May 22, 2009

भत्किएका परेलीका डिल समान मेरो जिवन

लेख्न त शुरु गरें, तर सम्बोधन गर्न शब्दहरुको कमीले होला सम्बोधन नगरी कनै शुरुवात गरे आज तिमीलाई मेरो भोगाईहरु लेख्न, त्यसैले होला आजभोलि किन-किन एकान्तमा आत्मा कहालिन्छ । अतितको मिठो सम्झनाले मुटु विथोलिन्छ अनि मनको अन्तरंगमा पिडाका लप्काहरु दन्किदिन्छन् । तैपनि एउटा यस्तो जिन्दगी जसको विष्मातमा रोइदिने दूई थोपा आँसु छैन हर्षमा मुस्कुराईदिने एक निस्वार्थ मुस्कान छैन त्यही कथित जिन्दगीलाई नै अप्राप्य खुशीको आशामा सकी नसकी थामिरहनुलाई आफ्नो पूरुषार्थ ठानिरहेको छु आज म ।
 
बम बारुद्ध अनि ति मानिसहरुको चिट्चिट्टाहाटबाट निस्किएको आवाजहरु मात्र ठोकिने गरिन्छ मेरा कानमा आजभोलि, यो मरुभुमिमा म त चुंडिएको चंगा जस्तै विना उद्देश्य कहिले वादलपारी लरबिरंदै त कहिले यो मरुस्थलमा पछारिदै उडिरहेको छु । शायद मेरो दुर्भाग्य नै होला अनन्तमा बर्षा र आँधीको प्रहारसँग म च्यातिएछु, निष्ठूरी चट्याङ् पनि मेरो जीवनको पाखामा नै परिदिएछ । विक्षिप्त मेरो जिवन आखिर अँध्यारो गल्लीमा रुमल्लिरहेको बस्तीभित्रको बेवारिशे आकृति बन्न पुगेछ जो असह्य पीडाले निष्प्राण खोक्रो रुपमा परिणत भैसकेको थियो । म त्यो पल अझै पनि सम्झीरहन्छु जब तिमी गोधुली साँझमा क्षितिज चियाउँदै अनि कल्पनाको सागरमा डुबुल्की मारेर विश्वासका खम्बाहरु उभ्याउने गथ्र्यौ। मलाई जीवनको कठिन यात्रा पार गर्न सिकाउँथ्यौ । तिम्रा ती सहानुभुति अनि प्रेरणाको साथले नै मेरो जिन्दगीमा एउटा अनुपम बहार आएको थियो जसले मृतप्रायः मेरो जिजीविषालाई पुनः जगाउन थालेको थियो । तिमी भन्ने गथ्र्यौ झरनाहरुमा थोपा-थोपा मिले झै दूई आत्माका भावनाहरु मिलाउँदै हामी पनि मनभरीका वेग र आवेगमा संगमका लहरहरुमा मिल्न सक्छौ । आखिर तिमै्र चाहाना अनुरुप विश्वासको प्यालामा जिन्दगीको मदिरा थप्दै ह्दयको क्षितिजमा श्रद्धाका रंगहरु भर्दै हामीले यात्रा शुरु गर्यौ अनि मनको मिलनका आशामा तिमी र म अघि बढ्दै गर्यौ खुल्ला आकाशका दुई पंक्षीहरु जस्तै ।
 
जुन र तारा मिलेझै हिमाल मुस्कुराए झै कता- कता प्रकृति नै हर्षित भए झै आभास हुन्थ्यो त्यस बखत मलाई । तिमी कति महान थियौ, कति उदार थियौ, जो आफ्ना सारा रहरहरुलाई थाँती राखेर संसारभरका खुशीहरु केवल मेरै निम्ती संगाल्दै सप्तरंगी ईन्द्रेणीका रेखाहरुले सजाए झै मेरो खण्डहर जीवनलाई सजाउन चाहन्थ्यौ ।माया गर्नेहरु सबै सफल हुने भए पनि यो संसारमा विछोड शब्दको उत्पत्ति हुने थिएन । म पनि त्यो विछोड शब्दबाट साह्रै डराउँथें । अनि त्योदेखि टाढा बस्न चाहन्थे । सोच्थें पिडा कस्तो हुन्छ, कहाँबाट आँउछ, हाम्रो यात्राको दौरानमा तिमी अलि अगाडि पुगिछौ म तिमी भन्दा अलि पछाडि छाडिएछु । यो अगाडि पाइलाको फरकमा हामी फेरी पनि एक्ला-एक्लौ भएछौ, अनि वेग्ला-वेग्लौ नितान्त बेग्ला-वेग्लै । जिन्दगीको यो दोधार पलमा खै कसरी मनलाई सम्झाउनु सपनीको संसारमा सधैं आएर जिस्क्याउने गछर्यौ ब्यूँझन्छु विछ्यौनामा एक्लै हुन्छु मानिसहरुको माझमा पनि मैले आफुलाई नितान्त एक्लो पाइरहेको छु, तर पनि के नै गर्न सक्छु र बस तिम्रो यादमा दिनहरु काटिरहेको छु । मनमा हरपल तिमीलाई नै सजाएर राखेको छु । जिन्दगीको यात्रामा सायद मैले तिम्रो साथ पाउन सक्दिन तर पनि हरेक पल मैले तिमीलाई त्यति नै चाहदै आएको छु ।
 
जिन्दगीमा सधैं चाहेकै हुनुपर्छ भन्ने रहेनछ कहिले काहीँ चाहँदा-चाहदै र गर्दा-गदौ पनि ती चाहानाहरु पूरा हुँदा रहेनछन् । म जति तिम्रो नजिक पुग्न खोज्थें, सामिप्यताको बन्धन तोड्दै तिमी झन टाढा पुगिसकेको हुन्थ्यौ मेरो निम्ती फगत मृगतृष्णा बनेर मैले ठम्याउनै सकिन खै कहाँबाट असमानताको पर्खाल खडा भईदिएछ विश्वासघातको आँधी चलिदिएछ अनि मलाई एउटा अपुरो अधुरो यात्रामा छाडेर तिमी ऋतुसरी बदलिईदिईछौ । यो पनि म कसरी सोच्न सक्थें र कि त्यति छिट्टै आस्थाका पर्खालहरु लरबराउनेछन् भावनाका पर्खेटाहरु भाँचिनेछन् अनि अटुट लाग्ने तिम्रा बाचाहरु खोक्रो र फोस्रो भई शुन्यतामा विलाउनेछन् केवल सम्´नाले भिजाएका परेलीहरु अनि चोटहरुले सजिएको मेरो मुटु पे्रमोपहार स्वरुप मलाई नै सुम्पिएर आज तिमी खुशी छौ कि छैनौ म कसरी भन्न सक्छु र तर म त नदीका दुई किनार झै टाढिएको हाम्रो स्वप्निल संसारभित्र आफ्नो अतित चियाउँदै प्रत्येक दिन प्रतिक्षा अनि सम्झनाको भेलमा अविरल बगाई रहेको छु । जीवनको फुलबारी सजाउने उमंगमा बसन्तको बहार खोज्न निस्केको म आज अन्जुलीभरी काँडामा उपहार र नयनभरी हिउँदको झरी लिई फर्किरहेछु अनि भत्किएका परेलीका डिलबाट नतमस्तक मेरा सारा लक्ष्यहरु चुहाईरहेछु ।
 
यस्तो लाग्थ्यो, संसार एउटा सुन्दर बगैंचा हो, जसका सारा फूलहरु पनि मेरो जीवनमा बहार ल्याउनको निम्ती आतुर छन् तर मलाई के थाहा सुन्दर ती फूलहरु एकाएक ओईलाई झरिदिनेछन् मेरो जिवनलाई उजाड-उजाड बनाएर । कुनै दिन थियो कि शिशिरको नांगो रुखमा पनि जिवन मुस्कुराएको देख्ने गर्थें, तर आज त बसन्तको हरियालीमा पनि जीवन रोईरहेको देख्छु । थाहा छ हाम्रो विश्वासको महल त भत्किसकेको छ छातीभित्रका भावनाहरु तुषारोले कठ्याङ्ग्रिसकेका छन् तैपनि तिमी जति नै टाढा भए पनि मैले चाहेर पनि तिमीलाई भुलाउन सकिन । चाहे तिमी सम्झ वा विर्स, गहभरीका आँसु अनि मनभरीका व्यथा सहेरै पनि यो निरिह मुटुमा अनन्तसम्म तिम्रो याद सजाईराख्ने छु । एउटा अप्राप्य निधीको रुपमा सदा सदाको निम्ती मेरो मानसपटलमा केवल स्मृति बनि नाँचिरहनेछौं तिमी अनि त्यहि प्राप्तिको मर्मभित्र मर्माहित भई तिमै्र ह्दयको परिवेशमा बरबाद भई हाँसिरहनेछु म । तैपनि सम्झनाको सिमा भित्र प्रेम पल्लवीत गराउने झुठो आशामा आकाश र घर्तिको मिलन हेर्दै मौन ह्दयको जलनसँगै मीठो मिलनको प्रतिक्षा गरिरहेको छु ।
 
निष्तब्ध रातमा टिलटिल-टिलटिल गर्दै चम्किएको एक्लो तारा झै जीवन जिउने संघर्ष गर्दै अथाह पिडाको सागरमा डुबेरै पनि बाचास्वरुप तिमीले टोकेको औंलाको चोटबाट रगतको नदी तिमै्र तस्तिरमा वगाउँदै हरपल नशाको बेहोशीमा उजाड विपनाको बगैंचाभित्र एउटा नमीठो सम्झौतामा रमाउने दुष्प्रयास गर्दैछु । आखिर मुटु नै हो जति सम्झाउन खोजे पनि कहिले काँही चसक्क घोच्दोरहेछ नमीठोसँग दुख्दोरहेछ अनि व्यर्थै बाँचे झै जीवनको क्षण-क्षण विताउन युगौं लाग्दोरहेछ । अझै मुटुमा दन्केको वियोगको ज्वालालाई आँसुको धाराले निभाउने अथक प्रयास गर्दा-गर्दा झनै दन्कँदोरहेछ । हुन त अब चोट उम्लिन्छ आँसु नपोखिएर अरु के नै पो पोखिन्छ र जे होस् अब त समय पनि धेरै टाढा छैन होला जब सुक्नेछन् मेरा सारा आँसुहरु अनि पिडाले रोकिनेछ जीवनको बाटो तब तिमी आउनेछौ होला मेरो लागि श्रद्धाका दुई थोपा आँसु चढाउन तर त्यतिखेर तिमी चाहे खुशी मनाउ या आँसु बगाऊ कारण मेरो जिन्दगी आफ्नै चोखो विश्वाससँगै चीर निन्द्राको विछ्यौनामा सुस्ताइरहेको हुनेछ अनि प्राप्तिका चाहानाहरु जस्तै खरानी भई खुल्ला गगनमा उडीरहनेछ जहाँ कुनै आँधीको पर्वाह हुने छैन कहीँ कतै मिलनको आशा रहने छैन ।
तिमी विनाको एक्लो यात्री
अन्जान बनबासी


1 Comments:

खुल्लामन्च said...

धेरै मज्जा आयो । तपाईंको यो लेख पढेर । लेख्दै जानु होला, शुभकामना !!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !