November 11, 2008

नेपाल डायरी -१


कुनै तथ्यांक त स्पष्ट छैन तर भनिन्छ , भारतमा रहेका लगभग ६०-८० लाख नेपाली ( भारतीय र नेपाली नेपाली दुवै नेपाली गरेर) , बाहेक अरू मुलुकमा विविध उद्देस्यले बिदेशिएका नेपालीहरूको संख्या २० लाख नाघिसकेको छ । र यिनै विदेशिएका नेपालीको भरमा नेपालको अर्थतन्त्र अडिएको छ । सानो र गरीब अर्थतन्त्र अनि २ खरब जतिको रेमिटेन्सले थेगेको छ भन्दा अन्यथा हुन्न रे ! विज्ञहरू भन्छन् । निकट हिजोका आन्तरिक द्वन्दका दिनहरू देखि आजको अर्ध- जनवादी सरकार सञ्चालन हुँदाका दिन सम्मका लागि नेताहरूलाई विदेश भ्रमणको स्वाद जुटाइदिनेदेखि, देश नामको रथ घिस्रेको देखाउन र नेतगणहरूलाई चमत्कारको फलाको हाल्न गरी उभ्याउन अनि राष्ट्रवादको रट लगाउन यिनै बिदेशिएका नेपालीले खाडीको बालुवालाई कष्टकर ढंगले पेलेर तेल निकाल्ने कामदेखि मलेशियाको आर्द्र जंगलभित्रको विदारक पीडासंग जुधेर भित्राएको रेमिटेन्स धनको टेकोले जोहो जुटाएको छ । संसार भर छरिएर रहेका यिनै नेपालीले सालाना २०० अरब भन्दा बढी रूपैयाँ नेपालमा आफन्तका नाममा पठाउने हुँदा नै, यहाँका लागि रेमिटेन्सले नै समानान्तर बजेटको काम गरेको छ भन्दा अत्युक्ति हुन्न । भन्नै पर्छ, नेपाललाई केवल रेमिटेन्स धनले अडाएको छ ।

म अहिले स्वदेशमा नै रहेको हुँदा , नेपाल सम्बन्धी अनुभव साथीहरूलाई सुनाउन मन लागेको छ । बिदेशमा रहँदा र इन्टरनेटको माध्यमबाट समाचार पढेर नेपालका बारेमा सूचित हुन मन पराउने म जस्तै धेरै जसो नेपालीलाई, केही समयका अन्तरालमा नेपालमा थुप्रै परिवर्तन भैसकेको होला जस्तो भान पर्नु स्वाभाविक नै हो। तर स्वदेशी भूमिमा पाइला परेका बखतदेखि नै यहाँको छिन्नभिन्न अव्यवस्था, अराजक प्रवृत्ति अनि नेपाली अपरिवर्तनीय मौलिकताका विशिष्टता देखेर, हाम्रो पनमा रम्नु र एडजष्ट हुनै पर्ने वाध्यात्मक विष्मयले गम्लंग अंकमाल गरीहाल्छ ।

जब विमान काठमाण्डौको आकाशमा कावा खान थाल्छ, र आकाशबाट शरदकालीन काठमाण्डौ र वरपर पहाडी श्रृंखलाको दृस्यावलोकन चित्ताकर्षक बन्न थाल्छ , स्वदेश स्पर्शको अनुपम उत्तेजनामा उमंगिएको मन , एयरपोर्ट ल्याण्ड हुनु, एयरलाइन्सको गाडीमा चढ्नु, अध्यागमनको पहेँलो कार्ड बोकेर लामबद्द हुनु, कारिन्दाहरूको सुस्त कामको पर्खाइ र मध्ययुगीन शैलिको लाग्ने हाम्रो विमानस्थलको व्यवस्था र वातावरणमा अचम्मित बनेका विदेशी पर्यटकहरूको अनुहारमा देख्न वा पढ्न सकिने विष्मय र उत्सुकतालाई नियाल्नु , भन्सार कर्मचारीगणका चम्किला आँखामा देख्न सकिने उत्सुकतापूर्ण शिकार खोजीको त्यो अनुराग , बाहिर प्रतिक्षारत ट्याक्सि चालकहरूको तानातान र पाहुनाको पर्खाइमा लामबद्द होटलका एजेण्टहरूको आफ्नै कुराले पनि नेपालीपनको यो परिचयमा मौलिकता भरिदिन्छन् । यी र यस्तै कुराबाट सुरु भएको नेपाल पुन: प्रवेशको कथाले काठमाण्डौको धूलो र धूँवामा पूर्ण गुम्सिएर , ट्राफिक जाम, भीड , कोलाहल, बन्द, हड्ताल अनि प्रदर्शनका अनपेक्षित तर निरन्तर चलायमान प्रकृति र प्रवृत्तिहरू संग जुध्न वा मिल्न सिक्नै पर्ने हुन्छ ।

बाहिर रहँदा धेरै कुरा भैसकेको होला जस्तो लागे पनि, नेपाल भित्रको वस्तुस्थितिमा देखिने सारभूत परिवर्तन केही छैन र परिवर्तनको अनुभव नै गराउने खास कुरा केही छैनन् । काठमाण्डुमा बढेका सवारी साधन र तिनले पैदा गर्ने बेला र कुबेलाको जाम, मानिसको सर्वत्र देखिने कोलाहल युक्त भीड , काठमाण्डुको जग्गगाको आकासिएको मूल्य , अनि एकदमै तिब्र गतिमा भैरहेको उपभोग्य सामानहरूको मूल्य वृद्दि यहाँको वर्तमान दैन्दिनिका मुख्य विशेषता हुन् भन्न करै लाग्छ ।

माओवादी सरकार सत्तासीन छ , त्यसैले हिंसा, अस्तव्यस्तताका कारकहरू अनि जोरजुलुम गर्नेहरू नै सत्तामा बसेको हुँदा अपेक्षाकृत शान्ति कायम भएको देखिनु सामान्य कुरा भयो । तर पनि कसले कतिबेला के कारण बन्द वा हड्ताल गर्ने हुन् भन्ने अनिश्चितता र सन्त्त्रास यथावतै छन् । तराईमा पहाडिया भएर रहँदाका जीवन अनिश्चितता मात्रात्मक रूपमा बढेकै छ्न् , घटेका छैनन् । यो पछिल्लो विषय केवल पढ्न सकिएको मात्र हो ।

केही दिन यता निम्न चर्चा योग्य कुराहरू पनि भए:

(१) सरकारले राष्ट्रिय योजना आयोग नामको विकासे संस्थामा राजनैतिक नियुक्ति गर्‍यो । नेपालको इतिहासमा पहिलो पल्ट योजना आयोगमा अर्थशास्त्री र योजनाविदहरू नियुक्त गरिएनन् बरू एमाले, माओवादी र जनमोर्चा र फोरमका नेताहरूका नातागोताले भरिएको मण्डलीहरूको योजना आयोग गठन हुन पुग्यो । एमालेको कोटाबाट गएका प्रम कुँवर पूर्व भलिबल खेलाडी रहेछन् र अहिले एउटा कलेज पढाउने रहेछन्। जनमोर्चाका कोटाबाट सदस्य बनेका राममणी पोख्रेल यस्तै मणी पोख्रेल तर नाम गरेका जनमोर्चाका नाताका भाइ परेछन् भने माओवादीमा बिलीन हुन ठिक्क परेका एकता केन्द्रका नेता कामरेड प्रकासका भाइ पर्ने सुनिल बाबु श्रेष्ठ अर्का सदस्य रैछन् । उता कामरेड बाबुरामकी सासू दिदी वनस्पतिशास्त्री र पेसाले प्रयोगशालाविद् कयोदेवी यमी अर्की सदस्या भएकी छन् भने फोरमको कोटाबाट आएका योगेन्द्र यादव भाषाविद् हुन् । नातागोताले भरपूर अहिलेको योजना आयोगको गठनको एउटा विसेषता हो, नया दिशा तर्फको छलाङ किनभने यहाँ कुनै योजनाविद् र अर्थशास्त्री नै छैनन् । सायद अहिले सम्मका विशेषज्ञ अर्थशास्त्रीहरूले भरिएका योजना आयोगले पो के लछारेका थिए र ? भनेर पो यस्तो नातागोता इष्टमित्र अनि पार्टीका हनुमान कार्यकर्ताले भरिएको योजना आयोग गठन गरी स्थापित पद्दतिमाथि व्यंग्य गर्न खोजिएको पो हो कि ? जे होस् योजना आयोगको गठनमा भने चमत्कारै भएको छ !!!

यही विषयमा माओवादीको तरफदारी गर्ने पत्रिका ‘ नया पत्रिका’ ले समेत ८ नोभेम्बर मा एउटा रिपोर्ट छापेको थियो “ योजना आयोगमा पूर्व भलिवल खेलाडीदेखि , प्रयोगशालाविदसम्म” । तर , यस कुरालाई लिएर यसका सम्पादक कृष्णज्वाला देवकोटाले माओवादी नेताकोम बोलाहट मात्र हैन खप्कि नै पाएको कुरा एउटा निकटस्थबाट मैले आज बिहान मात्र पाएको छु । सदस्य चयन हास्यास्पद भएको र स्वयं माओवादीले बनाएका उपाध्यक्ष डाक्टर पिताम्बर शर्माले समेत यसमा बिरोध जनाए पछि सरकारले यसमा फेरि पुनर्गठन गर्ने भएको छ रे !

(२)रामहरि श्रेष्ठ हत्याकाण्डका नाइके, शक्तिखोर शिविर चितवनका निलम्बित प्रमुख कालि बहादुर खाम विविधसंग जिल्ला प्रसासन कार्यालय चितवनमा सार्वजनिक कार्यक्रममा पत्रकारहरूको समेत उपस्थितिमा नै वर्तमान रक्षा मन्त्री राम बहादुर तापाले भेट गरेको विषयमा, संविधानसभामा बिरोध हंगामा खडा भएपछि , स्वयं रक्षा मन्त्री र गृहमन्त्रीले सदस्यहरूलाई सो विषयमा जानकारी दिएका छन् । रक्षा मन्त्रीले आँफूले हत्याका अभियुक्तसंग नभेटेको कुरा गरेका छन् भने ,प्रत्यक्षदर्शी पत्रकारहरुले आफ्ना लेखहरू मार्फत रक्षा मन्त्री झूट भएको कुरा आफ्ना लेखहरू मार्फत चुनौतिकासाथ बताइरहँदा, गृहमन्त्री बामदेवले माओवादी शिविर भित्र गएर प्रहरीले अभियुक्त निकाल्ने काम गर्न नसक्ने लाचारी हिजोको संविधानसभा बैठकमा प्रकट गर्नु भएको छ ।

(३)वर्तमान बजेटले प्राइबेट शिक्षण संस्थामाथि लगाएको ५% को अतिरिक्त कर हटाउनु पर्ने र सो कर नतिर्ने निर्णय निजी स्कूलहरूको केन्द्रिय संगठनले सरकार समक्ष गरेको छ ।

(४)कथित जनयुद्द लडेका माओवादी लडाकुहरूलाई उनीहरूले गरेको एक दशक लामो लडाँइमा आर्जन गरेको सिप र ज्ञानका आधारमा , माओवादी सरकारले विद्यालय र विश्वविद्यालय योग्यता प्रदान गर्ने योजना गरिरहेको कुरा डाक्टर बाबुराम भट्टराईले अखिल क्रान्तिकारीको एउटा भेलामा खुलाएका छन् । अब यस्तो लाग्दैछ, माओवादी भएर लडेका र जनताको घोडा चढेका सबैले १२ क्लासदेखि पिएचडिसम्मका थरितरि डिग्री सित्तैमा लिएर , वास्तविक हाड घोटेर पढ्ने र योग्यता लिनेहरूलाई विस्थापित गर्ने दिन पनि आउने भए !!!

(५)कामरेड प्रचण्ड फेरि एक पटक बर्बराएका छन् । उनले हिजो मात्र एउटा सार्वजनिक कार्यक्रममा एउटा कागजमा लेखिएको अंग्रेजी भाषण नेपाली लयमा पढ्दै भनेका छन् “ संसदिय अभ्यास र त्यही पद्दतिमा सञ्चालित राज्य व्यवस्थाका कारण आर्थिक विकास नभएको र गरीबी बढाएको छ” भन्ने कुरा गरेर उदारवादी संसदीय पद्दतिको बिरुद्दको असन्तुष्टि र झुसिलो डकार छाडेर कामरेड प्रचण्डले आँफू पद्दतिमा बाँधिएर काम गर्ने प्रणालीलाई सजिलो व्यवस्था मान्न सक्ने स्थितिमा नरहेको उद्घोष गरेका छन् ।

(६)र अन्त्यमा, राजावादी पूर्व मन्त्री कमल थापाले अर्को द्वन्को खतरा भएको कुरा औँल्याउँदै भनेका छन् “ माओवादी वा उसलाई पराजित गर्ने अर्को शक्तिबाट अर्को अधिनायकवाद आउनेछ” । उनले अरू प्रष्ट्याउँदै भनका छन् “ प्रजातन्त्र उग्र वामपन्थी धरापमा फँसेको छ र यो कमजोरी माओवादीलाई शान्ति प्रकृयामा ल्यायौँ भन्ने काग्रेस र एमालेको हो” । उनले यो कुरामा थप्दै भने “ हिंसा गलत थियो भन्ने कुरालाई माओवादीले कहिल्यै स्वीकारेन बरू त्यसैका कारण आँफू यो स्थतिमा आएको कुरामा उसले गर्व महशूस गरेको छ” । म राजावादी र कमल थापाको राजनैतिक सोचलाई अँगाल्ने मान्छे त हैन तर मैले हिजो काभ्रेमा उनले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दा भनेका कुराहरूलाई मनन गर्दा वर्तमान नेपाली राजनीतिको वस्तुस्थितिका सन्दर्भमा शतप्रतिसत सत्य पाएँ ।


परिस्थिति र इण्टरनेटले साथ दिँदा फेरि भेट्ने वाचा सहित । -एकलव्य


नोभेम्बर ११ २००८ , शंखमूल, काठमाण्डु



4 Comments:

nepalean said...

एकलव्य जी नेपालमा गएर दौतरीमा झुल्किन भएको मा धन्यबाद।
खास पत्रिका पढ्न मिस भएको भए तपाइले भनेका कुरा पढ्दा नेपालको घटना क्रम तथा स्थीती पुरा प्रष्टाउंछ।
योजना आयोगको नौटंकी त थाहा पाको थिइन, तर सुन्दा अचम्मै लाग्यो। रामहरीको कुरा त सबैले थाहा पाएकै हो, मान्छे मार्ने यि जन्तुले एक जनाको हत्यारालाइ के कारबाही गर्लान? स्कुललाइ ट्याक्स लगाउनु त ठिकै हो तर त्यसले के कती असर पर्छ त्यो हेरीनु पर्छ किन की प्राइभेट स्कुल प्राइभेट कम्पनीको रुपमा दर्ता छन।
तर यो योजनै नहुने देशमा भलिबल सर्भिस गर्नेले के योजनाको बल कता पुराउने हुन, अचम्मै लाग्यो!

ठरकी दादा said...

ऐकोहोरो कुनै न कुनै पक्षतर्फ ढल्किएका 'स्वतन्त्र समाचार माध्यम'का तटस्थ अनलाईन खवर पढिरहेको बेलामा तपाईको अनौपचारिक खवरले यथार्थताको जानकारी दिएको छ।

धन्यवाद र अरु पनि यस्तै जानकारी पाउने आशामा ।

बिप्लब said...

छोटो तथा अनौपचारीक समाचार निकै रमाइला रहेछन। यस्तै रमाइला खबर पढ्दै जान पाऔं। तर मनै बाट यस्ता खाले समचार चाही नेपालबाट कहिले पनि नआओस भन्ने लाग्छ।

Panda said...

१ नं को बूंदामा लेखिएको कुराले स्तब्ध नै बनायो ! गिरिजाले कुनै जमानामा शिशु प्रजातन्त्रको थेगो बोलेर थाक्दैनथे अहिले माओबादिले नया नेपालको थेगो लाई देश तहस नहस पार्ने भांडो बनाउंदैछ । योजना आयोगका लागि योजनाविद हैन कि त रबर स्टाम्प चाहिएको हो कि बेरोजगार र आवारालाइ जागिर खुवाइएको हो बुझ्न सकिएन ।

बरु छापामारलाई बाड्ने भनिएको सर्टिफिकेटहरु लिएर योजना आयोगमा छिरे कि सबै डाक्टर साहेब हरु !

“ हिंसा गलत थियो भन्ने कुरालाई माओवादीले कहिल्यै स्वीकारेन बरू त्यसैका कारण आँफू यो स्थतिमा आएको कुरामा उसले गर्व महशूस गरेको छ” भन्ने कमल थापाको भनाइ सत्य हो ।

कमल थापाको मुखबाट निस्केको कुरा असत्य हुनै पर्छ भन्ने छैन र प्रचण्डको मुखबाट निस्केको सबै सत्य हुने भन्ने शक्तिखोरका कामरेडहरुले पनि पत्याउन छाडे होलान् ।

डा बाबुरामले कर छल्नेहरु माथि "आतंक" फैलाउदै छन रे । र अब बैंक ब्यालेन्सको स्रोत खोजिनेवाला छ रे। यो आतंक चाहि राम्रै होला कि !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !