May 25, 2009
मन भित्र कुरा खेल्छ
गजल: मन भित्र
मन भित्र कुरा खेल्छ मुटु गाठो परी जान्छ
सम्झनाको झटारोले गोली हाने सरी जान्छ
खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित
एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ
नियतिले खेल खेल्यो मेरो जीवन माथि भन्छु
आशा फेरी पलाई आउछ बिच बाटोमै मरी जान्छ
जती खोज्छु सम्हालिन झन झन गार्हो हुन्छ
रसाउछ नयनहरु आशु त्यसै झरी जान्छ
भुल्न खोज्छु अतितका मिठा पलहरु
याद आउछ बल्झिएर मन मुटु हरी जान्छ
May 24, 2009
दौंतरीको दिशा र पाठकको गन्तव्य
सही कुरा राख्ने ठाउको कमी पटक पटक महशुस भएर नै दौतरीको जन्म हुन गएको हो। केही बोल्न कुनै बादको अनुयायी नै हुनुर्ने परिस्थीती नाओस भनेर नै दौतरीको उर्जा जोगाइ राखेका छौं। यसमा प्रतक्ष अप्रतक्ष कति सामेल हुनुहुन्छ ठ्याक्कै भन्ने स्थीती छैन तर पनि गर्वका साथ भन्नु नै पर्छ ब्यक्तीबाट माथी उठेर खोलीएको दौतरी ब्लगको समुह अझ शसक्त र बिस्तार हुने क्रममा छ।
संसारकै एक पुरानो लिखित भाषाका प्रयोगी हामी संसारकै गरिब मुलुकको सुचीमा पर्छौं। हाम्रो आकांक्षा र अबस्थाको बिशाल दुरी कायम भइदिनाले नेपाल र नेपालीहरु निकै अप्ठ्यारो समयमा गुर्जीरहेका छन। न त तिर्खा मेट्ने गरी पानी उपलब्ध छ न त मन ढुक्क बनाइ हिड्ने अबस्था छ। छ त छ केबल जनताबाट खसालिएका भोटको अधिकार प्राप्त झुन्डको उच्च जिबनको सुनिस्चता। बिभिन्न अलंकार प्रयोग गरी शासन ब्यबस्था फेरिए पनि जनचाहनाका काम सुन्यमै सिमीत भएका छन। अझै पनि जनताहरुको झोलामा नेताहरुकै बिचारका पर्चाहरु भएको ठानिन्छ। त्यसैले जनताको रोजाइमा होइन कि पार्टीहरुको रोजाइमा बिबाद गरिन्छ।
के त सर्वसाधारण आफ्नो कुरा राख्न सक्षम नै छैनन? नागरीक समाजका सदस्य पार्टीको पोल्टोमा छन भने देशको अबस्था चिरफार गर्ने पत्रकार ब्यसायिकताको घर्रामा। देश र जनताको स्वार्थ प्रतीनिधित्व गर्ने र यस्ता मुद्दाको वकालत गर्ने ब्लगहरुकै जिम्मामा छ। के त नेपाली ब्लगहरु यसमा सक्षम छन? निकै छोटो इतिहास बोकेको नेपाली ब्लग इतिहास र बामे सर्दैगरेका ब्लगरहरुलाइ यसरी झोस्नु अन्याय नै हुनजान्छ। तर पनि आफुलाइ त्यस्तो ठाउमा चित्रीत गर्दै ब्लगहरु अगाडी बढ्नुपर्छ। सस्तो लोकप्रियता होइन की सफल अग्रताको स्थान ओगट्नुपर्छ ब्लगहरुले। एउटै लेख किन नहोस, त्यसैले देशकै स्वरुप नै फेरोस। नेपाली हुनुमा अझै गर्व थपियोस। ब्लगहरुको मुलमन्त्र त्यही नै हुनुपर्छ।
काठ एक रातमा अग्राख बन्ला तर ब्लग पंलासै किन नबनुन, आफ्नो चुरो कमजोर हुनदिनुहुदैन। दौतरी आफै ब्लग भएर पनि अरु ब्लगहरुको उन्नतीमा चासो राख्छ। ब्लगहरूमा हुलमा जब कुनै ब्लग देश र जनताको पहिचान बनाउन सफल हुन्छन दौतरीको मुलमर्म त्यो ब्लगसंगै सफल हुन्छ। तर पनि ब्लगहरु गाली गलौज गर्ने सहज पहुंच या ब्यक्तीगत बिज्ञापन गरिने सस्तो माध्यम बन्न दिनुहुदैन। न त कुनै कुपोषित बिचार प्रवाह गर्ने थलो या बिचार छरिएको अमुक स्थान बनोस।
दौतरीका यावत आकांक्षा र उदेश्यको बिचमा डेढ बर्षको अन्तरालमा कता पुग्यो त दौंतरी? के पाठकले सुरुमा खोजेको गन्तवय तिरै सोझिदै छौं? नेपाली पाठकहरुले ब्लगमा खोजेका कुराहरु के हुन? कती पाउनुभएको छ? ब्लग कती सफल असफल छन? यि प्रश्नको थुप्रोमा दौतरीका पांग्रा कता गुड्दैछन? यो मुल्याकंन गर्ने पाठकहरुले नै हो। त्यस मुल्याकंनमा अन्य ब्लगरको सामिप्यताले पक्कै जिबन्त तुल्याउंछ।
अपडेट: खासमा दौतरीको बारेमा लेख्न मन भैरहंदा दिलीप आचार्यको ब्लगमा ब्लग संबन्धी प्रतिमात्क कथा आएको रहेछ। त्यसले दौंतरी काहां छ भनेर बुझ्नको लागी लेख्न झकझकायो। संयोग पनि त्यस्तै बसन्त गौतमको ब्लगमा पनि नेपाली ब्लग सम्बन्धी नै लेख आएको रहेछ। यो त ब्लगकै मौसम जस्तो लाग्यो। अरु पनि नेपाली ब्लग सम्बन्धी लेख आए थाहा दिनुहोला।
दिलिप आचार्यको ब्लग संबन्धी प्रतिमात्क कथा:तानसेन, हरिदास र ब्लगरहरु
बसन्त गौतमको ब्लग सम्बन्धी लेख: नेपाली ब्लगको बर्तमान र भबिष्य
साथै दिपन्द्रे जी को ब्लग एक बर्ष भएको मा शुभकामना
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
भन्छिन मेरी उनी
०५-२४-२००९
न पछ्याउ अब मलाई
मेरो बाटो अझै कठिन हुँदैछ
हिंड्नु छ मलाई
काडा घारि को गोरेटो
तिम्रो सुकिलो लिवास
उध्रिन सक्छ
चिल्लो फराकिलो बाटो
रोज्ने हरु
दोष मलाई आउन सक्छ
फर्की जाउ सुख को संसार
मलाई त अझै पत्थरिला
बाटो मा हिंड्नु छ
साथ लागे त तिम्रो
कोमल पाउ मा घाऊ लाग्न सक्छ
टाढै बस रमाउ जहाँ छौ
मेरो बस्ती मा त
प्रदुषण ले बिमार पार्न सक्छ
बेच तिम्रो ज्ञान को भन्डार्
उतै तिर
यता त बित्रिष्णा आउन सक्छ
म त जिर्ण भैसके अब मैले
तिम्रो सन्तान को
भबिस्य कोर्न सक्दिन
टाढै राख तिन्लाई
गरिबि ले कुन्ठा बढ्न सक्छ
ओत लाग्ने आसा मारिदेउ
यो खर को छानो
जुनै बेला ढल्न सक्छ
काम को के भरोसा म मा
दौरा र टोपी को
काम समेत बन्द हुँदै छन
सभ्य समाज मा रमाउ तिमी
मेरो आगन मा त
बिक्रिती को पहाड खडा छ
तिम्रा कोइ दौतरी छैनन यहाँ
घर घर मा थरी थरी का डन्डा छन
नपठाउ मलाई अरब बाट
पसिना ले भिजेको चिट्ठी
रोएर म सिथिल भै सके
बाँकी छैन अब यहाँ
तिम्रो पुर्खा को अस्मिता
च्यातिएर धुजा धुजा भैसक्यो
नझार परदेश बाट
औपचारिकता का आशु
म त तिम्रो लागि अर्घेली भैसके
तिम्रो छाती मा कुदिएको
मेरो नाम खुइलिसकेछ
नदोर्याउ कथा राम र बुद्ध को
लिट्टे र तलिवान ले तिन्को
हरण गरिसकेका छन
न झकझकैराख तिमी हरु
टाढा बाट
यो अस्थिपन्जर
ढल्नै आटि सकेको छ
न आउ फर्की घुर्की देखाउन
यही कै ले छाती थिल थिलो
पारिसकेका छन
शुभकामना परदेशिएका लाई
उही चाउरी परेकी नेपाल आमा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
उ शिशु जस्तै मेरो मनको पाठेघरमा धेरै समय अटाउन चाहदैन
हरेक बिहान म भावनात्मक प्रशव पीडाले
आक्रान्त बन्छु ,
त र त्यो पीडामा म दुखेको
आभाष गर्दिन ,
त र त्यो दुखाइ मा त मलाई मीठो अनुभुती हुन्छ
शिशुको जन्मको पीडा जस्तो त्यो दुखाइ हुँदैन
अनी शिशु जस्तै मेरो श्रीजनारुपी बालक
धेरै समय सम्म मेरो भावनारुपी पाठेघरमा
अटाउन पनि चाहदैन ........
किन कि उस्लाई त संसारमा रमाउनु छ
सबैको ह्रीदयाकाशमा उड्नु छ पंख फिंजाएर
अनी म... बिना कष्ट ,बिना पीडा
हांसी हांसी उस्लाई मेरो कलमको सहारामा
जन्माउने प्रयत्न गर्छु
उस्को बालशुलभ मनोकाक्षा बुझेर /
म उस्को भाग्यमानी आमा बन्न
सधैं लालायित बन्छु
अनी म पनि उस्लाई जन्म दिइे सकेर
एक पटक खुशी र शान्तावनाको
मीठो श्वास लिन्छु ,
जसरी... औसत आमाहरु छोराको जन्म पछी
खुशी र हाँसोको खुय्य श्वास लिने गर्छन्
त र... मेरो अर्थ र सोंचमा भने
मेरो भावनारुपी शिशुको भेदभाव हुँदैन
बस... मैले त जन्माउनु छ
मलाई सधैं भरी बैशाखी भएर पाल्ने छोरो हैन
मलाई सधैं मनमा शान्ती दिने र
म भन्दा पनि अरुलाई बाँच्न अभिप्रेतित गर्ने शिशु
किन कि म चाहन्छु ,
मेरो स्वार्थको मात्र शिशु हैन
त र संसारकै आमाहरुको रखवाली गर्ने शिशु
जस्ले सारा पीडित आमाहरुको
आसुँ पुछ्न सक्षम होस्
अनी हर आशामुखी बाबुहरुको सपना
साकार पारोस ,
एउटा कुशल योद्धा बनेर
हर बाबुहरुको छात्तिको निशाना बनोस
बिरताको गाथा बनेर
त्यसैले... हर बिहानिमा मैले जन्माएको शिशु
मेरो मात्र ब्यक्तिगत सन्तान नबनेर
म साराको सन्तान भनेर चिनाउन अभिप्रेरित बन्छु
मैले भावनारुपी कोखबाट जन्माए पनि
सबैको भावनामा अटाउन चाहन्छु /
(अमेरिका )
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
यसरी फेला पर्यो प्रचण्डको जङ्गी टेप
Ashok Kumar Nepal
काठमाडौँ। राजनीतिक र फौजी योजनासहित जनसेनाको तेस्रो डिभिजनमा उत्साहित हुँदै गरेको भाषणको गोप्य भिडियो टेप सार्वजानिक भएपछि व्यक्तिगत रुपमा समेत माआवादी अध्यक्ष प्रचण्डलाई परेको अप्ठ्यारोको अनेक जवाफ दिने कोसिस भइरहेको छ। तर, यसमा बोल्नुपर्ने केही पक्षहरू भने चुपचाप देखिएका छन्। प्रचण्डको टेप कसले र कहिले फेला पार्योक? यस बारे एउटा रोचक विवरण फेला परेको छ।
डेढ वर्षअघिको भाषण समेटिएको यो टेप अहिले चर्चामा आएजस्तो नेपाली सेनाको ठूलो घुसपैठका कारण सर्वप्रथम सेनाले हात पारेको भने होइन। यो टेप एउटा कूटनीतिक निकायको हातमा सबैभन्दा पहिले आइलागेको थियो। नेपालको आन्तरिक राजनीतिमा खासै ठूलो चासो नदेखाउने, तर आर्थिक सहयोगका क्षेत्रमा साथ दिइरहेको सो निकायले संविधानसभाको निर्वाचन हुनुअघि नै यो टेप पाएको थियो। विश्वस्त स्रोतका अनुसार, नेपालसँग सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायती दूतावासमा आइपुगेको यो टेप जनताका सामु प्रकट हुन भने धेरै ढिलो गर्यो त ? ।
स्रोतका अनुसार, आफूले पाएर अति गोप्य रुपमा दूतावासले यो टेपलाई लुकाएको पनि थिएन। टेप तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उतिबेलै हेर्नुभएको थियो भने तत्कालीन अनमिन प्रमुख इयान मार्टिन पनि यस बारे अनविज्ञ थिएनन्। अरु दलका नेताहरूलाई यस बारे जानकारी दिइयो कि दिइएन भन्ने कुरा खुल्न नसके पनि तत्कालीन प्रम कोइरालाले आफ्नो प्रधानमन्त्रीत्व कालमा यसलाई सार्वजानिक गर्न चाहनुभएन। उहाँले शान्तिप्रक्रिया भड्किन सक्ने गम्भीर खतरा त्यतिबेला देख्नुभएको थियो। अनमिन प्रमाणीकरणको प्रक्रिया पूरा गर्दै मात्र थियो त्यतिबेला।
यदि यो प्रकरणलाई गम्भीरतापूर्वक त्यही बेला ल्याइएको भए प्रमाणीकरणलाई राजनीतिक सहमतिका आधारमा सच्याउन केहीले पनि छेक्ने थिएन। आफूले पाएको टेप सरकारलाई बुझाइसकेपछि कूटनीतिक निकायले थप दबाब दिन सकेन भने प्रमले टेपलाई सेनाको जिम्मा लगाइदिए। सेनाले यसलाई आफूलाई परेको बेला होइन कि सेनापति कटवालको जागिर अप्ठ्यारोमा परेको बेला यसलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गर्यो । सेना समायोजन, भर्नालगायतका कतिपय गम्भीर विषयहरू उठ्दा सार्वजानिक नभएको टेप सेनापति कटवाललाई अवकाश दिएपछि उत्पन्न विवादलाई मोड्ने र आफ्नो जागिर दह्रो बनाउने कुरामा मात्र प्रयोग गरिनुलाई विदेशी नियोगले पनि सकारात्मक रुपमा हेरेका छैनन्। माओवादी रणनीतिक रुपमा टेपमा भनेजस्तै गरी अघि बढेको छ भन्ने कुरा उनीहरूको अन्य सार्वजनिक अभिव्यक्तिहरूले पनि दिएकै थिए। यो थाहा पाउँदापाउँदै चुपचाप बस्नेहरू सबैमाथि कारबाही हुनुपर्ने देखिन्छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 23, 2009
शान्तिपाठ
हामीले एकापसमा धारे हात लाएको
एक-अर्कालाई सिध्याउने कसम खाएको,
तर,
हिंसाको यो अखण्ड कथामा
ताज पहिरिने समय कहिल्यै आएन
मनले त्राण पनि त कहिल्यै पाएन !
हतास मनभरि त्रास र घृणा रोपेर
मानव उद्विग्नता र आकांक्षाका तनभरि
कुटिल मादकताको जहर खोपेर
हामी मृत्यु यज्ञको होता बनिरह्यौँ
हामीले अन्तहीन गर्तको गोता खाइरह्यौँ
कसैलाई शत्रूको कित्तामा जाकेर
अरूलाई आफ्नाहरूको पर्खालले ढाकेर
हामी ध्वंश र मृत्युको मातम खेल खेलीरह्यौँ
मैन-शिखा सदृश आत्मदाहको उज्यालोमा बलिरह्यौँ ।
हामीलाई थाहा थियो,
अन्तहीन विनिर्माण र विध्वंशको यो कथामा
हिंसा, स्व-विनाश र चित्कारको यो व्यथामा
अर्थहीनतालाई रोमाञ्चको कलेवरमा सजाउँदै
हामी लडिरह्यौँ वीरोचित बन्दै अनि बनाउँदै
मुठ्टीभर आकांक्षीहरूका सपनाहरू सजाउँदै,
तर ,
इतिहास सांक्षी छ,
युद्ध त्यज्य औ बुद्ध पूज्य छ
मोजेज , रोम र सिकन्दरहरूको
गाथा र स्मृतिमात्र भव्य छ
आऊ, त्यसैले
एउटा मधुर संस्कृतिको खेती गरौँ,
घृणा र दुष्कर प्रवृत्तिको अन्त्य रोजौँ,
निषेध र वञ्चनामा प्रवृत्त मुखहरूमा
माधुर्यताको मृदुलता रोपौँ
ध्वंशमा उठेका हातहरूमा
सिर्जनाको कर्मठता खोपौँ
बिसर्जनका यी क्रन्दनहरू
अभावका ती रोदनहरू
अनिकालका पर्याय बनून
सहभाव अनि अपनत्वका मनभरि
आलिङ्गनहरू र सहकाल छाऊन् ।
- एकलव्य
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 22, 2009
मायाको दुई हरफ :
अटाएन त्यो गूड्मा भनेर फरियाले पो आँफै छोप्यौ कि !
झुसिल्किरा झै बिझाउछ-पोल्छ, आथ्थु चर्याउछ भन्थ्यौ,
बरु नपोलोस मायालु कहिल्यै भनी हिलोमा पो रोप्यौ कि !
झरिले'नी रुझाउदैन, भिज्दिन म, अगाडि जाउ भन्थ्यौ,
सधैं चुहिने बलेनि, त्यही आगनीमै खाडल खनी गोप्यौ कि !
लुकाउन मेरो माया चिलाउनेको बोटमा गूड् खोप्यौ कि,
अटाएन त्यो गूड्मा भनेर फरियाले पो आँफै छोप्यौ कि !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
भत्किएका परेलीका डिल समान मेरो जिवन
लेख्न त शुरु गरें, तर सम्बोधन गर्न शब्दहरुको कमीले होला सम्बोधन नगरी कनै शुरुवात गरे आज तिमीलाई मेरो भोगाईहरु लेख्न, त्यसैले होला आजभोलि किन-किन एकान्तमा आत्मा कहालिन्छ । अतितको मिठो सम्झनाले मुटु विथोलिन्छ अनि मनको अन्तरंगमा पिडाका लप्काहरु दन्किदिन्छन् । तैपनि एउटा यस्तो जिन्दगी जसको विष्मातमा रोइदिने दूई थोपा आँसु छैन हर्षमा मुस्कुराईदिने एक निस्वार्थ मुस्कान छैन त्यही कथित जिन्दगीलाई नै अप्राप्य खुशीको आशामा सकी नसकी थामिरहनुलाई आफ्नो पूरुषार्थ ठानिरहेको छु आज म । अन्जान बनबासी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अनौठो रहेछ प्रेम विमान
अनौठो रहेछ प्रेम विमान
उड्नलाई टिकट नचाहिने
कसैको मनको प्रेम टिकट लिए पछि
कल्पनाको संसार भरि डुल्न पाइने
तर दूरि पार गर्नु नपर्ने !!
मैले आफै चालक भएर उडाउँदा
मेरो यात्री उनी मात्रै थिइन
हामीले धेरै ठाउँ डुल्यौं
उनी अझै उडौ भन्थिन
तर आँखा खोल्दा त उनी
घ्वार घ्वार घुर्दै थिइन ॥
प्रेमको वायुयान उड्न थालेपिछ
आवाज पनि नदिँदो रहेछ
एकै पल्ट चन्द्रमा पुगि
मंगल ग्रहमा ओर्लदो रहेछ
उनलाई साथ नछुटाई
फेरी धर्तीमा फर्किदो रहेछ ॥
तर मेरो प्रेम थान
आज नराम्ररी थन्केको छ
यात्रु नै विमान देखि विराक्तिएपिछ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गाउँखाने कथा - १६ (Nepali Gau Khane Katha)
"भए दिन्नथें, छैन दिन्छु? के होला यस्तो चिज"
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
आऊ, लेन्डुपहरुको पूजा गरौँ
(मास्को ,रसिया)
निर्लज्ज इतिहासको पृष्ठभूमिमा
आत्मग्लानीले
पोलेर मुख रातो होस् बरु
चुपचाप
आऊ लेन्डुपहरुको पूजा गरौँ !
उत्तर अलि नास्तिकजस्तो छ
दक्षिण त आस्तिक नै हो:
यहाँ ३३ कोटी देवता र लेन्डुपहरुको
पूजाआजा हुन्छ
पूजा नगर्ने स्वाभिमानीहरुको वर्तमान
सधै संघर्षमय हुन्छ
पूजा गर्नेहरुको मृत्यु
अलि मायालु र सहज हुन्छ
कतिखेर देश बितिसकेको हो
थाहा नै हुदैन,
पीडा नै हुदैन
हेर्दाहेर्दै सीमा ओझेल परिसकेको हुन्छ
हेर्दाहेर्दै बिश्वमानचित्र फेरिसकेको हुन्छ
च्यातेर हेर मुखुण्डो
देश डुबाउनेहरु लेन्डुपहरु नै हुन्
लेन्डुपहरुको भाषण कति मीठो हुन्छ
लेन्डुपहरुको भेष कति सुकिलो हुन्छ
पद र कुर्सीहरु हुन् अक्सिजन लेन्डुपहरुको
हामी उनीहरुलाई जिताउन
हरेक वर्ष चुनाब कुरिरहेका हुन्छौं
पार्टीको नूनको सोझो गर्दै झोला फटाइरहेका हुन्छौं
सुनौलो बिहानीको दिवास्वप्न बोकेर !
महान हुन्छन् लेन्डुपहरु
उनीहरुको छाया समेत अमर हुन्छ
नपत्याए हेर पिस्करका राता आलीहरु
टनकपुर र महाकालीमा चहर्रयाइरहेका घाउहरु
सहिदहरु देशको लागि सहिद भएका हुन्
यहाँ कोहि पनि
लेन्डुपहरुलाई लेन्डुप बनाउन शहिद भएका छैनन्
तै पनि महान छन् लेन्डुपहरु
जहाँ आफ्नो सम्मान र पूजा हुन्छ
त्यतै दौडन्छन लेन्डुपहरु आफ्नो देशै बोकेर
वर्षाको भेल झैँ
प्रत्येक लेन्डुपहरु दक्षिण धाईरहेका हुन्छन्
समयको हुरीले त निभाउन सकेन डढेलो लेन्डुपहरुको
हजारौं ज्ञात-अज्ञात शहिदहरुले त भगाउन सकेनन लेन्डुपहरुलाई
को हौँ र हामी
लेन्डुपहरुको बिरुद्ध आजन्म मुर्दाबाद घन्काई रहने झ्याउकिरीहरु
कठोर वतास छेकेर नुहिरहेको बाँसघारी झैँ
फगत विरोधकालागि जन्मेका जस्ता देखिने
मनुवाहरू -
आत्मग्लानीले
पोलेर मुख रातो होस्
वा थुकुन सन्ततिले
आऊ, लेन्डुपहरुको पूजा गरौँ !
चुपचाप
सहज मृत्यु वरण गरौँ
निर्लज्ज इतिहासको पृष्ठभूमिमा
लेन्डुपहरुको नाटक हेर्दाहेर्दै
जिउदै मरिसकेका हामीहरु
जिएर किन जीवनको उपहास
गरिरहेका छौं दिनदहाडै
भोटो फटाउँदै शताव्दीको !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 21, 2009
खुल्ला किताब
(अमेरिका )
खुल्ला किताब सम्झिएर पढ्न खोज्यौ कि ?
बिझाउने काँडा बनी गड्न खोज्यौ कि ?
रोकिएका पाइलाहरु अघी सार्न खोज्दै आफ्नो ब्यथा लुकाएर मनभित्र भित्रै शितल त्यो मनभित्र किन राप पाल्छौ ?
मेरो हात समाइ अघी बड्न खोज्यौ कि ?
मेरो पीडा पैंचो माग्दै लड्न खोज्यौ कि ?
मेरो मनको ताप लिइ डढन खोज्यौ कि ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नेपालले श्रीलंका बाट सिकोस
शेखर ढुङेल
हालै दक्षिण एसियाको एक सुन्दर र बुद्ध मार्गि देश श्रीलंकाले आफ्नो २५ बर्षे पिडादायक गृहयुद्ध बाट मुक्ती पाएको छ । अफनै बुद्धिमता पूर्ण रणनिती र फौजी कुसलतामा। यो पछील्लो फौजी कार्यबाही असफल भएको भए भारत को घूमाउरो कुटनैतीक पहलमा बेलायत, नर्वे, अस्ट्रेलिया र क्यानडाको दबाबले अल्पसन्ख्यक भारतीय मुलका तमिलहरुको लागि छुट्टै राज्य स्विकार गर्नु को बिकल्प श्रीलन्काली सरकारसंग बाँकी रहने अवस्था थिएन । ति राष्ट्रहरुको सुझाब र दबाबमा सयुक्त राष्ट्र संघ हिंसा रोक्ने बहानामा इन्डोनेसिया बाट इस्ट-टिमोर अलग गराए झै तमिललाई श्रीलन्का बाट अलग गर्नै पर्ने मनस्थितीमा पुगेको थियो ।
मध्यस्तताको नाममा आतंककारीहरु लाई मान्यता दिने वा युद्ध लम्ब्याउने सयुक्त रास्ट्र संघको मार्टिन प्रबृतिका छल बुझेर यस पटक श्रीलन्काले बेलायति र नर्वेका कुटनितिज्ञ लाई प्रबेश आज्ञा समेत दिएन । आफ्ना मुलका नागरिकको सुरक्षाको नाममा शैनिक हस्तक्षेप गर्न चर्को दबाब परेको भएता पनि चुनाबि अवस्थाको कारणले भारत अगाडि बढ्न सकेको थिएन तर सयुक्त राष्ट्र संघ मार्फत नरसम्हार रोक्न भनी दुबै पक्षलाई युद्ध बिरामको लागि ठुलो दबाब पर्यो । पराजयको मुखमा पुगेको लिट्टेले घोषणा गरे पनि जितको संघारमा पुगेको सरकारी फौजले कार्यबाही अगाडि बढाइ सफलता हासिल गरी छोड्यो । बेलायति, अस्ट्रेलियन, क्यानेडाली पत्रकार, ( बेलायत को च्यानल ४ टिभी ) डाक्टर, मानबाधिकारी कार्यकर्ताले सरकार लाई पछी हट्न चर्को अन्तरराष्ट्रिय दबाब पुर्याउने काम गरे पनि सफल हुन सकेनन । अन्दाजी एक लाख श्रीलन्काली जनताले आहुती दिईसकेको यो गृहयुद्धको अन्तिम लडाईंमा सोचे भन्दा बिपरित र न्युन रक्तपातमा सम्पन्न भयो । बधाई श्रीलन्काली जनता र सरकार लाई ।
यसै सन्दर्भमा नेपालका केही ब्यक्तित्वले ''एक मधेश एक प्रदेश '' को माग पुरा नभए श्रीलन्का बनाउने धम्की दिएका छन । तराइमा '' एक मधेश एक प्रदेश ' को माग पुरा गराउन छेत्रीय दल शसक्त रुपमा लागि परेका छन । त्यस्को बिरोधमा तराइका आदिबासी थारुहरु पनि प्रतिकारमा उत्रेका छन । मधेसबादी दल लाई भारतले श्रीलन्काली तामिल लाई झै प्रतक्ष सहयोग गरी राखेको र नेपालको उपल्लो राजनीतिमा पनि बलियो प्रभाब पार्दै गएको छ। केही समय अगाडि पौने करोड भारतीय मुलका लाई बितरण गरिएको नागरिकता त्यस्को प्रमाण हो । नेपालमा भारतको बढ्दो हैकम, प्रभाब र नेताहरुको आज्ञाकारी कार्यकर्ता जस्तो नतमस्तक हुने प्रबृत्तीले डर लाग्दो भबिश्यको अनुमान गरिदै छ । जसरी श्रीलन्का ले बिदेशी हस्तक्षेप लाई निस्तेज गर्यो र आन्तरिक राजनीति सन्चालन गर्यो, के हामी त्यस्को अनुसरण गर्न सक्दैनौ ? सत्तामा जान र टिक्न प्रत्यक दलका नेताले भारतीय आसिर्बाद थाप्न जाने हो भने कसरी जोगिन्छ हाम्रो स्वतन्त्र, स्वाधिन राष्ट्र को अस्तित्व ?। यो लेख लेखी रहदा प्रस्ताविक प्रधान मन्त्री माधव नेपालले भारतीय बिदेश मन्त्री प्रवण मुखर्जी लाई फोन गरी माओवादीले सदन अबरुद्ध गरी राखेका छन भनी गुनासो गरे भन्ने समाचार सुन्दा कुन शब्दमा नेपालको भर्त्सना गर्ने होला ?
देशको स्वतन्त्रता, स्वाधिनताको मर्म र देशको नेता हुनु को धर्म र गर्ब समेत नबुझ्ने राजनीतिज्ञहरुले श्रीलन्का बाट शिक्षा लिनु जरुरी छ । हामी जनता र हाम्रो नागरिक समाज को जीम्मेवारि हो राष्ट्रको स्वतन्त्र, स्वाधिन अस्तित्व कायम राख्नको लागि कुनै पनि प्रकारको बिदेशी हस्तक्षेप रोक्न दल र नेता हरु लाई खबरदारी गर्ने अन्यथा चितुवा आयो चितुवा आयो भनी गाउले लाई झुक्याइ मजा लिने भेडा गोठालो को नियती नेपालले भोग्नु पर्ने छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
लिट्टे र प्रभाकरणको अवशान अनि नेपाली प्रभाकरणहरू:
- एकलव्य
हरेक राजनैतिक एवं दार्शनिक आन्दोलन वा हिंसात्मक क्रान्तिहरू कुनै वास्तविक अहं मुद्दाहरूमा स्थापित भएकै हुन्छन् । त्यो विषयका पक्षधरहरूले त्यही कुरालाई क्रान्तिको विरोचित जामा पहिराउँछन् भने त्यो धारणाको बिपरित दिशामा उभिनेहरूका लागि त्यो भावनात्मक आतंकको एउटा नशा सिवाय केही ठहर्दैन । आँफूलाई क्रान्तिकारी ठान्नेहरूले अक्सर भन्ने गर्छन, ‘ज्यानको बाजी थापेर लडेका मान्छेहरूको निष्ठामा शंका गर्नु हुन्न’ । निष्ठा विवादको विषय हुन नसक्ला तर औचित्यका बारेमा त्यसै भन्न सकिन्न । यस्तो परिभाषा अनुसार, ज्यान दिनेहरू निश्चित रूपमा उच्च कोटिका ठूला मान्छेहरू हुन् र अरू ज्यानको माया गर्ने सामान्य मान्छेहरू क्रान्तिकारिताको महानता बुझ्ने औकात नभएका कायर हुन । बिगत २६ वर्षदेखि संसारकै अत्यन्त डरलाग्दो मानिएको श्रीलंकाको पूर्व र उत्तरमा चलेको अपरम्परागत ( unconventional domestic war) आन्तरिक युद्ध, यो युद्दका प्रणेता र लिबरेसन टाईगर्स अफ तामिल इलम र यसका प्रमुख बेलुपिल्लइ प्रभाकरणको अन्त्य संगै हिंसात्मक युद्धका धेरै पाटाहरू सतहमा आइपुगेका छन् – थोरै जवाफहरू र धेरै प्रश्न र प्रतिप्रश्न सहित ।
सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र बनेको हिन्दमहासागरीय टापू राष्ट्र श्रीलंका कुनै जमानमा पूर्वको मोतिको उपनामले समेत चिनिन्थ्यो । सामूद्रिक मागमा पर्नाले अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बन्ने सम्भावना भएको यो मुलुक चिया, मसला र अन्य कृषिजन्य नगदेवाली तथा खनिजको प्रचूरताका लागि विख्यात त छँदै थियो । यही देखेर, सन् १९६५ तिर इङ्ल्याण्ड जाँदै गर्दा सिंगापुरका संस्थापक प्रधानमन्त्री लि क्वान यू ले श्रीलंका देखेर भनेका थिए रे ‘ अबको दश वर्षमा सिंगापुरलाई श्रीलंका जस्तो बनाउनेछु’ । श्रीलंकामा ब्रिटिशहरूले बनाइदिएको ४५० किलोमिटर भन्दा लामो आन्तरिक नहरहरूको नाभिकिय मार्ग, रेलमार्गको सन्तुलित विकास र उपनिवेशकालीन भौतिक संरचनाको अति सम्पन्न विरासत थियो र यही कुरा देखेर लि क्वान यू समेत प्रभावित भएका थिए । तर १९४८को स्वतन्त्रता पश्चात, सिंहालीहरूको ८०% बहुमत रहेको यो मुलुकमा सयौँ वर्षदेखि बसिरहेका १७% भारतीय मूलका तामिलहरूको अस्तित्वलाई सकारात्मक रूपमा स्वीकारिएन र गलत राजनैतिक निर्णय लिएर ब्रिटिशकालीन श्रीलंकामा विशेष अधिकारसहित बसोवास गरिरहेका अल्पसंख्यक तामिलहरूको हैसियतलाई नकार्दै उनीहरूलाई गैर र आप्रवासी ठानेर त्यही दर्जाको भेदभावपूर्ण छाप लगाइयो अनि तामिल भाषा र हिन्दू धर्मलाई राज्यको आलेखबाट समेत निरस्त गर्ने निर्णय गरियो । फलत: बिद्रोह , बगावतका क्रमहरू शुरू भए र यिनै छिटपूट आन्दोलनको बाटोबाट सन् १९८० को दशककको शुरवातसंगै श्रीलंकाली धरतीमा संसारको सबैभन्दा दूर्दान्त, त्रासदिपूर्ण र डरलाग्दो नरसंहारकरी युद्दको प्रारम्भ र विकास भयो । यो कार्यको प्रणेता थियो – LTTE ( Liberation Tigers of Tamil Elam )भन्ने क्रान्तिकारी वा आतंकाकारी संगठन । यसको नेतृत्वमा रहेर आन्तरिक युद्धको कार्यनीति र तरिकालाई मान्छेले सोच्नै नसक्ने खालको बिभिषिकापूर्ण रूप दिने काम गरे यसका नेता बेलुपिल्लई प्रभाकरणले ।
प्रभाकरणको नीतिमा युद्धका लागि सबै कुरा जायज थियो । उनले संसारकै इतिहासमा आत्मघाती मानव बमहरूको ( suicide bombers, human bombs, Explosive human death squads ) श्रृंखलाको आविष्कार र तीनीहरूको डरलाग्दो ढंगले प्रयोग गरे । आधिकारिक आंकडाका आधारमा , अल्पसंख्यक तामिलहरूका लागि पूर्व र उत्तरी श्रीलंकाको एक तिहाइ भूभागमा स्वतन्त्र तामिल राज्यको लागि लडिएको यो लगभग तीन दशक लामो युद्धमा लगभग ७०-९० हजार मान्छेहरूको मृत्यु भैसकेको छ । यो समयावधिमा थुप्रै हजार सर्वसाधारण श्रीलंकाली नागरिकहरू, प्रहरी ,सेना , मध्यमार्गी र नरमपन्थी तामिल कार्यकर्ता र नेताहरू, अन्य श्रीलंकाली दल र सरकारका नेताहरू अन्य राजनेताहरू सहित श्रीलंकाका विदेश मन्त्री तथा तामिल नेता लक्ष्मण कादिगमर, पूर्व राष्ट्रपति रणसिंहे प्रेमदासा, भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी यो युद्धको शिकार हुन पुगे ।
प्रभाकरणको शव्दकोषमा , तामिल राज्यका बिरुद्द उभिने कसैका लागि पनि कुनै उदारता र क्षमा उपलव्ध थिएन । थुप्रै शान्ति प्रकृया र शान्तिकालागि दिइएका भारतीय तथा अन्तर्राष्ट्रिय मध्यस्थततालाई नकार्दै प्रभाकरण केवल युद्धको लागि लागिरहे र यसको परिणाम अहिले विश्व सामू प्रष्ट भैसकेको छ । हिजो बेलुकासम्ममा , प्रभाकरण , उनको परिवारका सबै सदस्यहरू , तामिल टाइगर्सको सम्पूर्ण उच्च नेतृत्व र सेना सबै श्रीलंकाली सेना र उसको चीनिया हतियारको शिकार बनिसकेका छन् । यसरी एउटा कहालिलाग्दो युद्धको निरिह पटाक्षेपहुन पुगेको छ । कुनै बेला प्रभाकरणको दाहिने हात मानिने जनरल करूणा जसले सन् २००४ तिर हजारौँ टाइगर्स छापामारसहित प्रभाकरण बिरुद्द बिद्रोह गरेका थिए र अहिले एउटा तामिल पार्टी खोलेर सरकारमा समेत मन्त्री छन् उनलाई हिजो एउटा भारतीय पत्रिकाले अन्तर्वार्तामा सोधेको थियो – ‘यो युद्धबाट श्रीलंकाली तामिलहरूले के पाए त ?’ र उनले जवाफमा भनेका छन् ‘केही पाएन वा शून्य’ । यत्रो रक्तरंजित युद्धको परिणति आज आएर ‘ वर्ग एक’ ( back to square one) मा खुम्चिएको छ । कुनै बेला एक तिहाइ श्रीलंकालाई आफ्नो प्रभावमा राख्न सफल आफ्नै हवाइ ( air-force) र नाभिकिय ( naval force) सामर्थ्यले सुसज्जित अनि निजी सैन्य दस्ता समेत भएको टाइगर्स आज नेस्तनाबूद बनेको छ । यसको औचित्यलाई इतिहासले आफ्नै ढंगले व्याख्या गर्ला नै तर , यो खरानीको थुप्रो बनेको इतिहासमा विस्मृत हुन ज्यान गुमाएका लाखौँ श्रीलंकालीहरू र अन्य जीवनहरूको बारेमा सोच्दा हिंसात्मक युद्धको औचित्यका बारेमा असंख्य प्रश्नहरू मनमा उम्रिनु स्वाभविक छ । के रह्यो त यसको विरासत ? युद्द लडेर मात्र हुन्न तिनको सेफ ल्याण्डिङ पहिल्याउन सकिएन भने परिणति यस्तै बन्न सक्छ ।
श्रीलंकाली गृहयुद्धको पृष्ठभूमि, कथा र व्यथाको आकार र प्रकार सबै कुराहरू नेपालको अशान्तिको निकट इतिहासबाट पूर्णत: पृथक छन् । तर एउटा कुरा नेपालका बारेमा भन्न सकिन्छ – या त पक्ष वा विपक्षमा युद्धको निष्कर्षयुक्त पटाक्षेप हुनैपर्छ कि त शान्ति र समन्यवका लागि इमान्दार निष्ठा र व्यवहार देखिनै पर्छ युद्धका पक्ष-विपक्षमा। अर्को शव्दमा , युद्धका लागि परिस्थिति नबनेको वा नरहेको र युद्ध नै नभएको राम्रो हो तर यदि हुनु नै छ भने ,युद्धको फैसला युद्ध मैदानमा निर्णायक बनेर एउटा वा अर्काको निर्णायक जय वा पराजयमा टुंगियो भने त्यसपछिको थालनीले सही बाटो पहिलाउन सजिलो पर्छ । अधकल्चो प्रण र युद्धको धङधङी थाति राखेर चोर उद्देश्यमा अल्झिएको छलछामले दीर्घकालीन अशान्तिलाई नै निम्ताइ रहन्छ, शान्तिका लागि निदान पहिलाउन्न । शान्ति, समन्वय र समझदारीको नाममा मौकापरस्त रणनिति र चालबाजीको शिकार बन्दा हाम्रो अपेक्षा केवल थिलोथिलो बन्छ ; निष्कर्षमा शान्तिको गन्तव्य फेला पर्दैन । श्रीलंकाको असफल गृहयुद्धको निरस , निरिह र दु:खदायी परिणति र पटाक्षेपले हामीलाई पनि युद्धको मादक अर्थहीनताका बारेमा केही पाठ पढाउन सक्नु पर्छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
यहाँ फूल फूल्नै पाएनन्
यहा फुल फुल्नै पाएनन् बसन्त आउदा पनि।
आशु कैलै हाँसो बनेन अबसर पाउँदा पनि॥
केवल हाउभाउ मात्रै देखायो पछि फर्कि हेरेन। यहाँ पालुवा पलाउन पाएन बसन्त आउदा पनि पार्नु सम्म कुण्ठित पारी ह्दय यो जलायौ रंग कैलै फेरियन यहाँ बसन्त आउदा पनि।
हात्ति आयो फुस्सा मात्रै नयाँ काँचुली फेरेन।
दुख कैलै सुख बनेन अबसर पाउँदा पनि॥
आशको निरास पारी आखिर के नै पायौ॥
चिन्ता कैलै खुसी बनेन अबसर पाउदा पनि॥
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 20, 2009
पर्यटकका लागि नेपाल
अनुप गुरुगं
हाम्रो शिर भई उभिएको विश्वको नै अग्लो सगरमाथा अनि शान्तिका दुत गौतम बुद्ध जन्मिएको हाम्रो देश नेपाल प्राकृतिक सुन्दरता तथा सास्कृतिकले भरिएको सुन्दर देश हो । हिमाल पहाड तराई तीन भागमा विभाजित नेपालमा पर्यटकको लागि एउटा महत्वपुर्ण स्थान हुन सक्छ । देशलाई आर्थिक रुपमा सम्पन्न गराउनको निम्ति पनि नेपाल सरकारले पर्यटक क्षेत्रको विकास गर्नु अपरिहार्य छ र यसका लागि चाहिने नयाँ नयाँ निति तथा कार्यक्रम ल्याउनु पनि जरुरी छ र पर्यटकीय स्थलको रुपमा नेपाललाई परिचित गराउनु पर्दछ । नेपाल पर्यटकीय गन्तव्य र आकर्षकका हिसाबले हेर्दा पनि विश्वमै अतुलनिय छ । प्राकृतिक तथा भौगोलिक हिसाबले पनि नेपाल पर्यटकीय स्थलको रुपमा परिचित गराउन सकिन्छ तैपनि यति हुदाँ हुदाँ पनि हामीले चाहे जति पयर्टक भित्रायाउन सकेका छैनौ किन यो पक्कै पनि अध्ययनको बिषय हो । कतै हाम्रा आन्तिरिक कुराहरु बन्द हडतालहरुले त पर्यटकमा नकारात्मक असर परेको छैन । यो सब हामीले बिचार पुर्याउन पर्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण देश हाम्रो नेपालमा पयर्टकलाई धेरै क्षेत्रमा आकषण गर्न सक्छौ ।
यहाँ राफ्टिगंको लागि विश्वमै चर्चित हिम नदीहरु छन् । जगंल सफारी गर्नको लागि राष्ट्यि जगंल पार्कहरु, ट्रेकिङको लागि, धार्मिक स्थलको लागि पनि प्रख्यात हाम्रो देशमा त्यही पनि हामीले चाहे जति पर्यटक भित्राउन सकेका छैन किन अब हामी सब एकजुट भई केही गर्नु पर्छ र यसका लागि पहिला भन्दा अहिले सरकार र पर्यटक व्यवसायीहरु तथा बिभिन्न सघं सस्थाहरु यसको पर्यटन गन्तव्यको रुपमा लागि परेका छन् ।
नेपाल सरकारले चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट मार्पुत १० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरको छ साथै अहिले सरकारले पर्यटन भिजन २०२० नामक योजना घोषणा गरेको छ । जुन योजनाले सन् २०२० सम्ममा प्रतिवर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ र जस्मा २०२० ले गा्रमीण पर्यटनमा जोड दिदै नेपाली जनताको जीवन उकास्ने तथा पिछडिएका समुदायको सहभागिता गराइने भएको छ। यस योजनालाई सफल पार्नको निम्ति पर्यटन क्षेत्रलाई उधोगको रुपमा विकास गर्दै नयाँ नयाँ गन्तव्य र आकर्षण खोज्दै लैजाने हवाई सेवाको विस्तार तथा सुरक्षित गर्ने तथा पयर्टक क्षेत्रमा लगानीको लागि प्रोतशाहित गर्दै जाने अनि विश्वव्यापी रुपमा प्रचार प्रसार प्रचारात्मक गरिने भएको छ । नेपालको बिभिन्न भागमा पर्यटक केन्द्र स्थापना गर्ने माउन्टेन्यरिङ जगंल सफरी र्याफटिङ मठ मन्दिर तथा बिभिन्न क्षेत्रमा पर्यटनलाई आर्कषित गर्ने भनि भिजन २०२० मा उल्लेख गरीएको छ ।
यो पक्कै पनि एक महत्वपुर्ण कदम हो तथापि नेपाल सरकारले यसलाई कागजी रुपमा मात्र भिजन २०२० नबनाई यसलाई व्यवहारमा पनि कार्यन्वन गर्नु पर्दछ । अनि यसको कार्यन्वयन भयो कि भनी परिवेक्षण पनि गर्नु पर्दछ । हामीले आशा गरौ यो योजना सफल हुन्छ र यसका लागि गर्नु पर्ने कामहरु हुन्छ भनी यसले गर्दा नेपाली जनताले रोजगारी पाउछन् अनि उनीहरुको पनि जीवनस्तर पनि उकलिन्छ । यसले गर्दा हामी नेपालीहरु रोजगारीको लागि सयौ हन्टर खाई बिदेशीनु पदैन । यसका लागि नेपाल सरकार मात्र नभई हामीले पनि आफुले गर्न सक्ने सक्दो सहयोग गर्नु पर्दछ । हामीले एउटा सानो निहुँमा पनि यो बन्द गर्ने शैली पनि परिवर्तन गर्नु पर्दछ । हामीले भिजिट नेपाल मात्र लेखेर काम केही गरेनौ भने पनि हामीले केही गर्न सक्दैनौ यसका लागि चाहिने पुर्वाधारहरुको निर्माण गर्नु पर्दछ र हामीहरुले पनि यसका लागि आपुनो ठाउँबाट सक्दो सहयोग गर्नुपर्दछ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
युवा वर्गलाई नियालेर हेर्दा
विजयकुमार श्रेष्ठ धादिङ्ग
हाल ईराक
दिन प्रतिदिन कहाली लाग्दो सन्त्रास र अराजकताको जग बसेको देख्दा यो नयाँ नेपालको मुहार चम्किने हो कि झनै बिग्रीएर जाने हो, त्यो त समयले नै बताउला भनेर पछि लाग्ने सिवाय अरु उपाय नेपाली कसैसँग पनि नभएको भान हुन्छ । नेपाली जनताले आफनो जिउ ज्यानको कुनै परवाह नगरि २४८ वर्षसम्म बलियो जग गाडेर बसेको शाहवंशीय तानाशाहलाई जरै देखि उखालेर फयाक्न सफल भएका थिए । थिचोमिचो र अन्याय अत्याचारको सिमाबाट पार पाईन्छ कि भन्ने आशा र भरोसा मन भरि बोकेर साथमा साथ हातमा हात मिलाएर कम्मर कसेर देशमा नौलौ विहानीको विजारोपण गर्न सफल भएको थिए । हिजोका परिवर्तनको जग बसाल्नलाई न त बृद्ध हु नै भने न त नावालक हु नै भने सारा नेपालीले आफुसँग भएको बाहुबलको पर्दा हलुङ्गो मनले खुलाएर आफनो सामिप्यमा पुग्न सफल भए ।
अब त नेपाली जनताले चाहेको नया नेपालको जग बसाउन सफल भयौ भनेर आफना गुम्सिएका मनहरुलाई फुकाएर केहिहदसम्म भए पनि दुख पिडाहरुलाई भुलेर सितलताको छहारिमा मन बिसाउन सफल भएका थिए । ति कोमल मनहरुलाई लागेको थकानबाट लखतरान भएर गलेका शरिरलाई विश्राम दिन समेत पछि नलागेर हर्ष उल्लासमा सहभागिता भई संदुर जात्रा मनाउनमा व्यस्त भए । रात रहयो औराख पलायो भने जस्तै गरि केहि समय पश्चात नै ति कोमल हातहरुले बलिदान दिएर हो मा हईसे मिलाएर खलबलिएको परिस्थितीको हुरिवतासलाई एकत्रीत बनाएर आफनो गन्तव्य तिर तार लागएको केहि समय पनि वित्न नपाउदै एक आपसमा कुसर्ि मोह र पार्टि मोहको लालसा तिव्र भएर उम्लिन सुरु भयो । कोहिले सत्ता आफनो हातमा लिएर हिटलर बन्ने सपना देखे भने कोहि प्रतिपक्षमा बसेर मेरो गोरुको बार् है टक्का भन्ने अहमता लिन पछि परेन । कोहि सरकार चलाउनेलाई चाहिने ब्रेक त हामी पो हो भनेर एक आपसमा अहमता लिन थाले । हिजो जनतालाई दिएको बाचा बन्धनहरु सबै भुले र आ आफनो रणनितीलाई अगाडि बढाउन कम्मर कसेर लागे । जनतालाई कुनै कुरा सुख सुबिधा दिने तर्फ नलागी आफनै पार्टि विस्तार तिर अगाडि बडे जो नयाँ नेपालको सरकार प्रमुख भएका व्याक्ति र पार्टि । केबल जनतालाई महंगीबेरोजगार र अराजकता भन्दा अरु केहि उपहार स्वारुप दिन सकेनन् । देशमा झन बिकराल स्थितीको जग बसाले । महङगीचन्दा आतङक अपहरण लुटपाट हत्या हिसां जस्ता बिभत्सव दुर्घटनाहरुको जग बस्न थाल्यो । देश चलाउनेहरु यो देश मेरो मात्र होईन साझा नेपालीको सम्पति हो भनेर सोच्न पछि पर्न थाले र देशलाई शान्तिमय बनाउन तर्फ भन्दा आफनो पार्टि विस्तारलाई प्रमुख बनाउनमा जस्तो सुकै कुकृत्य गर्न पछि परेन । जो सत्तामा बसेका छन उसले नेपाली जनता भनेको त आफनो पार्टिमा समर्थन गर्ने व्याक्ति मात्र हो भनेर उदाहरणहरु बनाउन पछि परेन । लोकतन्त्रात्रिक गणतन्त्र नयाँ नेपालको नामाकरण गरेर देशलाई अन्यौलताको खाडलमा घकाल्न सुरु गरे । सहमति र सहकार्यको नितीलाई केवल कागजमा मात्र कोर्न सफल भए ।
युवा शक्तिलाई हतियार बनाएर आफनो स्वार्थ पुर्ति गर्न तिर लागेका नेता भनाउदाहरु मुखले राम राम बगलिमा छुरा भन्ने उखानलाई मध्य मार्गी बनाएर युवा वर्गलाई हतियार बोकाएर हिड्न बाध्य बनाए । के युवाहरु लडेका अहिले मात्रै हो त देशको मुहार फेर्नमा कस्को हात छ त तर अहिले यति बेला युवा वर्गले राम्रोसँग सोच्नु पर्ने बेला भएको छ । सधै भरि अर्काको लागी कति लड्ने अब त युवा शक्ति एक जुट भएर युवा शक्तिलाई रोजगार मुलक कार्यक्रमको सृजना गर्न तर्फ लागेमा मात्र देशमा समुन्द्रको भेल सरि उर्लीएको बेरोजगारको सुनामीलाई समाधान गर्न सकिएला भन्ने लाग्दछ । अझै पनि हामी युवाहरु ति नेताहरुको लहै लहैमा लागेर सडक गल्ली तताउनमा नै सिमीत भयौं भने हाम्रो कार्य दक्षताको कहिले पनि मुल्य हुने दिन आउदैन किन कि नेता भनाउदाहरुको नाता गोताको लागी मात्र हुने छ र अरु निमुखा युवाहरुको काम भनेको नेताहरुको गुलामीमा सडक तताउन बाहेक दोस्रो उपाय दिने वालामा छैनन् । अब त हामी युवाले गहिरिएर सोच्ने समय आएको छ । यस्तो परिस्थितीमा पनि हामीले सोचेनौ भने हाम्रो दिन कहिले सल्टिने छैन । अनि सधै परि पार्टिको झण्डा बोकेर नेताहरुको मनोआकांक्ष पुरा गराई दिनु सिवाय अरु हामीले केहि पाउने छैन ।
राजनितीक पार्टिहरु कोहि एक प्रदेश एक मदेश हुनु पर्छ भनेर अडिक लिन्छ कोहि पार्टिको दस्तालाई मात्र मध्य नजर राखेर काम गर्ने कोहि मेरो गोरुको बार् है टक्का भनेर बस्ने कसैलाई पनि चासो छैन राष्ट्रको स्थिती कहाँ पुगी सक्यो भनेर एकले अर्कालाई लडाएर आफनो स्वार्थ पुर्ति गर्न पल्केकाहरुको पछि लाग्दा फेरि पनि हामी युवाको हालत त्यहि बिन्दुमा पुगेर समाप्त हुने छ । अनि आफु आफुमा नै लडाई झगडा गरेर वल्ल घर पल्ल घरको दाजु भाई ईष्ट मित्रसँग दुश्मन भएर बाच्नु सिवाय अरु उपलव्धि हासिल गर्न सकिदैन । के नेताहरु लडेका छन तैले गर्दा यो कुसर्ि नपाएको भनेर नभेट्ने नवोल्ने गरेका छन त । उनिहरु
भनेको जुवाँ खेल्दा च्याखे थाप्न पल्केका जुहारे जस्ता हुन तेसैले युवाहरु अरुको लहै लहैमा लागेर तहिले यो ठाउँमा बास पाउने छैन त फलाना पार्टिको मानिस हामी तलाई बाच्न दिन्न भनेर कुदृष्टीले आफना सदियारेलाई दुख दिनु भनेको आफनो खुट्टामा आफैले बन्चरो हान्नु सरह हो । भोली हामीलाई भई परि आउदा ति तपाईका पक्षका नेता आएर समस्याको समाधान गरि दिन्छ त यो कुरालाई ठन्डा दिमाग लगाएर सोच्ने गरेका छौ त तातो रिस देखाएर म त यो पार्टि त यो पार्टि भनेर एक आपसमा लडाई गर्नु नै हाम्रो मुर्खता हो । आखिर भोलीको लागी चाहिने हामीलाई छिमेकि नै हो । जुन सुकै पार्टिका नेता भए पनि कुर्सि पाए पनि केवल उसले आश्वासन मात्र दिने हो । पहिला त आफनो स परिवारलाई भरि पुर्ण पारे पछि मात्र अरुको लागी ठाउँ हेर्ने हो त्यो पनि खाली कतै भए बुझेर आउनु म भनि दिन्छु भनेर पन्छिदिन्छन् । यो कुरा तपाई हामीले भोगेको कुरा भित्र नै पर्दछ । त्यसैले सधै भरि पार्टिको झण्डालाई मध्य नजर राखेर हिड्नु भन्दा अहिलेको परिस्थितीमा खवरदारी गर्न तर्फ लाग्दा ति नेता भनाउदाहरुको धैटोमा घाम लाग्न सक्छकीत । सहकार्य र समझदारीमा नहिड्ने हो भने हामीले त्यहि दिन भोग्नु पर्ने स्थितीमा पुग्ने छौ । जस्तै उदाहरणको लागी सोमालिया सुडान ब्रुण्डि जस्ता देशहरुमा आन्तरिक कलह र मत भिन्नताले गर्दा देशलाई कस्तो परिस्थितीमा पुर् यायो त्यो त हामी सबैले देखेको र सुनेको कुरा हो । यदि यो परिस्थितीमा पनि युवा वर्ग ति धृणित व्याबहारमा लागेका नेताहरुको हो मा हो मिलाएर हिड्ने हो भने हामीले पनि त्यही सुनामी भोग्नु नपर्ला भन्ने कुराको दुई मत छैन ।
नेता भनेको मिठो भाषणको खेति गर्न सिपालु हुन्छन र आफनो स्वार्थको लागी अरुलाई ढाल बनाएर उक्साउने काममा माहिर भएका हुन्छन र युवा वर्गहरुमा भएको तातो रगत तताउनमा बाहुबल प्रयोग गरेका हुन्छन् । आखिर दुख पाउने त युवा वर्गहरु नै हो । जसको भविष्यको कुनै ठेगान हुने बाटो पहिल्याउन सफल भएको छैन । हुल हुज्जत सभा सम्मेलन जुलुसलाई सफल पार्नमा कस्को हात छ त के युवा सधै भरि सडक तताउने काममा मात्र सिमीत हुने हो त लोकतन्त्र प्राप्तिको लागी बलिदान दिने युवाहरुको सहि मुल्याङन भएको छ त त्यो त हामी सबैले देख्दै आएका छौ । जो मानिसहरु आफनो जिउ ज्यानको कुनै प्रभाह नगरि लोकतन्त्रको जग बसाल्न अगाडि बडेर लागेका थिए । लोकतन्त्रको जग गाड्न त सफल भए तर आफनो जिवनलाई अपाङ्ग बनाएर सारा जिवनलाई अन्धकारमय बनाउन सिवाय अरु उपलब्धि के पाएका छन त ति लोकतन्त्रका सहयोध्दाहरुले कतिको विहान बेलुकीको हात मुख जोर्नेसम्मको तर्जुमा भएको छैन र तड्पीनु सिवाय उसँग अरु उपाय केहि छैन । के यस्ता कुरा ति नेता भनाउदाहरुले जिम्मेवारि लिएका छन त । अनि भन्ने गर्दछन लोकतन्त्रमा जनताको बलिदान बगेको छ भनेर भाषण गर्न पछि परेका छैनन् आखिर के पाए त ति लोकतन्त्रका सहयोध्दाहरुले केवल आशु भोक प्यास र पिडा भन्दा अरु के पाएका छनन् त ति हाम्रा युवा वर्गहरुले अनि अझै पनि हामी एक आपसमा त फलना पार्टि म फलाना पार्टि भनेर हिड्दा कसलाई कति फाईदा रहेछ त । त्यसैले हामीले लहै लहैमा लागेर छर छिमेकीलाई गाउघर देखि निकाल्नु भनेको आफनो खुट्टामा आफैले बाचरो हन्नु सरह हो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ओखलढुंगालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने
गुरु केदार बराल
ओखलढुंगा- देशमा शान्ति स्थापना सगै पर्यटन आगमनमा निकै बृद्धि भइरहेको छ । पर्यटन प्रबद्धनका लागि राजधानी देखि पूर्व पश्चिमका जिल्लाहरुमा समेत थुप्रै महोत्सवहरु भइरहेका छन् ।
यद्यपी पर्यटन प्रबर्द्धन भइरहेको बताईए पनि कुन कुन जिल्लामा पर्यटकहरुको आगमन कति छ भन्ने कुराको तथ्याङ्क नै छैन । अहिले थुप्रै पर्यटकीय र पर्यटन उन्मुख जिल्लाहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको हृवात्तै बृद्धि भएको छ । तर पर्यटकको तथ्याङ्क लिन पर्यटन मन्त्रालय नै धाउनु पर्छ । जिल्ला जिल्लामा यसको तथ्याङ्क छैन भने मन्त्रालयको तथ्याङ्क कति वास्तविकता होला भनेर कसरी विश्वास गर्न सकिएला र ।
देशको अन्य पर्यटकिय स्थल जस्तै ओखलढुंगा लाई पनि मान्न सकिन्छ । ओखलढुंगा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकक ह्रवात्तै बृद्धि भएको छ । विगत देखि नै ओखलढुंगा सरकारी कार्यालय देखि हरेक संघ संस्थाको नारा बनेको छ शिक्षा, स्वास्थ्य र पर्यटन । ओखल्दुङ्गामा यस वर्षमात्र होइन गत वर्ष कति पर्यटक आए भन्ने तथ्याङ्क न त जिल्ला विकाश समितिमा छ ।
यी मात्र होइन ओखलढुंगामा पर्यटन सम्बन्धी जानकारी दिने संस्था पोकली झरना, होटल संघ जस्ता यस सम्बन्धी सरोकारवाला संघसंस्थाहरु पनि नभएका होइनन्, तर कही छैन यस सम्बन्धी तथ्याङ्क । जिल्लामा त्यस्तो तथ्याङ्क राख्ने भनी सम्बन्धित मन्त्रालयबाट कुनै निर्देशन नभएको भनाइ ओखल्दुङ्गाका स्थानिय विकाश अधिकरी । तेस्रो मुलुकबाट ओखलढुंगा आउने पर्यटकहरुको तथ्याङ्क प्रहरी संग हुने स्थानिय विकास अधिकारीले बताए पनि प्रहरीसंग पनि यकिन डाटा छैन् ।
जिल्ला विकास समिति ओखलढुंगा उद्योग बाणिज्य अन्य सरोकारवाला संस्थाहरुको मुख्य नारा नै शिक्षा, स्वास्थ्य र पर्यटन छ भने सबैको योजनामा ।
पाल्पा जिल्लामा अहिले दैनिक बाह्य र आन्तरिक गरी २ सय भन्दा बढी पर्यटकहरू घुम्न आउने होटल ब्यबसायीहरूको अनुमान छ । यसअघि पनि थुप्रै पत्रपत्रिकामा यस्तै अनुमानका भरमा समाचारहरु आउने गरेका छन् । जिल्लाका सरोकारवाला संघ संस्थाले एक महिना मात्रै तथ्याङ्क संकलन गर्ने हो भने पनि मोटामोटी तथ्याङ्क आउने थियो, तर ती संस्थाहरु जिल्लाका राजनीतिक दलहरुबाट परिचालित भएकाले पनि यस सम्बन्धि ध्यान नदिइएको भनाइ धेरैको छ ।
जिल्लाको, लगायतका गाउहरु मात्र होइन भौगोलिक, धार्मिक र एतिहासिक महत्वका ठाउहरु पनि ओखल्दुङ्गाका चिनारी बनेका छन् पर्यटन प्रबर्द्धनका लागि ।
जिल्ला सदरमुकामओखल्दुङ्गामा बाह्य पर्यटकलाई मार्गदर्शकको रूपमा काम गरिरहेको पोकली झरनाले जाडो मौसममा पर्यटक बढी भित्रिने बताए पनि यति नै पर्यटक आउछन् भन्ने कुनै तथ्याङ्क दिन सक्दैन ।
ओखल्दुङ्गालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने सरकारको योजनामा पनि भएको भनी जिल्ला बोर्डमा समेत छलफल हुने गरेको छ ।ओखल्दुङ्गामा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्धन गर्नुपर्नेमा यहा आउने सबै मन्त्रीले बताउछन् भने वर्षोनी उद्योग वाणिज्य संघओखल्दुङ्गाले पनि पर्यटन विकाश गर्न को लागि पोकली झरना महोत्सव पनि गर्दै आएको छ । गणतान्त्रिक नेपालमा पनि पुरानै पाराले यस्ता कुराहरुमा भाषण गर्दै मात्र हिड्ने हो भने के नया नेपालको सपना साकार होला ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 19, 2009
बुर्की मुरी नछरे है
मेरो सन्देश हात लाग्दा रिसले हुरी नबने है
सक्दिन भो अब आउन बाटो कुरी नबसे है
सौभाग्यका यी श्रृँगारहरु अर्कैको लाए पनि
तर्किएर झर्की बोली मलाइ घुरी नहेरे है
बदलाको भावनाले दुश्मनलाइ राज खुल्छ
पराइ ठानी एकअर्काले हाम्रो दुरी नबढे है
मिलन मात्र हुने भए विछोडको के अर्थ र
व्यर्थ भनि जिन्दगी साहारा छुरी नलिए है
मनमा चाहना हुदाहुदै भाग्यले रच्यो खेल
मेरो लागि मर्यो भनि बुर्की मुरी नछरे है
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest


