June 12, 2008

जाँदा जाँदै ज्ञानेन्द्र शाहका मनका कुरा

नेपाली राजनीतिले द्रूत रूपमा पेज पल्टाउने क्रम जारी नै राखेको छ । प्रतेक पृष्ठ पल्टिने क्रम संगै नया कथानक, तस्वीर अनि रहस्यहरू उद्घाटन हुँदैछन तापनि आख्यानाको अग्रगमन भने त्यति अप्रत्याशित नै भने छैन । घट्ना जुन रूपले घटिरहेछन्, तिनको चरित्र केलाउँदा ती नितान्त नया र अभूतपूर्व खालका भने छन् । गम्भीर भएर गम्यो भने, नेपाली इतिहासको बिगत डेढ देखि दुई दशकको अवधि घटनाक्रमहरूको गुणात्मक र परिणामात्क दुवै कसीमा सबैभन्दा अभुतपूर्व रह्यो भन्नुमा अत्युक्ति छैन भन्दा पनि हुन्छ ।

यही अवधिमा नेपालको इतिहासमै पहिलो पल्ट डेढ दशक लामो हिंसात्मक क्रान्तिको दौर चल्यो । साथासाथै संवैधानिक भनिएको राजतन्त्रको छत्रछायामा चलेका प्रजातान्त्रिक सरकारहरू बन्ने र भत्कने क्रम लगभग १५ वर्षे कालमा १५ पटक सम्पन्न भए र विश्व इतिहासमै दूर्दान्त ठान्न वा मान्न सकिने दरबार हत्याकाण्ड रहस्यात्मक रूपमा यही बेला सम्पन्न भयो । वंशवादी राजतन्त्रको अकस्मात उत्तराधिकार सम्हाल्न आइपुगेका राजा ज्ञानेन्द्रले ज्ञान वा अज्ञानतावस पहिले नै नाजुक मोडमा उभिएको राजतन्त्रलाई जनता र राजनैतिक दलसंगको मुठभेडको स्थितिमा ल्याएर उभ्याइदिए, फलत हिंसावादी बिद्रोहीहरू, कुनातिर धकेलिएका दलहरू अनि उपेक्षित गरिएको भनिएको छिमेकी मुलुक एक ठाउँमा उभिएर गणतन्त्रको एजेण्डाले मुलुकलाई संवोधन गर्दा संविधानसभा र राजतन्त्रको अवश्यम्भावी बहिर्गमनको बाटो तय भयो । अन्तत:, २४० वर्षे शाह राजाहरूको क्रम टुटाउने जस अपजस दुवै बोकेर राजाबाट रैतिमा घटुवा बनेका ज्ञानेन्द्र शाह हिजोदेखि नागरिक बनेको स्वघोषणा सहित नारायणहिटी छोडेर निस्किए । उनले बेलाको बोली पनि बोले । पूर्वाग्रह नराखेर समीक्षा गर्ने हो भने उनले बोल्न आवश्यक ठानेर पहिलोपल्ट मनका कुरा राख्न खोजेको प्रयासलाई सुन्दिनुमा कुनै अन्यथा हुँदैन, आफ्ना आग्रह, पूर्वाग्रह र दुराग्रहको नजरियाबाट एकैछिन पर उभिएर ।

ज्ञानेन्द्र शाहले नारायणिहिटीको कास्कि बैठकबाट पहिलोपल्ट पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहँदा , 'मूर्दावाद', र 'बास्टर्ड' जस्ता शब्दहरू पृष्ठभूमिमा प्रष्ट सुन्न सकिन्थ्यो । यो केवल हामीबीच बाँचिरहेको हूंकार, अहंकार र घृणाको तस्वीरीकरण बाहेक केही हैन । किनभने कुरा सुनेर उसैको कुराको एजेन्डा समाएर हिँड्नु पर्ने वाध्यता कसैलाई नभएको परिस्थितिमा ज्ञानेन्द्र शाहलाई उनको कुरा भन्न रोकावट गरेर गाली र अवरोध सिर्जना गर्नेहरूले कुन लोकतन्त्रको श्रीगणेश गर्लान केवल समयले जवाफ देला ।

ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डदेखि उनको र दरबारको बारेमा चलेका वा चलाइएका अनेकौँ अफवाहहरूको जवाफमा केही भन्न खोजेको देखियो र ती कुराहरू भनेर उनले आफ्नो भारी मन पहिलो पल्ट हलुका पारेको अनुभव गरे होलान् । हुनत नितान्त एक्ला बन्न पुगेका ज्ञानेन्द्रले राजा बन्न खोजिरहेर पनि पाउने स्थिति बाँकि नभएको र उनलाई साथ दिने जुम्राहरु पनि उनको शरीर छाडेर कतै अन्यत्र गइसकेको यो परिस्थितिमा, मुस्काउँदै पत्रकार सम्मेलन गर्दै संविधानसभाको निर्णयलाई स्वीकार र गरेर श्रीपेच र राजदण्ड नेपाल सरकारलाई जतनसाथ 'बुझाएका छौँ' भनिरहँदा कता कता मन छोएको अनुभव भने भयो होला कतिपय स्रोताहरूलाई, मलाई जस्तै । यो अनुभव हुनुलाई र राजतन्त्रको आवश्यकताको दलील बनाएर सोच्ने पाखण्डीपन भने कसैले नगरून् ।यो नितान्त मानवीय कोणको अनुभूति थियो ।

शक्ति र जीवन दुवै सापेक्ष चीज हुन् । सम्पूर्ण अस्तित्व, आर्जन, जीवन, र दर्शन, भोग, साधन,सामर्थ्य, सबै क्षणभंगूर सांसारिकताका सांक्षी हुन् । जीवन हुन्छ , मृत्यु अपरिहार्य छ; हुर्कन्छौँ, बढ्छौँ , अजेय ठान्छौँ र एकदिन ढल्छौँ; महाविजयी ग्रीक योद्दाहरूका साम्राज्यहरू, रोमनहरू, तूर्कहरू र दुर्जेय बहादुरहरूका साम्राज्यहरू क्रमश: पतन भए । अलेक्जेण्डर दि ग्रेट, समुद्र गुप्त अनि सम्राट अशोक जस्ता अपराजेय ठानिएका योद्दा राजाहरूका वंशहरू आज कहाँ पुगे अत्तोपत्तो छैन । भारत स्वतन्त्र हुनुपूर्व विद्यमान अनेकौँ राजामहाराजहरू आज जनताको जिन्दगी बाँचेर नै मस्त रमाएका छन् , शान-शौकतपूर्ण जिन्दगी बाँचेका छन् । नेपाल कै कुरा गर्दा गोपाल, महिषपाल, किराँत, लिच्छवी, मल्ल कालहरू निश्चित समय अस्तित्वमा रहेर अन्त्य भए र अब शाह राजाहरूको युग ( विसं १८२५- २०६५ ) २४० वर्षे अवधि पार गर्दै अस्ताएको छ ।

जाँदा जाँदै ज्ञानेन्द्र शाहले देश र जनताका नाममा केही कामना छाडेका छन् , आँफूमाथि लगाइएका आरोपमाथि केही प्रतिवाद बोलेका छन् र आँफू देश छोडेर पलायन नहुने प्रतिवद्दता दोहोराएका छन् । एउटा नागरिकका रूपमा उनलाई यो गर्नबाट रोक हुनुपर्ने कुनै कारण छैन । तर पनि , उनकै शब्दमा 'आफ्नो रहरबिना नै जिन्दीका दुई विचित्र परिस्थितिमा राजा बन्न श्रीपेचका लागि टाउको थापेका' ज्ञानेन्द्र शाहले नेपाल मै बस्ने निर्णय गरेर अरू के के राजनैतिक विचित्रता अरू देख्ने भोग्ने हुन् हेर्न बाँकि नै छ । तर, नेपालमा अहिलेसम्म व्याप्त सम्पूर्ण खराबी, अफलता, तानाशाही चरित्रको दोषारोपण ज्ञानेन्द्रको बिगत ७ वर्षे राजअवधिको जिम्मा लगाएर, नेपाली राजनीतिका अरू सबै पक्षले आफ्नो दोष भागिदारीबाट छुट्टि लिन खोजेको देख्दा भने, ज्ञानेन्द्र शाहको बहिर्गमन पनि अरू डरलाग्दा पातकीहरूका लागि सन्देशमूलक बन्न सक्दैन कि भनी शंका गर्ने ठाउँ प्रशस्त छ !



3 Comments:

बिपलब said...

ज्ञाने कायर हो, भन्छन नि कायर हुनु भन्दा मर्नु राम्रो। फस्टाउदै गएको संभैदानीक राजतन्त्र अपुग देख्नेले तह लगाएर चलाउनु सक्नुपर्छ नि सक्रिय राजतन्त्र। अहिलेको जमानामा आएर फोन,इन्टेरनेट काट्ने मान्छेले अरु पोलिसी पनि बलियो बनाउनु सक्नुपर्छ नत्र अरिगांलको गोलोमा किन हात हाल्ने? बल्ल खायो, भएभरका अरिगांले टोकेर मुख सुन्नाउदै लाग्यो नागार्जुनको बन तिर। त्यही हो एकलब्य साथी कुकाम गरे पछि अदुवा खाइ सभा वस, मुला खाइ बन पस।

ठरकी दादा said...

एकदमै सहि विश्‍लेषण !

यो "जाँदा जाँदै ज्ञानेन्द्र शाहका मनका कुरा" ज्ञानेन्द्र शाहका मनका कुरा भए पनि नभए पनि करिव करिव मेरो सोच वा मैले लैख्न नसकिरहेको कुरा तपाईले लेखिदिनु भएको छ ।

समष्टिमा संबिधान सभाको निर्णयलाई स्विकारेर नागरिक बनेरै त्यो पनि नेपालमै बस्ने उसको 'हिम्मतलाई' भेन मैले स्वागत योग्य नै रुपमा लिएको छु ।

आर्को कुरा माओबादिको जघन्य अपराध पुरै थाँति रहदा यि एकजनालाई मात्रै 'ठाँउमा ल्याएर' खासै सुधारको भने मैले अपेक्षा गरेको छैन ,दण्डहिनता अन्त्य नभई गणतन्त्रले मात्रै नेपालीको मुहार फेरिने छैन ।

Panda said...

वाध्यतावस नै भए पनि अन्य उपद्रो नगरी सुरुक्क गद्दी छोडेर गएर "चमत्कारी बाबा" (प्रचण्ड) ले केही महिना पहिले गरेको "अर्को चमत्कार" को भविष्यवाणीलाइ ग्यानेन्द्रले पुरा गरिदिएका छन ।

यति सभ्य तरिकाले उनी प्रस्तुत हुनु हाम्रा नालायक नेताहरुका लागि पनि एउटा पाठ हुनुपर्ने हो तर "लज्जा" भन्ने शब्दावलि नै नेपाली "लोकतान्त्रिक" शब्दकोषमा नभए पछि के लाग्छ र! कुनेता, कुपत्रकार, कुजन सबैले अनुशासनहीनताको पराकाष्ठा,छाडापन र सजायहिनतालाई लोकतान्त्रिक विधी भन्ने भ्रम पाले पछि ग्यानेन्द्रले दरबार छोडेर नागार्जुन त के देशै छोडेर पलायन भए पनि वास्तविक लोकतन्त्रको लोकतन्त्रका पहरेदार र ठेकेदार हरुबाट नै जहिले पनि गला रेटिइरहेको हुन्छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !