November 29, 2010

अनिर्णयको बन्दी

शर्मिला खड्का दाहाल

अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ बढी गाँजिरहेछ । झन् रिचर्डको सम्झनाले थप नैराश्यता जगाइरहेछ । पोहोरको चिसोमा रिर्चडसँग बिताएका न्याना दिनहरूको सम्झनाले झन् चिसिन पुग्दछु म । उसँग बिताएका प्रत्येक क्षण मस्तिष्कमा ताजै भएर उम्रिन्छन् । गन्तव्यविनाको यात्रा थियो रिचर्ड र मेरो, तर पनि मैले साथ छोड्न सकेकी थिइन । छुट्टीको दिन अझ बढी सताउने गर्छ मलाई उसको यादले । अचानक कलवेल बज्छ । रिचर्डको आकृति आउँछ अनि कतै हराउँछ ।
      "ओहो भिनाजु कहिले आउनुभयो नेपालबाट ?"
      "केहीदिन भयो , तिम्रो पार्सल थियो ल्याइदिऊ भनेको समय नभएर.. अनि सालीज्यूको के हालखबर छ ? ह्वाट अबाउट यु ? "
      "सालीज्यूलाई भिनाजुले नै बिरानो सम्झनु भएपछि के हुन्छ । "
यस्तै गफ चन्छ प्रो. डा. शान्ताराम र मेरो । ऊ मेरो भिनाजुको साथी त्यसैले भिनाजु नै भन्ने गरेकी छु । कहिलेकाहीँ म जस्तो डायनामिक लेडी जीवनसाथी बनाउन पाइनँ भनेर तीतो ओकल्ने गर्छन् मसँग उनी, तर पनि आफ्नो पत्नीप्रति इमान्दार नै छन् । नत्रभने व्यक्तिगत स्वतन्त्रताले निलेको अमेरिकी संस्कारमा रमाउन उनलाई कुनै गाह्रो पर्ने थिएन । यसो नहुनुमा मेरो दुइवटा अनुमानित कारणहरू छन् । पहिलो त उनी अति ब्यस्त हुनु हो, अर्को चाहिँ भेनाजुको साथी भएर पनि हुनसक्छ । अरू जे सुकै भएपनि मसँग ख्यालठट्टा  गर्नमा चाहिँ पछि पर्दैनन् उनी । " ओहो दिदीले कति मीठो लप्सीको अचार पठाइदिएकी रहिछिन् । "
"ल पार्सल बिस्तारै हेर्नू मलाई अलिक हतार छ , सालीज्यू , भिनाजुको खातिरदारी गर्दिर्नौ ? "
"भिनाजुको लागि यो ज्यान नै हाजिर छ नि , आज्ञा मात्र होस् न । "       
 "भैगो अरू केही गर्नुपर्दैन अहिलेलाई चाहिँ विदा दिए काफी ।"
" ओं के हवाई नट "
प्रो डा.शान्ताराम बाहिरिन्छन्  । दिदीले पठाएका पार्सल उत्सुकताका साथ खोल्छु , ओहो यति मीठो अचार अनि पेन्ट र र्सट सायद यहाँ महङ्गो  पर्छ भनेर पठाइदिएकी हुनुपर्छ । ओहो दिदी त कस्ती मोटी भइछिन् चिनी नसक्नु , फोटोहरूसँगै म नेपाल पुग्छु  । ओहो र भिनाजु त बूढो देखिएछन् । छोरीहरू त ठूला भइसकेछन् । म चित्रसँगै डोरिन्छु  नेपालतिर ।
 दिदीले मेलमा भन्ने गर्थिन्, छोरीहरू ठ्याक्कै हामी जस्ता छन् । हामी सानामा जस्ता थियौँ त्यस्तै छन् रे । साँच्चै म र मेरो दिदीमा कति धेरै भिन्नता थियो ऊ जाडोमा जन्मेकी थिई , म गर्मीमा ,ऊ गुलियो मन पराउँथी म अमिलो । ऊ कम बोल्ने लज्जाल रु आज्ञाकारी थिई भने म धेरै बोल्ने चञ्चली र घमण्डी स्वभावको थिएँ । साँच्चै हामीलाई देख्ने , बुझ्ने जोकाहीले हामीलाई अमेरिका र अफ्रिका भनेर मुल्याङ्न गर्ने गर्दथे । वास्तवमा हामी थियौँ नै त्यस्तै । बाबा सरकारी अफिसमा अधिकृत हुनुहुन्थ्यो भने मम्मीले डेकेयर चिल्डेन सेन्टर चलाउनु भएको थियो । मेरी मम्मी पाश्चात्य जीवन शैलीबाट प्रभावित हुनुहुन्थ्यो । तर्सथ हामीलाई पनि त्यस्तै वातावरण र परिवेशमा हुर्काउनु भयो । बालबालिकालाई स्वतन्त्ररूपमा हुर्काइएन भने उनीहरूको भावाना , प्रतिभा र सोचाई संकुचित र कुण्ठित हुन पुग्दछन् । भन्ने सोचाई राख्नु हुन्थ्यो उहाँ । हाम्रो समाजमा बालबालिकालाई दमित र शोषित वातावरणमा हुर्काइएको हुनाले नै उनीहरू शोषित मानसिकता बोकेका हुन्छन्, अनि उनीहरू आफूलाई परेको कुनै पनि अन्यायका विरुद्ध आवाज उठाउन नसकेका हुन् भनेर आम नेपालीको चरित्रलाई चित्रण गर्नु हुन्थ्यो । यसरी स्वतन्त्रपूर्ण वातावरणमा हुर्कदै जाँदा दिदीमा चाहिँ कुरानै असर परेन तर ममा भने मेरो जिद्दी र घमण्डी स्वभाव बढ्दै गयो । जे चाहना गरे पनि पाइने मानसिकताले गर्दा ममा हठीपन बढ्दै गयो । म केही  व्रि्रोही र झगडालु हुँदै गएकी थिएँ । मेरो मम्मी कहिलेकाहीँ मेरो स्वभाव  र प्रव़तिदेखेर दिक्क मान्नु हुन्थ्यो । उहाँले यसको दोषी आफैलाई ठहर्याउनु हुन्थ्यो । छोरीलाई चाहिने भन्दा बढी अधिकार र स्वतन्त्रता दिएको हुनाले त्यसको परिणाम आफैले नराम्ररी भोग्नु परेको दुखेसो ब्यक्त गर्नुहुन्थ्यो । वाल्यावस्थामा म आफूलाई सबैले माया गर्नुपर्छ र मेरो चाहना पूरा हुनुपर्छ भन्ने कुराको ठाडो आदेश नै दिने गर्दथे । त्यससमय म केटासाथीहरूसँग बढी खेल्न रुचाउँथे । जब म वयस्क हुदै  गए तब म केटासाथीहरूसँग टाढिनु पर्ने बाध्यताले पिरोलिन्थे । चौरमा खुलारूपमा केटाहरूसँग मैले खेल्न किन हुँदैन भनेर आवाज उठाउँथे । तर मेरो आवाज कोठाको चार भित्तामा मात्र सीमित रहन्थ्यो । छोरा- छोरी, नारी- पुरुषबीच यस्ता गरिने धेरै रुढीवादी संस्कारको म विरोधी हुँदै गए छोरीमान्छेलाई प्रवृत्तिले समेत ठगेको हुनाले म प्रवृत्तिलाई नै चुनौति दिन पछि पर्दिनथे । छोरीमान्छे महिनावारी हुँदा वार्नु पर्ने, लज्जालु स्वभावको हुनुपर्ने नारीसुलभ आचरण गर्नपर्ने कुराको म पूरै विरोधी थिएँ। म घरमा मम्मी द्वारा यस्ता कुराको निर्देशन भनौ सल्लाहहरू पाउँथे । तर ती सल्लाह मेरालागि कानमा तेल हाल्नु बराबर थियो । म आफ्नो स्वभाव र प्रवृत्तिमा दृढ थिएँ कतै नहल्लनेगरी ।  यसरी परम्परागत संस्कार मान्नु भनेको मेरो स्वाभिमानमा ठेस पुग्नु बराबर ठान्दथेँ म ।  बिस्तारै उच्चशिक्षाको लागि मैले काठमाडौ आउनुपर्यो । म  र मेरी दिदीसँगै बसेर पढ्न थाल्यौँ 
समयसँगसँगै ममा घमण्डीपन र स्वभिमान बढ्दै गयो  । म रूपमा दिदीभन्दा केही राम्री पनि थिएँ । म आफूलाई पुरुषले रोजेको हैन मैलेचाहिँ पुरुषलाई रोज्नुपर्छ भन्ने मान्यता राख्दथें  । पुरुषको प्रेमआर्कषणमा मात्र नारीले सधै किन डोरिनुपर्छ - नारीले पनि पुरुषलाई आकषिर्त पार्न सक्छे भन्ने म देखाउन चाहन्थेँ । मेरी दिदीको सोचाई अर्कै थियो उनी आफूलाई मनपराउनेलाई रोज्ने इच्छा गर्थिन् । नभन्दै उनलाई असाध्यै मनपराउने डाक्टरसँग बिहे गरेर घरजम गर्न थालिन् । म भने मलाई मन पराउने धेरै केटाहरूलाई पछार्दै सुदर्शनलाई प्रेमको माला पहिराउन पुगेँ । संस्कारविरोधी मेरा धारणा र विचारले मलाई आज अमेरिकाको चिसो खान ल्याइपुयाएको छ । म आफूले आफैलाई धेरै विश्लेषण र मूल्याङ्न गर्न थालेकी छु ।     
      कलवेल बजेको झझल्को आउँछ । तर कोही छैन सायद रिर्चडको सम्झनाले झस्कायो मलाई । रिचर्ड, अमेरिकामा मेरो आफन्त, साथी जे भनेपनि उहीमात्र थियो । ऊ र म एउटै विश्वविद्यालयमा पिएचडी गर्दै गरेको हुनाले हाम्रो धनिष्टता बढेको थियो । यो विरानेा शहरमा उसले आत्मीयता देखायो अनि हृदय खेालेर सहयोग गर्यो । म पनि लचिलो र समर्पित भइदिए उसको हार्दिकता र आत्मीयतामा ।
      आज अमेरिकाको चिसोझैँ रिचर्ड र मेरो सम्बन्ध चिसिन पुगेको छ । खै किन हो -
 ऊ भन्ने गथ्र्यो नेपालीहरू मलाई खूब मन पर्छन् उनीहरू इमान्दार मात्र हैन नैतिकवान र लगनशील पनि हुन्छन् । त्यसैले म तिमीलाई माया गर्छु  , तिमीलाई म आफ्नो जिन्दगी सुम्पिदिन्छु ।  तिमी र म एक हुनुपर्छ । नेपालको द्वन्दमा पिल्सेको समाजबारे विद्यावारिधी गर्दै गरेको म र  ऊ धेरै नजिक भएका थियौँ। अब नजिक हुनको लागि  कुनै रेखा बाकी थिएनन् । हामी जीवनको परिभाषा खोज्थ्यौँ । ऊ भन्ने गथ्र्यो, 'तिमी त आम नेपाली भन्दा फरक रहेछौ , तिम्रो विचार , स्वभाव नेपाली संस्कारभन्दा धेरै फरक रहेछ । त्यसैले म तिमीबाट अत्यन्त प्रभावित भएको छु ।' साँच्चै म आम नेपाली भन्दा पृथक भएकै कारणले त अमेरिका जस्तो देशमा पिएचडी गर्न छात्रवृद्धि पाउन सकेँ । म आफूले आफैलाई स्पष्टीकरण दिन पुग्दथेँ । साँच्चै म पनि रिचर्डको व्यक्तित्व र विचारबाट अत्यन्त प्रभावित भइसकेकी थिएँ । मैले उसको धेरै कुरामा विस्वास गरेँ । केही कुरा बाहेक किनभने धेरै थोरै अमेरिकनमा रिचर्ड पनि पर्दथ्यो जसले नेपाल र नेपाली को तारिफ गरेको होस् । धेरै वर्षघि ऊ पिसकोर भोलियन्टरको रूपमा नेपाल आएको थियो । यसैले नेपालको राजनीति, सामजिक, आथिर्क स्थितिबारे उसलाई पूरै ज्ञान थियो ।  प्रत्येक छुट्टीमा हामीसँगै हुनेगथ्र्यौ । हामीले मुटु साट्यौँ । तन साट्यौँ। दुखसुख बाड्यौँ । कुनै क्षणपनि म रिचर्डको सोचाइको परिवेशभन्दा बाहिर हुन्नथेँ । कतै रिचर्ड पनि सुदर्शन जस्तै हुने हैन - म झस्कन्थेँ । उसका अविश्वास गरेका कुरामा विबाह पर्दथ्यो । अमेरिकी समाजमा विवाह सम्बन्धलाई अत्यन्त महत्वका साथ लिइन्थ्यो । हाम्रो यात्राकहाँ सम्म पुग्ने हो कसरी टुङ्गिने हो भन्ने कुरामा म चिन्तित रहन्थेँ । तर वर्तमानसँग सम्झैता गरेर बाँच्नुपर्छ, रमाउनुपर्छ भन्ने रिचर्डको भनाइले मलाई केही सान्त्वाना दिने गर्दथ्यो ।
      अँह, हुँदैन रिचर्ड पाश्चात्य मुलुकमा हुर्केकोउसको र मेरो धेरै स्वभाव बानीबेहोरा मिल्दछ । तर खै अहिले किन हो यो चिसोपना, एकांकीपना , उसले धेरैदिन देखि सर्म्पर्क गरेको छैन म उदासिएको छु , पिल्सिएको छु । सायद सुदर्शनले पनि यस्तै सोचेको थियो होला । तर ऊ त नेपाली परिवेशमा हुर्केको मान्छे उसले मेरो व्यक्तिगत स्वतन्त्रतालाई मन नपराएको हुन सक्छ । तर रिचर्डलाई त त्यस्तो कुनै कुराले कुनै असर नपर्नु पर्ने हो ।
    म फेरि आफ्नै तन्द्रामा तन्द्रिन पुग्दछु । दिदीले विहेगरेपछि म आफ्नै रोजाई सुदर्शनसँग लटि्ठन पुगेको थिएँ त्यसबेला । उसले मलाई त्यति चासो नदिएपनि मैले मेरो यौवनको जादूले उसलाई प्राप्त गरिछाडेँ । किनभने म आफूले चाहेको कुनैपनि वस्तु प्राप्त हुनैपर्छ भनी दावी गर्दथे । उसले मेरो प्रेमप्रस्ताव स्वीकार गरेपनि तत्काल विहे नगर्ने विचार पोख्यो । मपनि सहमत भइदिएँ । हामी लोग्नेस्वास्नीझैँ सँगै बस्न थाल्यौँ । ऊ प्राइवेट सहकारी संस्थामा काम गथ्र्यौ भने म प्लस टुमा पढाउँथेँ । सबैले हामीलाई पतिपत्नीको उपाधि दिइसकेका थिए । मेरो यस व्यवहारबाट घर परिवारका खुसी थिएनन् । बिस्तारै मेरो हठी, स्वतन्त्र विचारसँग सुदर्शन परिचित हुँदै जान थाल्यो । ऊ पुरुषप्रधान समाजमा हुर्केको मान्छे आफ्नो पुरुषत्वको रवाफ ममा देखाउन सक्दैनथ्यो । उसलाई आफ्नो पतित्वको भार बोक्ने पत्नी चाहिएको थियो । म जस्तो स्वतन्त्र विचारधारा भएकी केटीलाई जीवनसाथी बनाउनु भनेको उसको लागि फलामको च्युरा चबाउनु बराबर हुन सक्थ्यो । त्यसैले होला बिस्तारै हामीमा मनमुटाव बढ्न थाल्यो । त्यसपछि ऊ यसरी मबाट छुटि्टयो जसरी  तेलबाट पिना छुटि्टन्छ । उसकेा विकर्षाले  म रन्थिनिएँ , बौहलाएँ, छटपटिएँ  । मेरी मम्मीले नेपाली समाजमा  नारीको भूमिका र संस्कारबारे दिएको लामै भाषण मेरो कानमा गुञ्जिरह्यो  । तर म आफ्नो स्वभाव र प्रवृत्तिमा अडिग थिएँ ।  मेरी मम्मीले बेला बेलामा ल्याएको अरेन्ज मेरिजलाई पनि ठाडै अस्वीकार गरिदिन्थेँ  । किनभने अरेन्ज मेरिजले मेरो स्वाभिमानी विचारलाई आघात पुयाउन सक्दथ्यो । म आफूलाई दानगर्ने बस्तु ठान्न सक्दिनथेँ । म आफ्नो स्वतन्त्र विचारहरू लगनगाँठोमा बन्धक भएर बाधिएको  हेर्न सक्दिनथेँ । अरेन्ज मेरिज द्वारा गरिएको विवाह कर्मकाण्डमा नारीलाई धेरै होच्याएको र अपमानित गरेको महसुस म गर्दथे ।  त्यसैले मम्मीको प्रस्तावलाई धेरैचोटि मैले अस्वीकार गरिसकेको  थिएँ । म तडपिएँ , भौतारिएँ । जीवनको सार खोज्न थालेँ। जसले मलाई अथाह समुन्द्रबाट पार गराउन सक्दथ्यो, नभन्दै सपनाको शहर अमेरिकामा विद्यावारिधी गर्न पाउने छात्रवृत्तिले मलाई नयाँ जीवन दियो । म सम्पूर्ण विगत भुलेर अमेरिकाको वैभवतामा रमाउँदै आफ्नो उद्देश्य  पूरा गर्ने सपना देख्न थालेँ ।
      तर आज अमेरिकाको यो वैभकताले पनि मलाई मेरो विचार सोचाईलाई  विजयी बनाउन सकेको छैन । मेरा विचारहरू उड्न सकेनन्, सोचाइहरू रमाउन सकेनन । मेरा स्वभाव र प्रवृत्ति सुन्दर फूलझैँ फक्रन सकेनन् । म फेरि एक्लिएँ । मेरो सोचाइ एक्लियो । रिचर्डको व्यवहारले मेरा आस्था र विश्वासहरू कतै शरणार्थी हुनलाई तडपिरहेको भान भएको छ मलाई अहिले ।  मेरा विचार र धारणाहरू अन्तरआत्मादेखि नौ पलायन हुन खोजिरहेका छन् । गजब लाग्छ  यो देश, यहाका मानिसहरू, सम्पूर्ण देश , महादेश र विश्व यही छ । सम्पूर्ण विश्वको सभ्यता र संस्कृति यही छ । यो अपरच्युनिटिको देश .....। कथाको पहेली जस्तो लाग्छ.... यो देश जहाँ फर्मालिटी अथार्त औपचारिकतामा बाँचेका छन नारी पुरुषहरू । त्यही औपचारिकतामा मेरा भावानाहरू हराइरहेका छन् । म कहिलेकाही खोज्छु आफूले आफैले यो विशाल सागरमा ।
      म सम्झन्छु , मम्मीको मेल चेक गर्नुछ । तुरुन्त कम्प्युटर अन गर्छु मम्मीले मेलमा लेख्नु भएको छ - 'बिहे गर्न केटो तयार छ । तुरुन्त आउनू । ऊ पनि अमेरिका जाने प्रोसेसमा छ । त्यसैले प्रेस गरिरहेछ । बारेमा मैले सबै बताइदिएको छु । केटो असल छ । '
के साँच्चै, ऊ मलाई बुझ्न सक्छ, पढ्न सक्छ । कि ऊ मात्रै अमेरिका आउनको लागि एउटा सहाराको खोजीमा छ । जसको लागि म दह्रो बैशाखी बन्न सक्छु । ऊ पनि सुदर्शन , रिचर्ड हुन के बेर । तर अब त मेरा विचार , सोचाई कतै शरणार्थी हुँदै छन् । म आफ्नो सोचाई , विचारहरू हराएर कसैलाई पाउँदैछु त्यसैले त्यसो नहुन पनि सक्छ । म मम्मीको  केटो असल छ भन्ने शब्दमा अडिन्छु , मलाई कहिले यसरी केटाको बारेमा भन्नु हुन्न थियो । म मम्मीलाई अलिकति विश्वास गर्छु, त्यही विश्वासले मलाई नेपाल पुर्याउछ , थुप्रै अनुहारहरूले सोधिरहेको जस्तो लाग्छ  'आखिर नेपाली केटाको फेला परिस् हैन । कहाँ गए तेरा स्वतन्त्र विचारहरू सुमी' , मलाई थाहा छैन , म जिन्दगीको के कस्तो निर्णय लिँदैछु । यस्तो निर्णय पहिलो हुन सक्छ , दोस्रो वा तेस्रो हुन सक्छ । म भ्रममा रुमलिन्छु  । विगतहरूमा रुमलिन्छु अनि अनायास मेरा औलाहरू टाइप र्राईटरमा जान्छन् । केही क्षण ओके टाइप गर्छपफेरि र्सतर्क हुँदै 'आइ विल डिसाइड आफ्टर ए मन्थ' टाइप गर्छु फेरि ओ. के. टाइप गर्छु म मूर्तिवत हुन्छु । अनायास मेरा औलाहरू '.के. मम्मी... .के. ड्याटस मस्ट बी ए राइट च्वाइस...' टाइप हुन्छन् र म आफूलाई र्सवाङ्ग बिर्सेर ड्वाङ्गराङ्ग पल्टन्छु । मैले निर्णय  लिएँ । म अनिर्णय बन्दी हुन चाहिनँ ।         

००००००





10 Comments:

Shiva Prakash said...
This comment has been removed by the author.
Shiva Prakash said...

समकालीन साहित्यको कथा लेखन फाँटमा निक्कै अघि रहनु भएकी शर्मिलाजीको यो कथा यहाँ पढ्न पाउँदा खुशी लागेको छ । साथै उहाँलाई स्वागत गर्न हाम्रो दौतरी परिवार पक्कै आतुर छ ।
अनि कथामा प्रयोग गरिएको एउटा विम्ब "म आफूलाई पुरुषले रोजेको हैन मैलेचाहिँ पुरुषलाई रोज्नुपर्छ भन्ने मान्यता राख्दथें । पुरुषको प्रेमआर्कषणमा मात्र नारीले सधै किन डोरिनुपर्छ - नारीले पनि पुरुषलाई आकषिर्त पार्न सक्छे भन्ने म देखाउन चाहन्थेँ ।"
नारी सोच र चरित्र प्रधान यो कथाका लागि कथाकार शर्मिलाजीप्रति कृतज्ञ छु । धन्यवाद ।

Anonymous said...

शर्मिलाजी कुशल कथाकार हुनुहुन्छ, युवा पुस्ताकी भन्ने पढेको थिएँ तर वहाँका बारेमा त्यति थाहा बने छैन । तर पनि नारी कथाकारका कथामा साली-भेना र नारी-पुरुष समबन्ध र खिचातानी नै बढी विषयवस्तु हुने गरेको देखिन्छ। यसले हामी नारी पनि पुरुष अबसेस्ड नै छौँ भन्ने कुराको घुमाइफिराइ पुष्टि गर्छ। नारीको शरीरलाई वासनाको डल्लोको रूपमा बुझेर उसलाई आफ्नो भोगको वस्तु बनाउने सोचको पुरुष गिद्धेदृष्टि र हैसियतवाला वा सम्पन्न पुरूष अर्कै नारीको पति वा केटाकेटीको बाउ किन नहोस् उसैको बाहुमा बटारिएर अधिनस्थ बनाउने चाहना आजको उपभोक्तावादी नारी पुरूषका परिचय बनिसेकका छन् । साली र भेना बनेर घर बनाउने र अरूको घर उजाड्नेहरूको संसार हो यो ।

तर अपशोष के हो भने हाम्रो नारीवादी सोच पुरूषको अँगालोमा लट्ठिएको उदेकलाग्दो सपना वा फ्यान्टासीमा टुंगिन पुग्छ जस्तो यो कथाकी पात्रा रमेकी छन् । अमेरिका हाम्रो मानसको स्वर्ग हो जहाँको जीवन, डलर र बजारू सम्बन्धले हाम्रो सपनाहरूको कथा बुनेको छ । हाम्रो परिचय दारूण र करूण भएको छ ।

वालकृष्ण समको कृति चिसो चुल्होमा जुम्लामा आँपका बुटाहरूमा पात्राहरू खेलेका छन् तर अपशोष त्यहाँ आँपका बोट छैनन् । यता अमेरिकामा केण्ट राज्य हुन पुगेकोमा शखदाले नया राज्य थप्दिनु भएको पो हो कि ! ओहायोको केण्ट स्टेट युनिभर्सिटीको कुरा हो कि बेलायतको केण्ट काउण्टी ? नेपालमा बसेर अन्तर्राष्ट्रिय मिलियुमा आधारित कथाको चाहना हुन सक्छ । हो साहित्यिक गल्ति हैन , भूगोलको जानकारीमा मात्रा नपुगेको हो ।

शुद्दाशुद्दी र तथ्यमा परिपाक अलिकति हराएको छ । कथा सलल बगेको छ , सरल र सहजता छ ।

-स्मार्ती

Shiva Prakash said...

कथाकारले सायद अमेरिकाको केन्टकी राज्यको उल्लेख गरेको हुन सक्छ मुद्राराक्षसका कारणले केन्ट मात्र भएको हुन सक्छ ।

Anonymous said...

i was wondering what is kent? i hope its not tom kent junior.

Zero Hour (शुन्य समय) said...

कथामा म भन्ने पात्र आधुनिक शैलीतिर झुकेर पनि पुन: परंपरागत "रोडम्याप"तिर फर्किएको छ। शायद पाश्चात्य भन्दा हाम्रो समाजको "सामाजिक दम" को कारणले होला अन्ततोगत्वा "म" भन्ने पात्र "सेटल" हुन पुगेको । पश्चिमाहरु उमेरमा जति नै स्वतन्त्रताको उपभोग गरे पनि कतिपय चाहीं उमेर ढले पछि मनोवैज्ञानिक समस्याले ग्रस्त हुन्छन भन्ने केहि महिना पहिले केहि तथ्यांक हेरेको थिएं । हाम्रो समाजमा ओके मम्मी भनेजस्तै पाश्चात्यहरुका लागि लभ र पार्टनर फाइन्डर नभएका होइनन जहां एउटा क्लिक नै जिन्दगीको बाटो मोड्न काफी हुन्छ । कथा राम्रो लाग्यो, लेखकको नाम कता सुने जस्तो लाग्यो, जे होस दौतरीमा फेरि पनि पढ्न पाइयोस ।

Luna said...

'मैले निर्णय लिएँ । म अनिर्णय बन्दी हुन चाहिनँ । ' ---
कथाकी पात्रले राम्रो निर्णय लिईछन् .
दौतरी ब्लग मा फेरी पनि पढ्न पाईयोस तपाइको कथा , निरन्तरताको शुभकामना
है शर्मिला जी .

Shiva Prakash said...

स्मार्तीजी, खुसी लाग्यो राम्रो कुराको कमेन्ट गरिदिनु भयो । वास्तवमा म मेरा रचनामा गल्ती हुनु हुदैन भन्ने मानसिकता राख्ने मान्छे हु । यसरी कमेन्ट गरिदिनु भयो खुसी लाग्यो । वास्तवमा अमेरिकामा केन्ट राज्य छैन मलाइ थाहा छ यो एउटा सिटी हो भन्ने मैले बुझेको छु । मेरो भैनाजुले केन्ट स्टेट युनिभर्सिटिबाट पिएचडी गर्नु भएको हो । मैले त्यहि आधारमा यो कथा लेखेको हु । म अमेरिका गएको छैन तर दिदि भेनाजुसग गफ गर्दा पुगेजस्तो लाग्भ्यो । यो कथामा मैले त्यहि आधारमा लेखे पछि पुस्तक प्रकासन गर्दा सङग्रहमा राख्दा ओहायो स्टेट बनाएको छु । गल्ती भएकोमा माफी चाहन्छु । तर नेपालमा बसेर अमेरिकाको कथा लेख्नु कुनै अस्वाभाविक होइन ।
मेरो रचनाहरु पढुन हुदो रहेछ खुसी लाग्यो तर मेरा रचना कुनै धारणाले प्रेरित भएको हुदैनन् । म कथा लेख्दा वास्तविकता, प्रस्तुति र शिल्पमा जोड दिन्छु । अहिलेसम्स कसैले नारीवादी कथा भनेका छैनन । हुन त नारीका पीडा, वेदना र छडपडी हुन्छन तर खरो नारीवाद हुदैन । मेरो व्लग http://www.shakhadasahitya.blogspot.com/ मा पनि हेनु सक्नु हुन्छ । म तपाइजस्तो सवेदनशील पाठकको हार्दिक सम्मान गर्दछु ।
धन्यवाद शिवजी मेरो वारेमा बोलिदिनु भएकोमा ।
शर्मिला
(कथाकार शर्मिलाजीको सायद Google ID नभएर होला उहाँ स्वयंले आफ्नो प्रतिकृया पेस्ट गर्न असमर्थ हुनु भएको हुनाले उहाँका तर्फबाट यो प्रतिकृया यहाँ राखेको छु । धन्यवाद ।)

Nepalean said...

कथा राम्रो लाग्यो। कथा पढ्दा पढ्दै कतै म पनि त्यस्तै पात्रसंग परिचित भएकी जस्तो लाग्यो। कथासंगै म पनि आंफै बगें सलललल...सुखद अन्तय भनू या द:खद। सायद सुखद नै भन्नुपर्छ। ओके भने पछी।

कथाकारसंग ठोस कुरा गर्नुपर्दा जे कुराको पनि एउटा आधार हुन्छ। तपाई जती नै आफूलाई आधुनिक ठान्नुहोस,उभिने एउटै धरातल हुन्छ। र त्यो धरातल कुनै एक कूनामा नअडिएर रेखाको बिचमा हुनुपर्छ। कुनो समात्ने बिचार कहिले सफल हुंदैन। सायद आधुनिकताको एक कुनो समातेर हिंड्दा जिन्दगी निरश लागेर बिच रेखामा आउन ओके ममी भनेको हुनुपर्छ।

केन्ट स्टेट भन्दा कुनै स्टेटवाला स्कुलको नाम छोटकरीमा नाम र स्टेट भनिन्छ। जस्तै म पढेकको सेन्ट क्लाउड स्टेट बिश्वबिध्धालय थियो त्यसलाई सेन्ट क्लाउड स्टेट भनिन्छ। बास्तबमा यो मिनीसोटा स्टेटमा पर्छ।

कथा लेख्दै गर्नूहोला। सायद दौंतरींमा पढ्ने धेरै र प्रतिक्रिया दिने कम हुनहुनुहुन्छ होला। तर राम्रो लेख रमाइलो मानेर पढ्ने लेखक मनग्य हुनुहुन्छ।

नेपालियन

PD said...

Sharmila khadka ka katha dautari ma padhera sarai khusi lagyo. nikai ramra katha haru lekhunu rayecha sharmila didi le.

कहिलेकाहीँ म जस्तो डायनामिक लेडी जीवनसाथी बनाउन पाइनँ भनेर तीतो ओकल्ने गर्छन्
bhinaju ta sarai challu po rayechan ta.haaaa!!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !