May 22, 2009

आऊ, लेन्डुपहरुको पूजा गरौँ


मधु माधुर्य
(मास्‍को ,रसिया)

निर्लज्ज इतिहासको पृष्ठभूमिमा
आत्मग्लानीले
पोलेर मुख रातो होस् बरु
चुपचाप
आऊ लेन्डुपहरुको पूजा गरौँ !

उत्तर अलि नास्तिकजस्तो छ
दक्षिण त आस्तिक नै हो:
यहाँ ३३ कोटी देवता र लेन्डुपहरुको
पूजाआजा हुन्छ
पूजा नगर्ने स्वाभिमानीहरुको वर्तमान
सधै संघर्षमय हुन्छ

पूजा गर्नेहरुको मृत्यु
अलि मायालु र सहज हुन्छ
कतिखेर देश बितिसकेको हो
थाहा नै हुदैन,
पीडा नै हुदैन
हेर्दाहेर्दै सीमा ओझेल परिसकेको हुन्छ
हेर्दाहेर्दै बिश्वमानचित्र फेरिसकेको हुन्छ

च्यातेर हेर मुखुण्डो
देश डुबाउनेहरु लेन्डुपहरु नै हुन्
लेन्डुपहरुको भाषण कति मीठो हुन्छ
लेन्डुपहरुको भेष कति सुकिलो हुन्छ
पद र कुर्सीहरु हुन् अक्सिजन लेन्डुपहरुको
हामी उनीहरुलाई जिताउन
हरेक वर्ष चुनाब कुरिरहेका हुन्छौं
पार्टीको नूनको सोझो गर्दै झोला फटाइरहेका हुन्छौं
सुनौलो बिहानीको दिवास्वप्न बोकेर !

महान हुन्छन् लेन्डुपहरु
उनीहरुको छाया समेत अमर हुन्छ
नपत्याए हेर पिस्करका राता आलीहरु
टनकपुर र महाकालीमा चहर्रयाइरहेका घाउहरु
सहिदहरु देशको लागि सहिद भएका हुन्
यहाँ कोहि पनि
लेन्डुपहरुलाई लेन्डुप बनाउन शहिद भएका छैनन्
तै पनि महान छन् लेन्डुपहरु
जहाँ आफ्नो सम्मान र पूजा हुन्छ
त्यतै दौडन्छन लेन्डुपहरु आफ्नो देशै बोकेर
वर्षाको भेल झैँ
प्रत्येक लेन्डुपहरु दक्षिण धाईरहेका हुन्छन्

समयको हुरीले त निभाउन सकेन डढेलो लेन्डुपहरुको
हजारौं ज्ञात-अज्ञात शहिदहरुले त भगाउन सकेनन लेन्डुपहरुलाई
को हौँ र हामी
लेन्डुपहरुको बिरुद्ध आजन्म मुर्दाबाद घन्काई रहने झ्याउकिरीहरु
कठोर वतास छेकेर नुहिरहेको बाँसघारी झैँ
फगत विरोधकालागि जन्मेका जस्ता देखिने
मनुवाहरू -
आत्मग्लानीले
पोलेर मुख रातो होस्
वा थुकुन सन्ततिले
आऊ, लेन्डुपहरुको पूजा गरौँ !
चुपचाप
सहज मृत्यु वरण गरौँ
निर्लज्ज इतिहासको पृष्ठभूमिमा
लेन्डुपहरुको नाटक हेर्दाहेर्दै
जिउदै मरिसकेका हामीहरु
जिएर किन जीवनको उपहास
गरिरहेका छौं दिनदहाडै
भोटो फटाउँदै शताव्दीको !


6 Comments:

samyak said...

राष्ट्रवाद भावनाको अतिरञ्जना र कविताको व्यञ्जना मात्र हैन , माटो भूगोल र नागरिकहरूको मनमा रहेको आस्था र विश्वास हो ।
माथि भोटे र तिब्बती देखिनेहरू तल , बिहारी र भारतीय देखिनेहरू , बीचमा खस, बाहुन र मंगोल देखिने सबै राष्ट्र हुन । तर आज आँफै भित्र विखण्डित राष्ट्र देख्नै नसक्ने ढंगले मर्माहत बन्दा केवल अरूले नेपाल निचोरिरहेको मात्र देख्ने आफ्नै सर्वनाशमा कथित क्रान्तिका लागि आगो तापेर देश बाल्ने तमाशा र एकोहोरो रटान बीच नै राष्ट्रवाद दनदनी बलिरहेको हो कि जस्तो लाग्छ मलाई त !

नेपालमा लेण्डूपको धेरै चर्चा हुने गरेको छ विशेष गरी कम्युनिष्ट राष्ट्रवादको शव्दालंकारभित्र । लेण्डूपीकरण र भारतीय प्रभूत्ववादको बिरोध अनि बर्खिलापमा उठेका मुठिहरू सँधै आफ्नो थाप्लोमा आशिर्वाद बर्सूञ्जेल मौन बन्छन् र त्यो आशिर्वाद अरूमा बाँडिदा फेरि क्रन्दन र चित्कार । यही राष्ट्रवादको हाम्रो सारसंक्षेप ।

एकपटक सिक्कीमेलीहरूलाई पनि सोध्ने हो कि लेण्डूप , लेप्चा र भूटियाहरूको शासन र वर्तमानको भारतीय औपनिवेशिकताको जीवन बीच बीच उनीहरूको के राय छ भनेर ?हामीले लेण्डूप बनाइरहेको पात्र स्वयंमा कुन कुराको विम्ब बनिरहेको छ, आफ्नै ठाउँ र मान्छेहरूको विश्वासमा ?


सँधै अघोर राष्ट्रवादको प्रलाप खोकिरहन भन्दा, समाधान के हो बताइदिए राम्रो हुन्छ ।

सकिन्छ ? आउनुहोस् भूगोल बदलौँ
सकिन्छ भने, आउनोस् , भारतसंग युद्ध लडौँ र छिया छिया बनाइदियौँ उस्लाई !
सकिन्छ, समग्र तराईदेखि सीमामा ऊभिएर मानव शृङ्खला बनाएर उभियौँ र रक्षा गरौँ देशको ।

सकिन्न भने , त्यो गरौँ जुन कुरा गर्न सकिन्छ अनि हाम्रो राष्ट्रवादको इज्जत र आबरू जोगाउन सकिन्छ । समाधान के हो पहिल्याउन नपर्ने तर नारा मात्र कहिलेसम्म लगाइरहने हो त हजूर ?

मेरो विचारमा राष्ट्रवाद बलियो बनाउन पहिला हामी बलियो हुनुपर्छ । हामी बलियो हुँदा हाम्रा बिभाजित पक्ष र प्रखण्डहरू बीच विश्वास पैदा गर्न सक्नु पर्छ । हाम्रा राजनीतक घटक र पक्षहरू बीच मुलुकका निश्चित मुद्दाहरूमा वृहद सहमति बनाएर अघि बढ्न सक्ने उद्देश्य हुने हो र एकले अर्कालाई निषेध गर्ने र सिध्याउने कुटिलता नहुने हो भने , छिमेकीले साध्न सक्ने कुनियतलाई पनि हाम्रो पक्षमा दूपयोग गर्न सकिन्छ ।

तर , मृत लेण्डूपका आत्माहरूमा तर्पणरूपी कविताको धारो चुहाएर वा काँचो केराको कार्गो बोकेर कालीमाटी आउन थालेको भारतीय नम्बरवाला ट्रकलाई थानकोटमा आगो लगाएर यज्ञमा चारू वर्षा गर्दै राष्ट्रवादको पुण्य महारथ हुँदैन, हजूर ।


कण्टेण्टको क्रान्तिकारितामा प्रचण्डपथको राष्ट्रवाद खुलेको छ तर कविताको शव्द संयोजन यहाँ अक्सर प्रकाशित रहने कविता भन्दा धेरै राम्रो छ ।

- सम्यक

Roshan S. said...

Exactly right Samyak.
मृत लेण्डूपका आत्माहरूमा तर्पणरूपी कविताको धारो चुहाएर वा काँचो केराको कार्गो बोकेर कालीमाटी आउन थालेको भारतीय नम्बरवाला ट्रकलाई थानकोटमा आगो लगाएर यज्ञमा चारू वर्षा गर्दै राष्ट्रवादको पुण्य महारथ हुँदैन ।
I agree if we unite we win if we divide we loose.

Anonymous said...

आदरणीय पाठकबृन्द,
यस कवितामा समेटिएका भाव-अंशहरुले समग्रमा सम्यकज्युले पोख्नु भएको प्रतिक्रिया झैँ पार्टी बिशेषको राजनैतिक मर्मलाई आत्मसात गर्न पुगेको भएमा मेरो कलमको सामु मैले १ मिनेट दुखद मौनधारण गर्नु पर्ने
स्थिति सिर्जना हुनसक्ने भएकोले मेरो कवि-हृदय गम्भीररुपमा आक्रान्त हुन पुगेको छ.| मेहनतपूर्वक आफ्नै पाराले कविताको शव्द-संयोजनको समेत शुक्ष्म मुल्यांकन गरेबापत वहा धन्यवादको पात्र बन्न पुग्नु भएको छ | हाम्रो अल्छिपनप्रतिको झर्रो व्यंग्यको रुपमा मुखरित हुने " लौ आयो खाली सीसी, परवर, लौका, केरा, स्याउ, कपास..." प्रति मेरो पनि त्यतिकै सम्मान छ - यसले हामीले बुझ्ने गरेको "राष्ट्रवाद " मा सायदै आंच ल्याउला |
सबैखाले प्रतिक्रियाको प्रतिक्ष्यामा छु | अस्तु |

Madhu M said...

आदरणीय पाठकबृन्द,
यस कवितामा समेटिएका भाव-अंशहरुले समग्रमा सम्यकज्युले पोख्नु भएको प्रतिक्रिया झैँ पार्टी बिशेषको राजनैतिक मर्मलाई आत्मसात गर्न पुगेको भएमा मेरो कलमको सामु मैले १ मिनेट दुखद मौनधारण गर्नु पर्ने
स्थिति सिर्जना हुनसक्ने भएकोले मेरो कवि-हृदय गम्भीररुपमा आक्रान्त हुन पुगेको छ.| मेहनतपूर्वक आफ्नै पाराले कविताको शव्द-संयोजनको समेत शुक्ष्म मुल्यांकन गरेबापत वहा धन्यवादको पात्र बन्न पुग्नु भएको छ | हाम्रो अल्छिपनप्रतिको झर्रो व्यंग्यको रुपमा मुखरित हुने " लौ आयो खाली सीसी, परवर, लौका, केरा, स्याउ, कपास..." प्रति मेरो पनि त्यतिकै सम्मान छ - यसले हामीले बुझ्ने गरेको "राष्ट्रवाद " मा सायदै आंच ल्याउला |
सबैखाले प्रतिक्रियाको प्रतिक्ष्यामा छु | अस्तु |

बिप्लब said...

मैले पनि लामो समय पछि राम्रो कबिता पढ्ने मौका पाए। लेखको भाव संगै कबिताको दिएको बाटो निकै उच्च छ।
समयक जी ले पनि निकै राम्रोसंग यो लेख र नेपाली प्रबिर्तीको खोतल खातल पार्नुभएको छ।

Basanta said...

कविता राम्रो छ। तर चाहिनेभन्दा बढी लम्बिएको पनि छ। विषयवस्तुलाई यति धेरै ब्याख्या गरिरहने हो भने (कवितात्मक) निबन्धको रुप दिँदा राम्रो हुन्छ।

सम्यकको कुराचाहिँ सोह्रै आना चित्त बुझ्यो। हाम्रो राष्ट्रवादी उर्जालाई यस्तै अपरिपक्व र उग्र कुरामा अल्झाइएको छ अहिलेसम्म। हाम्रो दुर्गतिको मूल कारणनै यहि हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !