July 19, 2008

राष्ट्रपती चुनावको झाँकी बारे

गणतन्त्र नेपालको पहिलो राष्ट्रपती चुनावको झाँकी देख्न सुन्न पाइयो र पार्टीहरु यती निर्लज्ज हिसाबले समिकरण फेरबदल गर्न सक्दा रहेछन भन्ने मलाई लागेको थिएन। एउटै पार्टीका नेताहरु एकै चोटी अलग अलग पार्टीहरुसंग मोलमोलाइमा लागेका रे। देशमा हडताल, चक्का बन्द रोकिएको छैन। एउटा साथीले भन्दै हुनुहुन्थ्यो-ट्र्याक्टरमा राख्ने तेल नभएर जमीन बांझै छ रे। हत्या अपहरण रोकिएको छैन तर हाम्रा नेताहरु काम कुरो एकातिर कुम्लो बोकी ठीमीतिर भने जस्तो संबिधान निर्माणको मूख्य मुद्धातिर ध्यान दिन छाडेर पदहरुको लुछाचुडाईमा लागेका छन। कसलाई के भन्ने, सबै उस्तै हुन्। मुख्य जिम्मेवार तीन पार्टीहरु नै गैर जिम्मेवार भएका छन। सर्पले आफूलाई निल्नै लागिसक्दा पनि जसरी भ्यागुताले झिङाको लोभ छोड्दैन, त्यसरीनै देश बर्बाद हुने अवस्थामा पुगि सक्दा पनि हाम्रा नेताहरु आफ्नो पार्टीको स्वार्थभन्दा माथि उठन सकिरहेका छैन।

कुनै समय आफैले गणतन्त्र नेपालको राष्ट्रपति तपाई बन्नूस् भनेर भनिएका गिरिजा अहिले कुन् कारणले राष्ट्रपतिको लागि योग्य भएनन्? फेरि संबिधान सभाको चुनाव सकेपछि म नेत्रित्वमा रहन्न, आरम गर्छु भन्नु हुन्थ्यो गिरीजा बाबू। जीवनको यो उत्तरार्धमा आएर पनि उंहालाई अझै किन त्यो खोपीको थपना राष्ट्रपति पदप्रति लोभ जागेको होला। न पार्टीका अन्य सदस्यले भो गिरिजा बाबू, तपाइ अब आराम गर्नुस् न भन्न सक्छन् न गिरिजा आफै छेउ लाग्छन्। एमालेमा त्यस्तै-झलनाथले किन माधव नेपाललाई राष्ट्रपतिको पदको लागि अगि सारेका हुन् कुनि। माधव नेपाल गिरिजा जस्ता उमेरले नेटो काटेका पनि होइनन्। पार्टीले चुनावमा सन्मानजनक सीट नल्याएकोमा नैतीकताको आधारमा राजीनामा दिएका न हुन। यिनको सक्रिय राजनैतीक जीवनको अन्त्य भैसकेको त छैन नि। भोलि एमालेको स्थिति सुध्रिन पनि सक्छ र यिनि प्रम हुन पनि सक्छन् नि। फेरि आफै चुनाव हारेको र पार्टीले पनि गतिलो परिणाम नल्याएकोमा नैतिकता बोध गरेर राजीनामा दिएको मान्छेले फेरि झलनाथको हुटहुटीमा परेर फेरि कुन नैतीकताको आधरमा यिनि राष्ट्रपति हुन कस्सिएका? दुई बर्ष राष्ट्रपती खाएपछी फेरी यिनी कसरी सक्रीय राजानीतिमा आउन सक्छन? भयो झलनाथजी, मलाई राष्ट्रपति चाहिएन, माओबादीलाई समेत स्वीकार्य अन्य कसैलाई अगाडी ल्याउनुस भनेर यिनी आफैले किन भन्न नसकेका? भलै प्रचण्ड र बाबुराम अलि समझदार् थिए तर माओबादीभित्रका वास्तविक कमान्डवाला मोहन बैध्य आदिहरुले कुनै पनि हालतमा माधव कुमार नेपाललाई राष्ट्रपति मान्न नसकिने भनेर दिन रात भनिरहदा किन नबुझेका? सहाना, सुवासचन्द्र वा रामप्रीत पासवानको कसैको नाम अगाडी ल्याएको भए कम्तिमा राष्ट्रपति पद एमालेको पोल्टामा पर्ने त थियो।

यहा निर केपी ओली र प्रदीप नेपालको भूमीका ले पनि काम् गर्यो। झलनाथ-बामदेवहरुलाई असफल् देखाउनु यि दुईको धरम नै हो र केपी ओलीलाई माधव माओबादीको समर्थनमा राष्ट्रपति बनेको यिनी कसरी देख्न सक्थे र? त्यसकारण कसरी हुन्छ माओबादीसंगको दूरी बढोस र समझ्दारी टुटोस भन्ने यिनको ध्याउन्ना रह्यो र यिनीहरुले भनिदिए-एमालेलाई राष्ट्रपति दिने भनिसकेपछि को राष्ट्रपति बनाउने भन्ने कुरो हाम्रो हो। यसो हेर्दा कुरो हो पनि तर यहि अडानमा रहिरहदा श्थितिले कोल्टा फेर्छ भन्ने हेक्का भएन। यसलाई पार्टी र माधव नेपालको प्रतिष्टाको बिषय बनाएर अकड्डिएर बस्नु हुने थिएन। भारतमा सोनिया गान्धी प्रम हुने भईन भनेर हिन्दु अतिबादीहरुले बबाल मचाए पछि कसरी उनी सरक्क पछि हटिन र मनमोहन सिंहलाई अगाडी ल्याईन्? मूर्ख देखि दैव पनि डराउनु पर्छ भन्छन् नि। अहिले भयो के, आफ्नो पोल्टामा परेको पद आफैले भोटहालेर अरुलाई अर्पण गर्न पर्यो, यो बिडम्बना होइन? फेरि फोरम जस्तो एउटा चरम अवसरबादी समुह,जसको कुनै राजनैतीक इतिहास नै छैन र जो देशलाई एउटा बिघटनको मार्गमा लैजान अग्रसर छ, त्यस्तासंग संबिधान सभाको अध्यक्ष पदको लागि हात मिलाउन पर्यो। किन चाहियो त्यो संबिधान सभाको अध्यक्ष पद? राष्ट्रपति, उपराष्ट्रपति र संबिधान सभाको अध्यक्ष पदको लागि यो अपबित्र गठबंधन त भयो भयो सरकार बनाउन यो गठबन्धन नरहोस। राष्ट्रपति र संबिधान सभा अध्यक्ष पदको चुनाव पछि सबैले यो तिक्ततालाई भूलुन् र माओबादीलाई अलग्याउने निति नलिउन्।होइन भने नया संबिधान् निर्माण हुन संभव हुदैन र फोरम जस्ताको भर परेर कुनै सरकार टिक्दा पनि टिक्दैन।


माओबादीहरुले सबैलाई जिल्ल्यायो भनेर मानिसहरु भन्दै थिए तर उनीहरु आफै जिल्लिए वा चिप्लिए।यदि कांग्रेस र एमालेले माओबादीप्रति धोकाको मेख मार्ने हिसाबले फोरमलाई च्यापेर सरकार बनाउन लागे भने प्रचन्ड भित्ताको राष्ट्रपति त भए भए, हावाको प्रधानमन्त्री पनि हुने छन्।तर आशा गरौं-कांग्रेस एमालेले त्यस्तो भूल नगर्लान्।

माओबादीमा प्रचन्ड र बाबुराम ठिकै मान्छे जस्ता लाग्छन्, छलफलमा आउछन्, कुरा सुन्छन्, सुनाउन्छन् र सहमतीमा आउन तयार हुन्छन् तर एमालेमा प्रदीप र ओली भएजस्तै माओबादीमा मोहन बैध्यहरु छन्, जो पर्दा पछाडीबाट प्रचण्ड र बाबुरामले गरेका सहमतीहरुलई उल्टाउने काम गर्छन्। पार्टीमा यस्ता ब्यक्तिहरु रहेसम्म देश सहमती र सहकार्यको बाटोमा जांदैन। यो राष्ट्रपति चुनाव खण्डले एउटा राम्रो के गरिदियो भने मधेशी गठबन्धनलाई केही कमजोर जरुर तुल्याएकोछ।फोरमले कांग्रेसका रामबरण यादवलाई र तमलोपा र सदभावनाले रामराजा प्रसाद सिंहलाई लाई भोटहालेछन्।


मलाई त २५ भोट बदर भएको कुरा सुनेर हांसो पनि उठ्यो, कस्ता सभासदहरु रहेछन त हाम्रो देशमा जो मतदान गर्न पनि जान्दैन र यिनीहरुले संबिधान निर्माणमा के भूमीका खेल्लान। हुन त यिनीहरु पार्टीले हात उठा भनेको बेलामा उठाउने न त परे। सभामा न छलफल हुन्छ, न बिमर्श, कुनै पनि मुद्धाको टुंगो पहिलेनै लागिसकेको हुन्छ र बैधानिकताको लागि मात्र त्यो हाउसमा ल्याइन्छ। त्यत्तिकै लागि भनेर यत्रो जम्बो संबिधान सभा किन चाहिएको होला जबकी भारत जस्तो बिशालए देशमा पनि लोकसभा यती ठुलो छैन।


यो नेमकिपा पार्टीको बिषयमा पनि केही भन्न मन लाग्यो। महत्वपूर्ण मुद्धाहरुमा मतदान गर्नुपर्ने बेला यसले जहिले पनि बहिस्कार गरेर हिड्छ। यो कस्तो गैरजिम्मेवार तरिका हो। चुनाव लडने, सभासद हुने, तलब पारीश्रमिक खाने तर आफ्नो कुरो संबोधन नभएको वा नसुनिएको भन्ने एउटा कुनै निहुं निकाल्यो अनी संसदसभामा मतदान नगरी चलिदियो।यिनीहरुले भोट नहाल्दैमा राष्ट्रपती निर्वाचित नहुने त होइन तर दुइ-दुई चोटी चुनाव गराउन पर्ने अवस्था त टल्थ्यो नि। यस्ता पार्टीहरु, जसले जहिले पनि बहिस्कार गरेर हिंड्नुछ, किन चुनावमा उठेर निर्वाचित भएर आउने?



2 Comments:

एकलव्यको डायरी ( Eklavya's diary) said...

बाहिर देखिन आएका घटनाहरूका आधारमा मात्र मूल्यांकन गर्दा, एमालेले रामप्रित र कांग्रेसले रामवरणलाई उाठाउनु थियो भने समीकरण र सहमति माओवादीले प्रस्ताव गर जस्तो बन्न सक्थ्यो नि भन्न सकिन्छ , तर यत्तिले कुरा छर्लङ्ग हुँदैन । एमाले र कांग्रेस भित्रका दलित महिला, तराईया वा जनजाती रोजी रोजी फैसला गर्न माओवादीलाई हक थिएन र त्यहाँ भित्रबाट कसलाई के पदमा लैजाने भन्ने कुरा सम्बन्धित पार्टीको अधिकार थियो । हो माओवादीले चाहे आफ्नो पार्टिबाट रामबहादुर थापालाई प्रधानमन्त्री बनाउन पाउँछ, त्यो महानता देखाउनु भो भने कामरेड प्रचण्ड उपमा बन्न सक्नु हुन्छ ।
खास कुरा के देखिन्छ भने , माओवादीले नेपाली सेनामा पूर्ण नियन्त्रण राख्न गिरिजा वा माधव नेपाल जस्ता सकृय र बलिया पार्टीका नेता भन्दा उमेरले बूढा र जनाधार बिहीन अनि माओवादीले चाहेको ढंगले रिँगाउन सक्ने रामराजालाई राष्ट्रपति बनाउन चाहेको हो । अबको मुख्य एजेण्डा नेपाली सेनालाई आफ्नो ढंगले आफ्ना मिलिसिया इनफ्युजन गरी नियन्त्रणमा लिनु भएकाले सुरक्षा परिषदमा आप्नो इशारामा चल्ने मान्छे पुर्‍याउँदा मात्र आफ्नो दीर्घकालिन रणनीति सपल हुने कुरा बुझेको माओवादी र उसको त्यो चाललाई काउन्टर दिन तरिका खोज्दै गरेका अन्य पार्टीहरूको रणनितिले नै अहिलेको राजनीतिक दाउपेच अघि बढेको हो ।
यस्तोमा , राष्ट्रपति, उपराष्ट्रपति , सभामुख पदहरु कांग्रेस, फोरम र एमालेमा बाँडिएर प्रधानमन्त्री माओवादीलाई बाँडिन पुग्यो भने र यो स्वीकारेर माओवादीले संविधान बनाउने गुरुतर दायित्वलाई बुझ्न चाह्यो भने , जनताले दिएको मतको सही अर्थमा प्रयोग भएको हुन जान पनि सक्छ ।
अब मच्चिँदै थच्चिन आइपुग्दा माओवादीको घैँटामा घाम घुसे भने सरकारको अग्रता उसको हुनुपर्छ र उसलाई दिनु पनि पर्छ । किनभने कसैलाई एकाधिकारवादी बन्न सक्ने तरिकाले नेपालि जनताले मत दिएका पनि छैनन् । सहमति ,सहकार्य र शक्ति सन्तुलन अहिलेको नेपाली राजनितिका अनिवार्य शर्त हुन ।

Panda said...

चुनाव अगाडि देखि नै गिरीजा प्रसाद कोइरालालाई „तपाइ नै हो भावी राष्ट्रपति“ भन्दै खल्ती भित्र पस्ने माओबादिले बन्दुक र भोटको बलले ३०% को सेरोफेरोमा भोट ल्याउदा आफुलाइ „क्याष्ट्रोको नेपाली रुप“ बनाउने सपना (कान्तिपुरमा विश्र्व दीप पाण्डेको लेख) देख्न लागेकाले आफुहरु जस्तै नौलो जनबादको सिद्दान्त अहिले सम्म नछोडेका झलनाथ भन्दा पनि „एक मधेश एक प्रदेश“ प्रमुख एजेण्डा बोकेका मधेशबादी दलहरुलाई आफ्नो ठान्न पुगे ।

अब कुरो आयो माओबादिले भनेको व्यक्ति एमालेले उठाउनु पर्थ्यो भन्ने । कुनै पनि पार्टीले अर्को पार्टीको फलाना बाहेक फलानाहरु राष्ट्रपति भयो भने मात्र हामी समिकरण (समर्थन होइन समीकरण) गर्छौं भन्नु दुइटा अवस्थामा मात्र जायज मान्न सकिन्छ, (१) कि त उ रा्ष्ट्रिय स्तरमा गन्हाएको छ (२) कि त त्यो पार्टीमा उ भन्दा राष्ट्रिय उचाइ पाएको या सम्मानित व्यक्ति छ । तर मध्यमार्ग अपनाएको कारण अवसरबादी झुण्डको कारण माधव नेपाल पार्टी राजनीतिमा त्यति सफल नभए पनि गन्हाएका र भ्रष्ट व्यक्ति होइनन् । राजनीतिमा मात्र होइन मध्य मार्गी बाटो लिने मान्छेहरु छिमेकमा पनि अर्घेलिन्छन ।

अर्को कुरो एउटा राजनीतिक पदको लागि कुनै किसिमले एउटा उचाइ लिएको व्यक्ति नै उपयुक्त हुन्छ । त्यसैले अर्को पार्टीले भन्यो भन्दैमा पार्टी भित्रका ५ लाख संगठित सदस्य मध्य जसलाई दिए पनि हुन्छ हाम्रै पार्टिको त हो नि भन्ने परंपरा विकसित भो भने पदको लागि कति मारामारीको स्थिति होला ? त्यसैले माओबादिको यो घिन लाग्दो चालमा नफसेर बरू एउटा अडान लिनु एमालेको सम्मानजनक निर्णय हो र मैले यो बिचमा भेटेका मान्छेहरुले यसलाई अन्यथा लिएका छैनन । मेरो बुझाइमा माओबादिको नियत राष्ट्रपति को रुपमा व्यक्ति भन्दा निर्जिव „लौरो“ लाई स्थापना गर्नु थियो र अन्य पार्टीहरुसंग एमालेको सहकार्य हुन नदिई अन्तिम समयसम्म अल्झाइराख्न गरेको प्रपंच थियो । अहिले पनि माओबादि नेताहरुका अन्तर्वार्ता हेर्नु भयो भने एमाले संग सहमति हुन नसक्नुका १० थरि कारणहरु भनिरहेका छन ।

नत्र सहमति र सहकार्य अझै पनि केहि वर्ष आवश्यक रहेको नेपालि राजनीतिमा माओबादिहरु मतिभ्रमित र दिग्भ्रमित नहुने हो भने मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !