप जरिवानाको भागिदार हुन्छ। प्रहरीहरु पनि गल्ली गल्लीमा हुन्छन्। सवारी नियम मिचेर चलाउनेहरु फुत्किन पाउने संभावना कम हुन्छ। कुनै राज्यहरुमा त सडकहरुमा क्यामरा जडान गरिएका हुन्छन्। मेरा एक मित्र शिकागो घुम्न जानु भएको थियो। वँहालाई याद छैन बाटोमा कतै सडक कर तिर्न भुल्नु भएछ। तीन-चार महिना पछि बिल घरमा आइपुगेको थियो। अमेरीका र नेपालको तुलना गर्न त के मिल्छ र तै पनि नेपालका सरकारी कार्यालयका ती थोत्रा पुराना रेकर्डहरुलाई कम्प्यूटरमा उतार्न शुरु गर्न सकिन्छ वा अब हुने नयाँ कारोबारहरु कम्प्यूटरमा राख्न शुरु गर्न सकिन्छ। कुनै एउटा बिन्दु बाट शुरु त गर्न त पर्यो नि। कम्प्यूटर शिक्षित जनशक्तिको पक्कै अभाव छैन। यँहा अमेरीकामा नेपाली कम्प्यूटर बैज्ञानिक, ईन्जिनीयरहरू छपक्कै छन्। आफ्नो ज्ञान, शीपको सदुपयोग आफ्नै देशमा गर्न पाउने अवस्था भएमा धेरै जसो फर्किनेछन्।



6 Comments:

सपनासंसार said...

सत प्रतिसत समर्थन, तपाईको बिचार प्रति ! नेपाल मा मैले आउने बेला मा मेरो भट्भटे बेच्न लाग्दा , त्यसको रेकर्ड बुक को डढ्डा ता बाहिर चौंर मा एउटा दलालि को हातमा भेटेको । त्यो खोज्नलाई म आफै कति वटा डढ्डा यता र उता फाल्दै खोज्नु पर्यो । त्यो चौर बाट डढ्डा म र मेरो अर्को दलाली ले बोकेर माथि हाकिम सापको मा गएका थियौं , त्यस्तो छ अवस्था, फेरि हाकिम साब र सुब्बा साप लाई चिया खर्च त छदै छ । मलाई दलाली लगाउन त मन थिएन तर के गर्ने काम एकै दिनमा सकाउनु पर्ने थियो । दलाली नलगाएको भए त्यो १ घण्टा लाग्ने काम १ हप्ता लाग्थ्यो । हामीलाई धेरै समय त रेकर्ड बुक खोज्नै लागेको थियो !

तपाईलाई नेपाल को ईन्सुरेन्सको कथा सुनाउछु ! मेरो नजिकैको मान्छे को ट्रान्सपोर्ट ब्यवसाय, मलाई थाह छ उस्ले जानि जानि आफ्नो बिग्रेको र बाकीं भएक महत्वपुर्ण सर सामान निकालेर, ट्रक त्रिसुलीमा खसालेको , दर्हो ईन्सुरेन्स को रकम घुस्नलाई !
मेरो साथिको कन्सल्टिङ फर्म छ । उस्ले ईन्सुरेन्स ईभ्यालुएसन पनि गर्छ । उसले हरको ईभ्यालुएसन मा पेश गर्नु पर्ने भन्दा बढि क्षति देखाएर ईन्सुरर हरु संग कमिसन खान्छ !

एस्ता हजार उदाहरण छन, पुरै रुख नै कुहिसकेको छ , पात तिप्न तिर लागेर काम छैन , म त भन्छु जरा खनेर रुख नै उखलेर फाल्नु पर्छ !

Panda said...

जायज कुरा उठाउनु भो पोष्तकजी । नेपालमा कम्प्युटर पनि छ्याप्छ्याप्ति र सस्तोमा पनि पाइन्छन । नियम मात्र कडा बनाए पुग्छ यातायातको क्षेत्रमा, पैसा सेवाग्रहीले तिर्छन । घुस तिर्न सक्ने मान्छेले कर वा सरकारि दस्तुर त तिर्न सकिहाल्छन नि! भिजन र इच्छा शक्ति चाहियो ।
यो कागजको खोस्टोको सट्टा बैंकबाट तिर्ने र अझ अनलाइन तिर्न मिल्ने बनायो भने दलालहरु चौरमा रजिष्टर बोकेर हिड्ने थिएनन होला !

अनि सपनासंसारजि, धन्न तपाईंको मोटरसाइकल त बिक्रि गर्न पाउनुभएछ मेरो त त्यस्तै लफडाले बेच्न नपाएर आधा दाममा साथिलाई छोडेर हिंडेको । अनि उसले फेरि त्यस्तै गरेर अर्कोलाई जिम्मा लगाएर हिड्यो ।

Luna said...

आर्टिकल को उद्देश्यले मन छोयो ।
छुनु पर्ने को मन पनि यसरी नै छोइदिए हुन्थियो अर्थात मुलुकका सम्बन्धित पक्ष हरु यस्ता बिकराल समस्या सँग सम्बेदनशील भाईदिए समस्या को समाधान गर्न कुनै अजङ्ग को पहाड यात्रा गर्नु पर्ने थिएन ।
पानीको थोपा थोपा मिलेर नै सागर बनेको हुन्छ । सबैले यसरी नै कर्तब्य सम्झी सक्दो आबाज उठाउदै जाउ ।

प्रबिण थापा said...

लेख सत प्रतिशत जायज छ। सपनासन्सर, पन्डा जि को प्रतिकृयामा मेरो पनि समर्थन छ।

नेपालियन said...

निकै ब्यब्हारीक कुरा लेख्नुभएको छ पोस्टक जी। ब्याक गरेर मार्ने चाहिं सारै अमनाव काम हो। त्यसलाइ हरसम्भव रोक्नु पर्छ। हुन त सपना संसारले भने जस्तो भइंभरी कनिका पोखिएका छन, सफा कता बाट गर्ने पत्तो छैन।
इन्सुरोरेन्सको ब्यबसाय पनि अचम्म छ नेपालमा, नया गाडीको मात्र। भयो अब?
नेपालको स्थिती सुध्रेला?

rick said...

hernus na kanun banaune harulenai kanun ulanghan gar6n yo purano nepalma matrai hoina naya nepalma ni yestai ho.postakjile lekhnubhayeko lekh jyadai ramro ani yatharthapurna 6.ho ta accidenthun6 tara namareko man6elai pheri back garera marnu parne kanun 6 ki kya ho hoina bhane kina ta pheri back garera marne ? ani tesari jani jani man6e marnelai ta aajiban karabasko sajaya huna parne ni ? ho ta sapanasansar ji le bhaneko pani yekdam satya ho kina khulam khula kanun biparit kam gari raheko hun6 yaha ....? RICK GURUNG[from operation iraqi freedom]

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !