July 8, 2009

मन र समाजको अपराधीकरण अनि राज्यबिहीनता

-एकलव्य



अपहरण आरोपमा पिट्दा २ को मृत्यु
मकर श्रेष्ठ
भक्तपुर, बालबालिका अपहरणको आरोपमा स्थानीयवासीले कुटपिट गर्दा भक्तपुरमा मंगलबार दुईजनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते छन्

हिजो भक्तपुरमा घटेको एउटा घटनाको बारेमा आजको ( २४ असार २०६६ वा जुलाई ८ २००९ ) कान्तिपुरमा प्रकाशित समाचारको अग्र भाग हो यो । सबै नेपाली छापाहरूको शीर्ष समाचार रहेको यो घटनाले वास्तवमा वर्तमान समयमा हाम्रो नेपालको हैसियत कस्तो छ भन्ने कुराको समग्र प्रतिनिधित्व गरेको छ भन्नुमा अत्युक्ति हुँदैन । राज्यबिहीनता, दण्डबिहीनता र जिम्मेवारीबिहीनताको पराकाष्ठा दर्शाउने यस खाले घटनाहरू अहिले हाम्रो मुलुकमा दिनहूँ घटिरहेका छन् र ती पनि बहुसंख्यामा र बहुस्थानमा । कुनै बेला राष्ट्रिय पञ्चायत सदस्य कर्ण ह्योजूलाई कुटी कुटी मारेको बहादुर जिल्ला भक्तपुरमा हिजो फेरि होहल्ला कै भरमा २ जना युवकलाई कुटेरै मारिएछ र मरणासन्न पारिएका अरू २ जना जीवन मृत्यूको दोसाँधमा उपचाररत छन् रे ! अपहरण, हत्या, हिंसा, लूट र भीडले गर्ने न्याय जब हाबी भएर समाजमाथि बर्सिन थाल्छ , अनि ठान्नै पर्छ त्यहाँ राज्य मृत बनिसकेको छ । कुनै जमानाको सुन्दर र शान्त मुलुकका नामले चिनिने मुलक, नेपाल, आज कुन दूर्भाग्यका कारण हो, यो दूर्गति र दूर्नियतिको पर्याय बनिरहेको छ । हिंसा आतंकको रोग एकपल्ट सल्केपछि , कुनै हालतमा सजिलै निभ्दैन भनिन्छ, त्यसैले गर्दा होला नेपालमा रचिएको क्रान्तिकारी रोमाञ्चको गृहयुद्दले रक्तवीजका नया नया अवतार लिँदै मुलुकलाई हिंसाको राप र आतंकको तापमा भस्म पार्दै छ । चौतर्फी असफलताको अँगालोमा हाम्रो झर्ने क्रम जारी छ ।

एउटा अन्तर्राष्ट्रिय सर्वेक्षणको भर्खरै प्रकाशित मानवीय सूचकांक र देशहरूको स्थिति सम्बन्धी आँकलनले नेपाललाई असफल देहरूको २५ औँ स्थानमा राखेको छ । दक्षिण एशियामा नेपाल पाकिस्तान भन्दा मात्र माथि छ । पाकिस्तान अल कायदा, तालिबान र कट्टरपन्थी मुसलमानहरूको क्रिडास्थल बन्न जाँदा अनि ती इस्लामिक बिद्रोहीहरूको शाक्तिशाली पनलाई आधार मान्दा पाकिस्तानी सरकार जत्तिकै वा भन्दा बढी प्रभाव उनीहरूको रहेको अनुमानका आधारमा, पाकिस्तान बिग्रँदो मुलुकको सूचिमा यति तल खस्केको हो ।

तर नेपालको स्थिति हिजोका सशस्त्र द्वन्दका दिनहरूमा भन्दा पनि नराम्रो तरिकाले तल झर्दै जानुले हामीलाई पक्कै दु:खद आश्चर्यमा पारेको हुनुपर्छ । आश्चर्यको कुरा एकातिर, तर हामीलाई थाहा छ सर्वसाधारणका लागि हाम्रो मुलुक अहिले बिगतका कुनै समयहरूभन्दा अरू भयाबह बनिसकेको छ । हिजोको बिद्रोही शक्ति माओवादी शान्ति सम्झौतामा आएर संविधानसभाको सबैभन्दा ठूलो दल बनेर कहिले सत्ता र कहिले प्रतिपक्षरूपी संस्थापन पक्षको पाटो बनिसक्दा पनि , नेपाली जनताले चाहेको शान्तिपूर्ण जीवनको चाहना अझै आकाशको फल जस्तो टाढा देखिन्छ ।

कुनै समयमा दावा गर्ने गरिएको कुरा : मुलकमा राजतन्त्र हट्दा र संविधानसभाको चुनाब हुँदा चमत्कार भएर जनताका सारा दु:ख र पीडाहरूको सदैव अन्त्य हुने हो कि झैँ फलाकिएको राग उत्साहबाट झरेर रोदन र घृणामा बदलिएको छ । माओवादी हिंसाले गर्भाधारण बनाएर छोडेका अवैध झड्केला सन्तानहरू विरासतमा हिंसाको जीवन बिरोधी मादकता बोकेर सारा तराई र पहाडसम्म छाएका छन् । भनिन्छ , यस्ता हिंसात्मक झुण्डहरूको संख्या नै सय नाघिसक्यो । पहाडियाका लागि त तराई जीवन जोगाउन धौ धौ हुने खालको भैसक्यो । आज दक्षिण र मुख्य तराईमा बसोवास गरिरहेका लाखौँ पहाडिया मूलका नेपालीहरू माथिल्लो पहाडिया बहुल भूभागमा जबर्जस्ति बसाईँ सरेर ज्यान जोगाउन वाध्य पारिएका छन् । आफ्नो मुलुकमा आन्तरिक शरणार्थी बन्नु पर्ने वाध्यताको यो कथा अझ संगीन बनेर जाँदै छ ।

यी सबै कुरालाई अल्ग्याएर हेर्ने हो भने, नेपाली जनजीवनमा देखिएको हिंसाप्रतिको अभिरूचि र संलग्नताका विशेषताहरू अझ डरलाग्दा छन् । आज पेशेवर अपराधीको थोक नियन्त्रणबाट हिंसा खुद्रा बनेर सामान्य मान्छेहरूमा विस्थापित र वितरित बनेको छ । मान्छेहरू सानो भन्दा सानो कारणले ज्यान लिन पनि पछि नपर्ने गरी हिंस्रक बनेका देखिन्छन् । उदाहरणका लागि, एउटा परिचित पूर्व घरभेटीले कति सजिलै केही रकमको जोहो गर्न एउटा किशोरी केटी ख्यातिलाई यति अमानवीय ढंगले टुक्राटुक्रा पार्न सकेको होला ? लाई लिन सकिन्छ । अनि यस्तो अकल्पनीय घटना घटाउनेहरूका मन र अनुहारमा कतै पश्चाताप देखिएको छैन भन्ने जुन समाचार आइरहेका छन् तिनले के बताउँछन भने त्यस्ता डरलाग्दा अपराध गर्ने सिकारूहरू पनि पेशेवर अपराधी जस्तै आश्वस्त बनेका छन् । यिनको मनमा केही समयपछि जेलबाट निस्कन सकिन्छ र स्वतन्त्र जीवन जीउन सकिन्छ भन्ने आत्मविश्वास छ । यसले राज्यबिहीनता र दण्डबिहीनताका चरित्रहरू उजागर भएका छन् । अर्कोतिर भीड जुटाएर जे जस्तो अपराध गर्न सकेपनि त्यसको दोष कसैले बोक्नु पर्दैन भन्ने भीडतन्त्रात्मक राजनीतिको चरित्र जतासुकै छरिन पुग्दा हिजो भक्तपुरमा भीडले मान्छे मारेको जस्ता घटनाहरू हुन पुगेका छन् । यस्ता घटनाहरूबाट नेपालमा दर्जनौँ मान्छेहरू मारिइसकेका छन् बिगत केही महिना भित्रै पनि । हिंसा र हत्या आज सहज, सुलभ र जसले पनि अपनाउन सक्ने दुस्साहस बनेको छ र यो कुरालाई जनमानस र सर्वसाधारणको दिलोदिमागमा पुर्‍याउने कुरामा योगदान कसको रह्यो होला भन्ने विषय पनि अब आएर गौण भैसकेको छ । अब शुरूवात कस्ले गर्‍यो भनेर कारण खोज्ने भन्दा , सम्भावित घटनाका रोकथामलाई अपनाएर समाधान खोज्नु पर्ने वाध्यता आइसकेको छ । तर, निदान सजिलो छैन।

आज मुलुकमा कसैबाट कोही सुरक्षित नरहेको अनि जतिबेला जे पनि हुनसक्ने असुरक्षाको महामारी व्याप्त बनिसेको छ । संविधान आफ्नो पार्टीको एजेण्डा अनुरूप पार्ने अथवा , नागरिक सर्वोच्चताको रटमा मुलुक ठप्प हुने गरी नेपाल बन्द बनाउँदा पनि अपराधमाथि बन्दको प्रभाव मलजलको रूपमा उल्टो किसिमले उर्वर बनेको जस्तो देखिन्छ ! बन्द , हड्ताल र निषेधले जनता मर्माहत बनिरहँदा पनि अपराध त मौलाएकै छन् । संविधान , सरकार, लोकतन्त्र र चमत्कारका शाब्दिक कोलाहलभित्र मुलुकको नागरिक निरिह बाँच्नलाई लुक्ने र ओत लाग्ने कुनो खोज्दै भाग्दैछ । क्रान्तिकारी राजनीतिक अड्डाहरू भित्र ठुल्ठूला कुराका सम्झौता र मेलमिलापका सूत्रहरूको खोजी हुँदै गर्दा नागरिकको बाँच्न पाउने आधारभूत अधिकारले चर्चा र प्राथामिकता पाउन सकेको छैन । पार्टीका कार्यकर्ता मर्दा देशै बाल्न खोज्नेहरू ‘नो म्यान्स ल्याण्ड’ रूपी सामान्य र स्वतन्त्र नागरिकहरूको जीवन जाने दूर्घटनालाई संक्रमण कालका सामान्य अराजक घटनाका रूपमा पञ्छाउँछन् । मानौँ जनता स्वतन्त्र नागरिक भएर बाँच्नु नै एक अभिशाप हो यो मुलुकमा । सायद ठूला ठूला कुराको बहस हुने तर प्रकारान्तमा सँधै हात लाग्यो शून्य हुने हाम्रो देशमा सदैव नागरिकहरू ‘एक्सपेन्डेबल आइटम’ बन्नुपर्छ !!! यसैले कविले भनेका होलान् : बन्दैन देश दुईचार ...................मरेर नगए ! तर, यहाँ सपूतहरू त नेता हुनलाई बाँच्छन् र दुईचार मात्र हैन सबै मरेर गए पनि देश बन्ने छाँट सुदूर क्षितिजसम्म कतै देखिएको छैन ।


7 Comments:

प्रबिण थापा said...

निकै गहकिलो र मर्माहत यथार्थता पस्कनु भयो एकलब्य जी! दण्डहिनताको श्रिन्खलाले सगर चुम्दै छ, देश दिन दुईगुणा र रात चौगुणाका दरले निरन्तर हत्या, हिंसा, बलत्कार, भष्टचारको दलदलभित्र फस्दै छ, शान्ती,सुरक्षाको अनुभुती गरेर जीवन बाँच्न पाउने क्षण नेपाली भुमिमा समाप्त हुँदै छ, भाईचाराको सम्बन्ध टुटिसकेको अवस्था छ, पैसाको लागि रगत चुस्ने दानवहरु सुरक्षित स्थान ठान्दै छन, यहाँ मानवता भन्ने कुरा मरुभुमिमा पानीको मुल खोजे सरी हुँदै छ,यहाँ आफ्नो र पराइ छुट्टाउने आँखाहरु बन्द भएका छन,न्याय खोज्दै हिंड्ने मनहरु न्याय नपाएर मुर्छित छन, देश र जनताको ठेक्का लिएका ठेकदारहरु जनताको नाम लिएर सत्ता हडप्ने खेलमा एक अर्कालाई गाली गर्दैमा व्यस्थ छन र समाजमा दिनानु दिन बढ्दै गएको यस्ता निच कार्यलाई बिषम परिस्थितीको परिणाम भनेर हाँस्यासपद कुतर्क गर्दै छन। समाजलाई उचित बाटोमा डोराउने जिम्मा बोकेका गुरु भनाउदाहरु आफ्नै शिष्यको क्रुर हत्यामा सामेल बन्दै छ। साँचो अर्थमा नेपाल र नेपाली समाज उल्टो दिशमा बहदै छ र आगामी दिनहरुमा झन झन ठुलो दुर्घटनाहरु निम्ताउदै छ।

Luna said...

मान्छे ले मान्छे लाई कुटी कुटी मार्न सक्ने कती सम्म को रा छेसी मानसिकता को भिड बढ्दै छ हाम्रो समाज मा !

ठरकि दादा said...

केहि समय यता देखीको यो भिडको मानसिकतामा चल्ने यस्ता उग्रतम कार्यले चिन्ता लाग्न थालेको छ ।

जनताहरुमा राजनितीको अराजकता बिस्तारै 'विकेन्द्रीकरण' भैरहेको छ र यो शुभ संकेत कदापि होईन । तर फितलो सुरक्षा र प्रशासनको कमजोरीले गर्दा पनि जनता आफैले आफ्नो बचाउ गर्नु पर्ने स्थितिमा पुगेकाले पनि यस्तो घटना घटदैछ भन्दा पनि गलत नहोला ।

कहीलेकाही म पनि सोच्छु भुपि शेरचन गलत छन:
यहाँ सपूतहरु धेरै मरीसके, खै त सपूत मरेर देश बनेको । सपूत मरेपछि कपूतको राज चल्दो रहेछ । मत भन्छु :

बन्दैन मुलुक देशका कपूत मरेर नगए

Anonymous said...

This happens when bunch of hooligans rule the country and mobs provide the decision.
Never expect better.

Zero Hour said...

हैन कपुत पनि कति धेरै रहेछन त ठरकिजी !

असहिष्णुता अनि सोच्न र निर्णय गर्न सक्ने खुबी नभएको भिडले कागले कान लग्यो भन्दा कान नछामी कागको पछाडि दौडे जस्तै भइरहेको छ । देशमा मान्छेको संख्या घट्दैछ, ढुंगेयुगका जनावरहरुको संख्या बढ्दैछ।

आंखा तरेको बहानामा शुरु भएको झगडाले के नतीजा निम्त्यायो छर्लङै छ । तराइबाट शुरु भएको आंखा झिक्ने र अपहरण गर्नेको हौवा तनहु हुंदै काठमाडौ र भक्तपुर पुगिसक्यो । तनहुंमा भारतीय पर्यटकहरु पिटिएर थुनिनुसमेत परेकाले आफ्नो भ्रमण र फ्लाइट टिकट समेत रद्द गरेर सुनौली हुंदै फर्केको भनेर समाचार पढ्दा नेपाल भ्रमण वर्ष २०११ को याद आएको थियो । नेपालीहरु अब नचिनेको मान्छे अर्थात अतिथिहरुलाई अतिथि देवो भव: हैन "अतिथि गोदो" को मार्गतिर हिंडेको देखाउंछ । अब त्यो ट्याक्सी चालक जसले बाटोमा रोएको बालकलाई उद्दार गर्न खोज्यो तर आंफै गोदाइ खाएर उद्दार गरिनु पर्ने हालतमा पुग्यो भने के अब आपतमा परेकाले उद्दार पाउने जमाना रहिरहला?

रितिक रोशन काण्ड पछिको यो खतरनाक र व्यापक हौवाले समग्र नेपालीलाई आफ्नो स्तर र हैसियत अनि नेपालको सामाजिक स्थिति कता जांदैछ भन्ने सोच्न चाहीं बाध्य तुल्याउंछ । नेपालमा यस्तो हुन्छ भनेर सभ्य र आधुनिक युगका मान्छेलाई भन्न चाहीं लाज लाग्छ भने यस्तो कर्तुत कहिले सम्म रहिरहने ?

अराजकता र भीडले शासन गर्ने मध्ययुगिन परिपाटीको अर्को नतीजा हैन यो ?

Biplab said...

नेपालीहरु अब नचिनेको मान्छे अर्थात अतिथिहरुलाई अतिथि देवो भव: हैन "अतिथि गोदो" को मार्गतिर हिंडेको देखाउंछ । Its a nice one, I like it.

नेपालियन said...

तपाइको लेख राम्रो संग पढेर लामै कमेन्ट लेख्ने बिचार थियो, दौतरीमै चक्का चाम भएर चौपट भयो।
नेपालको स्थीती आज भन्दा भोली खतम भोली भन्दा पर्सी खतम भएको छ। यांहा उदण्दता र नियम मिच्नेहरु जब पूरस्क्रित हुन्छन तब सबै आफ्नो कानुन हातमा लिएर फैसेला गर्न उत्साहित हुन्छन। भएको त्यी हो।
नाम मात्रका पूलिस छन, छारो फोर्सो केही गर्दैनन। देशको ठेक्का लिएका नेताहरु गोठाले बुद्दी जस्तै छन। गाइले कसरी धेरै दुध देला भने जस्तै कसरी धेरै सत्तामा टिकीएला, बस तेही छ ध्यान।
ठरकी जीको बन्दैन मुलुक देशका कपूत मरेर नगए भने निकै घत पर्यो है।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !