October 30, 2007

नेपाली कांग्रेस र माओबादीको क्रस फायरमा देश

अहिले देश क्रस फायरमा परेको छ, माओबादी र नेपाली कांग्रेसको हानाहानमा। समानुपातीक निर्वाचन र निर्वाचनपुर्ब नै गणतंत्रको घोषणा माओबादीका अस्त्र हुन् भने प्रत्यक्ष निर्वाचन प्रणाली र पुर्ब सहमती अनुरुप संबिधान सभाको पहिलो बैठकबाट मात्र राजतंत्र सम्बन्धी निर्णय हुनुपर्ने अडान कांग्रेसका अस्त्र हुन। दुबै पक्ष आफ्ना अडानमा अडिग देखिन्छन्।दुबैले आफ्ना अडानहरुका औचित्य देश र जनताको दुहाई दिएर नै पुष्टी गर्न खोजिरहेका छन्।माओबादी केही लचिलो बनेर गणतंत्रको सवालमा "संकल्प प्रस्ताव" मात्रै पारीत गरे पनि हुने तर चुनाव भने समानुपातीक नै हुन पर्ने भनेर एक् खुड्किलो तल झरेका छन तर नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समितीबाट नै निर्णय गराएर माओबादीको प्रस्ताव बिरुद्ध मतदान गर्ने भनेका छन्। यी दुबै पार्टीहरु आ-आफ्नो स्वार्थको लागि देशलाई गम्भीर अनिस्चितता तिर लैजादैछन्। यसबेला, राजा, राजाबादीहरु र सेना यो घटनाक्रमको मज्जा लिईराखेका छन्। नेपाली कांङ्रेस र माओबादीहरुको आ-अफ्नो दलीय स्वार्थको लडाईंमा फाइदा भैराखेको छ, राजालाई। जति जति यो द्विपक्षिय द्वन्द तन्किन्छ, त्यति त्यति राजतंत्रको आयु लम्बिन्छ, अझ भनौ, त्यति नै मरिसकेको राजतंत्रमा प्राण भरिदै जानेछ। नठानौं, यो प्राण भर्ने काममा माओबादीहरुले मात्र सघाइ रहेका छन्, नेका पनि उत्तिकै जिम्मेवार छ।
समानुपातीक प्रणालीमा निर्वाचन भए कम्युनिस्टहरु बहुमतमा आउने र नेकाको वर्चस्व गुम्ने भयले नेका पुर्ण समानुपातीक निर्वाचनको पक्षमा छैन। प्रत्यक्ष निर्वाचन भएमा माओबादीको हविगत बिगतमा एमाले बाट फुटेका मालेको जस्तो हुने भएकोले माओबादी त्यो चाहदैनन्। हुन त राजतंत्र निर्वाचन प्रणालीको सम्बन्धमा पहिले नै अंतरिम सम्बिधान मा ब्यबस्था भैसकेको छ र अहिले अन्तिम समयमा त्यो संसोधन गर्न खोज्नु माओबादीको राजनैतिक इमान्दारीता होइन, तर यो बिद्रोही शक्ती हो भनेर मानि सकेपछि यसलाई अलग गरेर जान वा यसको अस्तित्व नामेट हुने गरी देशमा शान्ती कायम हुन्छ भन्ने कांग्रेसले सोचेको छ भने फेरि गल्ती गर्दै छ।नेपाली कांग्रेसको इतिहास हेर्ने हो भने यसले जहिले पनि राजा चुप् लागेर बसुन् ( अर्थात् संबिधानिक बनेर थन्कियून्) र सत्ताको हालीमुहाली हामी गरिरहौं भन्ने भावनाले ग्रस्त छ। अहिले गिरिजाबाबूको तरिका त्यस्तै छ। अल्पमत, फरकमतलाई पनि समेटेर जान पर्छ भन्ने कहिले सोचाई भएन।
ल मानौ माओबादीले सहमती तोडेकै हुन, माओबादी अधम् नै हुन, तर एउटा निकास खोज्न तिर नलागेर आफ्नो सिंगो केन्द्रीय कमिटीद्वारा नै माओबादीको प्रस्तावको बिरुद्ध मतदान गर्ने औपचारिक निर्णय गराएर नेपाली कांग्रेसले के गर्न खोजेको हो?माओबादीलाई संसदमा लोप्पा खुवाएर के देशले निकास पांउछ? राजनीतिको मुलधारमा के उनीहरु नांगेझार भएर आउंछन्? माओबादी नेपाली सेनाले काबूमा ल्याउन नसकेको शक्तीहो र अहिले गिरिजाबाबू त्यही सेनाको क्षणिक न्यानो साथ ( मूतको न्यानो)पाएर हौसिनु भएको छ र अरुलाई कुनै भाऊ दिईराख्नू भएको छैन । भोली परिस्थिती बिग्रिदै जांदा आफूलाई माथिको आदेश भनेर चुर्मुर्याएर लैजाने पनि तिनै सेना हुन।जे जसरी हुन्छ, अहिले माओबादीलाई राजनीतिको मूलधारबाट उछिट्टिन पर्ने काम गर्नु भएन।अहिले को समय भनेको संसदमा आफ्नो बहुमत देखाएर पेल्ने समय होइन, सबैलाई समेटेर लैजाने समय हो। नेपाली कांग्रेस आफूलाई ऐतिहासिक पार्टी मान्छ,नेपाली राजनीतिको केन्द्र मान्छ भने अवश्य पनि सबैलाई समेटेर लैजान्छ, होइन भने माओबादी र कांग्रेसमा केही फरक् रहेन-दुबैको लक्ष्य देशलाई क्रस फायरमा झोंक्नु नै भन्ने बुझिनेछ।

3 Comments:

nepalean said...

सबैलाइ आफ्नै स्वार्थ पुर गर्नु पर्ने। क्या शब्द टिप्नु भो तपाइले, "क्रस फाएर"। अब तपाइ हामी चाही फाएरको बिचमा होइन त ? मर्नी भइयो जसरी पनि।
साना तिना पार्टी त साढेको जुधाइ बाच्छाको मिचाइ होला?

ठरकी दादा said...

हाम्रो देश गरीब भनेको आर्थीक हिसाबमा मात्रे हैन, बौद्वीक रुपमा पनि हामी गरीब छौं । यत्ती गरीब की देस यि हालतमा पुग्दा समेत हामीकहाँ एकजना "नेता" छैन।

सबैजना परम अवसरबादी, अति स्वार्थी र अत्यन्त सानो सोच भएका छन।

यहा केवल कांग्रेसका नेता छन, एमालेका नेता छन अनी माओबादि र त्यस्तै आ-आफ्नो पार्टीको पछी लाग्ने कार्यकर्ताका नेता छन तर संम्पूर्ण देश वा भनौ नेपाली जनताका नेता कोहि पनि छैनन् ।

तपाईले भन्नु भए जस्तै सबैजना आफ्नो सिट कम आउला बन्नेमा मात्रै चिन्तित छन। यस्तो स्थितिमा कांग्रेसका नेता, एमालेका नेता, माओबादि नेता वा अरु कुने दलका नेताले समष्टीमा देस र जनताको बारेमा सोच्लान भन्नु हाम्रो गल्ती हो किनकी मैले त नेपालमा अहिले सम्म एकजना यस्तो मानिस देखेको छैन जसलाई "राष्ट्रिय स्तरको नेता" वा देसके नेता भन्न सकियोस ।

गिरीजाको सोच कांग्रेस भन्दा माथी उठन सक्दैन, माकुनेको ब्रह्मज्ञान एमाले भन्दा बाहिर जानै सक्दैन अनि पुष्प कमल दहालको महानता पनि आफ्नै बादको दायराभित्र छ। भने नपाल र नेपालीको नेता को हो त?

संबिधान सभाको चुनाव बारम्बार हुने कुरो होईन (यसपाली नै होला नहोला जस्तो भैसक्यो) यस्तो बेलामा आ-आफ्नो पार्टिको स्थिति मजबुत बनाउने बाहेक अन्य कुरा कसैले केहि सोच्ने छैनन्।
नेपालको पर्जातन्त्र त एकजनाको हातबाट फुस्केर झन आठ जनाको तानातानमा पर्ला जस्तो पो भयो ।

एकलव्यको डायरी ( Eklavya's diary) said...

कांग्रेस भिजन नभाको, एमाले पिँध नभाको अनि माओवादी कुसमयमा जन्मेको ऐँजेरु , राजा शेक्सपिरियन ट्रेजिडीको क्लोडियस जस्तो अनि कसरी देश बन्छ ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !