August 21, 2010

भिजिलान्तेवाद तर्फको यात्रामा मुलुक :

हिजो मात्र पशुपति शमशेर अध्यक्ष रहेको राप्रपाले पनि युथ भोलेण्टियर फोर्स गठन गरेको समाचार आएको छ । ७० नाघेका वा नाघ्न थालेका पशुपति शमशेर र लोकेन्द्र बहादुर चन्द जस्ता नेपाली राजनीतिका पाका खेलाडीहरूले नेपाली लोकलाई अनावरण गरेर पस्किएको यो फोर्सको गठनको आवश्यकता माथि विचरण गर्दा देशलाई अराजक भीडन्ततर्फ बलात् लैजान खोज्ने यस्तो अर्को एउटा फोर्सको कति आवश्यकता छ भन्ने कुरा उनीहरूले बुझेकै छैनन् ठान्न सकिन्न । अवश्य पनि आवश्यकताको सिद्धान्तले यसको आविष्कार गराएको नबुझ्नु पूर्वाग्रह ठानिन सक्छ । तर यो बुझ्न कुनै कठिनाइ भने छैन कि , आज जति पनि फोर्स , दस्ता र बाहुबली भिजिलान्ते संगठनको सिर्जना गर्नु पर्ने खाँचो महशूश गरिँदै छ , त्यसको प्रेरक तत्व भने अरू कोही नभएर माओवादीको बाहुबली संगठन ‘वाइसिएल’ नै हो । जसरी हिजो हिंसारत एउटा माओवादी समूह , आज नेपाल राज्यमा क्रियाशिल एक सय बीस खुद्रे हिंसावादी संगठनहरूको प्रेरक गुरू हो वा ‘जननी’ हो , त्यस्तै राजनैतिक पार्टी वा समूहले अस्तित्वरत रहन वा काम गर्न सक्ने हुन आफ्नै लिग, फोर्स, दस्ता वा भोलिण्टियर फोर्स गठन गरी तिनको सुरक्षा कवच भित्र रहेर काम गर्न पर्ने आवश्यकता ठान्न वाध्य हुनु र त्यसै गर्न पुग्नुमा सायदै माओवादी ‘वाइसिएल’ को कारक भुमिका रहेको कुरामा कसैको दुई मत होला ।

हिंस्रक माओवादी दिल्ली सम्झौताको बाटो हुँदै शान्ति प्रकृयामा प्रवेश गरेपछि , उसले आफ्ना अधिकांश पूर्व लडाकूहरूलाई अर्धसैनिक संरचनाको ‘वाइसिएल’ बनाएर ब्यारेकीय शैलिमा मुलुकभर स्थापित गरायो भने नया भर्ना गरिएका छापामारहरूलाई ठूलो संख्यामा ‘छापामार’ शिविरमा राखी माओवादी सेनाको रूपमा दर्ता गराउन सफल भयो । यही वाइसिएलको प्रभावमा माओवादी संविधानसभाको सबैभन्दा ठूलो दल हुन पनि सक्यो । उता, मुलुकभर र अधिकांश जिल्ला सदरमुकामहरूमा ‘वाइसिएल’ क्याम्पहरू खडा गरी बस्नाले उसका हातहरु देशव्यापी ठेक्कापट्टा, जग्गा बेचबिखन, बन पैदावर र जडिबुटी व्यापार जस्ता क्षेत्रहरूमा एकलौटी हुन थाल्यो र कुनै व्यक्ति वा समूहले उसको प्रतिकार गर्न सकेनन् । अरूलाई यसमा आह्रिस पनि भयो कि ! कतिपय स्थानहरूमा त वाइसिएल सदस्यहरू अपराध कार्यहरू गरी फरार हुने र छापामार शिविरको संरक्षणमा लुक्ने गरेको कुरा पनि समाचारमा आए । माओवादी पार्टीको लागि काम गर्ने वाइसिएलको यो चर्तिकलाको प्रतिकार गर्न , अर्को मुख्य कम्युनिष्ट पार्टी एमालेले यसका युवा नेता महेश बस्नेतको नेतृत्वमा युथफोर्सको गठन गर्‍यो । यो नया फोर्स पनि ठाउँ कुठाउँ भिडन्त र रडाको मच्चाउने काममा वाइसिएललाई उछिन्न पर्छ भन्ने कुरामा दत्तचित्त रह्यो । माओवादी कै आरोप अनुसार , युथफोर्सले उसका कतिपय सदस्य र कार्यकर्ताहरूको अंगभंग वा हत्या गरायो । वाइसिएल र युथफोर्स भीडन्तका देशव्यापी कथाहरू कै परिणाम अनेकौ हत्या र हिंसाका घटनाहरू भए जस मध्ये युथ फोर्सका सदस्य गोकुल देवकोटा को खुट्टा काटिएको र युथ फोर्सका नेता प्रचण्ड थैवको बुटवलमा भएको हत्या बढी चर्चित रहे । केहि महिना अघि विरगञ्जमा हिन्दूवादी युवा जत्थाले धर्नामा बसेका माओवादी सभासदमाथि पिटपाट गर्‍यो भने तिनै हिन्दूवादीका एकजना जिल्ला नेताको केहि हप्ता अघि हत्या पनि हुन पुग्यो ।

पूर्वी पहाडी जिल्लाहरूमा लिम्बुवान, खुम्बुवान युवा भोलेण्टियर फोर्सका क्रियकलापहरुको चर्चा पनि निरन्तर जारि छ । कतिपय स्थानमा यस्ता फोर्स र जत्थाले नै समानान्तर सरकारको अभ्यास गरेका छन् - कर उठाउने, न्याय अन्याय बाँड्ने र स्थानीय शान्ति सुरक्षाको आँफूखुशी तजबिजी जिम्मा लिने । पश्चिममा थारू र केही समय अघि सार्वजनिक गरिएका तमु सेना र दस्ताको चर्चा पनि उस्तै हुने नै भयो । वाइसिएल, र युथफोर्स बाहेक मधिशे पार्टीका दस्ता , बल र समूह आदि आदि पनि चर्चामा छन् । यी समूहहरूले पनि आफ्नो प्रभाव रहेका जिल्ला र सदरमुकामहरूमा आफ्नो बाहुबली जोरजुलुम देखाउन कुनै कसर बाँकि राखेका छैनन् । अर्को ठूलोपार्टी कांग्रेसले पनि तरूण दस्ता गठन गर्ने चर्चा बेलाबखत गर्ने गरेको छ । पछिल्लो समयमा, कांग्रेस नेता खुमबहादुर खुलेर यसको गठन र विस्तार हुनुपर्ने कुरामा लागेका देखिन्छन् भने कांग्रेस संस्थापन पक्षले भने लोकतान्त्रिक संस्कारको खिलाफमा हुने, यस्ता फोर्स , दस्ता, लिग र समूहहरू सबै दलहरूले बन्द गर्नु पर्छ भनेर जिम्मेवार हुन खोजेको देखियो ।

युवाहरू मुलुक र मुलुकवासीको भलो गर्ने कार्यमा क्रियाशिल भएर लाग्नु असाध्यै राम्रो कुरा हुनसक्थ्यो तर तिनै उर्जाशिल युवाहरू , राजनैतिक गोटी बनेर प्रतिशोध, घृणा र विध्वंशका कारक बन्नु मुलुकको हितमा कदापि हुन सक्दैन । जब हिंसा, बल, जोरजुलुम र बाहुबली जत्थाको शरणागत भएर राजनीतिले काम गर्नु पर्ने आवश्यकता महशुश गर्छ , त्यतिबेला यिनै प्रवृत्तिका मतियारहरूलाई लाग्न सक्छ ‘यो सबै जायज छ’ तर यथार्थमा मुलुक , त्यहाँको कानूनी व्यवस्था र सामान्य जन-जीवन असफलताको पर्याय बनिसकेको हुन्छ । हिंसा र बाहुबली संस्कार स्वभावतः वैचारिक स्वतन्त्रता र लोकतन्त्रको आदर्श प्रतिकूल हुने हुँदा यस्तो परम्पराले अधिनायकवादको चाकडीमा आँफूलाई समर्पण गरेको हुन्छ । त्यसकारण पनि यस्ता समूहहरूको उपस्थिति वा दबदबा बन्दै र बढ्दै जानु , मुलुकको भविष्यका लागि खतरनाक हुन्छ ।

( फोटो : साभार कान्तिपुर)

दौँतरीका लागि ( एकलव्य )



9 Comments:

skduwal.blogspot.com said...

नेपामा अब दस्ता र फोर्सहरूले मात्र भर्ने भयो, यस्तै राजनीति चली रहे अबका केहि बर्षमा नेपाल आर्मी र नेपालको पुलिशहरुको काम पनि सबै यिनीहरुले गर्ने होला......!!!

Anonymous said...

yo gundai gunada ko desh ho. mero bhannu yetti ho. j huncha, sabai gunda gardi bata nai huncha. chunab jati sabai booth kabga garera hunchan.

दूर्जेय चेतना said...

राम राम भन्नु बाहेक केही उपाय छेन अब। केही आशाहरु छन् तर पनि मारिदै छ। सबै लड्ने र भिड्ने मात्रै सुरमा देशको यो हालतले निकै दुखी तुल्याउछ।

पुष्प said...

"खुद्रे हिंसावादी संगठनहरूको प्रेरक गुरू हो वा ‘जननी’, वाइसिएलको प्रभावमा माओवादी संविधानसभाको सबैभन्दा ठूलो दल, शव्यापी ठेक्कापट्टा, जग्गा बेचबिखन, बन पैदावर र जडिबुटी व्यापार जस्ता क्षेत्रहरूमा एकलौटी" रे ! अर्को लज्जाष्पद लेख; दौंतरीको विशेषता नै यही भइसक्यो कि कसो ?

माओवादीउदयको पृष्ठभूमिलाई बिर्सेर गरिने यस्ता विश्लेषणको कुनै अर्थ छैन । अनि अन्य हतियारधारी समूहको उद्देश्य र मागलाई नकेलाएर यसको दोष पनि माओवादीलाई नै दिनुजस्तो लज्जाष्पद विश्लेषण अरु केही हुनसक्दैन; आधारहीन आरोपहरू त जसले जे लगाए पनि हुन्छ । होइन हतियार बोक्ने सबै एकै खालको हुने भए राज्यले पनि त पालेका हतियारधारी जत्था पनि आतंककारी भए ? उद्देश्य र पृष्ठभूमिक केलाउनुपर्यो नि !

Luna said...

" --युवाहरू मुलुक र मुलुकवासीको भलो गर्ने कार्यमा क्रियाशिल भएर लाग्नु असाध्यै राम्रो कुरा हुनसक्थ्यो तर तिनै उर्जाशिल युवाहरू , राजनैतिक गोटी बनेर प्रतिशोध, घृणा र विध्वंशका कारक बन्नु मुलुकको हितमा कदापि हुन सक्दैन । जब हिंसा, बल, जोरजुलुम र बाहुबली जत्थाको शरणागत भएर राजनीतिले काम गर्नु पर्ने आवश्यकता महशुश गर्छ , त्यतिबेला यिनै प्रवृत्तिका मतियारहरूलाई लाग्न सक्छ ‘यो सबै जायज छ’ तर यथार्थमा मुलुक , त्यहाँको कानूनी व्यवस्था र सामान्य जन-जीवन असफलताको पर्याय बनिसकेको हुन्छ ।"---
राजनैतिक चस्मा नलगाई पढ्नु बेश हुन्छ यी हरफ हरु .
ऐले के भै राख्या छ मुलुकमा ?
मान्छेहरु राजनैतिक पार्टीको ओत लाग्नु पर्ने बाध्यताको महशुस गर्दै छन् ,
यस हिसाब ले मुलुक चलिरह्यो भने जनताले आफूलाई स्बतन्त्र - सुरछित महशुस
गर्न सक्ने छैनन ----

Nepalean said...

नियम कानुन अनुसार होइन कि हिन्दी चलचित्रमा भिलेनेल गर्ने हप्ता असुली जस्तै यि फोर्सहरु लागेका छन। राजनितीख रंग ओढेका यि अपाराधी ब्वांसाहरु हरेक खालको क्रिया कलाप गरेर राजनैतिक रंग दिनेगर्दछ। यदी यस्ता
अपराधीले कुनै अपराध गरेर देशको सुरक्षा हेर्ने निकायले यिनीहरुलाई कारबाही गर्नुपर्ने हो तर यस्ता भिजलन्तेले गरेको अपराध राजनैतिक पार्टीबाट बैतर्णी तर्छन र पुलसहरु हेरेका हेर्यै हुन्छन। अपराध गर्ने पोलिटिकल नेतालाई लौरो लगाएर जेलमा कोच्न नेपालमा नियम छैन या नियम भए पनि पहिलेका राजाहरुलाइ जसरी यिनलाई नियम कानुन माथी राखिएको छ। यसैको आडमा यस्ता भीजलन्तेहरुले कानुन हातमा लिएर ताण्डब न्रित्य गर्ने गर्दछन।

एउटाले बोर्डिग स्कुल खोलेर कुस्त पैसा कमाएको देखेपछी छिमेकीले सोटर खोल्दै बोर्डिगं स्कुल खोले जस्तै वाइसिएलको भारी सफलता देखेर हरेक नेताहरुले स्यान पुछ्ने देखी लौरो टेक्ने सम्म जम्मा गर्दै युवा शक्ती गठन गर्दैछन। सायद आउने चुनावमा यिनै गुण्डाहरुले जिताउने/हराउने गर्नेछन।

sanu jange said...

हुन त मलाई बुज्रुक बन्न नभै यसो मन मा लागेको कुर लेखेको हो कसैले मन नदुखौनु होला है, कुरा के पनि सत्य हो भने माओवादी को देखासिकी नै भन्नु पर्छ यस्लाई , नत्र यस्ता विजिलान्ते दस्ता खोल्नु को अर्को कुनै कारण छैन साथै के कुरको पनि ख्याल राख्नु पर्छ भने ycl का खाम हरु मस्ती देखेर बेरोज्गार युवा हरु मा त्यता तिर को आकर्षन बढ्दो छ, चट्ट खल्ती मा हतियार जे माग्यो त्यो पायो दिन मानेन यमपुरी को टिकट कटाइ दियो, अर्को पल्ट त फोन गरे पुगी गो ... जब सम्मा खाम जस्ता ycl
का अपराधी हरुलाई कानुनी रुप्मा साजयं दिने चलन हुँदैन तब सम्म यो दस्ता निर्माण को प्रकृया रोकियला जस्तो छैन, फेरी हाम्रा बुज्रुक साथीहरु ले तिन्बित्ता उफ्रियर सोध्लान खाम् हरु निर्दोश हुन दोषी भए त कार्वाही भै सक्ने थियो भनेर , सबै अपराधी हरु लाई कहाँ कार्वाही हुन्छ र ? बदे बदे डांका हरु हत्याराहरु अझै खुलेआम डुक्रिंदै हिंडेकै चन देख्नु भएकै होला भन्छु कि कसो ???

Anonymous said...

Well said sanu jange"फेरी हाम्रा बुज्रुक साथीहरु ले तिन्बित्ता उफ्रियर सोध्लान खाम् हरु निर्दोश हुन दोषी भए त कार्वाही भै सक्ने थियो भनेर ".
Thats how we prove what is wrong and what is right. And we even prove a killer to a honest guy like kham. He is a hero of maobadi and YCL. He gives TV interviews with pride and challenge government to take action. Bunch of people share his new,publish news and more people come and say"wah kham ji".

sanu jange said...

i agree with you Anonymous, that´s a fact of our political criminal heros. bullshit...........

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !