March 29, 2010

धूर्तको विनय, गोहीको आँशु र लासमाथीको राजनीति

“अति विनयम् धूर्त लक्षणम्”- संस्कृतको यो भनाई यसो त मैले सधैं नै एकदम सत्य पाएको छु । तर यस पटक भने यो चार शब्दले चार दिनमा  मेरो देशका नेताहरुको चरित्र पुरै दर्शायो ।

प्रंसग गिरिजा कोईरलाको निधन र त्यसपछि विकसीत घटनाक्रमको हो । अघिल्लो हप्ता गिरिजाप्रसाद कोइरालाको राजनैतिक यात्रा र दीर्घ जीवनको पट्टाक्षेप पछि नेपालको राजनितीमा एकचोटी गज्जबको सहिष्णुता, सम-आदर र पर-सम्मानको नाटक देखियो।

उनका आफ्ना दल वा गुटका त कुरै छौडौं, विगतमा उनका कट्टर विरोधी रहेका समेत उनका दूरदर्शी निती, उनको कार्यकुशलता र उनका सोचको प्रशंसा र स्तुतीगानमा व्यस्त रहे । कुरोको चुरोसम्मै सिधै पुग्ने हो भने “नयाँ जोगीका खस्रा छाला” भनेजस्तै गरी उनका नितीसंग सधैं पैठोजोरी गर्दै आफ्नै दबदबा कायम गर्न अग्रसर हुनेहरु नै सबैभन्दा ‘दु:खी’ देखीए ।

उनको सोच र मार्गचित्र अनुसार चलेर देशमा अमन चैन कायम गर्ने र शान्तिस्थापनाको कार्यलाई यथार्थतामा बदल्ने भनेर हरेकले मसाने वैरागका साथ अभिव्यक्ति दिए । मानौं अब सबैजनाको आखाँ खुलेको छ र अब सबै दल र गुटका नेताहरु एक भएर देशको लागि अघि बढनेछन् ।

तर त्यो मसाने वैराग्य र गोहीका आँशु ३ दिन पनि टिक्न सकेनन् । अनि सुरु भयो शक्तिको लागि आ-आफ्नो हकदाबी गर्ने र हैकम देखाउने खेल । उनको अवसानमा जसरी दल र दल बाहिरका सबैले औपचारिकता प्रदर्शन गरेका थीए, त्यसरी नै उनको निधन भएको ७ दिन पनि नपुग्दै आठ थरिका दाबी र हकका हैकमहरु पार्टी भित्र र बाहिरबाट पनि निक्लन थाले ।

दलमा उनको मृत्युको तेस्रो दिनदेखि नै “अब को?” वा “मै हुँ अब” भन्ने शीतयुध्द चर्कीन थाल्यो भने दल बाहिर पनि एकातर्फ उच्चस्तरीय राजनैतिक संयन्त्रको नेतृत्व आफैंले गर्न पाउनु पर्ने मागका साथ प्रचण्ड देखा परे भने अर्कोतर्फ उच्चस्तरीय राजनैतिक संयन्त्रले सरकार ढाल्ने तयारी भैरहेको थीयो भन्ने ‘ग्य्राण्ड डिजाईन’ को खुलासा गर्दै बाबुराम भट्टराई निस्केका छन । फेरि प्रधानमन्त्री रहेका माधव कुमार नेपाले पनि यहि बेलामा ‘गिरिजा कोईरालासंग ३ हजार मात्रै सैनिक समायोजन’ गर्ने सल्लाह भएको उजागर गरेका छन ।

यही रीतमा जाने हो भने नेपालको राजनीतिमा आउँदा दिनमा यस्ता धेरै ‘सल्लाह’ र ‘निर्णय’ हरुका ठेली नै लाग्नेमा कुनै शंका नलिए हुन्छ ।

उदेक लाग्ने कुरा त के भने, यो सबै ‘गोप्यता’ र ‘ग्य्राण्ड डिजाईन’ को खुलासा गरिरहँदा न त कुनै नेतालाई  धक वा लज्जाको महशुस भएको छ न त कसैलाई जनताका पिठ्युँ पछाडि बसेर यस्ता नानाथरी गोप्य सम्झ्यौता र समझदारी गरेको भन्दै हिँडदा एकजना दिवंगत आत्माको सम्मानको ख्याल नै आएको छ ।

कोईराला अब हाम्रो सामुमा छैनन् र अबका दिनमा कुनैपनि अलीखित मुद्दा वा विषयका वारेमा उनका धारणा वा सोच के कस्ता थिए भन्ने वारेमा जसले जे सुकै भनेपनि उनी त्यसको समर्थन वा प्रतिवाद गर्न हाम्रो सामुन्ने आउने छैनन् । यस्तो अबस्थामा, यसलाई मौकाको रुपमा लिँदै आफूलाई जहाँ जे कुरामा फाईदा हुन्छ त्यहाँ ‘कोइरालाले यस्तो भनेका थिए’ वा ‘उनीसंग यस्तो तय भएको थियो’ भन्दै हिँडनु कतिसम्म तर्कसंगत र मानवताका कुरा हुन ।

हुन त लासमाथी राजनिती गर्ने वा लासमाथी चढेर सत्तामा जाने मार्ग नेपाली राजनितीमा कुनै नौलो कुरा भने होईन, तर एकजना राजनितीज्ञ, जसले आफ्नो पुरै जीवन प्रजातन्त्रको लढाईमा खर्चे (उनका कमी –कमजोरीको कुरा यसपाला नगरौं) उनको मृत्युलाई समेत मौका बनाउन खोज्नु भने पक्कै पनि एकदमै अशोभनीय र घृणीत कार्य हो ।

हुनसक्छ, कतिपय राष्ट्रिय समस्या वा आगामी रणनितीका वारेमा उनीसंग अन्य दल वा आफ्नै दलका अन्य सदस्यहरुसंग केही बिचार विमर्श वा सर-सल्लाह भएका होलान । तर लीखित दस्तावेज नरहेका हदसम्ममा अब उनको नाम उचालेर आफ्नो स्वार्थ सिद्द गर्न खोज्नु कसैलाई पनि शोभा दिने कुरा हैनन् ।

म चाहन्छु, उनको निधनको लगत्तै दिएका वक्तव्य र समवेदनाका शब्दहरु हाम्रा सबै कमजोर स्मरणशक्ति भएका नेताहरुले एक पटक आफैं पढेर हेरुन अनि दिवंगत आत्माको बदनाम गर्न हैन, सम्मान पूर्वक राष्ट्रीय समस्या र मुद्दामा सहमतिको मिलन बिन्दुमा पुगुन । राजनीति फोहरी खेल नै होला तर यसलाई यत्ती फोहर पनि नबनाउँ कि यसले शारिरिक दायरा नाघरे कसैको आत्मालाई पनि विकृत बनाओस ।



5 Comments:

राहुलभाइ said...

एकदम सहि , ठरकी जी । पूर्ण सहमत् छु ।

mahesh sagar khanal said...

nepal ka neta ko ke bhanau ra khai. kura garyo kurai ko dukha

Nepalean said...

अति विनयम् धूर्त लक्षणम् -एक्दम सही लाग्यो। किन यती सार्हो बिलौना गरे भनेको त हाम्रा नेता बर्गहरुको मन भित्र त्यस्तो अभिसिष्टता रहेछ। पद र शक्तीको खिचातानी त बल्ल सुरु भयो,अरु अझै के के हुने हो हेर्न बांकी नै छ।

एउटा कुरा के याद आयो भने कोही मरेर गए पछी अरुले तेरो मान्छेले यती पैसा लगेको थियो फिर्ता ले आदी इत्यादी भन्छन नि, हो त्यस्तै भएको छ। गिरीजाले यो भने,गिरीजाले उ भने। अब मरेर गएको मान्छेको बोलीको आधार बनाएर काम गर्नु को सट्टा जिउंदा मानिसले समझदारीमा यो गर्दा उत्तम हुन्छ भनेर अघी बढ्नु बेश होला।

Zero Hour (शुन्य समय) said...

ठरकीजी नेताहरुले विर्सिसकेछन । अनि नेपालियनजीले भने जस्तै यसो भन्याथ्यो र उसो भन्याथ्यो भन्न शुरु गरिसके । अब के गर्नु लाश माथि राजनीति गर्नेहरुको के भरोसा । आजको नागरिक न्युजमा कार्टुन छ नि शायस त्यस्तै प्रवृतिमाथिको प्रहार होला बिचरा राजेश केसी को।

Nepalean said...

जिरो आवर जी कता हराउनु भयो आजकाल? शुक्रबार आयो कि टि-ट्यामको याद आउंछ। तर आजकाल तपाइ चिया चिया छोडेर कफी तिर लागे जस्तो छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !