April 13, 2008

बधाइ माओवादीहरूलाई !!!

म आँफू माओवादीको प्रशंसक वा समर्थक दुवै नभएको हुनाले र पनि सर्व-संलग्न लोकतन्त्रको पक्षमा बोल्न मन लाग्ने मान्छे भएको हुनाले बिगतमा गरिएका माओवादी व्यवहारको आलोचनाको सन्दर्भ उक्काएर कसैले दलबदलको आरोप पनि लगाउने सम्भावनाबाट म सर्वप्रथम अलग्गै उभिन चाहन्छु र कुरा त्यस्तो हैन भन्ने प्रष्ट पार्दै यो घन्थन शुरू गर्न चाहन्छु । माओवादीहरूले हिंसाको राजनीतिबाट चालेको यात्रा यति छिटो चुनाबी राजनीतिमा यति बिघ्न सफलताको उचाइमा पुग्ला भन्ने कल्पना पक्कै गरेका थिएनन् होला । तर निकट हिजो सम्मका सबै चुनाबी आँकलन , सर्वेक्षण र अनुमानहरू को र गणितलाई पूर्णतया गलत सिद्द गर्दै माओवादीले जनमत मार्फत आफ्नो सफलता देखाएर दुनियालाई तीन छक पारिदिएको छ भने चुनाबी राजनीति आफ्नो निजि पेवा सम्झेर आत्मरतिमा रमेका कांग्रेस र एमाले जस्ता माहिर खेलाडीलाई लोकतान्त्रिक राजनीतिक लडाईँको महिलो राउण्डमा तीन चित खुवाइदिएको छ । जनता प्रत्यक्ष संलग्न बनेर जुनसुकै परिस्थितिमा मतदान गरेको भए पनि सँधै जस्तो यो निर्वाचनका बेलामा भए गरेका केही ज्यादतिपूर्ण घटनाहरूलाई आधार मानेर निर्वाचनको वैधतामाथि औँला उठाउने परिस्थति पनि हरूवाहरूलाई अब हासिल हुन सक्दैन । अत: माओवादीहरूलाई बधाइ त दिनै पर्छ , एउटा लोकतन्त्र पक्षधरका नाताले । तर पनि केही कुरा कांग्रेस र एमालेका बारेमा त भन्नै पर्छ , उनीहरू यसरी किन चिल्लिए आफ्नै चुनाबी राजनितिका भरपर्दा कुशल खेलाडी आफ्नै home territory मा किनभने सबैको विचारमा यो क्षेत्र उनीहरूको आफ्नै थियो ।

यद्यपि, कांग्रेस र एमालेले के बुझ्न नसकेको प्रष्ट देखियो भने संविधानसभाको चुनाब पूर्व उनीहरूको पार्टीगत स्थिति सारा नेपालभरि कस्तो बिजोग हालतमा पुगिसकेको थियो । बिगत १३ -१५ वर्षमा बिरलै स्थानिय तहमा पुगेर जनतासंग सम्पर्क र सहलाप गर्न सकेका यि पार्टीहरूले , माओवादी बिद्रोहीहरू जसले कठिन भन्दा कठिन अवस्थामा ग्रामीण तहमा बसेर साम , दाम (? हैन होला, बरू लिए दिएनन ), दण्ड ( मृत्यु सम्म पनि ) , भेद, छल र कौशल सबै उपायले संगठनको बलियो आधारशिला बनाउन सकेका थिए र स्थापित दलहरूका संरचनालाई धमिरोले झैँ खाएर आफ्ना पक्षमा भत्काउन सकेका थिए, त्यो कुरासंग पूर्णरूपेण अनभिज्ञ रहेको देखियो । काठमाण्डुमा रहेर राजनिति गर्नु पर्ने तर ग्रामीण तहका कार्यकर्ता र मतदाताले हिंसाको स्थितिमा सामना गर्नु परेको ज्यादतिमा माओवादीसंग मिल्दा नै जाती हुने जनताको वाध्यात्मक मनोविज्ञानसंग अपरिचित दलहरूले यो कुरा बुझेनछन् कि कसरी कालान्तरमा त्यो वाध्यता नै आस्थाको रूपमा बदल्न जान पनि सक्दो रहेछ । तर एकपल्ट स्थानिय तहमा हासिल गरेको मत र बनाइएका कार्यकर्तहरू नेताहरूको स्वार्थलम्पट रवैयामा अनि नेताको चरम उपेक्षाका बावजूद पनि सँधै उनीहरूप्रति नै वफादार भएर रहनेछन् भन्ने आँकलनबाट चुनाबी राजनितिमा सफलताको मनको लड्डूमा रमाउन खोज्ने कांग्रेसी वा एमाले दम्भ र अभिमानको घैँटो पनि यिनै कारणले चकनाचुर हुन पुग्यो जस्तो देखिन्छ ।

एकातिर जनता राजतन्त्रसंग पूर्णत मोहभंगको स्थितिमा थिए भने , गएको देढ दशकको संसदीय प्रयोगको अस्थिरता र दिशाबिहीनता ,स्वेच्छाचारिता, भ्रष्टाचार र अकर्मण्यता र जनताप्रतिको चरम उत्तरदायित्वहीनताका कारण जनता कति रुष्ट थिए भन्ने कुराको प्रतिकृया स्वरूप निर्वाचनमा मतको वर्षा माओवादीका पक्षमा गएको पनि बुझ्न गाह्रो छैन । माओवादी हिंस्रक थियो र उसबाट ज्यादति भएका थिए भन्ने कुरा साँचो हुँदाहुँदै पनि उसले उठाएका राजनैतिक र देशिय मागहरू आकर्षक थिए भने कांग्रेस वा एमाले जस्ता दलहरूले त्यही माओवादी हिंसा र समस्यालाई भजाएर आफ्नो अकर्मण्यतामाथि खोल राख्दै आफ्नो स्वार्थको दूनो सोझ्याउने काममा लीन भएका यी दलहरूलाई जनताले चाहे भने कस्तो उथलपुथल वा कायपलट सिर्जना हुन सक्छ भन्ने कुराको पाठ पनि बन्न पुगेको छ यो निर्वाचन परिणामको तथ्यांक ।


अर्को कुरा गिरिजा प्रसाददेखि माधव नेपालसम्मले एउटै दम्भ पालेर रहनु र आफ्नै दलको स्थानिय राजनीतिमा कस्तो दयनिय नियति छ भन्ने कुरा बुझ्न नसकी निर्वाचन सम्पन्नताको विषयलाई आफ्नो व्यक्तिगत प्रतिष्ठासंग गाँसेर रहनु पनि उदेक लाग्दो परिणामको कारक रहेको छ । ‘म संविधानसभाको चुनाब नगरी मर्दिन’ भन्ने गिरिजा प्रसादले त्यो घटना पछिको जिम्मेवारी माओवादीलाई छोड्ने बारेमा मन बनाएका थिए भने त उनको ईच्छा पूरा भयो होला हैन भने उनले आफ्नो दलको बलिदानीमा माओवादी दलको राजनितिलाई उर्वर बन्न ढोका खलिदिएका छन् , असलमा यो परिणामको कारक उनी पनि हुन भन्दा फरक पर्दैन । किनभने विपक्षीदलका नेता र कार्यकर्ता जनतासंग मत माग्न निर्धक्कसंग गाउँघरमा पुग्न पनि नसक्ने स्थिति कायमै रहेको मुलुकमा निर्वाचनका लागि निर्भय परिस्थिति निर्माण गर्ने कुरालाई भन्दा निर्वाचन सम्पन्न गराउने काम सकेर निवृत्त हुन खोज्ने गिरिजा प्रसादले यो माओवादी विजयमा बेसरी खुशी हुन सक्नु पर्छ ।


अन्त्यमा के स्विकार्नै पर्छ भने नेपाल वामपन्थमय भएको छ । यदि माओवादी र एमालेको चुनाबी तालमेल भएको भए प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले त एउटा सिट पनि हासिल गर्न गाह्रै हुन्थ्यो होला । त्यतिबेला आफ्नो संविधानसभामा प्रतिनिधित्वको जस पनि कांग्रेसले मनमनै माओवादी कारणले बनेको समानुपातिक प्रतिनिधित्वको अन्तरिम संवैधानिक व्यवस्थालाई दिइरहेको हुन्थ्यो होला । तर जनताले यति बिघ्न कम्युनिष्ट विचारले नै आफ्नो र मुलुकको उद्दार गर्छ भन्ने सम्झिन्छन् भने उनीहरूको मतलाई सम्मान गर्नै पर्छ , भलै म त्यो विचारमा असहमति नै किन नराखूँ । तर २१ औँ शताव्दिमा यो surge of communist tidal wave देखेर बाँकि संसार विस्मित र विस्फारित आँखाले नेपालतर्फ हेर्दै गरे पनि निर्वाचनको वैध बाटोबाट माओवादीले यो सफलता लिएकोमा कुनै लोकतन्त्रवादी चिन्तित हुन पर्दैन किनभने यो अवस्यम्भावी थियो र नै हुन सम्भव भएको हो । अब बाँकि के हो भने, हाम्रो भोलि कस्तो होला .............



माओवादी चुनाबी प्रतिवद्दतापत्रका वर्षेनी १००० मेगावाट विद्युतशक्ति उत्पादन गर्ने मुलुकलाई २० वर्षमा सिंगापुर वा स्विट्जरल्याण्ड बनाउने बाटोमा केही पाहिला पनि माओवादीले स्पष्टसंग लिन सकेको खण्डमा , भोलि पनि उसको अनावश्यक आलोचना गर्न समय खर्चिरहन नपर्ने हुनसक्छ । किनभने आधुनिक नेपालको बिगत ५० वर्षमा ५०० मेगावाट बिजुलीको धिकिर धिकिर बत्ति बालेर दिनहूँ ६ देखि ८ घण्टे लोडसेडिङलाई तोकेर वर्षेनि १००० किलोवाट बिजुली निकालेर देखाइदिने पार्टीलाई सही ढंगले छनोट गरेर जनताले के चाहेका रैछन् देखाइदिएका छन। यो त केवल एउटा बूँदा हो प्रतिवद्दता पत्रको । तर माओवादी स्वयंलाई पूर्ण जिम्मेवारी दिएर मिलिट्याण्ट शक्तिको राजनैतिक कामकार्वाही छिटै हेर्न भने पाइने भएको छ । यथास्थितिवादी शक्ति विरुद्द क्रान्तिाकारी शक्तिको स्पिरिटले नै केही गर्ला भन्ने मतदाताको आशामा म पनि एकाकार हनै परेको छ अहिले ।

अब जबर्जस्ति वा स्वेच्छिक चन्दाका घटना हुने छैनन् होला वा हुँदै गरेका छन् वा छैनन, सेनाले सहयोग वा असहयोग के गरिरहेको छ, प्रहरी कता फर्केर के गरि'राछ , भारत , अमेरिका, सुरक्षा, सेना र दरबार महंगी , लोडसेडिङ वा असंख्य अरू विषयका बारेमा सिधा सरोकार माओवादी नेतृत्वको सरकारले गर्ने छ अबदेखि। यसो गर्दा कमसेकम हिजो समस्या देखाउने ठाउँमा रहेको माओवादीले समाधान दिन पर्ने ठाउँको जिम्मेवारीलाई कति क्रान्तिकारी स्पिरिटमा निभाउने छ त्यो हेर्न पाउनु अति रोचक , रोमाञ्चक र फाइदाजनक सबै हुनसक्नेछ । त्यतिबेला उसले अरूलाई दोष वा अवरोधक भएको कुराको दोष नथोपरी बिद्रोहीपन र विनम्रताको फ्युजन आफ्नो व्यवहार, काम र विचारमा कसरी गर्ला हेर्न धेरै दिन कुर्न पर्ने छैन । संविधानसभाले संविधान बनाउने र अनुमोदन गर्ने मुख्य काम गर्ने भएपनि अहिलेको गिरिजा नेतृत्व पछिको सरकारको नेतृत्व माओवादीको नै हुने बारेमा कसैको शंका पनि रहेन अब त । समस्या देखाउने ठाउँबाट समाधान दिने ठाउँमा एकाएक पुग्दा बाँकि जनतालाई आश्चर्य लागेपनि , आँफूलाई नया सत्ता मानेर पुरानो सत्ताको अस्तित्वलाई नकार्दै आएका माओवादीलाई ख्यालख्यालको सत्ताबाट वास्तविक सत्तामा स्थानान्तरित भएर अपनाउनु पर्ने जिम्मेवारीको वोध अवश्य नै होला र काम पनि त्यसै अनुरूप होला भन्ने अपेक्षा सिवाय अरू केही गर्न सकिने स्थिति नि छैन हामीसंग अहिले ।
जे होस् जनताले क्रान्तिकारी जोशलाई जिम्मेवारी दिँदै भनेका छन् “ लौ गर्ने भए गरेर देखाओ, सप्पै जिम्मेवारी दिएका छौँ” । हेरौँ यो गहनतम जिम्मेवारीले उनीहरू कर्तव्य र जिम्मेवारीमा कति विनम्र बन्ने हुन् र आशातित सफलताको यो खुशीमा उनीहरू कसरी सबै नेपालीहरूको सरकार बन्ने हुन् ।
त्यसैले मेरो पनि सहस्र बधाइ छ माओवादी पार्टीको नया राजनीतिक अवतरणको यो विशाल सफलतामा !!! बधाइ कामरेड प्रचण्डज्यू ,माओवादी पार्टी र मतदाताहरूलाई !!!


2 Comments:

ठरकी दादा said...

मलाई लाग्छ जनताको परिवर्तित मन र सोचलाई नेपालका दल र नेताहरले मात्रै हैन राज्यको चौथो अंग मानिएको मिडियाले पनि पत्तो पाउन सकेन।

नंबर १ मानिएका (वा आफैले आफैलाई नं १ को ऊपाधि दिएका) पत्रीकाले पनि अन्तिम अबस्थासम्म माओबादिको नराम्रो हार हुने तथ्याकं देखाईरह्‍यो ।

हामि दौतरिका प्राय लेखक र पाठक पनि करिव करिव त्यहि मनस्थितिमा थियौं । तर केहि परिवर्तन हुने आश, केहि हदमा फेरि जंगल फर्कने त्रास र फेरि त्यहि भ्रष्टहरुको फुनरागमनको आभासले गर्दा जनमत एकचोटि माओबादितर्फ मोडीयो ।

आशा गरौं माओबादि नेतृत्वले जसरि चुनावमा सबैलाई चकित पारे त्यसरिनै देशलाई उन्नति तर्फ लम्काउने कार्य पनि आश्चर्यजनक तरिका बाट गर्नेछन।

आफू माओबादको कुनैपनि हालतमा अनूयायी वा समर्थक नभएपनि जितमा बधाई दिन भने हामि पनि किन पछाडि पर्ने ?

बधाई र शुभकामना !!

Panda said...

तपाईं ले भनेको ठीक हो । आलोचना गर्दैमा कोही कट्टर विरोधी हुँदैन र समर्थन गर्दैमा कोही शुभ चिन्तक हुँदैन । तार्किक वा उपयुक्त आलोचनाको मुल्य कोरा समर्थन र सहानुभुतिको मुल्य भन्दा ठुलो र महत्वपूर्ण हुन्छ ।

निर्वाचन परीणाम आश्चर्यजनक आएको छ, यसमा माओवादीहरुनै सहमत छन (चुनाव भन्दा केही पहिलेको केही नेताहरुसँगको छलफलमा पनि पूर्ण बहुमत कसैको न आउने कुरा उनिहरुको विश्लेशणमा थियो)। यो परीणामले केन्द्रमा बसेर बिश्लेशण गरिने राजनीति र केन्द्रिक्रित मिडियाहरुको बुझाई र पहुचलाई नराम्रोसँग उजागर गरिदिएको छ। यो दिन देख्नु पर्छ भन्ने सोचेको भये दलहरुले पनि संविधान सभाको बाटो फर्केर पनि हेर्ने थिएनन होला । यती मात्रै होइन राजाको अधिनायकलाई नै स्विकार गरेर बस्ने थिए।

जनताहरुले परिवर्तन चाहेका छन, हामीले परिवर्तन चाहेका छौं यसमा कुनै विवाद छैन । तर परिवर्तनको बाटो के हुन्छ र कसरी जान्छ त्यो नै महत्वपूर्ण हुन्छ। जनधिकार फोरम नामको पार्टीले समेत यतिका सिट जितेर के पनि इङित गरेको छ भने राजनीति राजनीतिमा मात्रै सिमित छैन ......

व्यक्तिगत रुपमा भन्नु पर्दा अहिलेको चुनावी नतिजाको पहिलो दिन देखी नै मनमा एक प्रकार को खुशी र रोमान्च जागेको छ । तर संगै एउटा डर के छ भने राजाको अधिनायकबाद भन्दा कम्निस्टको अधिनायकबाद खतरनाक हुन्छ । नयाँ आउने शासन व्यवस्था कामरेड प्रचन्डले भने जस्तै बुद्ध अनी जङ बहादुर को मिश्रण भएर आओस, देशमा विधीको शासन सुरु होस्, दण्ड हिनता अन्त्य होस्, अन्य कुरोहरु भन्दा देश बिकास सत्ता संचालन अनी विधी स्थापनाको केन्द्रबिन्दु बनोस , नराम्रोलाई नराम्रो भन्न पाइयोस, राम्रोलाई राम्रो भन्न पाइयोस, निर्धाको पनि सुनुवाई होस् , शिर ठाडो पारेर नेपाली भन्न पाइयोस, देशमा अहिलेलाई चाहिएको यती नै हो, यसका लागि ५-१० वर्ष जुनसुकै बाद सहन पनि जनता तयार हुनेछन ।

दौतरी का साथी हरु अनी सबैलाई यही शुभ कामना !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !