![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjv6oG2HynkNmywPx3WNLGoF30gxTDkmN_ofnVj9AX0O8QiT0eilAupJWEXTf5wOC5jdPl_rDiRqhnGh7OotuP2ROZC7K543mzTUpvyu67OokQRSbvfvJmy8KFZ-bAeYBUn8-Ge7w2-wUQ/s320/2128005383_91081974f2.jpg)
- कृष्ण पौडेल
आदौ देवकी देवी गर्भजननम् गोपीगृहे वर्धनम्
माया पूतन जीविताप हरणम् गोवर्धनोद्धारणम् ।
कंसच्छेदन कौरवादी हननम् कुंतीसुत पालनम्
एतद् भागवतम् पुराण कथितम् श्रीकृष्णलीलामृतम् ।।
भगवान विष्णुका दश अवतार मध्ये श्रीराम एवं श्रीकृष्ण दुबै विशेष मानिन्छन् । परन्तु दुबैका प्रकृति र आचरणमा प्रशस्त भिन्नता छन् । श्रीरामले कठिन भन्दा कठिन परिस्थिति मा पनि मर्यादाको अतिक्रमण गर्नु भएन र त्यसैले वहाँ मर्यादा पुरुषोत्तम भनेर चिनिनु भयो । जबकि, श्रीकृष्णको अवतरण विपरीत परिस्थितिमा भएको थियो । माता देवकी र पिता वासुदेव अत्याचारी कंसको कारागार भित्र बन्दी हुनुहुन्थ्यो । आफ्नो अविर्भाव पछि स्वधाम फिर्ति सवारी नहुञ्जेल श्रीकृष्णले यति धरै विविधताका साथ अनकौँ लीलाहरू सम्पन्न गर्नुभयो जसले गर्दा वहाँ लीला-पुरुषोत्तमका रूपमा चिनिनुभयो ।
लीला-विलास
पौराणिक ग्रंथका कथाहरूमा भगवान श्रीकृष्णका लीला-विलास अनन्त छन् । जन्म लिँदा नै वहाँ चतुर्भुज-रूपमा प्रकट भएर फेरि सानो बालक बन्नु भयो भने , वहाँको उद्धारका लागि कारागार का पहरेदार सबै निद्रित बने , पिता वसुदेवजीको हथकडी-बेडी एवं ढोकाहरू स्वयं खोलिए , यमुनामा बाढी आए पनि रातारात बालक श्रीकृष्ण गोकुल पुर्याइन समर्थ हुनुभयो । यस्ता चमत्कारपूर्ण असामान्य कार्यहरू वहाँको जन्मपूर्व वा जन्मसंगै भएका पाइन्छन् ।
छैठीको दिनमा नै राक्षसी पूतनालाई शिशु श्रीकृष्णले संहार गर्नु भयो। यशोदा मातालाई आफ्नो मुख भित्र ब्रह्माण्ड देखाउनु , ब्रह्माजिलाई सबक सिकाउन गोप-बालक र बाच्छाबाच्छीहरूको नवीन सृष्टि गर्नु , अक्रूरजीलाई मार्ग र जल भित्र एकै पटक दुवै स्थानमा दर्शन दिनु तथा बालकृष्ण द्वारा काकासुरलाई गर्दन मर्दन गरी फ्याँकी दिने जस्ता कार्यहरू आश्चर्यजनक थिए । वाल्यकालदेखि नै श्रीकृष्णले आफ्नो बाल लीलाका दौरान कंसद्वारा पठाइएका कैयौँ राक्षसहरूको वध गर्न शुरू गर्नु भएको थियो । तृणावर्त, केशी, अरिष्टासुर, बकासुर, प्रलंबासुर, धेनुकासुर जस्ता बलवान राक्षसहरूलाई वहाँले सानै उमेरमा मार्नु भएको थियो र संसारलाई उनीहरूको भय र हिंसाबाट मुक्त गर्नुभएको थियो । हयासुर, नरक, जंभ, पीठ, मुर आदि असुरहरूलाई पनि वहाँले संहार गर्नु भयो । बाल्यावस्थामा नै कालियनाग जस्तो सहस्र फणा भएको सर्पमाथि चढेर नृत्य गर्दै उसलाई वशमा लिएर यमुना नदी बाहिर जान बाध्य पार्नु भयो । सात वर्षकै सानो उमेर अवस्थामा गिरिराज गोर्वर्द्धनलाई आफ्नो बायाँ हातको कान्छी औँलामा धारण गर्दै मूसलाधारे वर्षावाट ब्रजवासीहरूको रक्षा गर्नुभयो तथा देवराज इन्द्रको घमण्ड चूर गराउनु भयो ।
चीरहरण-लीलाको माध्यमबाट श्रीकृष्ण [ब्रह्म] ले गोपीहरूलाई [जीवात्माहरू] यो ज्ञान दिलाउनु भयो कि जबसम्म जीवहरू अज्ञानताको आवरणभित्र कैद रहनेछन् त्यतिबेलासम्म परमात्मासंग उनीहरूको मिलन सम्भव हुने छैन । यो लीलाको एउटा अर्को अभिप्राय जीवहरूको देह अभिमान समाप्त गर्नु पनि थियो । श्रीकृष्णको रासलीला पनि बडो गूढ अर्थले परिपूर्ण छ । यो प्रेममय छ तर ,यहाँ भोग-विलास अलिकति पनि छैन। रासलीला मार्फत वहाँले यो संकेत दिनु भएको छ कि जब जीवहरू गोपी-भाव धारण गर्दै आफ्नो सर्वस्व श्रीकृष्ण [ईश्वर] समक्ष समर्पित गरिदिन्छन् , त्यतिबेला उनीहरू स्वयं सर्वेश्वरका कृपापात्र बन्न पुग्छन् ।
मथुरामा श्रीकृष्णको लीला :
मथुरा फर्केर श्रीकृष्णले कंसको वध गर्दै आफ्ना बन्दी माता-पितालाई कारागारबाट मुक्त गर्नुभयो । माता देवकीको आग्रहमा वहाँले कंसद्वारा मारिएका आफ्नै माताका छ पुत्रहरूसंग वहाँको मिलन गराउनुभयो । गुरू संदीपनिमुनिका मृत पुत्रलाई यमलोकबाट फिर्ता ल्याएर वहाँलाई सुम्पनु भयो । श्रीकृष्णका अतिरिक्त यस्ता असंभवप्राय: कार्यहरू कसैले पनि आजपर्यन्त संभव बनाएको पाइँदैन । जरासंध वधको घटना पनि श्रीकृष्ण रचित लीला नै थियो । जहाँबाट श्रीकृष्णले जरासन्धद्वारा अपहरित बनी कारागारमा बन्दी जीवन बिताएका सोह्र हजार एक सय ( १६,१००) नारीहरूलाई मुक्त मात्र गर्नुभएन बरू तिनलाई सामाजिक अवगालबाट जोगाउन उनीहरूको अनुरोधमा आँफैले अपनाएर पत्नीको दर्जा दिँदै तिनीहरूलाई समग्र सम्मान दिलाउनु भयो । यसै गरी यो प्रसंगमा वहाँले ब्रजमा सयन गर्दै गरेका पुरवासीहरूलाई तत्काल द्वारका पुर्याएर बिघ्नबाट मुक्त बनाउनु भयो । यसै गरी जब पाण्डवहरू द्यूतक्रिडामा सबै कुरा हारेर लज्जित बने, त्यतिबेला दु:शासनद्वारा राजसभाको बीचमा भइरहेको द्रौपदीको चीरहरणमा असहाय द्रौपदीको पुकार सुन्दै श्रीकृष्णले नै उनको सम्मानको रक्षा गर्ने लीला रच्नु भयो ।
महाभारतको युद्धमा पाण्डवहरू सत्यवादी हुँदाहुँदै पराजयको मुखबाट श्रीकृष्णको लीला कै कारण विजयी हुन सकेका थिए । युद्धपूर्व किंककर्तव्यविमूढ बनेका अर्जुनलाई आफ्नो विराट रूपको दर्शन दिएर गीताको प्रवचनमार्फत श्रीकृष्णले उनको मनोबल मात्र बढाउनु भएन बरू युद्धमा उनको सारथी बनेर पाण्डवहरूका लागि युद्ध विजयको मार्ग पनि प्रशस्त गर्नु भयो । पाण्डव-वंशको रक्षा गर्ने उद्देश्यले अभिमन्यु पत्नी उत्तराका पुत्र परीक्षितलाई जीवन-दान पनि दिनुभयो ।
श्रीमद्भागवत महापुराणमा लेखे अनुसार भगवान श्रीकृष्णले आफ्नो दैहिक जीवनका एक सय पच्चीस वर्षसम्म लोकहितका लगि विविध लीलाहरू गर्नु भयो र पछि यो देह पुन: कसैका लागि प्राप्त हुन सम्भव भएन।
श्रीकृष्णका प्रत्येक लीलाले हाम्रालागि जीवन जीउनका लागि कुने न कुनै कला सिकाउने गर्छन् । जगद्गुरु बनेर श्रीकृष्णले अर्जुनलाई संबोधन गर्दै हामीलाई गीताको रूपमा जुन उपदेश दिनुभएको छ, त्यो सदा समाजलाई मार्गदर्शन गरिरहने छ । श्रीकृष्ण नि:संदेह लीला-पुरुषोत्तम नै हुनुहुन्थ्यो । यही कारणले श्रीकृष्णको स्तुतिमा भनिएको छ :
नमो देवादिदेवाय कृष्णाय परमात्मने।
परित्राणाय भक्तानां लीलया वपुधारिणे। ( अर्थात हे देवताहरूमा श्रेष्ठ श्रीकृष्ण, हजूर साक्षात् परमात्मा हुनुहुन्छ ।
भक्तहरू रक्षार्थ लीला गर्ने हेतूले हजूर शरीर [अवतार] ग्रहण गर्नुहुन्छ ।)।
गीताको सारको रूपमा श्रीकृष्णद्वारा अर्जुनलाई भनिएको यो वाणी अनन्तकालसम्म विश्वव्यापी सारगर्भित उद्धरण बनेको छ:
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन !
1 Comments:
दिनभरी मेला, पिंग साथै रतिको बाह्र बजे भगवान कृष्ण जन्मेको अभिनय हेर्दा बाल्यस्मिर्ती भिभोर भएर आउथ्यो . तर मावोवादीको द्वन्दपछी धर्म र संस्कृति सबै हराउदै गयो न त देशले कुनै बिकाश नै गर्न सक्यो
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !