April 22, 2009

के नागरिक सर्वोच्चता भनेको माओवादीको तालमा नाच्नु हो ?

हिजोको बिद्रोही आतंकको धमास बोकेको शक्ति आज सत्तासीन छ , ऊ सत्तामा छ भन्ने उसलाई पत्तो छेन त्यो बेग्लै कुरा भयो । जब सत्तासीनलाई आँफू सरकार वा सत्ता भैसकेको कुरा ज्ञात रहन्न र ऊ बिद्रोहको हूंकारयुक्त भाषामा संवाद र व्यवहारको आदान प्रदान गरिरहन्छ, जो कोहीले पनि बुझ्नसक्छ यस्तो शक्ति वा समूहका लागि नागरिक शक्ति, नागरिक कानून, कानूनको शासन र नागरिक सर्वोच्चता जस्ता लाकतान्त्रिक मर्मलाई आत्मसात गर्ने ओजिला शव्दहरू केवल खेलौना मातर हुन । जब सत्तामा बसेका माओवादीका वरिष्ठतम नेताले आफ्ना छापामार ज्यूँका त्यूँ राखेर संविधानसभाको निर्वाचनमा जान पाएको अनि सबैभन्दा ठूलो दल पनि हुन सकेकोमा खुशीका अट्टाहसहरू सार्वजिनक गरेको सुनिराखिएकै छ त्यतिबेला बुझ्नै पर्छ , उसको यो अट्टाहासमा कुनै राक्षसी अभीष्टको अतिरेक झल्किराखेकको छ । आज मुलुकमा नागरिक सर्वोच्चता र नागरिक स्वतन्त्रताका हरेक पक्षमा माओवादी अतिक्रमणको डरलाग्दो भाइरस घुसेर मर्माहत बनाइरेहको अवस्थामा , भोलिको राजनीतिलाई सत्ता कब्जाको बलमा आफ्नो एकल पेवा बनाउने उसको कुत्सित मनसाय जतासुकै छर्लङ्गिइरहेको यो परिस्थतिमा , उसलले बडो चर्को श्वरमा नागरिक सर्वोच्चताको ढ्वाङ फुकेर गर्ने हरेक कार्यहरू भोलिको अनिष्टका संकेत हुन भन्ने कुरामा धैरै आशंका रहनु पर्ने कारण देखिन्न ।

सत्तामा बसेको माओवादीले आफ्नो एकाधिकारवादी विचारले प्रशिक्षित ३० औँ हजार छापामारहरूलाई एक हूल बाँधेर राज्यको सेनामा पसाल्ने योजना कायम राखेको कुरा जति जग जाहेर छ त्यत्तिकै उसको अर्को अर्धसैनिक जत्था वाइसिएलले मुलुक भरि आतंक र लडभीडको जोरजुलुम मच्चाएर नागरिक जीवनमा कुन हुण्डरी कायम गरिरहेको छ भनी साध्य छैन । आज मुलुकमा प्रशासन, प्रहरी , विश्वविद्यालय र हरेक संघसंस्था देखि उद्योग कलकारखाना र क्यासिनोसम्म सबैतिर माओवादी समर्थकहरूको एकाधिकार कायम गराइएको स्थिति छ र उनीहरूको ‘डिक्टम’ लाई नस्वीकार्नेहरूको स्थिति भौतिक र मानसिक रूपमा दयनीय बनाइएको अराजक स्थिति विद्यमान छ । राज्यमा कानूनको शासन अनाथ बनेको छ र दण्डहीनता माओवादी राज्यतन्त्रको मुख्य चरित्र बनेको छ ।

माओवादले प्रष्ट भन्ने गरेको छ ‘ हाम्रो गन्तव्य जनवादी गणतन्त्र हो’ । आफ्नो पार्टीले प्रस्ताव गरेको नया संविधानको मस्यौदामा समेत माओवादीहरूले कम्युनिष्ट मुलुकको एकदलीय संविधानलाई मात्र अनुवाद गरी हुबहु राखिदिएका छन्, उदारवादी लोकतन्त्रवादी पक्षधरहरूलाई तर्साउनकै लागि भएपनि । उनीहरूले चाहेको एकदलिय एकाधिकारवादी संविधानलाई अकाट्य लागू गराउने बाटोमा माओवादीका लागि २ वटा कुराहरू वाधक हुन सक्ने अवस्था देखिएकोले , उसले योजनावद्द ढंगले मुलुकको स्वतन्त्र न्यायलय र गैरराजनैतिक नेपाली सेना माथि धावा बोल्न खोजेको देखिन्छ । माओवादी सरकारका विविध राजनैतिक आग्रहपूर्ण निर्णयहरूको असंगति , बेथिति र कानूनी आधारबिहीनतालाई पक्रेर तिनका बिरूद्द निर्णय दिन सक्ने भएकाले तथा कानूनी शासनले ल्याउने अड्चन र आफ्नो निरंकूश अधिनायकवादी बाटोमा कायम गर्ने अंकूशको छनक पाएको माओवादी नेतृत्वदेखि कार्यकर्तासम्मले बेलाबखत अदालत बिरुद्द नारावाजी र विषवमन गरिरहेको देखिएको छ । उनीहरूको परिभाषा अनुसार बदलिएको परिवेशमा मुलुकको न्यालयले गणतन्त्रको कार्यशैलि अनुरूप काम गरेर सरकारलाई सघाएन रे ! के त्यसो माओवादीको असहिष्णु एवं हिंस्रक राजनीति र माओवादीका गलत कार्य व्यवहारको बिरूद्द बोल्नु वा निर्णय गर्नु नै गणतन्त्र बिरुद्द उभिएको हुनु हो त ? पछिल्लो समयमा नेपाली सेनाका प्रधानसेनापतिलाई स्पष्टीकरण सोधेर नेपाली सेनाको मनोबलाई छिन्नभिन्न पार्दै आफ्ना लडाकू सेनामा प्रवेश गराउने प्रपञ्चले माओवादीले जुन काम गर्दैछ के त्यो साँच्चै नागरिक सर्वोच्चता स्थापित गर्ने असल आशयले गरएको होला त ? हैन, यो त नागरिक सर्वोच्चतारूपी स्यालको छाला ओढेर, ब्वाँसोको आहार जुटाउने सूर मात्र हो जस्तो देखिन्छ । यसका बलिया कारणहरू पनि छन् । किनभने आज माओवादीले जुन नागरिक सर्वोच्चताको कुरा गरिरहेको छ ,यथार्थमा त्यो उसको साँचो मकसद कहिलै थिएन र हुन पनि सक्दैन । किनभने आज नागरिक स्वतन्त्रता र सर्वोच्ताको बाटोमा सबैभन्दा ठूलो खतरा कतैबाट छ भने त्यो माओवादीहरूको नीति र व्यवहारमा रहेको एकाधिकारवादी दम्भबाट छ । आज नेपाली जनताको नागरिक सर्वोच्चता सम्बन्धी माओवादीको दावी, विरेन्द्र शाह ,रामहरि श्रेष्ठ, प्रचण्ड थैव का दिनदहाडै भएका हत्याहरू र हत्याराहरू लुक्न प्रयोग भएको भनिएको छापामार ब्यारेकका कारण थिलोथिलो भएको छ, वाइसिएल र जमरकट्टेलको मजदूर संगठन र क्यासिनो राजनीतिको बन्दी बनेको छ ।

वास्तवमा भन्ने हो भने , जुन पार्टीले आफ्नो राजनैतिक उद्देश्य जनगणतन्त्र वा कम्युनिष्ट पार्टीको अधिनायकवादमा विश्वास गर्छ त्यसले नागरिक सर्वोच्चताको कुरा गर्नु नै हास्यास्पद दावा हो । नागरिकहरूको सर्वोच्चताको नाममा उसको मनसाय आफ्नो पार्टीको अधिनायकवाद लादेर त्यही अधिनायकवादलाई नागरिक शासनको जामा पहिराउनु हो जुन अधिकांस अधिनायकवादी कम्युनिष्ट शासकहरूले हिजो विश्वव्यापी रूपमा गरेका थिए र आज पर्यन्त गरिरहेका छन् वा गर्ने चेष्टा गर्दै छन्।

साँचै नै माओवादीहरू नागरिक सर्वोच्चताको कुराका लागि अगाडि आएका हुन भने , उनीहरूले माओवादी मात्र जनता र उनीहरू मात्रै नागरिक हुन भन्ने भ्रमपूर्ण बुझाइबाट मुक्त भएर , साँचो नागरिक अधिकारको सम्मान र नागरिकको स्वतन्त्र भएर आफ्ना विचारसहित बाँच्न पाउने कुरालाई मन, वचन र व्यवहारले सम्मान गर्नसक्ने हुनुपर्छ । सेनापति बिरुद्द कारवाहीको नाटक मञ्चन गर्दा वा अदालतको स्वतन्त्र निर्णय बिरुद्द धावा बोल्दा नागरिक सर्वोच्चता र सम्मानको कुरा गरेर सडक तताउने र मुलुकमा आगो बाल्ने माओवादीले हिजो आँफ्नो कारणले जीवन गुमाउन पुगेका १५,००० नेपाली लाखौँ घाइते र अपाङ्ग र खरबौँ रुपैयाँको सर्वनासको बारेमा नागरिकहरूसंग आफ्ना राम्रा नराम्रा कार्य र व्यवहारहरूका लागि स्पष्ट हुनसक्नु पर्छ र परेको ठाउँमा माफी मागेर निहुरिन सक्नु पर्छ । तर उनीहरूबाट यस्तो कुराको आशा राख्नु नै हास्यास्पद हुन्छ । नागरिक सर्वोच्चताको दुहाइ दिनेले नागरिक जीवनमा आँफूले पारेको क्षतिको , असीम पीडाको अनि प्रताडित नागरिकलाई माओवादी र गैरमाओवादी चिन्तनबाट माथि उठेर विशुद्द नागरिकको रूपमा व्यवहारिक रूपमा अपनाउने सामर्थ्य निर्माण गर्न सक्नु पर्छ ।

माओवादीहरू आफ्नो पार्टीले उचित मानेर पार्टी हितमा लिने हरेक निर्णयहरू ‘जनता’को बनाएर प्रस्तुत गर्ने काममा माहीर छन् । उनीहरूको पार्टीले गरेको निर्णयहरू बिरुद्द जब कुनै आवाज उठ्छ वा अदालतले त्यस खालको निर्णय दिने गरेको देखियो, उनीहरूले भन्ने गरेको पाइएको छ ‘ जनताले यो कुरालाई कदापि स्वीकार गर्ने छैनन्’ आदि । पछिल्लो समयमा जब उनीहरूको पार्टीले सर्वोच्च अदालतको एउटा निर्णय बिरूद्द सडक प्रदर्शनीको एउटा नौटंकीको प्रायोजन गर्योर , उसले बतायो ‘ यो त जनताको स्वतस्फूर्त बिरोध हो’ । माओवादीका अक्सर दावाहरूको औचित्यलाई नजिकबाट हेर्दा यस्तै वच्कनापन र हास्यास्पद विशेषताहरूको पुलिन्दाको रूपमा भेट्टाइने गरेको छ । त्यसैले नेपाली सेनाका प्रधानसेनापति हटाउने भन्ने माओवादी पार्टीको निर्णयलाई समेत नागरिक सर्वोच्चताको जामाले सिंगार्ने प्रयत्नकासाथ कथा कथ्ने काम भएको छ र भनिँदै छ ‘ नागरिक सर्वोच्चताका नाममा सरकारको निर्णय नमान्ने सेनापतिलाई हटाउन पर्छ’ । तर के माओवादी पार्टी स्वयं, उसका भ्रातृ संगठनहरू , छापामार र वाइसिएलसहितले नागरिक सर्वोच्चताका नाममा कुन किसिमको आधार निर्माण गर्न सहयोग गरे ? हो कटुवालले सरकारको निर्णय मान्नु पर्छ , तर पहिला सरकार नागरिक सरकार बन्न सक्नु पर्छ कि पर्दैन ? यो अहम् प्रश्न हो । हिजो ‘त्यो कटुवाल को हो’ भनेर कुर्लने नेता प्रचण्ड मुलुकको प्रधानमन्त्री भैसके पछि आफ्नो मातहतको मुलुकको सेनालाई विश्वासमा लिन अनि त्यो विश्वासलाई नागरिक सर्वोच्चताका लागि प्रयोग गर्न कुन र के प्रयत्न गरे हामीले किन थाहा पाउन सकेनौँ ? आजको यो असहज परिस्थितिको निर्माणमा उनको योगदान कति छ र यसका लागि उनी स्वयं र सेना र सेनापतिसंग सँधै दूरीमा रहेर अनाप सनाप बोल्न मन पराउने रक्षामन्त्रीले पनि नागरिक सर्वोच्चताका नाममा जनतालाई स्पष्टीकरण दिने हो कि ?

अन्तमा , राष्ट्रपतिले अहिलेको संवेदनशिल माहौलमा सेना समायोजन नहुँदासम्म सेनापतिलाई नचलाउन प्रधानमन्त्रीलाई लेखेको पत्रका बारेमा माओवादी सचिवालयले बिरोध दर्शाएको सुनियो तर , यही मामिलामा भारतीय राजदूतले प्रधानमन्त्रीलाई पटकौँसम्म भेटी ज्वरो आउने गरी हकारेको कुरामा भने सचिवालय चूईँ नबोलेको देख्दा , हाम्रो राष्ट्रवादी दावामा मलाई रून मन लाग्यो ! कठै, मेरो महान नेपाल र यसका क्रान्तिकारी हामी नेपाली !



9 Comments:

Panda said...

नागरिक सर्वोच्चताको नाममा माओवादी सर्वोच्चता लाद्न खोजिएको र विगत देखि नै माओबादीहरुले जे लाई पनि तपाइले भनेजस्तै "जनता" नामको "जामा" पहिराउंदै आफ्नो अभिष्ट पुरा गर्दै आएको कुरा छर्लङै छ।

जनताका काम गर्ने र स्कुल बनाउनलाई चन्दा उठाइदिंदै हिड्ने पंडितलाई मारे बापत अपाराधीलाई अवध हो कि के राज्यको प्रमुख बनाइदिने कार्य माओबादीहरुको नजरमा "नागरिक सर्वोच्चता " पर्छ ।

कटवाललाई हटाएर कामरेड पासाङलाई सेनापति बनाउने चाललाई पनि "जनताको सर्वोच्चता" मान्नु पर्ने होला, नत्र दक्षिण पन्थिको जामा भिराइदेलान । सक्छन भने माडीमा निर्दोष जनता मार्ने, दिनहु अरु जनता मार्ने सुजीत वि क जस्ता राक्षसहरुलाई कार्वाही गरुन, देशको प्राथमिकता भनेको माओबादीको जर्नेल बनाउने होइन कि शान्ति सुरक्षा कायम गर्ने हो।

कटवाल को हुन र किन हुन भन्दा पनि अहिलेको बबण्डर नागरिक सर्वोच्चताको नाममा हत्यारा र नालायकहरुको बिगबिगी हुनुलाई "सुत्केरीको निहु पारी टाउको मैले खाया" भने जस्तै हो । यो पुलिसमा जस्तै सेनामा पनि राजनीति घुसाउने दाउ हो जुन विश्वका उल्टोबाट टप टेन आउने देश बाहेक अरु ठाउमा हुदैन।

वास्तविक "नागरिक सर्वोच्च"ता तब हुन्छ जव माओबादी लठैत या राजा र पार्टीका भरौटेहरुले राज गर्ने ठाउंमा स्वस्थ्य प्रतिस्पर्धाबाट सचेत नागरिकहरु पुग्छन । जनताका छोराहरु मात्र पुगेर हुंदैन सक्षम र सचेत नागरिक पुग्नु पर्छ किनकि जनताका छोराहरु चोर, लुच्चा, लफुंगा या माओबादि जस्ता नालायक पनि हुन्छन । पकेट मार्ने, अपहरण गर्ने, मारकाट गर्ने, ठग्ने पनि जनताका छोराहरु नै हुन ।

त्यसैले "जनताका छोरा" नामको जामा नालायकहरुलाई आंफुखुशी मनोमानी ढंगले पद र सत्ताको भागबण्डा लगाउने छल र कपट हो अरु केहि होइन, अग्रगामी छलांङको यात्रा ढुंगे युगतिर जाने लक्षण हो ।

आकार said...

उनीहरुका लागि हो ।
हाम्रा लागि हैन ।

ठरकि दादा said...

माओवादीको खोक्रो आदर्श र देखाउने दाँत र चपाउने दाँतका कुरा गरि साध्य छैन ।

भारतिय बिस्तारबादका कट्टर बिरोधि भनेर आएकाहरु आफ्नै देशका रा्ष्ट्रपतिको आह्वानको घोर बिरोध गर्छन तर तिनै राजदूतको खप्की खएपछि भिजेको बिरालो सरी हुन्छन । कस्तो लाज मर्नु ।

नागरिक सर्वोच्चताको कुरा गर्दा भने तपाईले लेख्नु भएको जस्तै जनगणतन्त्र वा कम्युनिष्ट पार्टीको अधिनायकवादमा विश्वास गर्नेले नागरिक सर्वोच्चताको कुरा गर्नु साँच्चै हास्यास्पद नै हो ।

माथी पाण्डाजीको वाक्य:
"पकेट मार्ने, अपहरण गर्ने, मारकाट गर्ने, ठग्ने पनि जनताका छोराहरु नै हुन ।" पनि निकै घत लाग्ने छ। अहिलेको राज भनेको यस्तै व्याकग्राउण्ड बाट आएका जनताका छोराको राज हो ।

अब यस्तो बेलामा नागरिक सर्वोच्चताको कुरा "पिँजडा भित्र सुगालाई स्वतन्त्र छाडेको छु" भने जस्तै हो ।

lovlyanup said...

k garne sathi, yati nagari ta uni harule kasari adhikar paucha, adhikar payapachi ta kehi garne ho haina ra. ahile ko sarkar name matra ko sarkar jasto bhayako cha. bharat ko birodha garera pani kehi hune wala chaina. ahile ko jamana ma bir gorkhali bhandhai khukuri liyara hidane jamana chaina. tehi bhayara pani bharat sanga nihu nakhoji aafno bato hidnu thick huncha.

Hunata Prachanda le pani kehi ta garna lageko hola. tara kasaile garna nai dindaina ta k garne. tehi bhayara ahile ko awasthama chahi ekadhikar chahincha. sabai power aafno ma bhaya pachi garne ta ho. tapai pahila pahila ko sarkar ko nai kura garnus nai tini harule k garyo? tetro saal sarkar chalauda. maobadi le chunab jitda pani Girija babu kursi chodna namanne? ani kasari bancha naya nepal. uni harule pani sabai lai sahamati ma nai liyara jane paryas gareka chan. tehi bhayara yasto aawastha aayo..uniharule matra garne ho bhane ta ahile yasto aawastha nai aaudaina. tehi bhayara hamile pani ramro kura ko ramro nai bhananu parcha. maobadi sena haru pani pani pahila bidhrohi bhanda pani pahila nepali ho. uniharu le pani nepali sena ma bhag lina paucha yasma sabai ko hak lagcha. ho aba uni harule army ko mapdandad biparita halyo bhane chahi naramro ho bhanne yogayata napugeko lai halne ho bhne chahi. aarko kura uni haru lai nepali sena ma nahali pani desha ma santi hunna. kehi pauna kehi ta gumauna nai parcha.

hamilai sena ko samayojan haru bhanda pani santi chahiyako cha

च्याट्ठिने मान्छे said...

कटुवाल ले पनि राजनितिक टिपण्णी गरेकै हो...तेसैले स्पस्टीकरण सोध्नु मलाई बेठीक लागेको थिएन...तर माओबदीको नियत त अर्कै पो रहेछ...आफ्नो पार्टी को सिपाही लाई कमांडर बनाउने...तेसो त का पाइन्छ कमरेड ..?

प्रबिण थापा said...

मलाई त माओवादीले एकाधीकारबादी अधीनाएकबाद लाद्न खोज्यो भन्ने कुरामा अली चित्त बुझेन। वास्तविकता त यो हो कि न नेपालमा कसैले अधिनाएक बाद लाद्न अहिलेको परिस्थितीमा सक्छ न सेनाले नै कु गरेर राज्य सन्चालन गर्न । सबै मिल्नुको बिकल्प नै छैन जहाँ हामी सबैको कल्याण पनि हुन्छ ।
हो वास्तवमा माओवादीबाट युद्द को अबधीमा हजार गल्ती भएको छ र सरकारमा रहेर पनि गल्ती दोहराई रहेको छ तर के बिगतमा सरकार चलाऊने कांग्रेस र एमालेले सत्ताको दुरुपायोग गरेर त्यो भन्दा बढी गल्ती गरेका थिएनन ? के माओवादीलाइ समाप्त पार्न भनेर तत्कालीन शाही सेनाले देउबा सरकारको आदेसमा अनेकौ बितन्डा मच्चाएको थिएन? हजार निर्दोष नागरिकको हत्याको भागीदार के माओवादी मात्र हो? एउटा बिद्रोही समुह र सरकारले जनता माथि गर्ने व्यवहार उस्तै हुनुमा कसको कमजोरी बढी हुन्छ? १५००० को मृत्‍युको जिम्वेबारी तत्कालिन सरकारले लिने कि नलिने? सबिधान सभाको चुनावमा सबैभन्दा ठुलो दल बनेको माओवादीलाई कांग्रेस र एमालेले चुनावमा धाधली गरिएको आरोप लगाएको एक बर्ष नपुग्दै भएको उपनिर्वाचनमा माओवादी सफलताले राम्रो जबाफ दिएको छ। ग्रामीण भेगका जनताले माओवादी प्रती विश्वाश गरेका छन। अब कान्तिपुरमा बसेर कर्णालीको गाउको स्थिती यस्तो छ भन्ने जमना सकियो भनेर कांग्रेस र एमालेले बुझ्ने बेला भएको छ।
के सेनाले जननीर्बाचित सरकारको खिल्ली उडाउन मिल्छ? सरकार सग प्रतिशोधको भाबना साचेर अगाडि बढन मिल्छ? के कटुवाल सँग स्पष्टिकरण माग्नु सरकारको अधिकारको क्षेत्र होइन? हो रक्षा मन्त्री र सरकारका तर्फबाट सेनासम्बन्धी अनेकौ गल्ती भएका छन तर किन सल्लाहा र सहमतिको बाताबरण नखोजी गिरिजाको तालमा नाच्छन कटुवाल पनि?
लेख लेख्दा कुनै राजनीतिक दलको कार्यकर्ता जस्तो नभई सत्य तथ्यमा आधारित र जन्मानसमा फाईदा पुराउने किसिमले कमजोरी र सफलता दुबै पक्षलाई समेटेर लेखे राम्रो हुन्थियो कि।

Postak_Shrestha said...

यूद्धकालिन् तिक्तता त् छ्दैंछ, एक अर्काप्रतिको अविश्वास पनि त्यत्तिकैछ। तिक्तता मेट्न र अविश्वास चिर्न संवाद, सहमतीको बाटो छोडेर सरकार पक्ष, प्रतिपक्ष र सेना समेत भाषणबाजीमा उत्रिएपछि यस्तै हुन्छ। अर्घेल्यांई दुबइ पक्षबाट भएकोछ। मतभेदका सानातिना कुरालाई संवाद सल्लाह गरेर समाधान नगरेर एकले अर्कालाई देखाइ दिने हिसाबले काम गर्दै जांदा अहिले शान्ति प्रकृयामा अप्ठ्यारो परिसकेको छ र अझै यसलाई चर्काउदै जानु भनेको फेरी देशलाई युद्धतिर धकल्नु हो। जनमत र सहमति हुंदा राजतंत्रलाई समेत बिदाई गर्न सकिएको कुरा ताजै छ भने सेनापति फेर्न नसकिने त होइन तर त्यसको औचित्य, त्यसले पार्ने दूरगामी असर सबै कुराको बिचार पुर्याउन पर्छ र मूख्य गरी सबै दलहरु बिच सहमति हुन पर्छ।

एकलव्य ( Eklavya) said...

व्यक्तिगत रूपमा माओवादी विचार र व्यवहारको प्रशंसक त म कहिले पनि भइन,तर पनि माओवादीको नेतृत्वमा सरकार केही समय अझ चल्न दिनै पर्छ र उसले आफ्ना विचार, व्यवहार र कार्यशैलिलाई धेरै सुधारका साथ जिम्मेवारीपूर्ण तरिकाले प्रयोगमा ल्याउनु पर्छ भन्ने आशा मेरो रहेको छ ।

जहाँ सम्म नागरिक सरकारको कुरा छ, माओवादी नागरिक सरकार हुन सकोस् , मेरो हार्दिक कामना छ । किनभने सँधै रिस उठ्दा ब्यारेकका छापामार का भरमा अरू निहत्था राजनैतिक दलर जनतालाई लाई हामी जनबिद्रोह गर्छौँ वा हामीले भने जस्तो भएन भने रगतको खोलो बगाउँछौँ भन्ने र परी आए मर्ने मार्ने मात्र कुरा अनि काम गर्नेले, कहाँनेर नागरिक सत्ताको वास्ता गरेको देखिन्छ र ? माफ गर्नुस मैले त त्यो देखिन कतै पनि ।

अहिलेको सरकार हिजोका सरकार परिवर्तनहरूको नैरन्तर्यता मात्र हो जस्तो लाग्दैन। अहिले गरिने वा बनाइने योजनाहरूको आगामी औसत ४०,५० वर्षे राजनीतिमा प्रत्यक्ष प्रभाव रहने हुँदा, माओवादीका दावी र सार्वजनिक दस्तावेद पढे अनुरूप नै उसको अतिवाद लाद्ने योजना छ भन्न खोजिएको हो । अहिले सेना प्रमुख माथिको कार्वाहीको उद्ेशय, इरादा र रणनीति एउटा सामान्य पर्रिस्थितिको सरकारले एउटा सरकार मातहतको सामान्य सेनापति माथि कार्वाही गर्न पाउनुपर्छ भन्ने खालको रूपमा बुझ्नु भएको हो भने , मेरो खासै भन्नु पर्ने केही छैन । परिस्थतिको असामान्यता र तरलतालाई नागरिक सर्वोच्चताको नाममा हाइज्याक गर्न खोजिएको हो भन्ने आसय मेरो हो । यसको विस्तृत चर्चा सहित भरे फेरि अर्को पोष्टमा भे्टने वाचा सहित।

-एकलव्य

Anonymous said...

Sahid ko Kheti garne maobadi ko avista rastra lai unkai sabdama MAHAN SAHID banaunu ho.
Aatankbad kahile pani rastrabad hudaina.Jati sukai bidesi hastachhep ko birodh gare pani china visit unkai eesarama rokihalnu paryo.des barsa lader ke gareu timle puspakamal thanda dimag le sochha ta.15000 gariba ka soja santan mareu,jatiyata ra bikhadan ko bij ropeu.Timilai tholo paschatap hunechha yedi timi nepali hau bhane.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !