May 21, 2009

लिट्टे र प्रभाकरणको अवशान अनि नेपाली प्रभाकरणहरू:

- एकलव्य

हरेक राजनैतिक एवं दार्शनिक आन्दोलन वा हिंसात्मक क्रान्तिहरू कुनै वास्तविक अहं मुद्दाहरूमा स्थापित भएकै हुन्छन् । त्यो विषयका पक्षधरहरूले त्यही कुरालाई क्रान्तिको विरोचित जामा पहिराउँछन् भने त्यो धारणाको बिपरित दिशामा उभिनेहरूका लागि त्यो भावनात्मक आतंकको एउटा नशा सिवाय केही ठहर्दैन । आँफूलाई क्रान्तिकारी ठान्नेहरूले अक्सर भन्ने गर्छन, ‘ज्यानको बाजी थापेर लडेका मान्छेहरूको निष्ठामा शंका गर्नु हुन्न’ । निष्ठा विवादको विषय हुन नसक्ला तर औचित्यका बारेमा त्यसै भन्न सकिन्न । यस्तो परिभाषा अनुसार, ज्यान दिनेहरू निश्चित रूपमा उच्च कोटिका ठूला मान्छेहरू हुन् र अरू ज्यानको माया गर्ने सामान्य मान्छेहरू क्रान्तिकारिताको महानता बुझ्ने औकात नभएका कायर हुन । बिगत २६ वर्षदेखि संसारकै अत्यन्त डरलाग्दो मानिएको श्रीलंकाको पूर्व र उत्तरमा चलेको अपरम्परागत ( unconventional domestic war) आन्तरिक युद्ध, यो युद्दका प्रणेता र लिबरेसन टाईगर्स अफ तामिल इलम र यसका प्रमुख बेलुपिल्लइ प्रभाकरणको अन्त्य संगै हिंसात्मक युद्धका धेरै पाटाहरू सतहमा आइपुगेका छन् – थोरै जवाफहरू र धेरै प्रश्न र प्रतिप्रश्न सहित ।

सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र बनेको हिन्दमहासागरीय टापू राष्ट्र श्रीलंका कुनै जमानमा पूर्वको मोतिको उपनामले समेत चिनिन्थ्यो । सामूद्रिक मागमा पर्नाले अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बन्ने सम्भावना भएको यो मुलुक चिया, मसला र अन्य कृषिजन्य नगदेवाली तथा खनिजको प्रचूरताका लागि विख्यात त छँदै थियो । यही देखेर, सन् १९६५ तिर इङ्ल्याण्ड जाँदै गर्दा सिंगापुरका संस्थापक प्रधानमन्त्री लि क्वान यू ले श्रीलंका देखेर भनेका थिए रे ‘ अबको दश वर्षमा सिंगापुरलाई श्रीलंका जस्तो बनाउनेछु’ । श्रीलंकामा ब्रिटिशहरूले बनाइदिएको ४५० किलोमिटर भन्दा लामो आन्तरिक नहरहरूको नाभिकिय मार्ग, रेलमार्गको सन्तुलित विकास र उपनिवेशकालीन भौतिक संरचनाको अति सम्पन्न विरासत थियो र यही कुरा देखेर लि क्वान यू समेत प्रभावित भएका थिए । तर १९४८को स्वतन्त्रता पश्चात, सिंहालीहरूको ८०% बहुमत रहेको यो मुलुकमा सयौँ वर्षदेखि बसिरहेका १७% भारतीय मूलका तामिलहरूको अस्तित्वलाई सकारात्मक रूपमा स्वीकारिएन र गलत राजनैतिक निर्णय लिएर ब्रिटिशकालीन श्रीलंकामा विशेष अधिकारसहित बसोवास गरिरहेका अल्पसंख्यक तामिलहरूको हैसियतलाई नकार्दै उनीहरूलाई गैर र आप्रवासी ठानेर त्यही दर्जाको भेदभावपूर्ण छाप लगाइयो अनि तामिल भाषा र हिन्दू धर्मलाई राज्यको आलेखबाट समेत निरस्त गर्ने निर्णय गरियो । फलत: बिद्रोह , बगावतका क्रमहरू शुरू भए र यिनै छिटपूट आन्दोलनको बाटोबाट सन् १९८० को दशककको शुरवातसंगै श्रीलंकाली धरतीमा संसारको सबैभन्दा दूर्दान्त, त्रासदिपूर्ण र डरलाग्दो नरसंहारकरी युद्दको प्रारम्भ र विकास भयो । यो कार्यको प्रणेता थियो – LTTE ( Liberation Tigers of Tamil Elam )भन्ने क्रान्तिकारी वा आतंकाकारी संगठन । यसको नेतृत्वमा रहेर आन्तरिक युद्धको कार्यनीति र तरिकालाई मान्छेले सोच्नै नसक्ने खालको बिभिषिकापूर्ण रूप दिने काम गरे यसका नेता बेलुपिल्लई प्रभाकरणले ।

प्रभाकरणको नीतिमा युद्धका लागि सबै कुरा जायज थियो । उनले संसारकै इतिहासमा आत्मघाती मानव बमहरूको ( suicide bombers, human bombs, Explosive human death squads ) श्रृंखलाको आविष्कार र तीनीहरूको डरलाग्दो ढंगले प्रयोग गरे । आधिकारिक आंकडाका आधारमा , अल्पसंख्यक तामिलहरूका लागि पूर्व र उत्तरी श्रीलंकाको एक तिहाइ भूभागमा स्वतन्त्र तामिल राज्यको लागि लडिएको यो लगभग तीन दशक लामो युद्धमा लगभग ७०-९० हजार मान्छेहरूको मृत्यु भैसकेको छ । यो समयावधिमा थुप्रै हजार सर्वसाधारण श्रीलंकाली नागरिकहरू, प्रहरी ,सेना , मध्यमार्गी र नरमपन्थी तामिल कार्यकर्ता र नेताहरू, अन्य श्रीलंकाली दल र सरकारका नेताहरू अन्य राजनेताहरू सहित श्रीलंकाका विदेश मन्त्री तथा तामिल नेता लक्ष्मण कादिगमर, पूर्व राष्ट्रपति रणसिंहे प्रेमदासा, भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी यो युद्धको शिकार हुन पुगे ।

प्रभाकरणको शव्दकोषमा , तामिल राज्यका बिरुद्द उभिने कसैका लागि पनि कुनै उदारता र क्षमा उपलव्ध थिएन । थुप्रै शान्ति प्रकृया र शान्तिकालागि दिइएका भारतीय तथा अन्तर्राष्ट्रिय मध्यस्थततालाई नकार्दै प्रभाकरण केवल युद्धको लागि लागिरहे र यसको परिणाम अहिले विश्व सामू प्रष्ट भैसकेको छ । हिजो बेलुकासम्ममा , प्रभाकरण , उनको परिवारका सबै सदस्यहरू , तामिल टाइगर्सको सम्पूर्ण उच्च नेतृत्व र सेना सबै श्रीलंकाली सेना र उसको चीनिया हतियारको शिकार बनिसकेका छन् । यसरी एउटा कहालिलाग्दो युद्धको निरिह पटाक्षेपहुन पुगेको छ । कुनै बेला प्रभाकरणको दाहिने हात मानिने जनरल करूणा जसले सन् २००४ तिर हजारौँ टाइगर्स छापामारसहित प्रभाकरण बिरुद्द बिद्रोह गरेका थिए र अहिले एउटा तामिल पार्टी खोलेर सरकारमा समेत मन्त्री छन् उनलाई हिजो एउटा भारतीय पत्रिकाले अन्तर्वार्तामा सोधेको थियो – ‘यो युद्धबाट श्रीलंकाली तामिलहरूले के पाए त ?’ र उनले जवाफमा भनेका छन् ‘केही पाएन वा शून्य’ । यत्रो रक्तरंजित युद्धको परिणति आज आएर ‘ वर्ग एक’ ( back to square one) मा खुम्चिएको छ । कुनै बेला एक तिहाइ श्रीलंकालाई आफ्नो प्रभावमा राख्न सफल आफ्नै हवाइ ( air-force) र नाभिकिय ( naval force) सामर्थ्यले सुसज्जित अनि निजी सैन्य दस्ता समेत भएको टाइगर्स आज नेस्तनाबूद बनेको छ । यसको औचित्यलाई इतिहासले आफ्नै ढंगले व्याख्या गर्ला नै तर , यो खरानीको थुप्रो बनेको इतिहासमा विस्मृत हुन ज्यान गुमाएका लाखौँ श्रीलंकालीहरू र अन्य जीवनहरूको बारेमा सोच्दा हिंसात्मक युद्धको औचित्यका बारेमा असंख्य प्रश्नहरू मनमा उम्रिनु स्वाभविक छ । के रह्यो त यसको विरासत ? युद्द लडेर मात्र हुन्न तिनको सेफ ल्याण्डिङ पहिल्याउन सकिएन भने परिणति यस्तै बन्न सक्छ ।

श्रीलंकाली गृहयुद्धको पृष्ठभूमि, कथा र व्यथाको आकार र प्रकार सबै कुराहरू नेपालको अशान्तिको निकट इतिहासबाट पूर्णत: पृथक छन् । तर एउटा कुरा नेपालका बारेमा भन्न सकिन्छ – या त पक्ष वा विपक्षमा युद्धको निष्कर्षयुक्त पटाक्षेप हुनैपर्छ कि त शान्ति र समन्यवका लागि इमान्दार निष्ठा र व्यवहार देखिनै पर्छ युद्धका पक्ष-विपक्षमा। अर्को शव्दमा , युद्धका लागि परिस्थिति नबनेको वा नरहेको र युद्ध नै नभएको राम्रो हो तर यदि हुनु नै छ भने ,युद्धको फैसला युद्ध मैदानमा निर्णायक बनेर एउटा वा अर्काको निर्णायक जय वा पराजयमा टुंगियो भने त्यसपछिको थालनीले सही बाटो पहिलाउन सजिलो पर्छ । अधकल्चो प्रण र युद्धको धङधङी थाति राखेर चोर उद्देश्यमा अल्झिएको छलछामले दीर्घकालीन अशान्तिलाई नै निम्ताइ रहन्छ, शान्तिका लागि निदान पहिलाउन्न । शान्ति, समन्वय र समझदारीको नाममा मौकापरस्त रणनिति र चालबाजीको शिकार बन्दा हाम्रो अपेक्षा केवल थिलोथिलो बन्छ ; निष्कर्षमा शान्तिको गन्तव्य फेला पर्दैन । श्रीलंकाको असफल गृहयुद्धको निरस , निरिह र दु:खदायी परिणति र पटाक्षेपले हामीलाई पनि युद्धको मादक अर्थहीनताका बारेमा केही पाठ पढाउन सक्नु पर्छ ।



5 Comments:

Anonymous said...

समग्र लेखमा पूर्ण सहमती भएपनि शिर्षकमा भने मेरो सहमती छैन ।
prabin thapa

बिप्लब said...

राम्रो लेख छ। श्रिलंकालीको युद्दको उतार चढाव बाट नेपालीले पनि केही सिक्नु नै पर्छ।

आकार said...

युद्ध को परिणाम कोही अनि कसैका लागि पनि कहिँ सुखद हुँदैन । श्रीलंका को कुरालाई समातेर गरिएको तातो बहस, मलाई चाँहि मन पर्‍यो है !

ठरकि दादा said...

तटस्थ तर्क सहितको उत्कृष्ट विबेचना !

पुष्प said...

हो, देश टुक्रयाउने 'एक मधेश एक प्रदेश'को माग गर्नेहरूले यसबाट केही सिक्नैपर्छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !