January 16, 2010

अन्तत: कामरेडले मालिकसंग ( प्रभूसंग) वार्ता गर्नु भो !


केही हप्ता अघि माओवादी सडक आन्दोलन उत्कर्षमा पुगेका बखत, कामरेड प्रचण्डले वानेश्वरबाट छिमेकी मुलुक भारतलाई बेसरी ललकार्नु भो ' खोई कहाँ छौ मालिक हो ? शक्ति छ भने ह्याउ जुटाएर आओ हामीसंग कुरा गर्न ! ' भनेर । यो ललकारलाई भारतले लुतुक्क स्वीकारेर हो कि किन हो आफ्ना बिदेश मन्त्रीलाई वार्ता गर्न नेपाल नै भेजदिएछ । अब कामरेड प्रचण्डलाई वार्ताको सौभाग्य त मिल्ने नै भो यो कुराले , तर अब माओवादीलाई सरकारको साँचो हस्तान्तरण गरिदेलान त यी एस एम कृष्णा नामका भारतिय विदेश मन्त्रीले ? प्रश्न ज्यूँका त्यूँ रहन सक्छ ।

यसो त कामरेड प्रचण्ड बडो विरोधाभाषपूर्ण प्रवृत्ति बोकेको नेता हुनुहुन्छ । वहाँ क्षण मै मान्छेको पीडा र दु:ख देखेर बलिन्द्रधारा घ्वाँक कि घ्वाँक रुन बेर लाउनुहुन्न , अनि उता क्रान्तिकारिताको कुरा आउने बित्तिकै दशौँ लाखको रगत बगाएर भए पनि आँफूले चाहे जस्तो राज्य व्यवस्था कायम गरिछाड्ने फर्मान कार्यकर्ताहरू संग वाचा गर्न भुल्नु हुन्न । एकातिर समावेशी गणतन्त्रको नारा लिएर क्रान्ति पनि गर्नु भएकै हो भने अर्कोतिर बिरोधी विचार बोकेकालाई दुर्दान्त तरिकाले मार्ने र सफाया गर्ने मध्ययुगीन बर्बर तालिबानी तरिकाको हिंसात्मक कृत्यको नेतृत्व गरेर मुलुकलाई रगतपच्छे पार्नु भएकै हो । आवेग र आक्रोशमा एकथरि कुरा गर्ने अनि भोलिपल्ट अरूले कुरा बंग्याएको रेडीमेड प्रतिकृया दिएर क्रान्तिलाई नया उचाइमा पुर्‍याउने वहाँको कारिगरीको बखान गरी साध्य छैन भनेर नेपाली मिडियाले वहाँलाई समालोचना वा आलोचनाको सीमा भन्दा धेरै माथि स्थापित गरिसकेका छन् । वहाँ आधुनिक युगका एउटा विचित्र विम्ब हुनुहुन्छ । तैपनि वर्तमान नेपाली राजनीतिको दरश्यपटलमा , हिंसा र त्रासले आर्जित गणितका कारण सबैभन्दा ठूलो राजनैति पार्टीको अध्यक्ष भएका नाताले पनि कामरेड प्रचण्डलाई कुनै मानेमा पचाडि राख्नै मिल्दैन सकिन्न भलै वहाँ नेता हो कि हास्यव्यंग्य मञ्चका अभिनेता हो भन्ने कुराको भेउ पाउन नै गाह्र‍ो पर्ने अप्ठ्यारो विद्यमान रहेको किन नहोस्।

हो , कामरेले मातेको मान्छेले झैँ सडकमा ' हे कहाँ छस्, मेरा अगाडि देखा पर्' भनेर दिएको आदेशलाई खुरूक्क स्वीकार गरेर 'नेपालका विषयमा हामी सबै कुरा गर्न र सुन्न तयार छौँ' भन्ने मिडिया प्रचारबाजीको चर्चासंगै भारतीय विदेशमन्त्रीले नेपाल भ्रमण गर्न पहिलोपल्ट यता पाइला टेकिसकेका छन र , सबैले यो मौकाको उचित सदुपयोग गर्न सके हाम्रो देशको राजनैतिक स्वास्थ्यलाई राम्रो हुन्थ्यो कि । अब , कालापानी र सुस्तामा भारतीय पुलिससंग पौँठाजोरी खेल्दै सडक आन्दोलनको रामरमितामा रमाएर प्रचारवाजीको तमाशामा राजनीतिको दूनो सोझाउनभन्दा , विषयको गम्भीरतमा नेपाली राजनैतिक वृत्तभित्रका सबैपक्षको एकमत बनाएर भारतसंग गर्नु र भन्नु पर्ने कुराको फेहरिस्त तयार पारेर भीड्दा राम्रो हुन्न र ? माओवादीले घोषणा गरेको राष्ट्रिय स्वाधिनताको मुद्धा बोकेको आन्दोलन शुरु भैरहँदा , जसका बिरूद्ध आन्दोलन गरिएको हो उसैको एउटा अब्बल प्रतिनिधि नेपाल प्रवेश गरेका छन् र माओवादीलाई कालो झण्डा , झण्डाभित्र बेरेको ढुङ्गा र के के अरू चिज उपहारमा दिनु छ त्यसको असीम सौभाग्य पनि अहिले राम्ररी जुटेको छ । अथवा, ढुङ्गा मुढा स्वदेशीलाई मात्र हो बिदेशीलाई राम्रै खातिरदारि गर्ने चलन छ , बाहिर चर्का कुरा गरे पनि भित्र हाम्रो कुरा छँदैछ भन्ने हो पनि आफ्नो मेशो मिलाउने यो सौभाग्यलाई कामरेडले खेर जान दिनु हुने छैन होला भन्ने मेरो कामना छ ! लौ कामरेड प्रभूका 'चित्रगुप्त'संग हुने वा भएको वार्तामा तपाईँको मनोकांक्षा पुरा होवस् ! ( कार्टुन बिना अनुमति नागरिक डट कमबाट साभार )


4 Comments:

mrmagar said...

very good article!

prelude said...

प्रभुसंग वार्ता गरे पनि नोकरसंग वार्ता गरेपनि कुरा आखिर सडकको नाटकभन्दा कतै अघि नबढ्ने भयो। नयां नयां नाटक देखाइरहने चटकिघर बनाएका छन् देशलाई!

Hitmat Tuladhar said...

Ma je bhanchu sahi bhanchu, hamrai kangresi girija babu ra suputri sujata jasto neta nai desh ko lagi bardan ho. maobadi ma pani testai neta haru bhayeko bhaye aaja bhanda 20 barsa aagi nai desh kaha bata kaha pugthyo!

नेपालियन said...

यो सडक नाडक मात्र हैन संपूर्ण नौटकीं हो। तान तुन पारेर कसरी हुन्छ उही सरकारको चाबी खोस्ने हो। जनताको नाम त बाहिर जलप मात्रै हो। जनताकै भलो गर्ने भए त संबिधान बनाउने समय सकिना लगिसक्यो त्यसमा लागी परेर सकाउनु पर्ने हो नि। प्रिलुडले ठिक भन्यौ।
हितमत जी प्रया हाम्रा पार्टीहरु मैले गल्ती गरें भन्दा पनि म जे भन्छु मैले जे गरें सबै ठिक भन्ने हरु छन। गिरीजाले त देशलाइ केही गरे, तर सुजाताले पनि केही गरिन भन्दा अलि पच्य भएन है। हुन त उप-प्रधान मन्त्री केही न केही त पक्कै गरिन होलिन, तर यिनको अझै केटकेटी बुद्दी छ। कतै लालिपप देख्यो कि झगडा गरेर भए पनि ललिपप खान कुदीहाल्छीन।
एकलव्य जी लामो समय पछी झुल्किनु भयो, राम्रो छ है लेख। अब नेपालमा त के को अनिमती चाहिन्छ र, तपाइले साभार को स्रोत दिनु भयो त्यो नै ठुलो कुरा हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !